बलात्कृत महिलालाई न्याय दिलाउन दुई करोडको जागिर छोड्ने वकिल

रेज

तस्बिर स्रोत, Rez Gardi

    • Author, स्वामिनाथन नटराजन
    • Role, बीबीसी विश्व सेवा

सुरुमा वार्षिक तलब दुई लाख डलर। तर एउटा ठूलो वकिल कार्यालयको त्यो जागिर प्रस्ताव रेज गार्डीले लिइनन्। उनले एउटा उद्देश्यका लागि लड्नु थियो।

"ठूलो रकम र रहरलाग्दो जागिरको लोभका बीच मैले आफूलाई निरन्तर मेरो उद्देश्य सुविधासम्पन्न जीवनशैलीभन्दा ठूलो हो भनेर सम्झाउनुपर्थ्यो," रेज गार्डीले बीबीसीलाई भनिन्।

"म निश्चित कारणले कानुन पढ्न गएँ… म सकारात्मक परिवर्तन ल्याउने कुरामा कानुनको शक्ति चिन्न चाहन्थेँ," उनले भनिन्।

जिहादी समूह इस्लामिक स्टेट आईएसले अपहरण गरेका, बेचबिखन गरेका र बलात्कार गरेका महिलाहरूको न्यायको लडाइँमा उनी सहभागी भइन्।

"मेरा अभिभावकहरू त्यो क्षेत्रबाट भागेर मलाई संसारको अर्को कुनामा पुर्‍याए। तर जहाँबाट यो सुरु भएको थियो म त्यहीँ पुगेँ।"

अन्यायबीच हुर्कँदा

रेज

तस्बिर स्रोत, Rez Gardi

रेज सन् १९९१ मा पाकिस्ताको शरणार्थी शिविरमा जन्मिएकी थिइन्। उनका बाबुआमा इराकका कुर्द समुदायका थिए। उनको बाल्यकाल सद्दाम हुसैनको शासनकालमा ज्यान गुमाएका नातेदार, छिमेकी र साथीहरूको कथा सुनेर बित्यो।

जब उनी ७ वर्षकी भइन् उनको परिवार न्यूजील्यान्ड पुग्यो। उनले अध्ययनमा राम्रो गरिन् र गत वर्ष हार्भार्ड कानुन विद्यालयबाट पढाइ पूरा गरिन्।

"म जन्मेको अवस्थाले मलाई समानता, न्याय र मानव अधिकारमा आकर्षित गर्‍यो," उनी भन्छिन्। "मैले ती कुरा भनेका के हुन् भनेर बुझ्नुभन्दा पहिले नै अन्याय र मानव अधिकारबाट वञ्जित गरेका घटनाहरू देखेँ।"

'त्यो म पनि हुन सक्थेँ'

सन् २०१४ मा उनी उत्तरी इराकमा कुख्यात अपराध भएका स्थान नजिकै महिलाहरूको बयान सङ्कलन गरिरहेकी बेला त्यस क्षेत्रमा आईएसको उदय भयो।

रेज

तस्बिर स्रोत, Rez Gardi

आईएसले याजिदिज भनिने पाँच लाख जनसङ्ख्या भएको पुरातन समूदायलाई लक्षित गर्‍यो। आईएस जिहादीहरूका लागि त्यो समूदाय विधर्मी हो।

उनीहरूको आक्रमणबाट बच्न हजारौँ त्रसित गाउँलेहरू नजिकैको सिन्जार पहाडतर्फ भागे। सयौँले त्यहाँ आश्रय पाए भने थुप्रै प्रचण्ड गर्मीका कारण मरे।

समातिएका युवा र अधबैँसे उमेरका पुरुषहरू मारिए। लन्डन स्कूल अफ इकोनोमिक्सले गत वर्ष प्रकाशित गरेको प्रतिवेदनमा सो आक्रमणमा १० हजार याजिदिजहरू समातिएका वा मारिएका बताएको छ।

नियन्त्रणमा लिइएका महिला र किशोरीहरूका लागि नर्कको जीवन पर्खिरहेको थियो।

याजिदिज

तस्बिर स्रोत, Getty Images

"त्यस्ता महिलाको कथा सुनेर बसिरहँदा उनिहरूले त्यस्तो अवस्था भोग्नुपरेको सुनेर असह्य पीडा हुन्छ र रिस उठ्छ।"

उनी प्रश्न गर्छिन्: "त्यो मलाई वा मेरो बहिनीलाई वा आमालाई हुन सक्थ्यो। किन कोही यस्तो अवस्थाबाट गुज्रनुपर्छ?"

