कुनकुन देशमा मृत्युदण्ड दिइन्छ, कति जनाले त्यस्तो सजाय पाउँछन्

मृत्युदण्ड
तस्बिरको क्याप्शन, विश्वमा कैयौँ देशहरूले मृत्युदण्ड दिन परम्परा छोडिसकेका छन्

अमेरिकामा हत्याको अभियोगमा दोषी ठहर भएका एक व्यक्तिलाई विश्वमै पहिलो पटक नाइट्रोजन ग्यास सुँघाएर मृत्युदण्ड दिइएको छ।

जापानमा एक पुरुषलाई ३६ जनाको ज्यान जाने गरी आगजनी गरेको कसुरमा झुन्ड्याएर मृत्युदण्ड दिइने भएको छ।

कैयौँ देशहरूले मृत्युदण्ड हटाएको भए पनि त्यस्तो सजाय दिइएका घटनाहरू भने विश्वभरि बढिरहेका छन्।

कति देशले मृत्युदण्ड दिन्छन्?

अन्तर्राष्ट्रिय मानवाधिकारवादी संस्था एम्नेस्टी इन्टरन्याश्नलले सन् २०२२ मा उपलब्ध गराएको आँकडाका अनुसार

  • ५५ देशमा मृत्युदण्ड दिइन्छ
  • तीमध्ये नौ देशले धेरैको हत्या वा युद्ध अपराधजस्ता एकदमै जघन्य अपराधमा मात्र मृत्युदण्ड दिन्छन्
  • तीमध्ये २३ देशले गत १० वर्षदेखि मृत्युदण्डको सजाय कार्यान्वयन गरेका छैनन्।

प्रत्येक वर्ष कति जनालाई मृत्युदण्ड दिइन्छ?

एम्नेस्टी इन्टरन्याश्नलले आधिकारिक तथ्याङ्क, सञ्चारमाध्यममा आएका विवरण तथा पीडितका परिवार वा प्रतिनिधिहरूले दिएको सूचनामा आधारित भएर विवरण सङ्कलन गर्छ।

चीनले मृत्युदण्डको प्रयोगबारे सूचना दिने गर्दैन। चीनबाहेक सन् २०२२ मा विश्वभरि ८८३ जनालाई मृत्युदण्ड दिइएको अभिलेख एम्नेस्टी इन्टरन्याश्नलसँग छ।

सन् २०२१ मा ५७९ जनालाई मृत्युदण्ड दिइएकोमा सन् २०२२ मा त्यो सङ्ख्या ५३ प्रतिशतले बढ्यो। सन् २०१७ यताकै त्यो उच्च सङ्ख्या हो।

तर यदि सन् १९८८, १९८९ वा २०१५ को तुलना गर्ने हो भने चाहिँ उक्त सङ्ख्या कम नै हो किनभने ती वर्षहरूमा १,५०० जनाभन्दा बढीलाई मृत्युदण्ड दिइएको थियो।

मृत्युदण्ड
तस्बिरको क्याप्शन, First graphics

एमनेस्टी इन्टरन्याश्ननलका अनुसार सन् २०२२ मा ५२ देशमा कम्तीमा २,०१६ जनालाई मृत्युदण्डको सजाय तोकियो। सन् २०२१ मा ५६ देशले २,०५२ मृत्युदण्ड सुनाए।

कैयौँ बन्दीहरू वर्षौँ वा दशकौँसम्म मृत्युदण्डको पालो कुरेर बस्छन्।

कुन देशले मृत्युदण्ड धेरै दिन्छ?

सन् २०२१ मा १८ वटा देशले र सन् २०२२ मा २० देशले मृत्युदण्ड सजाय कार्यान्वयन गरे।

अन्य कुनै पनि देशभन्दा चीनमा धेरै मृत्युदण्ड दिइने गरेको एमनेस्टी इन्टरन्याश्नलको अनुमान छ।

चीनले वर्षैपिच्छे हजारौँ मानिसलाई मृत्युदण्ड दिने गरेको ठानिन्छ। तर त्यसको पुष्टि हुन सक्दैन।

चीनबाहेक धेरै मृत्युदण्ड दिने देश इरान, साउदी अरब, इजिप्ट र अमेरिका हुन्।

एमनेस्टी इन्टरन्याश्नल
तस्बिरको क्याप्शन, एम्नेस्टी इन्टरन्याश्नलले आधिकारिक आँकडा, सञ्चारमाध्यममा आएका विवरण तथा पीडितका परिवार वा प्रतिनिधिहरूले दिएको सूचनामा आधारित भएर विवरण सङ्कलन गर्छ

विभिन्न देशमा मृत्युदण्डको सङ्ख्या कसरी बदलिँदै छ?

