'विपिन जोशीको टाउकोमा गोली प्रहार भएको देखियो': इजरेली राजदूत

इजरेलबाट विपिन जोशीको पार्थिव अवशेष नेपाल आइपुगेपछि शवपेटिका र जोशीको तस्बिरनजिकै सम्मान व्यक्त गर्दै एक व्यक्ति

तस्बिर स्रोत, Reuters

    • Author, हिक्मत रावल
    • Role, धनगढी

गाजामा हमासको नियन्त्रणमा मृत्यु भएका नेपाली विद्यार्थी विपिन जोशीको "टाउकोमा गोली प्रहार भएको सङ्केत विधिविज्ञान परीक्षणले गरेको" दाबी नेपालका लागि इजरेली राजदूत स्मूलिक एरी बासले गरेका छन्। इजरेली पक्षले जोशीको हत्या भएको बताउँदै आएको छ।

मङ्गलवार जोशीको दाहसंस्कारमा सहभागी भएपछि उनी शोकाकुल परिवारलाई भेट्न कञ्चनपुरको मालिकार्जुनस्थित जोशी निवासमा गएका थिए। त्यहाँबाट निस्कँदै गर्दा उनले बीबीसी न्यूज नेपालीसँग सङ्क्षिप्त कुराकानी गर्दै विपिनको मृत्युबारे टिप्पणी गरेका हुन्।

"केही साताअघिसम्म विपिन जिउँदै छन् भन्ने लागेको थियो। तर पछि आएर हमासले नियन्त्रणमा रहेकै बेला उनको हत्या गरेको हुन सक्ने देखियो। विधिविज्ञान परीक्षणको प्रतिवेदनबाट पनि विपिनको टाउकोमा गोली प्रहार भएको थाहा पाएका छौँ," उनले भने।

गाजामा सङ्घर्षविराम भएपछि सहमतिअनुरूप हमासले आफूसँग भएका २० जीवित बन्धकलाई मुक्त गरेको थियो भने केही मृतकका शव पनि अन्तर्राष्ट्रिय रेडक्रसमार्फत् इजरेललाई हस्तान्तरण गरेको थियो। त्यही क्रममा १३ अक्टोबरमा विपिन जोशीको शव पनि फिर्ता भएको हो। त्यसअघिसम्म उनको अवस्था अज्ञात थियो र परिवारजन उनी जीवितै फर्किन्छन् भन्ने आशामा थिए।

जोशीको शव इजरेल पुगेपछि इजरेली सेनाले गाजा युद्धको प्रारम्भिक महिनातिरै "नेपाली विद्यार्थी विपिन जोशीको बन्धक अवस्थामै हत्या भएको हुन सक्ने" बताएको थियो।

इजरेलको राष्ट्रिय विधिविज्ञान केन्द्रले जोशीको मृत्युको परिस्थितिसम्बन्धी परीक्षण सम्पन्न गरेपछि उनको विषयमा अन्तिम निष्कर्ष जनाएको थियो। तर विधिविज्ञान परीक्षणको प्रतिवेदन सार्वजनिक हुन बाँकी नै छ।

हमासले इजरेली दाबीबारे कुनै प्रतिक्रिया व्यक्त गरेको छैन। विपिन जोशीको हत्या भएको वा गाजामा युद्ध चर्किँदा उनको अन्य कारणले मृत्यु भएको हो भन्ने कुराको स्वतन्त्रतापूर्वक पुष्टि हुन बाँकी नै छ।

डीएनए तथा विधिविज्ञान परीक्षण गरेपछि इजरेलले जोशीको शव सोमवार नेपाल ल्याएर बुझाएको थियो।

दाहसंस्कारमा सहभागी व्यक्तिहरूका अनुसार शवपेटिकामा विपिन जोशीको सग्लो शरीर नभई अस्थिपञ्जर मात्र आएको थियो।

गाजामा सङ्घर्षविराम भएपछि हमास र इजरेली पक्षबीच बन्धक र कैदीबन्दी साटफेर गर्ने क्रममा गत साता विपिन जोशीको शव इजरेल फिर्ता भएको थियो।

इजरेली सेनाले जोशीको हत्या "बन्धक अवस्थामा युद्ध सुरु भएको प्रारम्भिक महिनातिरै भएको" दाबी गरेको थियो। तर उक्त दाबीको स्वतन्त्रतापूर्वक पुष्टि भइसकेको छैन।

जोशी परिवारलाई आश्वासन

शवयात्रा हुन लाग्दा विपिनकी बहिना पुष्पा र अन्य आफन्त शोकाकुल मुद्रामा
तस्बिरको क्याप्शन, इजरेलका राष्ट्रपतिले विपिनकी बहिनी, आमा र बुवालाई सम्बोधन गरेर शोकसन्देश पठाएका थिए

अन्त्येष्टिलगत्तै राजदूत बास जोशी परिवारसँगै विपिनको घर फर्किएका थिए।

"करिब दुई घण्टा परिवारसँग बसेर राजदूत बासले हामीलाई सान्त्वना दिनुभयो, इजरेल सरकारले सक्दो सहयोग गर्ने आश्वासन दिएर जानुभयो," विपिनका ठूलाबुवाका छोरा किशोर जोशीले भने।

राजदूत बास विपिनको शवसँग काठमाण्डूबाट सोमवार राति कञ्चनपुर गएका थिए। यसअघि पनि उनी दुई पटक विपिनको परिवारलाई भेट्न मालिकार्जुन पुगेको परिवारका सदस्यहरूले बताएका छन् ।

जोशी निवासबाट बाहिरिँदै गर्दा बीबीसीले सोधेको प्रश्नमा उनले आफू दुइटा सन्देश लिएर कञ्चनपुर आएको बताए।

"पहिलो, इजरेलका राष्ट्रपतिको शोकसन्देश र अर्को दुःखद स्थितिका बीच पनि हिन्दू परम्परानुसार सम्मानपूर्वक विपिनको अन्त्येष्टि हुन सकोस् भन्ने।"

राजदूतको प्रतिप्रश्न

विपिन जोशीको तस्बिरअगाडि इजरेली राजदूत स्मूलिक एरी बास

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, विपिन जोशीको शवसँग इजरेली राजदूत बास कञ्चनपुर गएका थिए (फाइल तस्बिर)

उनले विपिन जोशी साहस एवम् इजरेल-नेपाल सम्बन्धका प्रतीकका रूपमा रहने बताए।

"इजरेल जहिले पनि परिवारका साथ रहने छ । सदा सम्झिने छौँ विपिनलाई," उनले भने।

इजरेल सरकारले पनि विपिनको रिहाइको पहल केही ढिलो गरेको हो कि भन्ने प्रश्न गरेका छन् नि भन्ने प्रश्नमा उनले भने, "आरोप हमासलाई लगाउनुपर्ने हो जसले विपिनलाई अपहरण गर्‍यो, दुई वर्षसम्म अज्ञात अवस्थामा राख्यो, हत्या गर्‍यो। हामीलाई होइन, निर्दयी हमासलाई किन आरोप लगाउनु सक्नुहुन्न?"

राजदूत बास र इजरेली दूतावासका अन्य कर्मचारीहरू काठमाण्डू फर्किसकेको बुझिएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।