तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
भोट हाल्न घर फर्कनेहरू बढे, दैनिक ४० हजारभन्दा बढी काठमाण्डू उपत्यकाबाट बाहिरिँदै
आसन्न आमचुनावमा भोट हाल्नका लागि घर फर्कने मानिसहरूको सङ्ख्यामा निकै वृद्धि देखिएको ट्राफिक प्रहरीले जनाएको छ।
काठमाण्डू उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्ला दिनमा दैनिक ४० देखि ४२ हजार व्यक्ति उपत्यकाबाट बाहिरिरहेका छन्।
चुनाव लक्षित सार्वजनिक बिदा भएर पनि घर फर्कने मानिसहरू धेरै देखिएका यातायात व्यवसायीले बताएका छन्।
सरकारले बिहीवार हुन लागेको चुनावका लागि बुधवार, बिहीवार र शुक्रवार सार्वजनिक बिदा दिएको छ।
त्यसअघि फागु पर्वको बिदा र तीनदिने सार्वजनिक बिदाको भोलिपल्ट शनिवार परेकोले पनि धेरै मानिसहरू मतदानका लागि घर गइरहेका बताइएको छ।
आकलन के छ?
फागु पर्वलगत्तै आमचुनाव परेकोले काठमाण्डू उपत्यकाबाट बाहिरिने यात्रुहरूको अहिले भिडभाड बढेको काठमाण्डू उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक नरेशराज सुवेदीले बताए।
"दैनिक सरदर ४० देखि ४२ हजारको सङ्ख्यामा यात्रुहरू बाहिरिइरहेका छन्। फागुनको पहिलो हप्तादेखि बाहिरिने व्यक्तिहरूको सङ्ख्या बढेको छ," बीबीसी न्यूज नेपालीसँग उनले भने।
सुवेदीका अनुसार गत दुई हप्ताको अवधिमा साढे सात लाख यात्रु काठमाण्डू उपत्यकाबाट बाहिरिएका तथ्याङ्क छ।
नागढुङ्गा, बल्खु लगायतका नाकाबाट लामो तथा मध्यम दूरीका सवारीसाधनहरू काठमाण्डू उपत्यकाबाट बाहिरिइरहेका छन्।
काठमाण्डू उपत्यकाबाट बाहिरिने व्यक्तिहरूको सङ्ख्या बुधवारसम्म आठ लाखभन्दा बढी हुने आफूहरूको आकलन रहेको यातायात व्यवसायीहरूले बताएका छन्।
"फागुन १९ गते राति १२ बजेसम्म साढे आठ लाखदेखि नौ लाख व्यक्ति बाहिरिने हाम्रो अनुमान छ," राष्ट्रिय यातायात व्यवसायी महासङ्घका कार्यवाहक अध्यक्ष सरोज सिटौलाले बीबीसी न्यूज नेपालीसँग भने।
आयोगका अनुसार बुधवार राति १२ बजे अघिसम्म लामो दूरीका गाडीहरू गुड्न पाउने छन्।
"बुधवार राति १२ बजेदेखि मतदान सम्पन्न नभएसम्म गुड्न पाउने छैनन्," निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जीसीले बीबीसी न्यूज नेपालीसँग भने।
देशभरि बिहीवार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने आयोगले निर्धारण गरेको छ।
व्यवस्थापनको अवस्था
काठमाण्डूको बालाजुस्थित नयाँ बसपार्कदेखि सवारीसाधनहरू छुट्ने विभिन्न प्रस्थानबिन्दुमा घर फर्कने मानिसहरूको भिडभाड देखिएको छ।
तर लामो र मध्यम दूरीका लागि पर्याप्त सवारीसाधनको व्यवस्थापन गरिएको सिटौलाले बताए।
"कहीँ कतै सवारीसाधनको अभाव भएको छैन। हामीले पर्याप्त व्यवस्थापन गरेका छौँ। यात्रुहरू उत्साहजनक रूपमा गइरहेका छन्," उनले अगाडि थपे।
बस, मिनी बस, टाटा सुमो लगायतका सवारीसाधनहरू गुडिरहेका यातायात व्यवसायीहरूले बताएका छन्।
मोटरसाइकललगायत आफ्नै सवारीसाधन भएका मानिसहरू पनि उल्लेख्य सङ्ख्या घर फर्किरहेका बताइएको छ।
बढी भाडाबारे गुनासो
कतिपय यात्रुले चापका कारण नियमित भाडादरभन्दा बढी रकम तिर्नुपरेको गुनासो गरेका छन्।
ट्राफिक प्रहरीले त्यस्ता गुनासो सम्बोधन गरिएको जनाएको छ। हामीलाई पनि एकाध त्यस्ता गुनासा आएका थिए। त्यसलाई हामीले सम्बोधन गरेका छौँ।
विभिन्न नाका भएर बाहिरिने गाडीहरूलाई रोकेर यात्रुका केही गुनासो भए सोधिरहेका छौँ।
भाडादर अथवा अरू कुनै किसिमको गुनासो भएमा खबर गर्न ट्राफिक प्रहरीले यात्रुहरूलाई अनुरोध गरेको छ।
"हामीलाई १०३ वा १०४ मा टेलिफोन गरेर आफ्नो गुनासो र गाडी नम्बर पनि टिपाउन सकिन्छ," प्रहरी उपरीक्षक सुवेदीले भने।
यात्रुहरूको ओहोरदोहोर धेरै हुने समयमा दुर्घटना हुने गरेका विगतका उदाहरण रहेकामा सावधानी अपनाउन ट्राफिक प्रहरीले आग्रह गरिरहेको जनाएको छ।
"चालकहरूलाई रोकेर तीव्र गतिमा नचलाउन, लेन नियम नमिच्न, क्षमताभन्दा बढी यात्रु नराख्न र ओभरटेक नगर्न भनेर हामीले भनिरहेका छौँ," उनले अगाडि थपे।
"ओभरटेक गर्दा पहाडी बाटोमा पछिल्लो समय दुर्घटना बढेको पाइएको छ। त्यसैले त्यसरी गाडी नचलाउन भनेर हामीले सम्झाइबुझाइ गर्ने गरेका छौँ। लामो दूरीको यात्रामा सकेसम्म दुईजना चालक राख्नूस् पनि भनिरहेका छौँ।"
नाकाबाट जाने गाडीहरूलाई रोकेर गुनासो भए भन्न र चालकहरूलाई पनि सावधानीसाथ चलाउन तीव्र गतिमा नचलाउनूस् लेन नियम नमिच्नूस् लामो दूरीका हकमा सकेसम्म दुईजना चालक राख्नूस् भनिरहेका छौँ।"
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका कार्यवाहक अध्यक्ष सिटौलाले पनि जोखिम मोलेर नजान र नलैजान अनुरोध गरिएको बताए।
"पछिल्लो समय धेरै दुर्घटना पनि भएका छन्। त्यो भएर हामीले यात्रुलाई जोखिम मोलेर नजानूस् र व्यवसायीहरूलाई पनि त्यसरी नलैजानूस् भनेका छौँ," उनले भने।
भाडादर बढी असुल गरिएको गुनासोबारे सिटौलाले आधिकारिक ठाउँबाट मात्र टिकट किन्न आग्रह गरे।
"यात्रुहरूलाई टिकट काउन्टरहरूबाट मात्र टिकट खरिद गर्न म आग्रह गर्छु। नियामक निकायले पनि नियमन गर्नुपर्यो। धेरै भाडा लिन पाइँदैन," सिटौलाले अगाडि थपे।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।