प्रकृति कि लालनपालन? अनपेक्षित बानीबेहोरा जुन उस्तै जुम्ल्याहाहरूका साझा हुन्छन्

जुम्ल्याहाहरूले जहिले पनि मोहित तुल्याउँछन्। जुम्ल्याहाहरूले निम्न प्रश्नहरू सुनेकै हुन्छन्।

"के तपाईँसँग साइकिक (अलौकिक) शक्ति छ?"

"के एकअर्काको पीडा तपाईँहरूलाई महसुस हुन्छ?"

"के तपाईँहरूले कहिल्यै आफूहरूलाई अदलबदल गर्नुभएको छ?"

दुई अलग व्यक्ति तर देखिँदा उस्तै - जुम्ल्याहाहरूको रहस्य र आकर्षणले प्राचीन मिथकदेखि लिएर सङ्गीत, फिल्म र साहित्यलाई उत्प्रेरित गरेको छ।

तर विज्ञानमा पनि जुम्ल्याहाबारे निकै रुचि छ। हाम्रा बानीबेहोराहरूलाई वंशाणु कारण तथा वातावरणले कसरी प्रभाव पारेका हुन्छन् भनेर जान्न तिनले विशिष्ट अवसर दिन्छन्। हामी जे हौँ त्यसका लागि प्रकृति जिम्मेवार छ कि लालनपालन?

जुम्ल्याहाहरू दुई प्रकारका हुन्छन्। उस्तै नदेखिने वा फ्र्याटर्नल ट्वीन्स जो दुई भिन्दै तर एकै समयमा निस्किएका डिम्बबाट उत्पन्न हुन्छन् र जसलाई फरक शुक्रकीटले निषेचन गरेको हुन्छ। औसतमा तिनको आधा जीन उस्तै हुन्छ, लगभग सामान्य दाजुभाइ-दिदीबहिनी सरह।

उस्तै देखिने जुम्ल्याहा चाहिँ एउटै शुक्रकीटबाट निषेचन भएका हुन्छन् जो दुईवटा भ्रूणमा विभक्त हुन्छन् अर्थात् तिनका लगभग सबै जीन समान हुन्छन् र उस्तै देखिन्छन्। यस्ता जुम्ल्याहा अलि दुर्लभ हुन्छन् - प्रत्येक १,००० जन्ममा जम्मा ३ वटा।

स्वयं एक फ्र्याटर्नल ट्वीन रहेकी प्राध्यापक न्यान्सी सेगलले आफ्नो सम्पूर्ण पेशागत जीवन यसकै अध्ययनमा लगाएकी छन्। अमेरिकाको क्यालिफोर्निया स्टेट युनिभर्सिटी, फुलरटनकी एक व्यवहारगत वंशाणुविद् तथा मनोविद् उनी त्यहाँको ट्वीन्स स्टडिज सेन्टरकी प्रमुख हुन्।

"बुद्धिमतादेखि लिएर दौड, व्यक्तित्वदेखि लिएर उचाइ र तौलजस्ता विविध गुणहरूमा वंशाणुगत तथा वातावरणीय प्रभावबारे जुम्ल्याहाहरूको अध्ययनले हामीलाई थाहा दिन्छ," प्राध्यापक सेगलले भनिन्।

सामान्यतया जुम्ल्याहाहरूको अध्ययनले आनुवंशिक रूपमा दुरुस्त जुम्ल्याहाहरूलाई फ्र्याटर्नल जुम्ल्याहासँग तुलना गर्छन्। यदि कुनै आनीबानी दुरुस्त जुम्ल्याहाहरूमा समान छ भने तिनको सो बानीको विकासमा अनुवंशको केही भूमिका भएको ठानिन्छ।

अनुवंशले हाम्रा उचाइ, तौल वा बुद्धिमता निर्धारण गर्छ भन्ने ठूलो आश्चर्यको विषय होइन। तर जुम्ल्याहाहरूमा गरिएका अध्ययनले हाम्रा व्यक्तिगत आनीबानी र व्यवहार निर्धारणमा समेत जीनको केही भूमिका हुने देखाएका छन्।

