मलेशियामा अनिवार्य मृत्युदण्डको नीति हट्यो

साङ्केतिक तस्विर

मलेशियामा गम्भीर अपराधका घटनामा दिइने अनिवार्य मृत्युदण्डको सजाय हटाउने निर्णय मङ्गलवारबाट कार्यान्वयनमा आएको छ।

हत्या र आतङ्कवाद जस्ता गम्भीर अपराध दोषी ठहर हुनेहरूलाई अब ४० वर्षसम्मको कारावास हुने मलेशियाका स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन्।

असाधारण घटनाहरूमा भने मृत्युदण्डको सजाय सुनाउने अधिकार न्यायाधीशहरूसँग कायमै रहने छ।

अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था एमनेस्टी इन्टरन्याश्नलका अनुसार मलेशियामा मृत्युदण्डको सजाय सुनाइएकाहरूको सङ्ख्या झन्डै १३ सय रहेको अनुमान गरिएको छ।

सन् २०१८ यता भने त्यहाँ मृत्युदण्ड कार्यान्वयन गरिएको छैन।

गत एप्रिलमा संसद्ले देशको कानुनमा अनिवार्य मृत्युदण्डको सजाय हटाउने पक्षमा मतदान गरेको थियो।

मलेशियामा पछिल्लो तीन दशकमा १३ सयभन्दा बढी दोषीलाई फाँसी दिइएको छ।

मलेशिया

तस्बिर स्रोत, Reuters

मलेशिया नेपालीहरूको प्रमुख श्रम गन्तव्य मध्यमा पर्छ।

गत एप्रिलमा संसद्लाई सम्बोधन गर्ने क्रममा त्यहाँका उप कानुनमन्त्रीले मृत्युदण्ड अपरिवर्तनीय रहे पनि यसले अपराधलाई निरुत्साहित नगरेको बताएका थिए।

“मृत्युदण्डले जस्तो नतिजा ल्याउनुपर्थ्यो त्यो ल्याएन,” रामकरपाल सिंहले भनेका थिए।

red line
red line

९० दिनभित्र निवेदन दिन पाइने

मलेशियाको संसद्‌ले पारित गरेको नयाँ कानुनले यसअघि नै मृत्युदण्डको फैसला सुनाइएका तर सजाय पाउन बाँकी मानिसहरूलाई पनि ९० दिनभित्र सजायबारे पुनरावेदन माग गर्ने समय दिने बताइएको छ।

मलेशियामा हाल १,३४१ कैदीहरू छन्।

मलेशियामा ३४ वटा अपराधमा मृत्युदण्ड दिइन्छ। तीमध्ये एप्रिल महिनाको ३ तारिख अघि ११ वटामा अनिवार्य मृत्युदण्ड दिइन्थ्यो।

विद्यमान मृत्युदण्डको कानुनी व्यवस्था उल्टाउने प्रक्रिया गत जुनमा सुरु भएको थियो।

मलेशिया

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, मलेशियामा कामदारका सुरक्षा र मानसिक स्वास्थ्यका कैयौँ सवाल पनि उठ्ने गरेका छन् (फाइल तस्बिर)

पूर्वप्रधानमन्त्री इस्माइल साब्री यकोब नेतृत्वको सरकारले अनिवार्य मृत्युदण्डको सजाय हटाउने घोषणा सुरु गरेको थियो।

मृत्युदण्डको अन्त्यका लागि दुई वटा विधेयक मार्चको अन्तिम साता संसद्‌मा दर्ता गरिएका थिए।

यसअघि पछिल्ला वर्षहरूमा मृत्युदण्डको सजाय दिइने ५३ देशहरूमा मलेशिया पनि पर्थ्यो। यो क्षेत्रमा चीन र सिङ्गापुरमा पनि मृत्युदण्डको सजाय दिने कानुन छ।

मलेशियाको सरकारी तथ्याङ्क अनुसार त्यहाँ सन् १९९२ देखि २०२३को बीचमा करिब १,३१८ जना कैदीहरूलाई झुन्ड्याएर मृत्युदण्ड दिइएको छ।

red line
red line

मलेशियामा कति छन् नेपाली कामदार

यसअघि मलेशियामा नेपालीहरूलाई पनि मृत्युदण्डको सजाय दिने फैसला भएका थिए।

कतिपय त्यस्ता खाले फैसलामा पुनरावेदन हुँदा मृत्युदण्ड नदिन आदेश भएका विवरण आएका थिए।

अधिकारीहरूका अनुसार सन् २००८ मा विदेश जाने कामदारहरूको तथ्याङ्क राख्न थालिएयता मलेशिया नेपालीहरूको एउटा प्रमुख श्रम गन्तव्यको रूपमा रहेको देखिन्छ।

झन्डै १५० वटा देशमा नेपाली कामदारहरू पुगेको भए पनि ८० प्रतिशतभन्दा बढी नेपाली कामदार खाडीका छ देश र मलेशियामा काम गर्न जाने गर्छन्।

क्षन्डै पाँच महिना अघि नेपाल आएका मलेशियाका गृहमन्त्री सैफुदिन नासितुन इस्माइलले नेपालबाट ‘उल्लेख्य सङ्ख्यामा’ कामदार लैजाने प्रतिवद्धता जनाएको विवरण आएका थिए।

तस्विर

मलेशिया सरकारले विभिन्न क्षेत्रमा झन्डै पाँच लाख नयाँ कामदार भित्र्याउन लागेका विवरणहरू सार्वजनिक भएको अवस्थामा उनको नेपाल भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको थियो।

श्रम तथा वैदेशिक रोजगार मन्त्रालयका अनुसार मलेशियामा काम गर्ने नेपाली श्रमिकहरूको सङ्ख्या चार लाखको हाराहारीमा छ।

मलेशियाले भने उक्त सङ्ख्या तीन लाखको आसपासमा रहेको बताउने गरेको छ।

अन्य श्रम गन्तव्यको तुलनामा मलेशियामा नेपालका महिला कामदारहरूको सङ्ख्या भने अत्यन्त न्यून रहेको अधिकारीहरू बताउँछन्।