दशैँमा घुमफिर: बाहिर घुम्न जाने नेपालीको सङ्ख्या र तिनले गर्ने खर्च कति

सामान्यतया अक्टोबर महिना भनेको परम्परागत रूपमा नेपालमा विदेशी पर्यटक भित्रिने मुख्य सिजन नै हो।
तर यही महिना विदेश घुम्न जाने नेपालीहरूको सङ्ख्या पनि उल्लेखनीय रूपमा बढ्ने गर्छ।
केही वर्षयता छुट्टी मनाउन परिवार वा साथीभाइसँग विदेश घुम्न जाने प्रवृत्ति निकै बढेको जानकारहरूले बताउने गरेका छन्।
घुमफिरमा नेपालीहरूले गर्ने खर्च पनि निकै बढेको आँकडाहरूले देखाउँछन्।
नेपाल राष्ट्र ब्याङ्कले प्रकाशन गरेको असार मसान्तमा सकिएको अघिल्लो आर्थिक वर्षको प्रतिवेदनमा भ्रमण शीर्षकमा भएका आम्दानी र खर्चको विवरण रोचक देखिन्छ।
रोचक आँकडा
उक्त अवधिमा भ्रमण शीर्षकमा भएको आम्दानी ७६ अर्ब रुपैयाँ जति देखिन्छ भने खर्च चाहिँ झन्डै ६५ अर्ब रुपैयाँ जति देखिन्छ।
अर्थात् देश भित्रिने पर्यटक (तथा अन्य आगन्तुक)बाट जति आम्दानी भएको छ त्योभन्दा करिब १० अर्ब मात्र कम खर्च चाहिँ बाहिरिएका नेपाली पर्यटक (तथा उपचारका लागि गएका वा भिजिट भिसामा गएर उतै काम गर्न गएकाहरू समेत)ले गरेका देखिन्छन्।
अझ शिक्षाका लागि नेपालबाट बाहिरिनेहरूले त उक्त अवधिमा सवा खर्ब रुपैयाँ खर्चिएका छन्।
साउनबाट सुरु भएको वर्तमान आर्थिक वर्षको पहिलो महिनाको विवरणमा चाहिँ केन्द्रीय ब्याङ्कले भ्रमणका उद्देश्यसमेत छुट्ट्याएर आँकडा प्रस्तुत गरेको छ।
साउन महिनाको मात्रै उक्त विवरणअनुसार एक महिनामा भ्रमण शीर्षकमा पौने पाँच अर्ब रुपैयाँ भित्रियो भने साढे २२ अर्ब रुपैयाँ बाहिरियो। बाहिरिएको रकममध्ये सबभन्दा धेरै शिक्षाका निम्ति करिब १५ अर्ब रुपै बाहिरिएको छ भने स्वास्थ्योपचारका निम्ति बाहेक बाहिर गएर करिब सवा ७ अर्ब रुपैयाँ खर्च भएको छ।
यसबाट भ्रमण शीर्षकमा हुने आम्दानीलाई खर्चले उछिन्न थालेको देखिन्छ।
भ्रमणमा निस्कनेहरूको सङ्ख्या पनि महत्त्वपूर्ण छ।
“केही समयअगाडि हामीले अध्ययन गर्दा वर्षमा देश भित्रिने पर्यटकभन्दा थोरै बढी बाहिरिने नेपाली देखिएका छन्,” नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी दीपकराज जोशीले बताए।
केही वर्षअगाडि हेर्दा लगभग १२ लाख पर्यटक भित्रिँदा करिब १३ लाख नेपालीले पर्यटक भिसा लिएर बाहिरिएका थिए।
त्यो प्रवृत्ति अहिले पनि कायम रहेको जानकारहरू ठान्छन्।