"जुम्ल्याहाहरूलाई . . . धेरै किसिमका व्यवहारगत अध्ययनहरूमा उपयोग गरिएका छन्: धार्मिकपना तथा सामाजिक बेहोरा, अनि मृत्युदण्ड वा लागुऔषध प्रयोग वा वित्तीय लगानी व्यवहारबारे दृष्टिकोण समेत," प्राध्यापक सेगलले भनिन्।

उदाहरणका लागि अमेरिका, नेदर्ल्यान्ड्स र अस्ट्रेलियामा गरिएका अध्ययनहरूमा धार्मिक मामिलामा फ्र्याटर्नल जुम्ल्याहाहरूभन्दा दुरुस्त जुम्ल्याहाहरूबीच समान धारणा रहने गरेको पाइएको थियो। यसले आस्थाको मामिलामा पनि हाम्रा जीनको भूमिका रहने देखाउँछ।

हाम्रा जीनले हामीलाई ईश्वरमा आस्थावान हुने सम्भावना धेरै गराउने भन्ने त होइन तर बुद्धि वा संवेदनशीलता जस्ता विविध बेहोराको जटिल संयोजनले त्यस्ता विषयमा प्रभाव पार्ने प्राध्यापक सेगलले बताइन्।

छुट्टाछुट्टै हुर्किएका जुम्ल्याहा

प्राध्यापक सेगलको अनुसन्धानको सबभन्दा अचम्मलाग्दो निचोड अलग्गै हुर्किएका दुरुस्त जुम्ल्याहाहरूको अध्ययनमा निक्लिएको छ।

"एउटा त व्यक्तित्वसम्बन्धी छ। उग्रपना र परम्परागत कस्तो व्यवहार हुन्छ भन्नेमा. . . सँगसँगै वा छुट्टाछुट्टै हुर्किएका दुवैथरी दुरुस्त जुम्ल्याहाहरूमा समानता पाइयो। जसले साझा वातावरणभन्दा वंशानुगत प्रभावले यसमा असर पार्ने देखायो।"

एउटा सबभन्दा चर्चित उदाहरण चाहिँ प्राध्यापक सेगलले जन्मनासाथ छुट्टिएर अलग्गै हुर्किएका एक दुरुस्त जुम्ल्याहा जोडी एन हन्ट र एलिजबेथ हमेलको अध्ययन हो।

सबभन्दा लामो समय छुट्टिएका जुम्ल्याहा जोडीको गिनीज विश्व कीर्तिमान उनीहरूकै नाममा छ – ७८ वर्षको। यूकेमा हुर्किएकी एनले खोजेपछि अमेरिकामा रहेकी एलिजबेथसँग भेट भयो।

यो अध्ययनको परिणाममा एन र एलिजबेथबीच कैयन् समान व्यक्तित्व व्यवहार पाइयो। दुवैले बिहे गरेका पुरुषको नाम पनि एकै थियो – जिम।

अन्य अध्ययनमा पाइएका कतिपय परिणाम पनि अचम्मलाग्दा छन्।

"अनौठा बानी तथा व्यवहार पनि समान पाइए। उदाहरणका लागि एक जोडी दुरुस्त जुम्ल्याहाले एक निश्चित् स्वीडिश ब्र्यान्डको मात्र टुथपेस्ट प्रयोग गर्ने गरेको पाइयो। अर्को दुरुस्त जोडीको जब मिनिसोटा विमानस्थलमा भेट भयो दुवैले सातवटा औँठी, तीनवटा बाला र एउटा घडी लगाएका थिए।"

त्यतिमात्र होइन।

"अर्को जोडीलाई नाडीमा रबर ब्यान्ड लगाउने अनि ट्वाइलेट जानु अघि र पछि हात धोइहाल्ने बानी रहेछ। सायद उनीहरू किटाणुप्रति धेरै संवेदनशील अनि सरसफाइमा धेरै ध्यान दिने रहेछन्।," प्राध्यापक सेगलले भनिन्।

