मृत्युदण्ड सुनाइएको ५६ वर्षपछि 'दुर्लभ' सफाइ, कसरी उल्टियो फैसला

सन् १९६८ मा मृत्युदण्ड सुनाइएका इवाओ हाकामादा सन् २०१४ मा मुक्त भएका थिए। यो तस्बिर सन् २०१९ मा टोक्योमा आयोजित पत्रकार सम्मेलनपछि खिचिएको हो

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, एकै परिवारका चार जनाको हत्या गरेको अभियोगमा इवाओ हाकामादालाई मृत्युदण्ड हुने फैसला भएको थियो
    • Author, ग्याभिन बट्लर र शाइमा खलिल
    • Role, बीबीसी न्यूज, सिङ्गापुर र टोक्यो

जापानको एउटा अदालतले ५६ वर्षअघि सुनाइएको मृत्युदण्डको फैसला उल्ट्याउँदै एक ८८ वर्षीय व्यक्तिलाई हत्याको अभियोगमा सफाइ दिएको छ। उनीविरुद्ध यसअघि निर्णय सुनाइँदा प्रयोग गरिएको प्रमाण पनि नक्कली भएको ठहर भएको छ।

इवाओ हाकामादा संसारमै सर्वाधिक समय मृत्युदण्डको पालोमा राखिएका व्यक्ति हुन्।

उनलाई आफ्ना मालिक, उनकी पत्नी र उनीहरूका दुई सन्तानको सन् १९६६ मा हत्या गरेको अभियोगमा मुद्दा चलाइएको थियो। त्यसको दुई वर्षपछि उक्त मुद्दाको फैसला भएको थियो।

छानबिनकर्ताहरूले नक्कली प्रमाण पेस गरेको आशङ्कामा केही समयअघि हाकामादाविरुद्धको मुद्दाको फेरि सुनुवाइ हुने निर्णय भएको थियो।

साढे पाँच दशकभन्दा लामो समय मृत्युदण्डको पालोमा राखिएको हुनाले हाकामादाको मानसिक स्वास्थ्यामा प्रभाव परेको छ। फेरि भएको सुनुवाइमा उनी उपस्थित भएनन्। तर उक्त सुनुवाइपछि अदालतले उनलाई पुरानो मुद्दामा सफाइ दिँदै मृत्युदण्डको फैसला उल्ट्याइदिएको हो।

हाकामादाको मुद्दा जापानमा चलेको निकै लामो र चर्चित मुद्दा हो। बिहीवार फैसला आउनुअघि शिजुओकास्थित अदालतको कक्षमा जान ५०० जना लामबद्ध भएका थिए।

फैसला सुनाइएपछि उनका समर्थकहरूले अदालतबाहिर हर्षोल्लास गरे।

सन् २०१४ मा फेरि सुनुवाइ हुने निर्णयसँगै जेलमुक्त भएपछि हाकामादा आफ्नी दिदीको संरक्षकत्वमा बस्दै आएका छन्।

कपडामा 'रगतको दाग'

हाकामादा व्यावसायिक बक्सर थिए। सन् १९६६ ताका उनी जापानी परिकारमा प्रयोग हुने 'मिसो' प्रशोधन गर्ने एउटा उद्योगमा काम गर्थे। उक्त उद्योगका मालिक, उनकी पत्नी र उनीहरूका दुई सन्तानका शव टोक्योको पश्चिममा रहेको शिजुओकास्थित घरमा भेटियो। ती चार जनाको धारिलो हतियार प्रयोग गरेर हत्या भएको थियो।

हाकामादामाथि उनीहरूको हत्या गरेको, घरमा आगो लगाएको र दुई लाख येन चोरेको आरोप लाग्यो।

हाकामादाले सुरुमा आफूमाथि लागेको आरोप अस्वीकार गरेका थिए। तर प्रत्येक दिन १२ घण्टासम्म कुटपिट र सोधपुछ गरेर आफूलाई दोष कबुल्न बाध्य पारिएको उनले पछि बताए।

सन् १९६८ मा अदालतले उनले हत्या र आगजनी गरेको ठहर गर्दै मृत्युदण्ड हुने फैसला सुनायो।