तस्बिर स्रोत, Sanjaya Dhakal/BBC
छुट्टीको अवसर
“दशैँतिहार छठ जस्ता चाडपर्वका बेला कामबाट लामो छुट्टी मिल्ने, बच्चाहरूको स्कूल पनि बिदा हुने, मौसमसमेत अनुकूल हुने हुनाले यो समयमा धेरै नेपाली देशभित्रका साथसाथै देशबाहिर पनि घुम्न निस्कने गर्छन्,” पर्यटन प्रबर्द्धनमा लागिपरेको निकाय पाटा नेपाल च्याप्टरकाअध्यक्ष खेम लकाईले भने
“कतिपयले चाडपर्व मनाउनेतिर लाग्नु भन्दा यो मौकालाई घुमफिरमा सदुपयोग गर्न थालेका छन्। वास्तवमा नेपालीहरूको जीवनस्तर बदलिँदै गर्दा अरू देशका मानिसहरू जस्तै घुम्नमा रुचि जागेको छ,” उनले भने।
आन्तरिक पर्यटनका निम्ति पनि नेपालीहरूले विशेषगरी यही समयलाई रोज्ने गरेको पर्यटन व्यवसायीहरूले बताएका छन्।
दशैँतिहारका अतिरिक्त नयाँ वर्षमा घुमफिर बढ्ने गरेको देखिन्छ।
रोजाइका गन्तव्य

तस्बिर स्रोत, Sanjaya Dhakal/BBC
नेपालीहरू खासगरी पूर्वी एसिया, भारत, तथा युरोपेली देशहरूमा घुम्न जाने गरेको व्यवसायीहरूले बताउँछन्।
नेपाल टुर तथा ट्राभल एजेन्ट्स असोसिएसनकी वरिष्ठ उपाध्यक्ष जिस्वाँ तुलाधर श्रेष्ठ स्वा होलिडेजकी प्रबन्ध निर्देशक पनि हुन्।
उनले नेपालीहरूको रोजाइको गन्तव्य बदलिँदै गएको र उनीहरूले कम खर्च हुने ठाउँ खोज्ने गरेको बताइन्।
“मुख्यतया थाइल्यान्ड, दुबई, बाकु (अजरबैजान) हुन्। अहिले नयाँ रोजाइका गन्तव्यमा बाली (इन्डोनेशिया), भियतनाम र क्याम्बोडिया पनि छन्,” उनले बताइन्।
पछिल्ला वर्षहरूमा हवाई यात्राको शुल्क बढेको हुनाले सामान्य प्याकेज टुरका लागि पनि सरदर एक लाख रुपैयाँभन्दा बढ्ता नै खर्च हुने गरेको उनले भनिन्।
“देश अनुसारका शुल्क तोकिएका हुन्छन्।”
पाटा नेपाल च्याप्टरका अध्यक्ष खेम लकाईका अनुसार युरोपेली गन्तव्यहरू पनि निकै रोजाइमा पर्न थालेका छन्।
“दशैँअगाडि सम्बन्धित देशका दूतावासमा भिसा लिने भिड निकै बढेको पाइन्छ,” उनले भने।

तस्बिर स्रोत, RSS
यसै मौसममा देश भित्रिने विदेशी पर्यटकहरूको सङ्ख्या पनि बढ्ने गर्छ।
कोभिड महामारीअगाडि सन् २०१९ मा करिब १२ लाख विदेशी पर्यटक आएका थिए जसमध्ये सबभन्दा धेरै १ लाख ३४ हजार पर्यटक अक्टोबर महिनामा नै आएका थिए।
सन् २०१९ मा उच्च विन्दुमा पुगेको पर्यटक आगमन त्यसपछि कोभिडका कारण ह्वात्तै घट्यो। सन् २०२१ मा पूरै वर्षभरिमा जम्मा डेढ लाख मात्र पर्यटक आएका थिए।
सन् २०२२ मा ६ लाख अनि सन् २०२३ मा १० लाख भन्दा बढी पर्यटक आएका थिए।
सन् २०२४ को पहिलो सात महिनामा ७ लाख २० हजार पर्यटक आइसकेका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








