नर्वे: उत्तरी ध्रुव नजिकैको बीउ भण्डार कस्तो

स्भाल्बार्ड सीड ब्याङ्क

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, स्भाल्बार्ड सीड ब्याङ्क सबभन्दा पहिले सन् २००८मा खोलिएको थियो।

नर्वेको सरकारले उत्तरी ध्रुवमा पर्ने आर्क्टिक क्षेत्रमा रहेको बीज ब्याङ्कको थप सुरक्षाको लागि एक सय बिस करोड डलरभन्दा बढी रकम खर्च गने भएको छ।

बढ्दो विश्व तापमानका कारण संकटमा पर्न थालेका बीउबिजन संरक्षणमा कटिबद्ध भण्डार स्भाल्बार्ड सीड ब्याङ्कमा विश्वका ४० प्रतिशतभन्दा बढि प्रजातिका बोटबिरुवाका बीउ संकलित र सुरक्षित राखिएका छन्।

समय, प्रकृति र मानवद्वारा उत्पन्न चुनौतीहरूबाट बीउ बचाउने उद्देश्यले १० वर्ष पहिले बनाइएको सो भण्डारमा पछिल्लो समय अपेक्षा गरेभन्दा धेरै वर्षा र हिउँ परिरहेको छ।

समस्या

तापक्रम झनै घटिरहेका कारण जमिनमुनिको गहिरो भण्डारको पर्वततर्फ पानी चुहिन थालेको बताइएको छ।

आवश्यकताभन्दा बढी न्यानो वा चिसो अवस्थाबाट पर्ने असर कम गरी त्यो भण्डारमा आगामी सन् २०१९ को मे महिनासम्ममा विशेष चिस्यान प्रणाली र नयाँ सुरुङहरू निर्माण गर्ने योजना बनाइएको छ।