तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
यूएईमा झन्डै ९० कामदार 'समस्यामा', 'म्यानपावर एजेन्सी'माथि कारबाही सुरु
- Author, अशोक दाहाल
- Role, बीबीसी न्यूज नेपाली
संयुक्त अरब इमिरेट्स (यूएई)मा समस्यामा परेका नेपाली कामदारहरूलाई रोजगारीका लागि पठाउने केही 'म्यानपावर एजेन्सी'हरूको कारोबार रोक्का गरिएको वैदेशिक रोजगार विभागले जनाएको छ।
कामदारहरू समस्यामा परेको, तलब नपाएको र मागपत्रमा उल्लेख भएअनुसारको काम नलगाएकोलगायतका उजुरी परेपछि सम्बन्धित म्यानपावरको कारोबार रोक्का गरिएको विभागका प्रवक्ता गुरुदत्त सुवेदीले बताए।
संयुक्त अरब इमिरेट्सका विभिन्न ठाउँमा कामका लागि गएका करिब ९० जना नेपाली कामदारहरू समस्यामा परेको विवरणको उजुरी विभागमा परेको थियो।
नेपाली कामदारहरूलाई परेको समस्याबारे आबुधावीस्थित नेपाली दूतावासमा पनि गुनासो पुगेपछि दूतावासले स्थलगत अनुगमन गरेको थियो।
दूतावासको अनुगमनमा के देखियो?
नेपाली कामदारहरूलाई बन्धक बनाइएको चर्चा सुनिए पनि आफ्नो अनुगमनमा उनीहरू बन्धक अवस्थामा भने नपाइएको आबूधाबीस्थित नेपाली दूतावासले जनाएको छ।
दूतावासका श्रम मामिला हेर्ने काउन्सिलर दिनबन्धु सुवेदीले कामदारहरूको अवस्था बुझ्न दूतावासका कर्मचारीले उनीहरूलाई राखिएका शिविरसम्म पुगेर अनुगमन गरेको बताए।
“उहाँहरू बाहिर भनिएकोजस्तो बन्धक अवस्थामा रहेको चाहिँ हाम्रो अनुगमनमा देखिएन। तर प्रतिबद्धताभन्दा फरक र जटिल काममा लगाइएका कारण समस्या सुरु भएको एक महिनाभन्दा बढी भएको रहेछ। हामी तीन ठाउँ अनुगमनमा जाँदा उहाँहरूलाई रोजगारदाताले क्याम्पमा राखिएको पाइयो,” सुवेदीले टेलिफोनमा भने।
सुवेदीका अनुसार कामदारहरूको समस्या समाधानका लागि उनीहरूलाई यूएई पठाउने म्यानपावर एजेन्सीका प्रतिनिधिलाई दूवातासले यूएईमै बोलाएको छ।
“हामीले रोजगारदाता, म्यानपावर र श्रमिकहरू तीनै पक्षलाई राखेर बिहीवार छलफल गर्दै छौँ,” उनले भने।
वैदेशिक रोजगार विभागका अनुसार म्यानपावर एजेन्सीहरूलाई कामदारहरूलाई यूएईमै अर्को काममा लगाउन वा स्वदेश फर्कने व्यवस्था गर्न निर्देशन दिइएको छ।
मानवअधिकार आयोगको चासो
राष्ट्रिय मानवअधिकार आयोगले पनि समस्यामा परेका कामदारहरूको अवस्थाबारे चासो राख्दै वैदेशिक रोजगार विभागलाई पत्राचार गरेको छ।
आयोगका प्रवक्ता टीकाराम पोखरेलले यूएईमा कामदार अलपत्र परेको विषयमा आयोगमा पनि उजुरी आएको बताए।
“विभाग र कामदार पठाउन संलग्न नयाँ बनेश्वरको ओशो म्यानपावर एजेन्सीलाई तीन दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन पत्राचार गरिएको छ,” आयोगका प्रवक्ता पोखरेलले दिएको लिखित जानकारीमा उल्लेख छ।
आयोगका प्रवक्ता पोखरेलले अलपत्र कामदारहरूलाई फर्कने व्यवस्था सुरु भएको जानकारी दिए।
कामदारहरू समस्यामा परे के गर्ने
वैदेशिक रोजगार विभागका प्रवक्ता सुवेदीले समस्यामा परेका कामदारहरूका लागि चौबीसै घण्टा सञ्चालन हुने कल सेन्टर विभागमा राखिएको बताए।
उनका अनुसार समस्यामा परेका वा ठगिएको महसुस गरेका कामदार वा उनीहरूका आफन्तले विभागको निःशुल्क टेलिफोन नम्बर ११४१ मा फोन गरेर आफ्नो गुनासोबारे जानकारी गराउन सक्छन्। विभागले आफ्नो वेबसाइटमा गुनासो र उजुरीका लागि थप माध्यमहरूबारे जानकारी दिइएको जनाएको छ।
सुवेदीका अनुसार विभागको इमेल [email protected] र ह्वाट्स्याप तथा भाइबर नम्बर +९७७९८५१३४७२२२ मा पनि उजुरी वा गुनासोबारे कामदार वा उनीहरूका आफन्तले जानकारी दिन सक्छन्।
“विभागबाहेक हरेक देश हेर्ने दूतावासमा श्रम काउन्सिलर र श्रम सहचारीहरू पनि राखिएका छन्। दूतावासमा सम्पर्क गरेर उनीहरूमार्फत् पनि उजुरी वा गुनासो टिपाउन सकिन्छ,” सुवेदीले भने।
विभागले उजुरी परेपछि कामदार र रोजगारदाताबीच भएको श्रम सम्झौतालगायतका विवरण हेरेर समस्या समाधानका लागि पहल लिने गरेको उनले बताए।
“कामदारको समस्या समाधान नगर्ने म्यानपावर कम्पनीहरूलाई हामीले कारबाही गर्छौँ,” उनले भने। कतिपय देशमा अलपत्र परेका कामदारहरूको समयमै उद्धार हुन नसकेका गुनासोहरू पनि आउने गरेका छन्।
यूएई नेपालको पुरानोमध्येको श्रम गन्तव्य हो। पछिल्ला वर्षहरूमा अरब देशहरूका साथै नेपालीहरू रोजगारीका लागि युरोपका विभिन्न देश, क्यानडा, अस्ट्रेलिया तथा न्यूजील्यान्डतिर पनि जान सुरु गरेका छन्।
नेपालबाट विभिन्न १११ देशमा संस्थागत रूपमा कामदार जाने गरेको तथ्याङ्क छ। तर धेरै देशसँग द्विपक्षीय श्रम सम्झौता नभएका कारण नेपालीहरू श्रमिकले पाउने कतिपय हक र अधिकारबाट वञ्चित हुँदै आएको विज्ञहरू बताउँछन्।
व्यक्तिगत रूपमा हाल नेपालीहरू विश्वका १७८ मुलुकमा कामका लागि जाने गरेको सरकारी तथ्याङ्क छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।