इराकमा ३०० भन्दा बढीको ज्यान जाने गरी भएको विस्फोटमा संलग्न ३ जनालाई फाँसी

पीडित परिवारहरू

तस्बिर स्रोत, AFP VIA GETTY IMAGES

    • Author, जर्ज राइट
    • Role, बीबीसी न्यूज

इराकको राजधानी बग्दादमा सन् २०१६ मा ३०० भन्दा बढीको ज्यान जाने गरी भएको सवारी बम विस्फोटमा संलग्न भएको आरोपमा तीन जनालाई फाँसी दिइएको छ।

सन् २००३ मा अमेरिकी नेतृत्वमा भएको आक्रमणपछि इराकमा भएको यो अहिलेसम्मकै सबैभन्दा घातक बम आक्रमण हो।

द इस्लामिक स्टेट ग्रुप (आइएस) ले उक्त आक्रमण आफूले गरेको जानकारी दिएको छ।

प्रधानमन्त्री मोहम्मद शिया अल सुडानीको कार्यालयले मृत्युदण्ड दिइएकाहरूको नाम र उनीहरूलाई कहिले-कहिले सजाय दिइएको हो भन्नेबारे उल्लेख गरेको छैन। यद्यपि उनीहरूलाई आइतवार र सोमवार मृत्युदण्ड दिइएको विवरणहरू सार्वजनिक भएका छन्।

एक सरकारी स्रोतले एएफपी समाचार संस्थालाई दिएको जानकारीअनुसार आक्रमणका मुख्य योजनाकार मानिएका गजवान अल–जावबाईलाई मृत्युदण्ड दिइएको छ। जावबाईलाई सन् २०२१ मा अन्यत्रबाट पक्राउ गरी इराक फर्काइएको थियो।

प्रधानमन्त्रीले “आतङ्ककारी बम विस्फोटमा संलग्न भनिएका तीन जना मुख्य अपराधीलाई मृत्युदण्डको उचित सजाय दिइएको” जानकारी पीडित परिवारलाई गराएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

सन् २०१६ को ३ जुलाईमा इराकी राजधानीस्थित शिया मुस्लिम बहुल क्षेत्र कर्राडामा उक्त घटना भएको हो। त्यहाँ रहेको एक शपिङ सेन्टर भिडभाड भएको स्थितिमा नजिकै रहेको विस्फोटक पदार्थले भरिएको एउटा गाडी विस्फोट गराइएको थियो।

इस्लाम धर्मावलम्बीको पवित्र महिना रमजानअन्तर्गत दैनिक रोजा तोडेपछि मानिसहरू रात्रिकालीन बजारमा रमाइरहेका थिए।

बम विस्फोटपछि भवनमा आगलागी भएको थियो र त्यहाँ रहेका धेरै मानिसको मृत्यु भएको थियो।

त्यति बेला गृहमन्त्री मोहम्मद घब्बानले विस्फोटपछि राजीनामा दिएका छन्।

कति छन् आइएस लडाकु?

गजवान अल–जावबाई पक्राउ परेपछि

तस्बिर स्रोत, YEHIA RASOOL

तस्बिरको क्याप्शन, गजवान अल–जावबाईलाई नाम नखुलाइएको देशबाट इराक फर्काइएको थियो

तत्कालीन प्रधानमन्त्री मुस्तफा अल कादिमीले जावबाईलाई उक्त आक्रमणसहित “अन्य धेरै घटना”को “मुख्य दोषी” भएको आरोप लगाएका थिए।

एक सुन्नी मुस्लिम समूह आइएसले कुनै समय पूर्वी इराकदेखि पश्चिमी सिरियासम्मको ८८,००० वर्ग किलोमिटर क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिएको थियो। उक्त समूहले करिब ८० लाख मानिसहरूमाथि आफ्नो क्रूर शासन लागू गरेको थियो।

सन् २०१७ मा इराक र त्यसको दुई वर्षपछि सिरियामा युद्ध भूमिमा पराजय बेहोरेको भए पनि दुवै देशमा यस समूहका हजारौँ लडाकु सक्रिय रहेको अनुमान गरिएको छ।

गत मार्चमा संयुक्त राष्ट्रसङ्घले इराक र छिमेकी सिरियामा इस्लामिक स्टेटका “५ हजारदेखि ७ हजार सदस्य तथा समर्थक” रहेको अनुमान गरेको थियो। तीमध्ये “करिब आधा जति लडाकु” हुनसक्ने जनाइएको छ।

