दक्षिण कोरियामा विमान दुर्घटना, जहाजमा रहेका अधिकांशको मृत्यु

तस्बिर स्रोत, Getty Images
- Author, जोर्ज राइट
- Role, बीबीसी न्यूज
दक्षिण कोरियामा १८१ यात्रु बोकेको एउटा जहाज दुर्घटना हुँदा १७९ जनाको ज्यान गएको देशको अग्नि नियन्त्रण सेवाले जनाएको छ।
जेजु एअरको बोइङ ७३७ विमानमा १७५ जना यात्रु र ६ जना चालक दलका सदस्य थिए।
त्यसमध्ये विमानको भग्नावशेषबाट दुई जना चालक दलका सदस्यलाई घाइते अवस्थामा निकालेर अस्पताल पुर्याइएको छ। अन्य सबैको ज्यान गएको कोरियाली अधिकारीहरूले पुष्टि गरेका छन्।
त्यो विमान थाइल्यान्डको ब्याङ्ककबाट फर्किरहेको थियो र उक्त दुर्घटना अवतरणको समयमा भएको विवरण आएका छन्।
देशको दक्षिण पश्चिममा पर्ने मुआन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गबाट घिस्रिएको उक्त विमान पर्खालमा ठोक्किएको थियो।

तस्बिर स्रोत, Reuters/Yonhap
जेजु एअरको व्यवस्थापनले विमानमा कुनै पनि प्रकारको प्राविधिक खराबी नरहेको जनाएको छ।
उक्त कम्पनीले दुर्घटनाको कारण पत्ता लगाउन जाँच गर्ने बताएको छ।
विमानस्थलमा उक्त घटनामा मृत्यु भएका मानिसहरूका आफन्त भेला भएका छन् र उनीहरूले आफ्नो पीडा अभिव्यक्त गरिरहेका छन्।
त्यहाँ हरेक मिनेटमा मानिसहरू रोइरहेको आवाज सुनिएको बीबीसीका त्यहाँस्थित संवाददाताले जनाएका छन्।
सरकारले त्यहाँ सात दिने राष्ट्रिय शोकको घोषणा गरेको छ। यस अवधिमा देशको झन्डा आधा झुकाइने छ भने कर्मचारीहरूले कालो रिबन बाँध्ने छन्।
विभिन्न देशका राष्ट्रप्रमुखसहित नेताहरूले पनि उक्त घटनाप्रति गहिरो दु:ख व्यक्त गरेका छन्।

तस्बिर स्रोत, Reuters
कार्यवाहक राष्ट्रपतिको निर्देशन
दुर्घटनास्थलमा दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति छे साङ-मुक पनि पुगेको राष्ट्रपतीय कार्यालयले जनाएको छ।
उनले जनशक्ति, स्वास्थ्य सेवा र उपकरण उपलब्ध गराएर उद्धार प्रयासलाई सहयोग गर्न निर्देशन दिएको उनको कार्यालयले जनाएको छ।
सरकारले शोकसन्तप्त परिवारलाई सकेको सहयोग दिने जनाएको छ।
जारी राजनीतिक सङ्कटमाझ यसअघिका कार्यवाहक राष्ट्रपतिमाथि महाभियोग लागेपछि उनी शुक्रवार मात्रै कार्यवाहक राष्ट्रपति घोषित भएका थिए।
सो विमानमा १७३ जना दक्षिण कोरियाका नागरिक र दुई जना थाई नागरिकहरू रहेका योन्हापले जनाएको छ।
त्यसमा यात्रारत व्यक्तिहरूको उमेर तीन वर्षदेखि ७८ वर्षसम्म थियो।
दुर्घटनाको कारण खुलेको छैन तर स्थानीय सञ्चारमाध्यमहरूले विमानको प्रणालीमा चराले क्षति पुर्याउँदा यस्तो भएको हुनसक्ने विवरणहरू सार्वजनिक गरिरहेका छन्।
तस्बिरहरूमा विमानको तल्लो भाग घिस्रिएको र त्यसले एउटा पर्खालमा ठक्कर दिएपछि पड्किएको देख्न सकिन्छ।
चराहरूले अवतरण गराउने 'ल्यान्डिङ गियर'मा समस्या निम्त्याएको हुन सक्ने बताइएको छ।

तस्बिर स्रोत, EPA
अग्नि नियन्त्रण निकायले खराब मौसम र चराले ठक्कर दिनु दुर्घटनाको सम्भावित कारण हुन सक्ने ठानेको छ। मुआन फायर डिपार्टमेन्टका प्रमुखले वास्तविक कारणबारे अनुसन्धान भइरहेको बताए।
उनले भने, "विमानको पछिल्लो भाग सग्लो छ तर अरू भाग चिन्न नसकिने अवस्थामा पुगेको छ।"
उक्त विमानस्थलले सबै उडानहरू बन्द गरेको छ।
भिडिओहरूमा कालो धुँवाको ठूलो लप्का आकाशतर्फ उडेको देख्न सकिन्छ।
मुआन राजधानी सोलबाट करिब २८८ किलोमिटर दक्षिणमा पर्छ।
दक्षिण कोरियाको उड्डयन उद्योग हवाई सुरक्षाका मामिलामा बलियो रहेको विश्वास गरिन्छ।
जेजु एअरको इतिहासमा यो पहिलो दुर्घटना हो। सन् २००५ मा स्थापित जेजु एअर दक्षिण कोरियाकै सर्वाधिक ठूलो मध्येको कम बजेटमा उडान सेवा प्रदान गर्ने वायुसेवा कम्पनी हो।
सो दुर्घटनापछि जेजु एअरले माफी मागेको छ।
एउटा विज्ञप्तिमा उसले भनेको छ, "हामी जेजु एअर मुआन विमानस्थलमा भएको यो घटनामा क्षति व्योहोरेका सबैसँग शिर निहुराएर माफी माग्छौँ।"
"यो घटनापछि हाम्रोतर्फबाट गर्न सकिने सबै थोक हामी गर्छौँ। यो पीडाप्रति हामी क्षमा माग्छौँ," जेजु एअरले भनेको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








