सिङ्गापुर मृत्युदण्डः चर्को विरोध भए पनि लागुऔषध तस्करीका दोषीलाई फाँसी

तस्बिर स्रोत, SARMILA DHARMALINGAM
बौद्धिक अपाङ्गता भएको कारण देखाउँदै माफीका निम्ति याचना गरेका एक मलेशियाली लागुऔषध तस्करलाई सिङ्गापुरमा मृत्युदण्ड दिइएको छ।
सिङ्गापुरभित्र झन्डै तीन चम्चा हेरोइन तस्करी गर्न खोज्दा पक्राउ परेका नागेन्द्रन धर्मलिङ्गम सन् २०१० देखि नै मृत्युदण्ड पाउने कैदी सूचीमा थिए। एक्काइस वर्षको हुँदा सन् २००९ मा नागेन्द्रन हेरोइनसहित पक्राउ परेका थिए।
चिकित्सकीय विज्ञहरूले नागेन्द्रनको आईक्यू अर्थात् बौद्धिक क्षमता कम भएको पुष्टि गरेपछि उनको मुद्दा निकै विवादास्पद बनेको थियो।
तर त्यहाँको सरकारले उनी "आफ्नो कार्यको प्रकृतिबारे स्पष्ट रूपमा जानकार" रहेको ठहर गरेको थियो।
त्यहाँको सरकारले विज्ञप्ति जारी गर्दै उनले "आफूले गरिरहेको काम उचित वा अनुचित के हो भन्ने छुट्याउने विवेक उनले नगुमाएको" बताएको हो।
उनकी आमाले गरेको अन्तिम अपील मङ्गलवार खारेज भएपछि नागेन्द्रनलाई मृत्युदण्ड दिइएको हो।
अदालतले उनलाई "उचित कानुनी प्रक्रिया"मा लगिएको र "करिब ११ वर्षको अवधिमा अपील गर्ने अधिकार र कानुनअन्तर्गतका अन्य कुनै उपाय बाँकी नरहेको" जनाएको छ।
मङ्गलवार भएको सुनुवाइको अन्त्यतिर नागेन्द्रन र उनका परिवारजन हात समात्न सिसाले घेरेको खाली स्थानमा पुगेको रोएटर्समा उल्लेख गरिएको छ। उनले "आमा" भन्दै चिच्याएको अदालतको कोठासम्म प्रष्ट सुनिन्थ्यो।
सिङ्गापुरको सरकारले उनकी आमाको अपीलमा आक्रोशित प्रतिक्रिया जनाएको थियो।
महान्यायाधिवक्ताको कार्यालयबाट जारी विज्ञप्तिमा उक्त अपील मृत्युदण्ड प्रक्रियालाई ढिलो पार्ने अनुचित प्रयास भएको उल्लेख गरिएको छ। अधिकारीहरूले आवेदन तयारीमा संलग्न भएकाहरूलाई कारबाहीको चेतावनी समेत दिएका छन्।
सन् २००९ मा उनी आफ्नो देब्रे तिघ्रामा ४३ ग्राम हेरोइन बाँधेर मलेशियाबाट सिङ्गापुर जाँदै गर्दा पक्राउ परेका थिए।
संसारको सबैभन्दा कडा मानिने सिङ्गापुरको लागुऔषध कानुनअन्तर्गत १५ ग्रामभन्दा बढी हेरोइन बोकेको व्यक्तिलाई मृत्युदण्ड दिइन्छ।
सुनुवाइका क्रममा ३४ वर्षीय नागेन्द्रनले आफूलाई लागुपदार्थ बोक्न बाध्य पारिएको बताएका थिए। पछि उनले पैसाको लागि अपराध गरेको स्वीकार गरे।
अदालतले उनको प्रारम्भिक बयान "झुटो" भएको बताएको छ। अन्ततः उनलाई झुन्डाएर मृत्युदण्ड दिइयो।