स्कटल्यान्डका दुरुस्त जुम्ल्याहाका एक जोडी बेग्ला बेग्लै हुर्किए। तर दुवैले आफ्नो टोस्टलाई बराबर चार भागमा काट्ने अनि केवल तीन भाग खाने गर्दा रहेछन्। त्यसले आफ्नो खानपानमा ध्यान दिने वा प्लेटमा भएका सबै नखाने समान बानी देखाउने उनले बताइन्।

"यी कुराहरूले यी संयोगवश मात्र भएको देखाउँदैन। हामी सबैका केही न केही अनौठा वा असामान्य बानी हुन्छ। ती त्यत्तिकै पलाउँदैनन्। तिनले केही हदसम्म हाम्रा व्यक्तित्व झल्काउँछन्," प्राध्यापक सेगलले निष्कर्ष सुनाइन्।

'जिम जुम्ल्याहा'को उदाहरण

जुम्ल्याहाबीच हुने एउटा अति समानता दर्शाउने उदाहरण अमेरिकाको मिनिसोटाका जिम जुम्ल्याहाको छ। दुवैको नाम जिम। जन्मनासाथ उनीहरू छुट्टिए अनि एकैपल्ट ३९ वर्षको उमेरमा दुईको भेट हुँदा तिनको जीवन विचित्र रूपले समान पाइयो। दुवैले बिहे गरेका महिलाको नाम लिन्डा रहेछ अनि दुवैले फेरि पुनर्बिहे गरेछन् र दोस्रो श्रीमतिको नाम पनि समान बेटी रहेछ। दुवैको कुकुरको नाम टोय र एक छोराको नाम जेम्स एलन रहेछ। दुवैको नङ् टोक्ने बानी र एउटै समुद्री तटमा विदा मनाउने बानी रहेछ।

युनिभर्सिटी अफ मिनिसोटाका डा थोमस बुचर्डले उक्त जुम्ल्याहा जोडीको अध्ययन गरेका थिए जसमा उनीहरूको व्यक्तित्वमा अचम्मलाग्दा समानता देखियो जबकी उनीहरूबीच सम्पर्कै थिएन।

यस्ता अनौठा उदाहरणले एक प्रश्न जन्माउँछ, के हाम्रा रोजाइ तथा व्यवहारको निर्धारणमा हाम्रा आफ्ना भूमिका हामीले सोचेजति हुन्छ त?

"वंशानुगत प्रभाव हुन्छ भन्दैमा तपाईँ स्वयंको कुनै पनि भूमिका हुँदैन भन्ने होइन," प्राध्यापक सेगलले भनिन्। उनले सम्बन्धविच्छेदलाई जीवनको महत्त्वपूर्ण घटना तर जसलाई – सम्पूर्ण रूपले - जीनले निर्धारण नगर्ने उदाहरण दिन्छिन्।

उसो भए यस्ता विषयमा कस्ता खास जीनको भूमिका हुन्छ?

"सायद अप्ठेरा व्यक्तित्व व्यवहार, जिद्दीपना तथा त्यस्तै अन्य बानीमा जीनको भूमिका बढ्ता हुन्छ। तर तपाईँको जीनले सम्बन्धविच्छेद गर त भन्दैन! यो निर्णय तपाईँले लिनु हुन्छ। त्यसैले स्वेच्छालाई यसले एकदमै धेरै प्रभाव पार्छ भन्ने लाग्दैन।"

उनको सुझावमा महत्त्वपूर्ण कुरा के हो भने कुनै पनि विषयलाई ठोकुवा गरेर लिनु हुँदैन। हाम्रा आनीबानी तथा व्यक्तित्व जसले हामीलाई यो स्वरूपमा निर्माण गरेको हुन्छ त्यसको यकिन स्रोत हुँदैन।

"मानिसहरू सोच्दछन् कि लालनपालन वा वातावरणले हामीलाई सम्पूर्ण रूपमा निर्माण गर्छ। तर त्यो गलत बुझाइ हो भन्ने मलाई लाग्छ," प्राध्यापक सेगलले भनिन्।

बीबीसी विश्व सेवाको क्राउडसाइन्स नामक रेडिओ कार्यक्रमको एक अध्यायमा आधारित।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।