पुग्नै सात दिन डुङ्गा चढ्नुपर्ने दुर्गम टापुमा काम गर्ने मान्छेको खोजी

गोफ टापु

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, गोफ आइल्यान्ड दक्षिण आन्ध्र महासागरस्थित ब्रिटिश इलाका 'ट्रिस्टन ड कून'मा अवस्थित छ

वन्यजन्तु संरक्षणको क्षेत्रमा कार्यरत एउटा ब्रिटिश संस्थाले विश्वकै सबैभन्दा दुर्गममध्येको एउटा टापुमा १३ महिना काम गर्ने मानिसहरूको खोजी गरिरहेको छ।

‘गोफ आइल्यान्ड’ नामक उक्त टापु दक्षिण आन्ध्र महासागरस्थित निर्जन भूभाग हो। सो स्थान ब्रिटिश स्वामित्वमा छ।

अफ्रिकाको मूलभूमि भन्दा २,४०० किलोमिटर टाढा अवस्थित उक्त टापुमा कुनै पनि विमानस्थल छैन र त्यहाँ पुग्न दक्षिण अफ्रिकाबाट सात दिनको डुङ्गा यात्रा गर्नुपर्छ।

अहिले गोफ टापुमा काम गरिरहेका रेबेका गुडविल र लुसी डोर्मन पनि त्यही मार्गबाट त्यहाँ पुगेका थिए।

असी लाख चराहरू बस्ने यो टापुमा रेबेका र लुसीसहित सात जना मात्रै काम गरिरहेका छन्।

यो जोडी चाहिँ चराहरूको संरक्षणका क्षेत्रमा कार्यरत ‘रोयल सोसाइटी फर द प्रोटेक्शन अफ बर्ड्स’ (आरएसपीबी) नामक संस्थाका लागि काम गर्न त्यहाँ पुगेका हुन्।

गोफ आइल्यान्ड जानुअघि लुसीले एन्टार्क्टिका र रेबेकाले स्कटल्यान्डमा काम गरेका थिए।

वार्षिक रु ४२ लाख तलब

लुसी र रेबेका

तस्बिर स्रोत, ANTJE STEINFURTH

रेबेकाको कार्यावधि र यो टापुको बसाइ आगामी सेप्टेम्बरमा सकिन लागेका छ।

त्यसैले आरएसपीबीले नयाँ 'फील्ड अफिसर' खोजिरहेको छ। यहाँ काम गर्न छनोट हुने व्यक्तिका लागि वार्षिक तलब २५ देखि २७ हजार पाउन्ड अर्थात् न्यूनतम ४२ लाख नेपाली रुपैयाँ तोकिएको छ।

उक्त कामका लागि छानिने कर्मचारीले गर्नुपर्ने काममा चराहरूको आवागमन (ट्र्याकिङ) निगरानी गर्नुपर्छ। बारम्बार धेरै दिनसम्म चराहरू पछ्याइरहनुपर्ने भएका कारण काम गर्न जाने व्यक्तिले सब-एन्टार्क्टिक वातावरणमा बस्नका लागि घुलमिल हुनुपर्छ।

रेड लाइन
रेड लाइन

आवेदनका लागि विज्ञानमा स्नातक वा सो सरहको विषयमा अध्ययनका साथै जङ्गली चराचुरुङ्गी र वन्यजीवको रेखदेख गरेको अनुभव खोजिएको छ।

रेबेका र लुसी यहाँ काम गर्ने मानिसहरू यो क्षेत्रको चुनौतीपूर्ण मौसम सामना गर्न सक्ने र एक वर्षसम्म ताजा खानेकुरा नखाई बस्न सक्ने क्षमता भएको हुनुपर्ने बताउँछन्।

“ब्रिटिश भएका कारण म वर्षासँग बानी परिसकेकी छु जस्तो लाग्थ्यो। तर यहाँ त एकदम धेरै पानी पर्ने रहेछ,” लुसीले आफ्नो अनुभव सुनाइन्।

लुसी डोरमन

तस्बिर स्रोत, LUCY DORMAN

खानेकुराको व्यवस्थापन

उनका अनुसार उक्त टापु आन्ध्र महासागरको बीचमा एउटा सानो चट्टानमाथि रहेका कारण त्यहाँ ठूलो हावाहुरी र चरम मौसम सामना गर्नुपर्छ।

सबैभन्दा नजिकै रहेको देश २,००० किलोमिटर पर छ। त्यहाँ प्याक गरिएका र फ्रोजन खाद्यपदार्थ लैजानुपर्छ।

आफूहरूलाई टापुमा जानुअघि पनि पर्याप्त र ताजा खाद्यपदार्थ उपलब्ध हुन नसक्केबारे जानकारी दिइएको लुसीले बताइन्।

“मलाई कर्‍याप्प टोकेर खाने गाजर र राम्रो स्याउको चाहिँ खुबै याद आयो। त्यसबाहेक मलाई केही कुराको खासै वास्ता लागेको छैन," उनले भनिन्।

