राष्ट्रपतीय निर्वाचनमा मतदानअघि दुवै उम्मेदवारहरूले मतदाता रिझाउन गरे अन्तिम प्रयास

तस्बिर स्रोत, Getty Images
अमेरिकी राष्ट्रपतीय निर्वाचनमा मतदान आरम्भ हुने समय नजिकिँदै जाँदा दुई प्रमुख उम्मेदवार कमला ह्यारिस र डोनल्ड ट्रम्पले मतदाताहरूसमक्ष आआफ्ना अन्तिम अनुरोध गरेका छन्।
वैचारिक मतसर्वेक्षणहरूले दुवै उम्मेदवारलाई बराबरी अङ्क दिएर कसैको पक्षमा स्पष्ट अग्रता नभएको सङ्केत गरेका छन्। मत कसलाई दिने भनेर निर्णय नगरिसकेका मतदाताहरूलाई आफूतर्फ तान्न दुवै उम्मेदवारले अन्तिम प्रयास गरे।
कमला ह्यारिसले पेन्सिल्भेनिआ राज्यको फिलाडेल्फिया सहरमा अन्तिम चुनावी र्याली गरेकी छन्। पेन्सिल्भेनिआ मतपरिणाममा उल्लेख्य प्रभाव पार्न सक्ने ‘स्विङ स्टेट’ भनिने सात राज्यमध्ये सर्वाधिक 'इलेक्टोरल कलजे मत' भएको राज्य हो।
पदासीन उपराष्ट्रपति ह्यारिसले आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै आफू विजयप्रति ढुक्क भएको तर यो चुनावी दौड समाप्त भने भइनसकेको बताइन्।
डोनल्ड ट्रम्पले सन् २०१६ र २०२० मा जस्तै मिशिगनको ग्र्यान्ड र्यापिड्समा आफ्नो अन्तिम चुनावी कार्यक्रम गरे। उनले आफूले अमेरिकी निर्वाचनको इतिहासमा नै सबैभन्दा ठूलो जित हासिल गर्ने उद्घोष गरे।

तस्बिर स्रोत, Getty Images
अमेरिकाको राष्ट्रपतिमा निर्वाचित हुन मतदाताको सर्वाधिक मत ल्याएर मात्र पुग्दैन। सबैभन्दा धेरै मतदाताको समर्थन पाउने उम्मेदवार पनि राष्ट्रपतिको निर्वाचनमा पराजित हुने सम्भावना रहन्छ।
अमेरिकामा मतदाताको प्रत्यक्ष मतबाट नभई 'इलेक्टोरल कलेज' भनिने निर्वाचक मण्डलले राष्ट्रपति छान्छ। त्यहाँ राज्यहरूलाई मतभार दिइएको हुन्छ, अनि त्यसकै आधारमा परिणामको छिनोफानो हुन्छ। त्यस कारण उम्मेदवारहरू सबै ५० राज्यको चुनाव जित्न आफ्नो सामर्थ्य प्रयोग गर्छन्।
अग्रिम मत
निर्वाचनको मुख्य दिनअघि नै दशौँ लाख मतदाताले अग्रिम मत खसालिसकिका छन्। अधिकांश राज्यमा चुनावको दिनअघि नै मतदाताहरूलाई अग्रिम मत दिने सुविधा दिइएको हुन्छ।
यूनिभर्सिटि अफ फ्लोरिडाको इलेक्शन ल्याबले जारी गरेको तथ्याङ्कअनुसार अग्रिम खसालिएका मतको सङ्ख्या आठ करोड १३ भन्दा बढी छ।
सन् २०२० मा यस्तो अग्रिम मतदानको सङ्ख्या १० करोड १० लाख थियो।
अमेरिकामा राष्ट्रपति चयनका लागि हुने निर्वाचनमा १८ वर्ष वा सोभन्दा माथिका अधिकांश अमेरिकी नागरिकहरूले मत दिन पाउँछन्। तर नोर्थ डाकोटाबाहेक अन्य सबै राज्यमा निर्वाचनअघि मतदाताको रूपमा दर्ता हुनुपर्ने नियम छ।
प्रत्येक राज्यमा मतदाताको रूपमा दर्ता हुने आफ्नै प्रक्रिया र समयसीमा छ।
अन्योल
महिनौँदेखि डेमोक्र्याटिक पार्टी र रिपब्लिकन पार्टीले चुनाव प्रचारका क्रममा उग्र रूपमा विभाजनकारी राजनीतिक टिप्पणीहरू गर्दै आएका थिए।
त्यस्तो अवस्थामा यदि आफूअनुकूल नहुने निर्वाचन परिणाम आएमा तिनले कस्तो प्रतिक्रिया व्यक्त गर्लान् भन्ने अन्योलको वातावरण पनि बनेको छ।
बीबीसीकी उत्तर अमेरिका सम्पादक सेरा स्मिथ लेख्छिन्, "निर्वाचन परिणामलाई लिएर कानुनी चुनौतीहरूको चाङ लाग्ने र सडकमा विरोधप्रदर्शनहरू हुने अवस्था उत्पन्न भए अचम्म हुने छैन।"
ह्वाइट हाउस र वाशिङ्ट डीसीका अन्य स्थानमा सुरक्षा छेकबारहरू लगाइएका छन् भने कतिपय राज्यहरूले न्याश्नल गार्डलाई सतर्क अवस्थामा राखेका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