तस्बिर स्रोत, Getty Images
सन् २०१५ मा उनले आफू मानसिक रूपमा स्वस्थ नभएको दाबीका आधारमा आफ्नो सजायलाई आजीवन कारागारमा परिणत गर्न अपील गरेका थिए।
उनका वकिलहरूले मानसिक अस्वस्थता भएको व्यक्तिलाई मृत्युदण्ड दिनु अन्तर्राष्ट्रिय मानवअधिकार कानुनको विपरीत भएको तर्क गरेका थिए।
तर अदालतले उनी बौद्धिक अपाङ्गता भएको व्यक्ति नभएको पत्ता लगायो। राष्ट्रपतिले दिने माफीको लागि गरेको याचना गत वर्ष अस्वीकार भयो।
"पुनरावेदन अदालतले उनको गतिविधि आपराधिक मानसिकताको उपज भएको पत्ता लगायो। उक्त कार्य आपराधिक आचरणसँग सम्बन्धित जोखिम र फाइदाहरूको तौलेर गरिएको हो," सिङ्गापुरको गृह मन्त्रालयले अघिल्लो विज्ञप्तिमा भनेको थियो।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 1
यस मुद्दाले सामाजिक सञ्जालमा प्रयोगकर्ताहरूको ध्यानाकर्षण गरेको छ।
ब्रिटिश अर्बपति रिचर्ड ब्र्यान्सन, अभिनेता स्टीभन फ्राइलगायतका व्यक्तिले आक्रोश र सहानुभूति व्यक्त गर्दै नागेन्द्रनलाई मृत्युदण्डबाट जोगाउन आह्वान गरेका थिए।
उनको सजाय कम गर्ने आह्वान अभियानमा हजारौँ मानिसले हस्ताक्षर गरेका थिए। उनीहरू सबैले मानसिक रूपमा अस्वस्थ मानिसलाई मृत्युदण्ड दिनु अन्तर्राष्ट्रिय कानुनविपरीत भएको तर्क गरेका छन्।
मङ्गलवार अधिकार समूह रिप्रीभले नागेन्द्रन "न्याय तुहिएकाका कारण पीडित" भएको टिप्पणी गरेको छ।
"नागेनका अन्तिम दिनहरू पछिल्लो दशकसरह दर्दनाक एकान्तवासमा बित्यो," समूहकी निर्देशक माया फोआले भनिन्।
"हाम्रो समवेदना नागेनको परिवारसँग छ जसले कहिल्यै पनि उनको लागि लड्न छोडेन। उनीहरूको पीडा अकल्पनीय छ।"
सिङ्गापुरकी मृत्युदण्डविरोधी अभियानकर्मी कर्स्ट्रन हानले पनि बुधवार नागेन्द्रनको एक तस्बिर साझा गरिन्। त्यो तस्बिरमा नागेन्द्रनले आफ्नो सबैभन्दा मन पर्ने लुगा लगाएको भनिएको छ।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 2
त्यहाँको सरकारले भने अन्तर्राष्ट्रिय कानुनले मृत्युदण्ड दिन रोक नलगाउने र मृत्युदण्ड दिने विषयमा अन्तर्राष्ट्रिय सहमति नभएको तर्क अघि सार्दै आएको छ।
सिङ्गापुर सरकारले देशको कानुनअनुसार उनी "मानसिक जिम्मेवारी प्रभावित हुनेगरी बौद्धिक अपाङ्गता भएको मानिस भएको" अदालतले प्रमाणित गरेको भए उनलाई मृत्युदण्ड दिइँदैनथ्यो।
नागेन्द्रनकी बहिनी शर्मिला धर्मलिङ्गमका अनुसार उनले केही पटक घरमा फोन गर्दा आफ्नो मृत्युदण्डका निम्ति "तयार रहन" भनेका थिए।
उनले आफूलाई घर फर्किन र घरमा बनाएको खाना खान मन लागेको सुनाएका थिए।

तस्बिर स्रोत, Getty Images
यसअघि शर्मिलालाई सिङ्गापुरस्थित कारागारबाट एउटा पत्र प्राप्त भएको थियो जसमा नागेन्द्रनलाई सन् २०२१ कै नोभेम्बर १० मा मृत्युदण्ड दिइने बताएका थिए।
"मैले त्यो खबर स्वीकार गर्न सकेकी थिइनँ। म धेरै रोएकी थिएँ। म त्यो कुरा आमालाई भन्न निकै डराएकी थिएँ। त्यतिबेला बिरामी आमाको आँखामा हेर्न समेत सकेकी थिइनँ," उनले भनिन्।
त्यतिबेला उनको परिवारलाई सिङ्गापुर पुग्नका निम्ति दुई साताको समय दिइएको थियो।
परिवारको लागि अनलाइनमार्फत् सहयोग रकम जुटाएकी हानका अनुसार उनीहरूले कागजपत्र बनाउन, बस्ने ठाउँ खोज्न र सबै खर्च आफैँ जुटाउनुपर्ने अवस्था थियो।
त्यतिखेर नागेन्द्रनलाई कोरोनाभाइरस सङ्क्रमण भएका कारण मृत्युदण्ड स्थगित भएको थियो।








