ह्यारिस र ट्रम्पमध्ये कसले जिते भनेर कहिले थाहा भइसक्छ

- Author, स्याम क्याब्रल
- Role, बीबीसी न्यूज, वाशिङ्टन
संयुक्त राज्य अमेरिकामा नयाँ राष्ट्रपति छान्न मङ्गलवार नोभेम्बर ५ का दिन मतदान सम्पन्न भएको छ।
प्रतिस्पर्धा कति कसिलो हुन्छ त्यसका आधारमा मतदान सकिएको केही घण्टा, दिन वा कहिलेकाहीँ कैयौँ दिनसम्म पनि विजेता को भएको छ भन्ने छुट्ट्याउन गाह्रो हुन सक्छ।
राष्ट्रपति निर्वाचन २०२४ को परिणाम कहिले आउन सक्छ
अन्तिम मतदान बुधवार विहान ०६:०० जिएमटिको समयमा समाप्त हुँदा अन्यत्रको मतगणना आरम्भ भैसकेको छ। र केही स्थानमा विजेता समेत थाहा भैसकेको छ।
यसपटक केही राज्यहरूमा दुई उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएकाले विगतमा जसरी सञ्चार माध्यमहरूले निर्वाचनमा को विजयी भयो भनेर प्रक्षेपण गर्नलाई केही समय लगाउलान् जस्तो देखिन्छ।
डेमोक्र्याटिक पार्टीकी कमला ह्यारिस र रिपब्लिकन पार्टीका डोनल्ड ट्रम्पबीच निकै कडा प्रतिस्पर्धा हुने देखिएको छ। ह्यारिस पदासीन उपराष्ट्रपति हुन् भने ट्रम्प पूर्वराष्ट्रपति हुन्।
झिनो मतान्तर हुने स्थितिमा परिणाम पूर्वानुमान गर्न सञ्चारमाध्यमलाई समय लाग्न सक्छ। तर पुनः मतगणना हुने र कानुनी चुनौती उत्पन्न हुन सक्ने अवस्था पनि आउन सक्छ।
उदाहरणका लागि, पेन्सिल्भेनिआमा दुई उम्मेदवारले पाएको मतको कुल सङ्ख्यामा ०.५ प्रतिशतभन्दा कम अन्तर आए राज्यमा खसेको पूरै मत फेरि गन्नुपर्ने हुन्छ। सन् २०२० मा त्यस्तो अन्तर केबल १.१ प्रतिशत थियो।
मतदान हुनुअघि अहिले नै अमेरिकाभरि १०० वटाभन्दा बढी मुद्दा परिसकेका छन्। रिपब्लिकन पार्टीले मतदाताको योग्यता र मतदाता सूचीको व्यवस्थापनलाई चुनौती दिएको छ। यी मुद्दाहरूमा अदालतले दिने आदेशले प्रतिस्पर्धामा फरक पर्ने देखिन्छ।
निर्वाचनसँग सम्बन्धित हिंसा, विशेष गरी मतदान हुने स्थाननजिकै, र मतगणनामा हुने अनपेक्षित अवरोधले पनि परिणाम ढिलो आउन सक्छ। उदाहरणका लागि, सन् २०२० मा जोर्जामा मतपत्र छुट्ट्याउने ठाउँमा पानी आपूर्ति गर्ने पाइप फुटेको थियो।
यद्यपि मिशिगनजस्ता राज्यमा गणनाको गतिलाई बढाइएको छ। अनि कोभिड महामारीका बेला भएको गत निर्वाचनसँग तुलना गर्दा यसपालि हुलाकमार्फत् गरिने मतदानको सङ्ख्या निकै घटेको छ।
२०२० निर्वाचनको परिणाम कहिले आएको थियो?
सन् २०२० को निर्वाचनमा अमेरिकी टेलिभिजन नेटवर्कहरूले पेन्सिल्भेनिआको मतपरिणाम स्पष्ट नहुन्जेल, निर्वाचन सकिएको चारदिनसम्म पनि जो बाइडन विजयी भएको भनेर घोषणा गरेका थिएनन्।
हालसालैका अन्य निर्वाचनहरूमा मतदाताहरूले अन्तिम परिणाम थाहा पाउन त्योभन्दा निकै छोटो समय मात्र प्रतिक्षा गर्न परेको थियो।
सन् २०१२ बाराक ओबामाले दोस्रो कार्यकालका लागि निर्वाचित भएको भन्ने नतिजा मतदानको दिनको मध्यराती अगावै प्रक्षेपण गरिएको थियो।
तर सन् २००० मा जोर्ज डब्ल्यू बुश र एल गोरबीचको प्रतिस्पर्धा भने अपवाद रह्यो। त्यसबेला अमेरिकी सर्वोच्च अदालतले फ्लोरिडा राज्यमा पुनः मतगणनालाई रोक्ने आदेश दिनु अघि निर्वाचनको पाँच हप्तासम्म पनि अन्तिम मतपरिणाममा निर्णय भएको थिएन।
राष्ट्रपति निर्वाचनको परिणाम प्रायः कहिले घोषणा हुन्छ?
