'साइज नमिलेको सूट': मन्त्रिपरिषद्को तस्बिर सम्पादन गरेको जापान सरकारद्वारा स्वीकार

यो तस्बिरको मध्यभागमा जापानी प्रधानमन्त्री छन्, रक्षामन्त्री बायाँबाट दोस्रो स्थानमा छन्

तस्बिर स्रोत, Prime Minister's Office of Japan

तस्बिरको क्याप्शन, यो तस्बिरको मध्यभागमा जापानी प्रधानमन्त्री छन्, रक्षामन्त्री बायाँबाट दोस्रो स्थानमा छन्
    • Author, सोफिया फरेरा सान्टोस
    • Role, बीबीसी न्यूज

जापान सरकारले नयाँ मन्त्रिपरिषद्को औपचारिक तस्बिर सम्पादन गरेर मन्त्रीहरूलाई "छाँटकाँट नमिलेको नदेखाउन खोजिएको" स्वीकार गरेको छ।

विभिन्न अनलाइन मञ्चमा मन्त्रिपरिषद्का सदस्यहरूको सामूहिक तस्बिर परिष्कार गरेर सार्वजनिक गरिएको टिप्पणी गरिएपछि सरकारका प्रवक्ताले उक्त विषयमा स्पष्टीकरण दिएका हुन्।

स्थानीय सञ्चारमाध्यमहरूले खिचेका तस्बिरहरूमा जापानका प्रधानमन्त्री शिगेरु इशिबा र उनका रक्षामन्त्रीको पेटतिर कालो कोटमुनि सेतो कमिजको सानो भाग देख्न सकिन्छ।

तर प्रधानमन्त्री कार्यालयले बिहीवार सार्वजनिक गरेको तस्बिरमा सेतो भाग मेटेर चिटिक्क पारेको देखिन्छ।

अनलाइन माध्यममा त्यसप्रति धेरै जनाले कटाक्ष गरेपछि सरकारका प्रवक्ताले सोमवार उक्त तस्बिरमा "सानो सम्पादन गरिएको" प्रतिक्रिया व्यक्त गरे।

सरकारका प्रवक्ताले के भने

बायाँ - सञ्चारमाध्यमले खिचेका तस्बिर, दायाँ - प्रधानमन्त्री कार्यालयले सार्वजनिक गरेको आधिकारिक तस्बिर

तस्बिर स्रोत, Newscom/Alamy Live News and Prime Minister's Office of Japan

तस्बिरको क्याप्शन, बायाँ - सञ्चारमाध्यमले खिचेका तस्बिर, दायाँ - प्रधानमन्त्री कार्यालयले सार्वजनिक गरेको आधिकारिक तस्बिर

प्रवक्ता योशिमासा हायाशीले संवाददाताहरूलाई प्रधानमन्त्री कार्यालयले खिच्ने सामूहिक तस्बिरहरू चिनोका रूपमा सधैँका लागि राखिने भएकाले उक्त तस्बिरमा सम्पादन गरिएको बताए।

“यस्ता तस्बिरहरूमा सामान्य सम्पादन गर्नु नियमित अभ्यास हो।”

सरकारले सार्वजनिक गरेको तस्बिरको विषयमा सामाजिक सञ्जालमा व्यापक व्यङ्ग्य गरिएको छ।

'एक्स'मा एक प्रयोगकर्ताले त्यसो गर्नु लाजमर्दो भएको टिप्पणी गरेका छन्।

अर्का प्रयोगकर्ताले मन्त्रिपरिषद्का सदस्यहरूले "साइज नमिलेको सूट" लगाएको स्पष्ट भएको उल्लेख गरेका छन्।

स्थानीय सञ्चारमाध्यमका अनुसार अन्य प्रयोगकर्ताहरूले मन्त्रिपरिषद् र मन्त्रीहरूले लगाएको सुट "अनुपयुक्त" भएको टिप्पणी गरेका छन्।

बिहीवार नयाँ मन्त्रिपरिषद्को पहिलो बैठकलगत्तै उक्त तस्बिर खिचिएको थियो।

नयाँ प्रधानमन्त्री

शिगेरु इशिबा

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, शिगेरु इशिबाले मध्यावधि निर्वाचन गर्ने घोषणा गरेका छन्

सतसट्ठी वर्षीय इशिबा केही दिनअघि पूर्वप्रधानमन्त्री फुमिओ किशिदालाई विस्थापित गर्दै सत्तारूढ दलको प्रमुख चुनिएका थिए।

गत साता मङ्गलवार उनी औपचारिक रूपमा प्रधानमन्त्री नियुक्त भएका थिए।

इशिबाले अक्टोबर २७ मा मध्यावधि निर्वाचन गर्ने घोषणा गरेका छन्।

“नयाँ सरकारले जनताबाट जतिसक्दो चाँडो जाँचिनु महत्त्वपूर्ण छ,” टोक्योमा आयोजित पत्रकार सम्मेलनमा उनले भनेको रोएटर्सले जनाएको छ।

घोषित मितिभन्दा एक वर्षअगाडि नै हुन लागेको चुनावले कुन दलले संसद्को तल्लो सदनमा नियन्त्रण कायम गर्छ भन्ने निर्क्योल गर्ने छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।