तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
गूगलका पूर्वइन्जिनियरमाथि एआईसम्बन्धी गोप्य सूचना चोरेको आरोप
- Author, क्याथरिन आर्मस्ट्रङ
- Role, बीबीसी विश्व सेवा
अमेरिकामा गूगलका एकजना पूर्व सफ्टवेअर इन्जिनियरलाई आर्टिफिशल इन्टेलिजेन्सबारेका गोप्य कुराहरू चोरेर दुई चिनियाँ कम्पनीका लागि काम गरेको आरोप लगाइएको छ।
लीअन डिङ भनेर पनि चिनिने लिनवेइ डीङलाई क्यालिफोर्निया राज्यमा चार प्रकारका आरोपमा दोषी ठहर गर्दै बुधवार गिरफ्तार गरिएको छ।
यी चिनियाँ नागरिकले ५०० भन्दा बढी अति गोप्य फाइल चोरेको आरोप लगाइएको छ।
उनले प्रत्येक आरोपमा १० वर्षसम्मको जेल सजाय र २ लाख ५० हजार डलरसम्मको जरिवाना तिर्नुपर्ने हुन सक्छ।
डीङको प्रतिक्रियाका लागि उनका वकिलको पहिचान भई नसकेको स्थानीय मिडियाले लेखेका छन्।
उनले चोरेको भनिएको सूचना गूगलको सुपरकम्प्युटिङ डेटा सेन्टरको संरचना सम्बन्धित रहेको बताइएको छ। जसको उपयोग ठूलाठूला एआई मोडललाई एक ठाउँमा राख्ने र प्रशिक्षण दिनेबारे रहेको छ।
अभियोगपत्रका अनुसार डीङलाई गूगलले सन् २०१९ मा काममा राखेको थियो। उनको जिम्मेवारीमा उक्त सफ्टवेयर विकास पनि पर्थ्यो।
उनले गूगलको सञ्जालमा सञ्चित सूचनालाई आफ्नो व्यक्तिगत गूगल अकाउन्टमा मे २०२२ मा अपलोड गर्न सुरु गरेको आरोप लगाइएको छ।
त्यस्तो अपलोड नियमित रूपमा एक वर्षसम्म गरिएको अभियोगपत्रमा उल्लेख छ।
त्यसैबीच डीङले चीनमा केही महिना बिताएको र बेइजिङ रोङगशु लियानझी टेक्नोलोजी नामको एउटा स्टार्टअप टेक कम्पनीका लागि काम गरेको बताइएको छ।
अभियोगपत्रका अनुसार उनलाई कम्पनीले १४ हजार ८०० अमेरिकी डलर प्रतिमहिना तलब लिएर कम्पनीको प्रमुख प्रविधि अधिकारी (चीफ टेक्नोलोजी अफिसर) बन्न आग्रह गरेको थियो।
उनले साङ्घाइ झिसुआन टेक्नोलोजी नामको आफ्नै प्रविधि कम्पनी पनि खोलेको आरोप छ।
उक्त कम्पनीले एआई र मसिन लर्निङलाई केन्द्रमा राखेर काम गर्ने बताइएको छ।
बीबीसीले रोङशु र झिसुआनलाई सम्पर्क गरेको छ तर तत्काल प्रतिक्रिया प्राप्त भइसकेको छैन।
अभियोजनकर्ताहरूले डीङले ती दुवै कम्पनीमा उनको संलग्नताबारे गूगललाई नबताएको आरोप लगाएका छन्।
अभियोगपत्रमा उनले चीनस्थित एक संस्थालाई यो व्यवसाय विकास गर्न सहयोग गर्न निवेदन दिएको र नोभेम्बर २०२३ मा लगानी सम्मेलनमा प्रस्तुत गरेको उल्लेख छ।
त्यसपछिको महिनामा गूगलले उनलाई चीनमा रहेकै बेला उनको व्यक्तिगत कम्प्युटरमा थप फाइल अपलोड गर्न खोजेकोमा प्रश्न सोधेको थियो।
तर डीङले गुगलका अनुसन्धानकर्तालाई आफूले टेक जायन्ट गूगलका लागि काम गरिरहेको भन्ने प्रमाण पेस गर्न त्यसो गरेको बताएका थिए।
अमेरिका फर्कँदा गूगललाई त्यसबारे जानकारी नै थिएन। त्यसपछि उनले २६ डिसेम्बरमा दिन राजीनामा दिनु अगाडि नै सान फ्रान्सिस्कोबाट बेइजिङ जाने एकतर्फी टिकट बुक गरिसकेका थिए।
केही दिनपछि सम्मेलनमा उनका गतिविधिलाई गूगलले शङ्कास्पद मान्दै उनका फाइलहरूमाथिको पहुँच स्थगित गरिदियो।
त्यसपछि गूगलले उनका गतिविधिको विगत खोज्न थाल्यो र अनधिकृत रूपमा गरिएका अपलोडहरूबारे जानकारी खोज्न थाल्यो।
गूगलका एकजना प्रवक्ता जोस कास्टानेडाले भने “कम्पनीसँग हाम्रा गोप्य जानकारीहरू र व्यापार रहस्यको चोरी रोक्न कडा सुरक्षा उपाय छन्।”
उनका अनुसार गलत काम भएको प्रमाण प्राप्त हुने बित्तिकै अधिकारीहरूलाई तत्काल सतर्क बनाइएको थियो।
अमेरिकी महान्यायाधिवक्ता मेरिक गारल्यान्डले बुधवार एक विज्ञप्तिमार्फत् लीनवेइ डीङले गोप्य रूपमा ती कम्पनीहरूका लागि काम गरेर आफैँलाई समृद्ध बनाउन प्रयास गरिरहेका बताएका छन्।
गारल्यान्डले भने “न्याय विभागले एआई र अरू उन्नत प्रविधिको चोरी सहने छैन जसले हाम्रो राष्ट्रिय सुरक्षालाई खतरामा पार्न सक्छ।”
एफबीआई निर्देशक क्रिस्टोफर रे ले डीङका गतिविधिहरू “अमेरिकी अन्वेषण चोर्न ” “कतिसम्म गर्न सक्छन् भन्ने उदाहरण”हुन् भनेका छन्।
अमेरिका र चीन हालका वर्षमा तिक्ततापूर्ण व्यापार युद्धमा छन् र दुवै पक्षले एक भन्दा अर्को अगाडि बढ्न प्रतिस्पर्धा गरिरहेका छन्।
यो विवादका कारण दुवै देशहरूले एक अर्कामाथि सयौँ अरब डलर मूल्यका सामानमा कर लगाइदिएका छन्।
बाइडन प्रशासन अन्तर्गत व्यापार सम्बन्ध झन् बिग्रिएको छ र दुवै पक्षले व्यापारमा नयाँ व्यवधान लगाउँदै आएका छन्। जसमा कम्प्युटर चिपको निर्यातमाथि पनि प्रतिबन्ध लगाइएको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।