तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
एआईबाट सिर्जित सामग्री हेर्दा बाल यौन दुराचार हुन्छ कि हुँदैन?
- Author, जो टाइडी
- Role, साइबर संवाददाता
ब्रिटेनमा आफ्नो विचार वा व्यवहारबारे चिन्तित व्यक्तिहरूलाई सहयोग गर्ने एउटा परोपकारी संस्थाले एआईद्वारा सिर्जित बाल यौन दुर्व्यवहारसँग सम्बन्धित दृश्यात्मक सामग्री हेर्नु अनैतिक हो कि हैन भन्ने थाहा नभएका मानिसको सङ्ख्या बढिरहेको बताएको छ। त्यस्ता मानिसले आफूसँग सम्पर्क गर्ने गरेको उसले जनाएको छ।
लुसी फेथफुल फाउन्डेशन (एलएफएफ) ले एआईबाट उत्पादित तस्बिरहरूले वास्तविक दुर्व्यवहारतर्फ उक्साउने सक्ने भन्दै चिन्ता व्यक्त गरेको छ।
एआईबाट बनाइने तस्बिरका बालबालिका काल्पनिक भए पनि ती सामग्री बनाउनु र हेर्नु गैरकानुनी रहेको बताएको छ।
एआई प्रयोग गरी बालबालिकाका आपत्तिजनक तस्बिर बनाएको अभियोगमा गिरफ्तार भएपछि नील (परिवर्तित नाम)ले एलएफएफको हेल्पलाइनमा सम्पर्क गरे। त्रिचालीस वर्षे नीलले बालबालिकाप्रति आफू यौनिक रूपमा आकर्षित नभएको दाबी गरेका छन्।
उनी आईटीको क्षेत्रमा काम गर्छन् र एआई प्रयोग गरी काल्पनिक चित्र बनाएका हुन्। वास्तविक बालबालिकाका त्यस्ता तस्बिर कहिल्यै नहेर्ने दाबी गर्दै एआई प्रविधिसँग प्रभावित भएर आफूले त्यस्तो कार्य गरेको उनको दाबी छ।
आफ्नो धारणाबारे बुझ्न उनले एलएफएफमा फोन गरेका थिए। एलएफएफका कर्मचारीहरूले उनलाई बालबालिका वास्तविक नभए पनि उनको कार्य गैरकानुनी रहेको स्पष्टसँग बताइदिए।
उक्त संस्थाले यस्तै अन्योलमा रहेका अन्य व्यक्तिहरूबाट पनि फोन आउने गरेको जानकारी दिएको छ।
'साँचो' नभए पनि खतरनाक
एक महिलाले आफ्नो २६ वर्षीय प्रेमीले एआईबाट सिर्जित बालबालिकाका "अभद्र सामग्री" हेरेको थाहा पाएपछि एलएफएफलाई सम्पर्क गरिन्। तर उनले तस्बिर "वास्तविक नभएकाले" आफू त्यति गम्भीर नभएको बताइन्। उनका प्रेमीले उक्त विषयमा सहयोग खोजेका छन्।
एक शिक्षिकाले आफ्नो ३७ वर्षीय प्रेमीले एआईबाट सिर्जित गैरकानुनी लाग्ने खालका तस्बिर हेरेको र ती साँच्चै गैरकानुनी हुन् कि हैनन् त्यो भने थाहा नभएको भन्दै परामर्श मागिन्।
एलएफएफका डोनल्ड फिन्ड्लेटरका अनुसार संस्थाको 'स्टप इट नाउ' हेल्पलाइनमा सम्पर्क गर्ने केही व्यक्तिले एआई तस्बिरहरूका कारण कानुनी र सामाजिक दृष्टिमा अनुचित मानिने कुराको सीमा धमिलो बनेको ठानेका छन्।
