'यति लामो पर्ख्यौँ तर...': महाकालीको किनारमा विपिन जोशीको दाहसंस्कार

महाकाली नदीको भुजेला आर्यघाटमा विपिन जोशीको दाहसंस्कार गरिँदाको क्षण

तस्बिर स्रोत, BBC/Hikmat Rawal

    • Author, हिक्मत रावल
    • Role, भुजेला आर्यघाट, महाकाली

गाजा युद्धमा हमासले बन्धक बनाएको अवस्थामै ज्यान गुमाएका विपिन जोशीको मङ्गलवार बिहान कञ्चनपुर जिल्लामा महाकाली नदीको किनारमा अन्येष्टि भएको छ।

बुवा बुवा महानन्द जोशी र ठूलो बुवाका छोरा किशोर जोशीले विपिनको पार्थिव अवशेषलाई दागबत्ती दिएका । त्यसअघि सशस्त्र प्रहरीको एउटा टुकडीले विपिनप्रति सलामी अर्पण गरेको थियो।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले नेपालको राष्ट्रिय झण्डा ओढाएर विपिन जोशीप्रति सम्मान व्यक्त गरेका थिए। त्यसअघि नेपालस्थित इजरेली राजदूतले इजरेली राष्ट्रपतिको शोक सन्देश वाचन गरेर सुनाएका थिए। दूतावासका एक प्रतिनिधिले इजरेलको राष्ट्रिय झण्डा विपिनको शवमा ओढाउँदै उनको सम्झनाका लागि भन्दै महाकाली नदीको एउटा ढुङ्गा बोकेर लगेका छन्।

शवयात्रामा ५०० जनाभन्दा बढी उपस्थित थिए। उनीहरूले विपिनको साहसको प्रशंसा गर्दै उनी मारिएकोमा आफूहरू मर्माहत रहेको बताए।

अन्तिम संस्कारसँगै जोशी परिवारले विपिनको डायरी, गितार र कपडासहितका सामग्री महाकाली नदीमा 'विसर्जन' गरिदिएको थियो।

परिवारको प्रतिक्रिया

विपिनकी बहिनी पुष्पा र अन्य आफन्त शवयात्रा सुरु हुने समयमा शोकाकुल अवस्थामा।

तस्बिर स्रोत, Prakash Chandra Timalsina

तस्बिरको क्याप्शन, विपिनकी बहिनी, आमा र बुवालाई सम्बोधन गरेर इजरेलका राष्ट्रपतिले शोक वक्तव्य पठाएका छन्

सन् २०२३ मा हमासले इजरेलमा गरेको आक्रमणमा १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो। त्यस बेला बन्धक बनाइएका विपिन हमासले नियन्त्रणमा राखेको अवस्थामा मारिएको दाबी गत साता इजरेलले गरेको थियो।

बन्धक भएपछि दुइटा भिडिओमा विपिन देखा परेपछि अन्तिम क्षणसम्म पनि उनको परिवार विपिन जीवितै घर फर्किनेमा आशावादी थिए। उनी 'लर्न एन्ड अर्न कार्यक्रम'अन्तर्गत इजरेल पुगेका थिए। इजरेलमा उनी कार्यरत कृषि फार्ममा आक्रमण हुँदा केही व्यक्तिको मृत्यु भएको थियो भने उनलाई लडाकुहरूले बन्धक बनाएर गाजातिर लगेका थिए।

किशोर जोशीले भने, "सरकारबाट सबैतिरबाट ढिलाइ भएको भन्ने लाग्छ। घटनाले पनि त्यही देखाउँछ। म के भनौँ? धेरै बोल्न सक्ने अवस्थामा छैन।"

नेपाल सरकारले विपिनको रिहाइको लागि आफूले कूटनीतिक माध्यमबाट यथासम्भव प्रयास गरेको बताउँदै आएको छ।

उनले भने, "सरकारले केही गरेन पनि भन्न सक्ने अवस्था छैन। तर घटना विवरणले केही ढिलाइ भएको भन्ने लाग्छ। यति लामो पर्ख्यौँ, समयमा नै थाहा भएको भए हुन्थ्यो।"