यौनदासीहरू

ती अपराधहरूलाई कुनै व्यक्तिसँग जोड्नु र त्यसको प्रमाण पेश गर्नु गार्‍हो काम हो।

याजिदिज

तस्बिर स्रोत, Getty Images

रेजले सञ्चारमाध्यम र मानव अधिकार समूहहरूले नभेटेका माहिलाहरू खोजिरहेकी छन्।

"याजिदी महिलाहरूले कति चोटी उनीहरूको बेचबिखन भयो र कहाँ राखियो सम्झन सक्छन्। उनीहरूले आफूले भोगेका बलात्कार र यौनहिंसाका बारेमा भन्न सक्छन्। उनीहरूले त्यस्तो अपराध गर्ने आईएसका मान्छेहरू चिन्न सक्छन्," रेज भन्छिन्।

आईएस व्यवस्थित समूह थियो र रेजका अनुसार उनिहरूले याजिदी मानिसहरूलाई विनाश गर्न खोजेको स्पष्ट ढाँचा देखिन्छ।

"उनीहरूले पुरुषबाट महिलालाई छुट्टाए र युवतीलाई वृद्धाबाट। यसको कारण अविवाहित युवतीहरूलाई यौनदासीको रूपमा बेच्दा धेरै पैसा आउँथ्यो। धेरै वृद्धवृद्धालाई भेटिएकै स्थानमा त्यही मारियो।"

याजिदिज

तस्बिर स्रोत, Getty Images

उनी यस विषयमा धेरै अनुसन्धान हुने र त्यसबाट आईएसका लडाकुहरूलाई अपराधको आरोप लगाउन सकिने मान्छिन्।

"यो गोप्य र धेरै संवेदनशील छ। म बोल्न सक्ने महिलाबाट मात्रै बयान टिप्छु। अझै पनि कतिपय महिला यो विषयमा बोल्न नसक्ने अवस्थामा छन्।"

उनले भ्रमणका क्रममा पत्ता लगाएकी छन् कि आईएसका लडाकु मात्रै अपराधी छैनन्।

"मोसुल क्षेत्रमा धनी र शक्तिशाली अरबीहरूले महिला किनेका छन्।"

न्यायको अभियान

नादिया मुराद सन् २०१४ मा लडाकूले नियन्त्रणमा लिएर यातना दिएकी र बलात्कृतमध्ये एक हुन्। त्यो बेला उनी जम्मा २१ वर्षकी थिइन्।

सन् २०१८ मा उनले अथक अभियानका लागि नोबेल शान्ति पुरस्कार जितिन् तर अन्य धेरै याजिदिज झैँ न्याय पाउन सकिनन्।

नादिया मुरादले पुरस्कार पाइन्, न्याय पाइनन्

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, नादिया मुरादले पुरस्कार पाइन्, न्याय पाइनन्

"केही आरोपितहरू इराकमा, केही सिरियामा र केही युरोपमा समातिएका छन्। केही घटनामा अदालतमा जान मिल्ने गरी प्रमाण छन्," रेज भन्छिन्।

तर सिरिया युद्धको चपेटामा छ र इराकको कानुनी व्यवस्था समस्याग्रस्त छ।

त्यहाँको कानुन व्यवस्था लैङ्गिक यातना, मानवताविरुद्धको अपराध र नरसंहारजस्ता अपराधमा न्याय दिन सक्षम नभएको अमेरिकी गैरसरकारी संस्था ग्लोबल जस्टिस सेन्टरले बताएको छ।

यद्यपि हालै इराकी अदालतले एक आईएस लडाकूलाई १४ वर्षीय याजिदी किशोरी आश्वाक हाजीलाई बलात्कार गरेको अपराधमा मृत्युदण्डको फैसला गर्‍यो।

जर्मनीमा बसिरहेकी आश्वाक बलात्कारीविरुद्धको मुद्दामा बयान दिन इराक पुगिन्।

आश्वाक हाजीको बलात्कारीलाई इराकमा मृत्युदण्ड दिइएको छ

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, आश्वाक हाजीको बलात्कारीलाई इराकमा मृत्युदण्ड दिइएको छ

'अब फेरि यस्तो नहोस्'

संयुक्त राष्ट्रसङ्घले आईएसले गरेका अपराधहरूमाथि अध्ययन गर्न एउटा अनुसन्धान समिति बनाएको छ।

बलिया प्रमाणबाहेक विश्वको साझा स्मृतिले आईएसका अपराधीहरू खोज्न मद्दत गर्ने रेजको अपेक्षा छ।

"जब सद्दाम हुसैनले कुर्दिस बालबालिकालाई रासायनिक हतियार प्रयोग गरेर मारे, त्यो समाचार विश्वले थाहा पाउन लामो समय लाग्यो। अहिले त सारा विश्वले याजिदिहरूलाई के भयो देखेका छन्," उनी भन्छिन्।

याजिदी महिलाहरूले न्याय पाउनेमा उनी आशावादी छिन्।

"हामीले यस्ता घटना भविष्यमा नहोस् भनेर पनि न्यायका लागि लड्नु जरुरी छ। "