"यो अत्यन्त खतरनाक विचार हो। बालबालिकालाई वास्तविक हानि नपुग्ने भएकाले त्यस्ता सामग्री हेर्न र बनाउन मिल्ने धारणा कसैकसैको हुन्छ। तर यो गलत हो," उनले स्पष्ट पारे।
अपराध गर्न दुरुत्साहन
यौनबारे त्यस्तो विकृत परिकल्पनाका कारण यौन अपराधमा दोषी ठहरिएका व्यक्तिले पुनः अपराध गर्न सक्ने सङ्केत गरेको फिन्ड्लेटर बताउँछन्।
"त्यस्तो विकृत परिकल्पनालाई बढाउँदै जानुभयो भने तपाईले साँच्चै बच्चाहरूलाई हानि पुर्याउन सक्नुहुन्छ," उनले भने।
एलएफएफका अनुसार एआई तस्बिरका कारणले आफूले अपराध गरेको मान्ने व्यक्तिको सङ्ख्या अहिले कम तर समग्रमा बढ्दो क्रममा छ। उक्त संस्थाले समाजलाई यो समस्या रहेको स्वीकार गर्न र कानुननिर्माताहरूलाई बाल यौन दुराचार हुने खालका सामग्री (चाइल्ड सेक्शुअल अब्यूज मटिरिअल - सीएसएएम) बनाउन र अनलाइन प्रकाशन गर्न कठिन बनाउन आग्रह गरिरहेको छ।
उक्त संस्थाले त्यस्तो सामग्री कहाँ पाइन्छ भनेर कुनै वेबसाइट विशेषको नाम तोकेको छैन। तर सिभिट डट एआई नामक साइटलाई प्रयोगकर्ताहरूलाई धेरै कम उमेरका मोडलहरूको यौनिक र आपत्तिजनक तस्बिर प्रकाशन गर्न दिएको आरोप लागेको छ।
बीबीसीले उक्त कम्पनीसँग यस विषयमा गत नोभेम्बर महिनामा बुझेको थियो। उसले आफ्नो साइटमा सम्भावित सीएसएएमलाई निकै गम्भीर मान्ने गरिएको र नाबालिग पात्र वा व्यक्तिहरूलाई अनुपयुक्त अवस्थामा चित्रण गरिएका तस्बिरहरूबारे जानकारी दिन सबैलाई आग्रह गर्ने गरेको बताएको थियो।
यूकेमा पनि अपराध हेर्ने राष्ट्रिय निकायका प्रमुख ग्र्याम बीगरले डिसेम्बरमा बाल यौन दुराचारका तस्बिर राख्ने अपराधीहरूलाई कडा सजाय दिइनुपर्ने बताएका थिए।
एआईद्वारा सिर्जित तस्बिरका सन्दर्भमा बोल्दै उनले वास्तविक नभए पनि त्यस्ता सामग्री हेर्नाले कसैलाई बालबालिकामाथि यौन हिंसा गर्न दुरुत्साहन गर्न सक्ने बताएका थिए।
'बालबालिका नै बनाउँछन्'
बालबालिकाहरूले समेत गम्भीरता नबुझी बाल यौन दुराचारका सामग्री बनाइरहेको पनि एलएफएफ पनि जानकारी गराएको छ।
उदाहरणका लागि, उक्त संस्थाको सम्पर्कमा आएका एक व्यक्तिले आफ्नो १२ वर्षे छोराले एआई एप प्रयोग गरी आफ्ना साथीहरूको नग्न तस्बिर बनाएको र त्यसपछि "नेकिड टीन" भनी सर्च गरेको भन्दै चिन्ता व्यक्त गरेका थिए।
स्पेन र अमेरिकामा हालसालै 'डिक्लोथिङ' एप प्रयोग गरेर आफ्ना सहपाठीहरूको नग्न तस्बिर बनाएकोमा केही किशोरकिशोरीविरुद्ध मुद्दा परेको छ।
यो सामग्रीमा केही व्यक्तिको नाम उनीहरूको अनुरोधमा खुलाइएको छैन।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।