एएफपीसँग कुरा गर्दै हाकामादा (फाइल तस्बिर)

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, हाकामादाका समर्थकहरूले सुरुदेखि नै उनी निर्दोष रहेको बताउँदै आएका थिए

हाकामादा पक्राउ परेपछि एउटा ट्याङ्कीमा केही कपडाहरू फेला परेका थिए। दशकौँ पुरानो यो मुद्दा अन्ततः ती कपडामा फर्कियो। उनलाई दोषी ठहर गराउन ती कपडामा रगतको दाग लगाइएको थियो।

उनका वकिलहरूले वर्षौँदेखि ती कपडाबाट सङ्कलित डीएनए हाकामादासँग नमिलेको तर्क गर्दै आएका थिए। ती कपडाहरू अरू कसैको हुन सक्ने उनीहरूको भनाइ थियो। उनीहरूले प्रहरीले नै नक्कली प्रमाण जुटाएको सम्भावना पनि औँल्याएका थिए।

उनीहरूको तर्कसँग सहमत हुँदै सन् २०१४ मा न्यायाधीश हिरोआकी मुरायामाले ती कपडाहरू प्रतिवादीको नभएको ठहर गरे।

"प्रतिवादीलाई अझ थुनिराख्नु अन्यायपूर्ण हुन्छ किनभने उनी निर्दोष हुन सक्ने सम्भावना विश्वसनीय मात्रामा देखा परेको छ," ती न्यायाधीशले त्यति बेला भनेका थिए।

त्यसपछि हाकामादा जेलमुक्त भए। उनको मुद्दामा फेरि सुनुवाइ हुने भयो।

यद्यपि कानुनी प्रक्रिया लम्बियो। गत वर्ष मात्र सुनुवाइ सुरु भयो। बिहीवार बिहान अदालतले अन्तिम फैसला सुनायो।

न्यायाधीशले डीएनएबारे गरिएको तर्क ग्रहण गरेनन्। तर उनी हाकामादाका वकिलहरूले प्रमाणका रूपमा पेस गरिएका लुगामा भएका राता दागहरू रगतका नभएको तर्कसँग सहमत भए। वकिलहरूले मिसोमा एक वर्षसम्म राखिँदा कपडामा रगत बाँकी नरहने औँल्याएका थिए।

न्यायाधीशले हाकामादा निर्दोष रहेको ठहर गर्दै उनीविरुद्ध पेस गरिएको मुख्य प्रमाण नक्कली भएको निष्कर्ष सुनाए।

अहिले हाकामादा आफ्नी ९१ वर्षीया दिदी हिदेकोको हेरचाहमा छन्।

सन् २०१४ मा खिचिएको हिदेकोको तस्बिर

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, हिदेकोले आफ्ना भाइलाई पूर्ण समर्थन गर्दै आएकी छन्

उनका परिवारजन र वकिलहरूका अनुसार लामो समय जेलमा बस्नुपरेको र मृत्युदण्ड हुने डरका कारण हाकामादाको मानसिक स्वास्थ्यमा नराम्रो प्रभाव परेको छ।

दिदी हिदेकोले हाकामादाको मुक्तिका लागि लामो समयदेखि आवाज उठाउँदै आएकी थिइन्। "बल्ल मेरो काँधबाट बोझ हटेको छ," गत वर्ष फेरि सुनुवाइ सुरु हुँदा उनले खुसी व्यक्त गर्दै भनेकी थिइन्।

जापानमा मृत्युदण्ड सुनाइएका व्यक्तिका मुद्दामा फेरि सुनुवाइ हुनु दुर्लभ हो। युद्धपछिको जापानको इतिहासमा त्यस्तो अवसर पाउने हाकामादा पाँचौँ व्यक्ति हुन्।

जीसेभन राष्ट्रमध्ये जापान र संयुक्त राज्य अमेरिकामा मात्र मृत्युदण्डको प्रावधान कायम छ।

जापानमा मृत्युदण्डको पालोमा राखिएका कैदीलाई सजाय दिनुभन्दा केही घण्टाअघि त्यसबारे सूचित गरिन्छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।