एमनेस्टी इन्टरन्याश्नलले प्रत्येक वर्ष निरन्तर मृत्युदण्ड दिने ११ देशको सूची राखेको छ।

तिनमा चीन, इजिप्ट, इरान, इराक, साउदी अरब, अमेरिका, भियतनाम र यमन छन्।

साथै उत्तर कोरियाले पनि निरन्तर मृत्युदण्ड दिँदै आएको एमनेस्टी इन्टरन्याश्नलको विश्वास छ। तर त्यो कुरा स्वतन्त्र रूपमा पुष्टि गर्न सकिँदैन।

साउदी अरबमा सन् २०२२ मा ३० वर्षयताकै सर्वाधिक सङ्ख्यामा मृत्युदण्ड दिइयो।

कैयौँ वर्षदेखि मृत्युदण्ड कार्यान्वयन नगरेका बाहरेन, कोमोरोस, लाओस, नीजेर र दक्षिण कोरियासहित पाँच देशले सन् २०२२ मा मृत्युदण्ड दिए।

तर अमेरिकामा भने सन् १९९९ को उच्चबिन्दुबाट मृत्युदण्ड कार्यान्वयनको सङ्ख्या घटिरहेको छ।

मृत्युदण्ड

लागुऔषध अपराधमा कति मानिसलाई मृत्युदण्ड भयो?

सन् २०२२ मा विश्वभरिमा लागुऔषध अपराधका कारण ३२५ जनालाई मृत्युदण्ड दिइएको एम्नेस्टी इन्टरन्याश्नलले जनाएको छ।

  • इरानमा २५५
  • साउदी अरबमा ५७
  • सिङ्गापुरमा ११

सन् २०२३ मा सिङ्गापुरले २० वर्षयता पहिलोपटक महिलालाई मृत्युदण्ड दियो।

सारिदेवी जमानलाई हेरोइन ओसारपसार गरेको आरोपमा सन् २०१८ मा दोषी पाइएको थियो।

मृत्युदण्ड

कति देशले मृत्युदण्ड हटाएका छन्?

अहिले विश्वका ११२ देशमा मृत्युदण्ड प्रयोग गरिँदैन। सन् १९९१ मा त्यस्ता देशको सङ्ख्या जम्मा ४८ थियो।

सन् २०२२ मा ६ वटा देशले मृत्युदण्डलाई आंशिक वा पूर्ण रूपमा हटाए।

काजकस्तान, पपुआ न्यूगिनी, सिएरा लिओन र सेन्ट्रल अफ्रिकन रिपब्लिकले यसलाई पूरै हटाए।

एक्वटोरिअल गिनी र जाम्बियाले उक्त सजाय एकदमै गम्भीर अपराधमा मात्र प्रयोग गरिने बताए।

सन् २०२३ को एप्रिलमा मलेशियाको संसद्ले हत्या र आतङ्कवादसहित ११ किसिमका जघन्य अपराधमा अनिवार्य मृत्युदण्डको प्रावधान हटायो।

जुलाई महिनामा चाहिँ घानाको संसद्ले मृत्युदण्ड पूरै हटाउने पक्षमा मत दियो।

कुन देशले कसरी मृत्युदण्ड दिन्छन्?

सन् २०२२ मा आइपुग्दा शिरोच्छेदन पनि मृत्युदण्डको एक विधिका रूपमा अपनाउने साउदी अरब एक्लो देश रह्यो।

अन्य विधिमा फाँसी वा घातक सुई दिइन्छ वा गोली प्रहार गरिन्छ।

अमेरिकाको एलबामा राज्यले पहिलो पटक नाइट्रोजन ग्यास सुँघाएर मृत्युदण्ड दिएको छ।

एलबामा तथा अन्य दुई अमेरिकी राज्यहरूले मृत्युदण्डका निम्ति नाइट्रोजन हाइपोक्सिया विधिलाई विकल्पको रूपमा स्वीकारेका छन्।

किनभने परम्परागत रूपमा दिइने घातक सुईमा प्रयोग गरिने रसायनहरू अचेल पाउन निकै गाह्रो छ। यसले पनि मृत्युदण्ड कार्यान्वयनका घटना अमेरिकाभरि कम हुँदै गएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।