अन्तिम संस्कारका बेला 'विपिन, हामीलाई माफ गर' भन्ने प्लाकार्ड बोकेका केही युवा पनि सहभागी थिए।

तिहारमा थपिएको पीडा

शसस्त्र प्रहरी बलको एउटा टुकडीले सलामी अर्पण गरेको थियो

तस्बिर स्रोत, BBC/Hikmat Rawal

तस्बिरको क्याप्शन, आर्यघाटमा शसस्त्र प्रहरी बलको एउटा टुकडीले सलामी अर्पण गरेको थियो

शवयात्राका क्रममा विपिनको पार्थिव अवशेषमा फूलगुच्छा चढाउन ठाउँठाउँमा मानिसहरू भेला भएका थिए।

"पढ्नका लागि इजरेल गएको व्यक्ति यसरी मारिनुले गाउँ नै शोकमा छ, हामी असाध्यै दुखी छौँ," शवयात्रामा सहभागी केही व्यक्तिले बीबीसीसँग भने। तिहारको बेला शव आउँदा स्थानीयवासीमा पीडा झन् थपिएको देखिन्छ।

शवयात्रामा सहभागी शिवदत्त जोशीले भने, "उसले हामीलाई निक्कै सम्झिन्थ्यो। माया गर्थ्यो। हमासको कब्जामा मर्‍यो। तर हामीलाई विश्वास लागिरहेको छैन। अझै फर्किएर आउँछ जस्तो लाग्छ।"

नेपाली सेनाको स्काइट्रकले सोमवार इजरेलबाट आइपुगेको शवलाई धनगढी पुर्‍याएको थियो। त्यहाँबाट शववाहनमा राखेर विपिन जोशीको घर लगी परिवारलाई हस्तान्तरण गरिएको थियो।

सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडिओहरूमा विपिनका आमा र बहिनी भावविह्वल भएर रोएको देख्न सकिन्छ।

विपिनका व्यक्तिगत सामाग्रीहरू पनि विसर्जन गरिएका छन् जसमा उनको गितार पनि पर्छ

तस्बिर स्रोत, Prakash Chandra Timalsina

तस्बिरको क्याप्शन, विपिनका गितार र अरू निजी सामग्रीहरू पनि विसर्जन गरिएका छन्

सोमवार प्रधानमन्त्री सुशीला कार्कीले "विपिनको खोजीमा अथक सङ्घर्ष गर्ने बहिनी र बहादुर छोरा जन्माउने आमाप्रति" आफ्नो सम्मान रहेको बताएकी थिइन्।

गत साता बीबीसीलाई दिएको एउटा अन्तर्वार्तामा विपिनका एक साथीले हमास समूहले आफूहरू बसेको बङ्करमा ग्रिनेड प्रहार गरेको र त्यसमध्ये एउटा विपिनले टिपेर बाहिर फ्यालिदिएका कारणले आफूहरू जोगिएको बताएका थिए।

"हमासले बङ्करभित्र फ्यालेको दुई ग्रिनेडमध्ये एउटा विस्फोट भएको थियो, जसका कारण म घाइते भएँ। सायद त्यहाँ दुइटै पड्किएको भए म पनि यसरी बोलिरहेको हुन्थिनँ। उसले गर्दा नै हामी बाँचेको जस्तो लाग्छ। उसले साहस देखाएर बमबाहिर फ्याल्यो," टीकापुरबाट धनबहादुर चौधरीले भनेका थिए।

गितार बजाउन र गीत गाउन रुचि राख्ने विपिन फुटबल र बास्केटबलजस्ता खेलको सौखिन रहेको धनबहादुरले बताएका थिए।

नेपाल फर्किएर उद्यम गर्ने शरीर राम्रो बनाउने र म्युजिक भिडिओ खेल्ने जस्ता कुरा विपिनले आफूसँग गरेको भन्दै उनले अघिल्लो हप्ता भनेका थिए, "अब त्यो सपना नै रह्यो।"

शवयात्रा सुरु हुँदा जे देखियो

विपिनि जोशीको शवयात्रा

तस्बिर स्रोत, BBC/Hikmat Rawal

बिहान ८ बजेपछि भीमदत्त नगरपालिकामा अवस्थित विपिनबाट शवयात्रा सुरु भएको थियो। शव घरबाट बाहिर निकाल्दा परिवारमा असाध्यै रुवाबासी चलेको थियो।

