तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
जर्मनीमा बटुवामाथि अन्धाधुन्ध चक्कु प्रहार
जर्मनीको पश्चिममा अवस्थित जोलिङ्गन सहरमा छुरा प्रहारबाट तीनजनाको ज्यान गएको र थप चारजना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।
हमलामा संलग्न भएको आशङ्कामा एकजना १५ वर्षका व्यक्तिलाई जर्मन प्रहरीले पक्राउ गरेको जनाएको छ।
यसअघि स्थानीय सञ्चारमाध्यमहरूले एकजना व्यक्तिले बटुवामाथि जथाभाबी छुरा हानेको जनाएका थिए।
जोलिङ्गनले आफ्नो स्थापनाको ६५०औँ वर्ष मनाइरहँदा यो घटना भएको हो।
प्रहरीले जोलिङ्गनभन्दा बाहिर पनि खोजीकार्यलाई विस्तार गरिएको जनाएको थियो।
जर्मन चान्सलरले दोषीलाई तत्कालै समाउनुपर्ने र कानुन अनुसार दण्डित गरिनुपर्ने बताएका छन्।
विशेष टास्क फोर्स परिचालित
घाइते चारजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
उक्त सहरका मेयर टिम कुत्सबाले उक्त हमलाका कारण सबै जना स्तब्ध, आतङ्कित र शोकमा रहेको बताए।
उनले जीवनसँग सङ्घर्ष गरिरहेका व्यक्तिहरूको लागि आफूले प्रार्थना गरिरहेको पनि जनाएका छन्।
बिल्ड वेबसाइटका अनुसार हमलाकारीले बटुवाहरूलाई जथाभाबी छुरा हानेको थियो। एउटा व्यापक खोजी कार्य जारी रहेको र प्रहरी हेलिकोप्टरहरू सहरमाथि उडिरहेको जनाइएको छ।
उक्त औद्योगिक सहरले स्थापनाको ६५०औँ वार्षिकोत्सव मनाइरहेको थियो।
प्रहरीले स्थानीय समयअनुसार रातीको १० बजे भएको हमलापछि उक्त क्षेत्रमा सुरक्षा घेरा कायम गरेको थियो। त्यसलगत्तै सहरका अधिकारीहरूले मानिसहरूलाई फ्रनहफको बजार क्षेत्र खाली गर्न भनेका थिए।
समाचार विवरणहरूमा आपत्कालीन उद्धारकर्ताहरूले घटनास्थलमा मानिसहरूको उपचार गरिरहेको दृश्य प्रसारण गरेका थिए।
बिल्डका अनुसार प्रहरीले सन्दिग्ध हमलाकारीको खोजीका लागि ४० वटा रणनीतिक सवारीसाधन खटाएको थियो। तीनलाई विशेष टास्क फोर्सले कमान्ड गरेको भनिएको छ।
सडक बन्द गरिएको छ र खोजी कार्य जारी रहेकाले घरभित्रै बस्न स्थानीय बासिन्दालाई प्रहरीले अनुरोध गरेका छन्।
उक्त उत्सवका एक जना आयोजक फिलिप मुलरले स्थानीय समाचारपत्र जोलिङ्गर ट्यागेब्लाटलाई बताएअनुसार उद्धारकर्ताहरूले ९ जनाको जीवन रक्षाका लागि सङ्घर्ष गरेका थिए।
“मानिसहरू स्तब्ध भएका छन् तर उनीहरू शान्तिपूर्ण ढङ्गले चोकबाट गए,” उनले भने।
अर्का प्रत्यक्षदर्शीले स्टेजमा रहेका गायकको अनुहारमा अचम्मको भावभङ्गी देख्ने बित्तिकै आफूले केही गढबढ भएको महसुस गरेको बताए।
उनले भने, “त्यसपछि एक जना व्यक्ति म भन्दा मात्रै एक मिटर पर ढले,” उनले भने।
'नियोजित हमला'
हमलाकारीले नियोजित रूपमा नै पीडित व्यक्तिका घाँटीमा छुरा हानेको जर्मन सञ्चारमाध्यमले जनाएका छन्।
प्रहरी प्रवक्ता एलेक्सन्डर क्रेस्टालाई उद्धृत गर्दै स्पीगल वेबसाइटले जनाएअनुसार कैयौँ प्रत्यक्षदर्शीसँगको कुराकानीपछि ‘हमलाकारी व्यक्ति एकजना मात्रै रहेको आकलन’ गरिएको छ।
फेसबुकमार्फत धारणा राख्दै जोलिङगनका मेयरले आफ्नो सहरको वार्षिकोत्सव मनाउन आफूहरूले चाहे पनि त्यो शोकमा बदलिएको बताएका छन्।
बीबीसीसँग कुरा गर्दै जोलिङ्गर टागेब्लाटका उपसम्पादक बियोन बोचले उक्त समारोह तीन दिन चल्ने अपेक्षा गरिएको थियो र प्रत्येक साँझ २५ हजार मानिसहरूले भ्रमण गर्ने भनिएको थियो।
“सहरमा मानिसहरूको घुइँचो थियो,” उनले भने। शुक्रवारको निःशुल्क प्रवेशसहितको कार्यक्रममा केही हजार मानिस सहभागी रहेको उनको भनाइ छ।
उक्त उत्सव रद्द गरिएको छ।जोलिङ्गन उत्तरी राइनलन्ड वेस्टफेलियामा पर्छ र त्यहाँ रहेका स्टिल उद्योगहरूका कारण प्रसिद्ध छ। त्यहाँ करिब १ लाख ६० हजार मानिसको बसोबास छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।