ताजा फलफूल र तरकारीले उम्रिने र फैलिने भएकाले यो टापुको जैविक सुरक्षामा जोखिम निम्त्याउन सक्छन्। तर खाद्यपदार्थ वर्षमा एक पटक ल्याएर फ्रिजमा राखिन्छ र आफूले मन लागेको बेला निकालेर खान पाइन्छ।

“एउटा तरकारीले भरिएको र अर्को फ्रोजन मासुले भरिएका भण्डारहरू छन्। त्यसबाहेक टिनको भाँडोमा चिस्याएर राखिएका फलफूल र तरकारी पनि हामीसँग छ,” रेबेका भन्छिन्।

उनका अनुसार एक वर्षसम्मका लागि पुग्ने खानेकुराहरू कर्मचारीहरू हेरफेर हुने समयमा पुर्‍याएर राखिन्छ।

नक्सामा गफ टापु

बाँकी विश्वसँग कसरी जोडिने?

रेबेकाको अनुभवमा उनी स्कटल्यान्डमा काम गर्दाको अवस्थामा भन्दा यहाँ पुगेपछि आफ्नो घरपरिवार र साथीहरूसँग धेरै कुरा गर्न पाइन्।

यो जोडीका अनुसार उनीहरू बस्ने ठाउँमा जडान गरिएको इन्टरनेटका कारण बाँकी विश्वसँग जोडिन कुनै समस्या छैन। यहाँ काम गर्ने मानिसहरूको सानो समूहले एकअर्कालाई गर्ने सहयोगका कारण सबै चुनौतीपूर्ण क्षण सहजै पार हुन्छ।

“यहाँ एकदमै गज्जबको समाज छ। हामी आफ्ना कथाहरू सुनाउँछौँ। एकअर्काबाट सिक्छौँ र एकअर्कालाई सहयोग पनि गर्छौँ। चाहे त्यो कसैको विवाह वा मलामीमा जान नपाउँदा दुःख लागेको बेला नै किन नहोस्,” रेबेकाले भनिन्।

आरएसपीबीको अन्तर्राष्ट्रिय संरक्षण विज्ञान समूहमा आबद्ध भएर लुसी र रेबेकाले चुच्चोमा पहेँलो हुने समुद्री पक्षी एल्ब्रट्रससहित धेरै लोपोन्मुख चराका गतिविधि नियालेका छन्।

उनीहरू दिउँसो मौसमसँग जुध्ने साहस जुटाउँदै पानी छेक्ने ज्याकेट र सुरुवालसँगै घुँडासम्म आउने रबरका जुत्ता लगाएर चराहरूको गतिविधि निगरानी गर्न हिँड्छन्।

रेबेका गुडविल

तस्बिर स्रोत, REBEKAH GOODWILL

मुसाको आतङ्क

उनीहरू यो टापुमा रहेका चराका बचेरा र तिनको मुसासँगको सङ्घर्षबारे तथ्याङ्क सङ्कलन गरिरहेका छन्। आक्रामक प्रजातिको मुसाले यो टापुमा चराका बच्चाको सिकार गरिरहेको छ।

“तिनीहरू (मुसा)ले समुद्री चराहरू खान सुरु गरेछन्,” लुसी भन्छिन्।

“तर तिनको सिकार गर्ने केही छैन। त्यसैले साना बचेराहरूमा यसले ठूलो असर गरिरहेको छ।"

सन् २०१७ देखि २०१८को अध्ययनले यहाँ बचेराहरूका लागि मुसा धेरै घातक भएको देखाएको थियो। त्यो अवधिमा ट्रिस्टन एल्बट्रस चराका जम्मा २१ प्रतिशत बचेरा मात्रै उड्न सक्ने बनुन्जेल बाँचेका थिए। भुइँमा दुलोभित्र गुँड लगाउने मक्गिलिभरिज् प्रायन जातिको चराको त एउटा पनि बचेरा पनि जोगिएन।

संरक्षणका लागि काम गरिरहेको संस्थाले गोफ आइल्यान्डमा १९औँ शताब्दीमा पुगेका नाविकहरूसँग मुसा पुगेको हुनसक्ने अनुमान गरेका छन्।

अहिले उनीहरू यहाँ मुसा उन्मूलन गर्ने प्रयास गरिरहेका छन्।

प्रयासमा केही सफलता हात परेको भए पनि सो टापुलाई मुसामुक्त बनाउन भने सकिएको छैन।

गोफ आइल्यान्डमा एक वर्षका लागि जान चाहनेले सो स्थानको विकटतासँगै फ्रोजन खानेकुराको आनन्द लिएर चरा र मुसाहरूसँग काम गर्नुपर्ने हुनसक्छ।

त्यसका लागि आवेदनको अन्तिम समय आइतवारसम्म तोकिएको छ।