विपिनको रिहाइको पैरवी गर्न इजरेल र राष्ट्रसङ्घ मुख्यालय पुगेर गत साता घर फर्किएका विपिनकी आमा पद्मा र बहिनी पुष्पा जोशी अर्धमूर्च्छित थिए।

मलाम जान भेला भएका छरछिमेकीहरू पनि शोकाकुल थिए। नगरपालिकाअन्तर्गत मालिकार्जुन टोलमा बिहानैदेखि मानिसहरू मृतकको घरमा भेला भएका थिए।

बाँसको खटमा बाँधिएको विपिनको शवलाई बजार क्षेत्रसम्म बोकेरै मलामीहरू हिँडेका थिए।

चोकचोकमा श्रद्धाञ्जलि अर्पण गर्न मानिसहरू भेला भएका थिए। त्यहाँ एक किसिमको निस्तब्धता छाएको थियो।

भीमदत्त बजारबाट विपिनको शवलाई शववाहनमा राखेर महाकालीको तटमा लगिएको थियो।

दाहसंस्कार हुँदै गर्दा अबुल हुसैन अन्सारीले विपिनको खोजी तथा उद्धारमा देखाइनुपर्ने तत्परतालाई लिएर प्रश्न उठाए।

"उनको अवस्था दुई वर्षसम्म अज्ञात रहेर बस्यो। हाम्रो सरकार र इजरेल सरकार पनि कुनै ठाउँमा चुकेको हो कि? द्वन्द्वग्रसस्त क्षेत्रमा सरकारले अबदेखि नेपाली विद्यार्थी नपठाओस्।"

शव कुन अवस्थामा थियो

विपिन जोशीको शव चितामा राखिँदै

तस्बिर स्रोत, Prakash Chandra Timalsina

दाहसंस्कारका लागि चितामा शव राख्दा विपिनको सग्लो शरीर नभई अस्थिपञ्जर मात्र आएको शवयात्रामा सहभागी अरू मानिसहरूले थाहा पाएका थिए।

गाजामा सङ्घर्षविराम भएपछि हमास र इजरेली पक्षबीच बन्धक र कैदीबन्दी साटफेर गर्ने क्रममा गत साता विपिन जोशीको शव इजरेल फिर्ता भएको थियो। इजरेली सेनाले जोशीको हत्या "बन्धक अवस्थामा युद्ध सुरु भएको प्रारम्भिक महिनातिरै भएको" दाबी गरेको थियो। तर उक्त दाबीको स्वतन्त्रतापूर्वक पुष्टि भइसकेको छैन।

इजरेली राष्ट्रपति आइजक हर्ट्सोगको सन्देशमा पनि हमासले बन्धक बनाएकै समयमा विपिनको हत्या भएको उल्लेख छ।

इजरेली राष्ट्रपतिले विपिनलाई एक बहादुर नेपाली भन्दै शोकसन्तप्त परिवारप्रति "मनैबाट श्रद्धाञ्जलि अपर्ण" गरेका छन्। विपिनको चितानजिकै पढेर सुनाइएको उक्त सन्देशमा सोझै विपिनका बुवा, आमा र बहिनीलाई सम्बोधन गरिएको थियो। उक्त सन्देशमा ७ अक्टोबर २०२३ मा गरिएको हमलामा "विपिनले अदम्य सहास प्रदर्शन गरेर साथीहरूको ज्यान जोगाएको" भन्दै उनको नामले दुई देशलाई सदैव जोडिरहने उल्लेख गरिएको छ।

नेपाली अधिकारीहरूले विपिन मारिनुको कारण र परिस्थितिबारे सरोकारवाला पक्षहरूसँग छलफल गर्ने र सत्यतथ्य बाहिर ल्याउने भनेको भए पनि काठमाण्डू ल्याइएपछि उनको शवको अवशेषको थप जाँच भने गरिएन।

सोमवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित श्रद्धाञ्जलि समारोहमा प्रधानमन्त्री सुशीला कार्कीले विपिनको हिम्मत साहसप्रति गौरव रहेको बताएकी थिइन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।