शरणार्थी प्रकरणमा खाणसहित १२ जनालाई थप ४ दिन हिरासतमा राख्न अनुमति

नक्कली भुटानी शरणार्थीसँग सम्बन्धित अनुसन्धानको सिलसिलामा वैशाख २७ गते पक्राउ परेर हिरासतमा रहेका भूतपूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई आइतवार थप चार दिन हिरासतमा राख्न काठमाण्डू जिल्ला अदालतले अनुमति दिएको अधिकारीहरूले बताएका छन्।

“शनिवारदेखि लागु हुनेगरी सबैको हकमा चार दिन हिरासतमा राख्ने अनुमति अदालतले दिएको छ,” जिल्ला सरकारी वकिलको कार्यालय, काठमाण्डूका प्रमुख (सहन्यायाधिवक्ता) अच्युतमणि नेउपानेले बीबीसीलाई भने।

“आज यस विषयमा अनुसन्धान भइरहेका बालकृष्ण खाणसहित १२ जनालाई जिल्ला अदालतमा प्रस्तुत गरिएको थियो।”

सहन्यायाधिवक्ता नेउपानेले आइतवार थप ११ जनाविरुद्ध पक्राउ पूर्जी जारी गरिएको समेत बताए।

खाण गृहमन्त्री रहेको समयमा गृहसचिव रहेका टेकनारायण पाण्डे समेत अनुसन्धानका लागि प्रहरी हिरासतमा छन्।

यस प्रकरणमा हाल १२ जनाविरूद्ध अनुसन्धान भइरहेको काठमाण्डू प्रहरी परिसरका प्रवक्ता एसपी सिताराम रिजालले शुक्रवार बीबीसीलाई बताएका थिए।

उनले भने, "अहिले ठगी र सङ्गठित अपराध अन्तर्गत हेरिरहेका छौँ। अन्य कुनै मुद्दा शीर्षकहरू आकर्षित हुन्छ भने त्यो पनि हेर्छ प्रहरीले।"

खाणलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवानिकट मानिन्छ।

यस प्रकरणसँग सम्बन्धित एउटा अडिओमा देउवा पत्नी तथा सांसद आरजु राणालाई पनि रकम दिएको भन्ने सुनिन्छ।

तर फर्जी रूपमा आफ्नो नाम जोडिएको दाबी गर्दै उनले गत साता नै सत्य तथ्य सार्वजनिक गरी कारबाहीको माग सहितको उजुरी प्रहरीमा दर्ता गराएकी छन्।

कांग्रेसले के गरिरहेको छ?

खाणको विषयमा गतसाता नेपाली कांग्रेसको वैठकहरूमा छलफल भए तापनि त्यसबारे कुनै औपचारिक निर्णय भएको छैन।

यसै प्रकरणमा नाम जोडिएका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीलाई उनको दलले निलम्बन गरिसकेकाले धेरैले कांग्रेसको निर्णयलाई समेत चासोपूर्वक हेरेका छन्। प्रहरीले पक्राउ पुर्जी जारी गरे तापनि रायमाझी भने अझै सम्पर्कविहीन छन्।

तर बिहीवार कांग्रेसको वर्तमान तथा पूर्व पदाधिकारीहरूको बैठकले नक्कली शरणार्थी प्रकरणलाई लिएर आफ्ना केन्द्रीय सदस्य छलफल गरे तापनि 'आफ्नो पार्टीको नेता छानबिनका लागि तयार भएर गएको' भन्दै कुनै निष्कर्षमा पुगेको थिएन।

बैठकपछि पार्टी सहमहामन्त्री जीवन परियारले पत्रकारहरूसँग भनेका थिए: “हाम्रो पार्टीको नेताले अनुसन्धानलाई सघाउनु भएको छ... कांग्रेस पार्टी कहिल्यै पनि दोषीलाई उम्काउने प्रयासमा छैन।”

बुधवार नेपाली कांग्रेसको पदाधिकारी बैठकपछि बोलेका कांग्रेसका नेता तथा अर्थमन्त्री प्रकाश शरण महतले "अनुसन्धान परिपक्व भएपछि पार्टीले बाँकी निर्णयहरू गर्ने" बताएका थिए।

उनले पत्रकारहरूसँग भनेका थिए, "पहिले अनुसन्धान परिपक्व होस् अनि पार्टीले गर्नुपर्ने कुनै निर्णय गर्नुपर्ने स्थिति आउँदा त्यही बेलामा गर्छ।"

संसद्‌मा गत बुधवार नै बोलेका कांग्रेस महामन्त्री गगन थापाले ‘अहिलेसम्म जे भएको छ’ आफूले त्यसको प्रशंसा गर्ने बताएका थिए।

"संलग्न जोसुकै होस्, जुनसुकै दलको होस्, जुनसुकै तहको होस्, ओहदाको होस्, कारबाहीको दायरामा ऊ आउनै पर्छ," उनले भने।

"बजारको हल्लाले अनुसन्धान प्रभावित नहोस्, कुनै भेटघाटले समेत अनुसन्धान प्रभावित नहोस्…मेरो आग्रह छ अनुसन्धान फ्री र फेअर (स्वतन्त्र र निष्पक्ष) होस्, निर्दोष कोही पनि नपरोस्। तर दोषी छ भने नेता होस् कि नाता होस् एउटा पनि नछुटोस्।"

कांग्रेसका केही नेताहरूले बुधवार नै गृहमन्त्रीलाई संयुक्त रूपमा भेटेर खुट्टा नकमाउन आग्रहको बताइएको छ।

को हुन् खाण?

बालकृष्ण खाण बारम्बार सत्ता र शक्तिमा रहेका नेताका रूपमा परिचित छन्।

पञ्चायतकालमा कांग्रेसको विद्यार्थी राजनीति सुरु गरेका पूर्वगृहमन्त्री उनी सभापति देउवाका विश्वासपात्र मानिन्छन्।

लुम्बिनी प्रदेशको रूपन्देहीका उनी विक्रम संवत् २०३३ सालबाट नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आएका छन्।

विसं २०४८ सालमा प्रतिनिधिसभाको सदस्य निर्वाचित भएका उनी पहिलो र दोस्रो दुवै संविधानसभामा सदस्य थिए।

विसं २०४४ साल आसपास नेपाल विद्यार्थी सङ्घको केन्द्रीय अध्यक्ष बनेका उनले रक्षा, सिँचाइ तथा गृह मन्त्रायलको नेतृत्व गर्ने अवसर पाए।

गत संसदीय निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहरासँग पराजित भएका उनी संविधान जारी भएपछि निर्वाचित भएको संसद्‌मा कांग्रेसका प्रमुख सचेतक रहेका थिए।

नक्कली शरणार्थी प्रकरणमा अहिलेसम्म के के भयो?

  • २७ वैशाख: पूर्व गृहमन्त्री बालकृष्ण खाण र उनका स्वकीय सचिव नरेन्द्र केसी पक्राउ
  • २७ वैशाख: पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीको नाम जोडिएपछि नेकपा (एमाले)द्वारा सचिव पदबाट निलम्बन (उनी सम्पर्कविहीन)
  • २० वैशाख: उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ
  • २० वैशाख: टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी पक्राउ
  • १९ वैशाख: तत्कालीन उपप्रधान तथा गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ
  • १२ चैत: यस प्रकरणलाई लिएर त्यसको गिरोहका सञ्चालकहरू केशव दुलाल, सानु भण्डारी र टङ्क गुरुङ पक्राउ