उपचुनाव हार्दा पनि कांग्रेसमा ‘सन्तोष’, जितेको एमाले वाम ध्रुवीकरणको ‘विपक्षमा’

अघिल्लो चुनावमा पनि हारेको इलामको उपनिर्वाचनमा भएको पराजयले नेपाली कांग्रेसलाई त्यति पिरोलेको देखिँदैन।

आम चुनावमा नेकपा माओवादी केन्द्रलगायतका दलहरूसँग चुनावी गठबन्धन गर्दा पनि त्यहाँ एमालेले नै जितेको थियो।

त्यसैले उपचुनावमा एमालेको जितलाई स्वाभाविक रूपमा लिएको कांग्रेसका कोशी प्रदेश सभापति उद्धव थापा बताउँछन्।

“हिजोको विजेता एमालेमा माओवादीको मत थपिएपछि त उसको जित सुनिश्चित नै थियो,” थापाले भने, “त्यसले गर्दा कांग्रेसले समीक्षा र विश्लेषण गर्नुपर्ने नै छैन।”

उनका भनाइमा कांग्रेसमा निकै चर्चा हुने गरेको अन्तर्घात यस पटक भएन। बरु सबैजसो पार्टीको केही मत पहिचान पक्षधर उम्मेदवारलाई गएको सुनाउँदै उनले त्यति हुँदा पनि कांग्रेसले सम्मानजनक मत पाएको प्रतिक्रिया दिए।

बझाङमा हार्दा पनि ‘लोकप्रियता यथावत्’?

कांग्रेसले बझाङमा भने यसअघि जितेको प्रदेश सभाको एक सदस्य उपचुनावबाट गुमाएको छ।

कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले त्यहाँको चुनावमा पनि प्रचुर प्रयास गरेको र पार्टीभित्र एकता पनि निकै राम्रो रहेको बताए।

“यसअघि हामीले गठबन्धन गरेर जितेका थियौँ तर अहिले एक्लै लड्दा प्राविधिक रूपमा चुनाव हारे पनि हाराहारी मत हेर्दा हामीप्रतिको विश्वास र हाम्रो लोकप्रियता यथावतै रहेको ठान्छु,” नेता पाण्डेले सुनाए।

त्यहाँ सत्ता सहयात्री दल माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले समेत चुनौती दिँदा पनि एमालेले जितेको छ।

अझै बलियो उम्मेदवार उठाउन सकिन्थ्यो कि भनेर टिकट वितरणका बेला पनि समीक्षा भएको बताउँदै नेता पाण्डेले भने, “त्यसैले हामीले जितेको सीट गुमाउनुपर्दा केही समीक्षा गर्नुपर्ने स्थित त आयो तर यसले अरूको सहारामा चुनाव जितौँला भन्ने मनोदशाबाट सदाका लागि मुक्त हुन प्रेरित गरेको छ।”

वामपन्थी ध्रुवीकरणको सङ्केत हो?

प्रतिनिधिसभाको एक सीटका लागि चुनाव भएको इलाममा पहिचान पक्षधर उम्मेदवार तेस्रो स्थानमा आए। माओवादी नेताले एमालेको जितमा आफ्नो साथ निर्णायक बनेको बताएका छन्।

बझाङमा पनि सत्तापक्षीय वाम दल मिलेको भए सहज जित हुने देखियो। त्यसैले उपचुनावले वाम ध्रुवीकरणको पक्षमा सन्देश दिएको कतिपयले ठानेका छन्।

“त्यसतर्फ सङ्केत गरेको मलाई लाग्दैन,” एमाले सचिव छविलाल विश्वकर्मा भन्छन्, “किनभने इलाममा एक ढङ्गले र बझाङमा हामी अर्को ढङ्गले चुनावमा प्रस्तुत भयौँ।”

बरु ‘कथित पहिचान, नयाँ वा पुरानोसँग जोडिएका र संविधान वा संविधानभन्दा बाहिरका विषयसँग जोडिएका सन्दर्भका बीच आफ्नो दललाई जिम्मेवार भूमिकामा मतदाताले हेर्न चाहेको’ उनको बुझाइ छ।

उनले यो चुनावले आगामी आम चुनावमा एमाले एक्लै लड्ने वा चुनावी गठबन्धन बनाएर लड्ने भन्ने कुरालाई निर्देशित नगरेको बताए।

“बिलकुलै गर्दैन, हामी अघिल्लो चुनावमा पनि एक्लै लडेका हौँ,” नेता विश्वकर्माले भने, “वामपन्थी मात्रै होइन वाम-लोकतान्त्रिक, देशभक्त, संविधानका पक्षधर शक्तिहरूबीच स्वच्छ प्रतिस्पर्धालाई अन्यथा लिनुहुन्न।”

एमाले-कांग्रेस सहकार्यको सम्भावना कति?

प्रचण्डले समीकरण परिवर्तन गरेपछि आक्रोशित कांग्रेसका कतिपय नेताले एमालेसँगको सहकार्यको खाँचोमा जोड दिएको पाइन्छ।

त्यसो गरेमा प्रदेशदेखि केन्द्रसम्म स्थिरता दिन सकिने उनीहरू बताउँछन्।

कांग्रेस नेता बद्री पाण्डेले पनि दुई शक्तिबीचको सहकार्यले संविधान र कानुनमा गर्नुपर्ने कतिपय संशोधन सहज हुने जस्ता विषयलाई लिएर कांग्रेसभित्र जनमत बनेको बताए।

“सत्ताको निम्ति मात्र नभएर बृहत्तर विषयमा हुने समझदारीले अपवित्र शैलीहरू सदाका निम्ति अन्त्य गरेर स्वच्छ प्रतिस्पर्धाको बाटो दिन्छ र त्यसको निम्ति एमालेसँगको समझदारी ठिक हो कि भन्ने एक खालको जनमत पार्टी पङ्क्तिमा बनेको पाइन्छ,” पाण्डेले बताए।

एमाले नेता छविलाल विश्वकर्माले भने भविष्यको कुरा अहिल्यै भन्न नसकिने बताए।

तर अहिले नै सत्ता समीकरण फेर्ने गरी कुनै राजनीतिक कदम उठाउने पक्षमा पार्टी नभएको बताउँदै उनले भने, “हाम्रो पार्टी अहिलेको समीकरणलाई निरन्तरता दिएर अघि बढ्न चाहन्छ, तर आउने समयमा कसरी अगाडि बढ्ने भन्ने कुरा त क्रमशः परिस्थितिले पनि निर्क्योल गर्दै जाला।”

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।