इराकमा समयसमयमा आक्रमण भएको विवरणहरू सार्वजनिक हुने गरेका छन्। यद्यपि सन् २००३ को मार्च २० मा अमेरिका र उसलाई सहयोग गरिरहेका राष्ट्रका सेनाहरूले इराकमा गरेको आक्रमणलाई अधिक घातक ठानिन्छ। उक्त आक्रमणपश्चात् सद्दाम हुसेन सत्ताच्युत भएका थिए।

इराकसँग आमविनाशकारी अस्त्र (डब्ल्यूएमडी) रहेको र उक्त देश विश्वको शान्तिका लागि खतरा रहेको अमेरिकाको दाबी थियो।

तर इराकमाथिको सैन्य कारबाहीलाई अधिकांश राष्ट्रहरूले समर्थन गर्न मानेका थिएनन्।

अमेरिकाले किन इराकमा आक्रमण गरेको थियो?

सन् १९९०-९१ को खाडी युद्धका बेला अमेरिकाले विभिन्न राष्ट्र सम्मिलित गठबन्धनको नेतृत्व गरेको थियो। उक्त गठबन्धनले इराकी सेनालाई कुवेतबाट फिर्ता हुन बाध्य पारेको थियो।

त्यसकै केही समयपछि संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले 'प्रस्ताव ६८७' पारित गर्दै इराकलाई आफ्ना सबै डब्ल्यूएमडी (वेपन अफ मास डिस्ट्रक्शन) – पारमाणविक, जैविक र रासायनिक अस्त्र – तथा लामो दूरीका बलिस्टिक क्षेप्यास्त्रहरू नष्ट गर्न निर्देशन दियो।

सन् १९९८ मा इराकले अस्त्र निगरानी गर्ने राष्ट्रसङ्घीय निकायसँग सहकार्य भङ्ग गर्‍यो। त्यसको प्रत्युत्तर दिन अमेरिका र यूकेले हवाई आक्रमण गरे।

सन् २००१को सेप्टेम्बर ११ मा अल कायदाले अमेरिकाको न्यूयोर्कस्थित वर्ल्ड ट्रेड सेन्टर र वाशिङ्टनस्थित पेन्टागनमा आक्रमण गरेपछि अमेरिकी राष्ट्रपति जोर्ज डब्ल्यू बुशको सरकारले इराकमाथि आक्रमण गर्ने योजना बनाउन सुरु गर्‍यो।

बुशले डब्ल्यूएमडी उत्पादन र भण्डारण गर्ने कार्य हुसेनले जारी राखेको दाबी गरेका थिए। उनले इरान र उत्तर कोरियासँगै इराकलाई पनि विश्वव्यापी स्थिरताका लागि खतरनाक शक्ति "एक्सिस अफ ईभल" को सङ्ज्ञा दिए।

सन् २००२ को अक्टोबर महिनामा अमेरिकी संसद्ले इराकमाथि सैन्य कारबाही स्वीकृत गरेको थियो।

युद्धमा कसले सहयोग गरे, कसले गरेनन्?

अमेरिकी नेतृत्वमा रहेको गठबन्धनमा सम्मिलित ३० राष्ट्रमध्ये यूके, अस्ट्रेलिया र पोल्यान्ड आक्रमणमा सहभागी भए।

यूकेले ४५,००० र अस्ट्रेलियाले २,००० सैनिक पठाए। पोल्यान्डले १९४ जना विशेष तालिमप्राप्त सैनिक पठाएको थियो।

कुवेतले आफ्नो क्षेत्रबाट आक्रमण गर्न अनुमति दियो।

स्पेन र इटलीसहित कैयौँ युरोपेली राष्ट्रहरूले अमेरिका नेतृत्वको गठबन्धनलाई कूटनीतिक समर्थन गरेका थिए।

अमेरिकाका दुई छिमेकी क्यानडा र मेक्सिकोले भने समर्थन गर्न अस्वीकार गरे।

युरोपमा अमेरिकाका दुई प्रमुख सहयोगी जर्मनी र फ्रान्सले पनि सहयोग गर्न अस्वीकार गरे।

नेटोको सदस्य पनि रहेको टर्कीले छिमकी राष्ट्र इराकमा आक्रमण गर्न अमेरिकालाई आफ्नो हवाई आधारशिविरहरू प्रयोग गर्न दिएन।

सन् १९९०-९१ को खाडी युद्धमा इराकविरुद्ध अमेरिकालाई सहयोग गरेका राष्ट्र साउदी अरब लगायतले सन् २००३ को आक्रमणमा भने समर्थन गरेनन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।