सामान्यतयाः विजेता को भयो भन्ने कुरा प्रायः निर्वाचन सकिएको राति नै वा भोलिपल्ट बिहानै मतदाताहरूले थाहा पाउने गरेका छन्।
उदाहरणका लागि, सन् २०१६ मा मतदान सकिएको भोलिपल्ट बिहान सबेरै (ईएसटी ३ बजे, जीएमटी ८ बजे) ट्रम्प विजेता घोषित भएका थिए।
सन् २०१२ मा बराक ओबामा दोस्रो पटक निर्वाचित हुँदा मतदान सकिएको राति नै उनी विजयी हुने अनुमान गरिसकिएको थियो।
तर सन् २००० मा जोर्ज डब्ल्यू बुश र एल गोर उम्मेदवार बनेको निर्वाचनको परिणाम आउन निकै समय लाग्यो।
निकै कडा प्रतिस्पर्धा भएको दुई पक्षबीच फ्लोरिडा राज्यमा विवाद भयो। देशको सर्वोच्च अदालतले पुनः मतगणना गर्ने कार्य रोक्न आदेश दिएपछि डिसेम्बर १२ मा बल्ल त्यहाँको परिणाम घोषणा भयो। त्यहाँ विजयी भएपछि बुशका लागि ह्वाइट हाउस जाने बाटो खुल्यो।
सन् २०२४ मा महत्त्वपूर्ण राज्य कुनकुन हुन्?
अमेरिकामा मतदान चाँडैमा मङ्गलवार साँझ ईएसटी १८ः०० बजे (जीएमटी २२ः०० बजे) र ढिलोमा बुधवार सबेरै ईएसटी १ः०० बजे (जीएमटी ५ः०० बजे) बन्द हुन्छ।
तर यो निर्वाचनको छिनोफानो अन्ततः स्विङ स्टेट भनिने सात राज्यले गर्ने ठानिएको छ। र विज्ञहरूका अनुसार तिनमा ह्यारिस र ट्रम्प दुवैले नै जित्नसक्ने सम्भावना देखिएको छ।
ती राज्य एरिजोना, जोर्जा, मिशिगन, नभाडा, नोर्थ क्यारलाइना, पेन्सिल्भेनिआ र विस्कन्सिन हुन्।
मतगणना कसरी हुन्छ?
सामान्यतया निर्वाचनको दिन दिइएको मत रुजु गरिन्छ। त्यसपछि क्रमशः पहिल्यै र हुलाकमार्फत् पठाइएको मत, दाबी विरोध भएको मत अनि विदेशमा र सैन्य सेवामा भएका मानिसले दिएको मतको पालो आउँछ।
स्थानीय निर्वाचन अधिकृतहरूले प्रत्येक मतलाई प्रमाणीकरण गर्दै गणना गर्छन्। उक्त प्रक्रियालाई 'क्यान्भासिङ' भनिन्छ। त्यस्ता अधिकृतहरू कहिलेकाहीँ नियुक्त र कहिलेकाहीँ निर्वाचित भएका हुन्छन्।
मत प्रमाणीकरण गर्दा जीवित मतदाताको कुल सङ्ख्या र खसेको मतको सङ्ख्याको तुलना; मतपत्र च्यातिएको वा त्यसमा मसी लतपतिएको छ कि छैन भनेर हेर्न प्रत्येक मतपत्र निकाल्ने, खोल्ने र जाँच्ने काम; अनि केही अस्वाभाविकता भए तिनको अभिलेख राख्ने र छानबिन गर्ने काम गरिन्छ।
गणना गर्दा प्रत्येक मतपत्रलाई विद्युतीय स्क्यानरमा राखिन्छ। कहिलेकाहीँ हातैले गन्नुपर्ने वा दोहोर्याएर रुजु गर्नुपर्ने पनि हुन सक्छ।
प्रत्येक राज्य र स्थानमा क्यान्भासिङ प्रक्रिया, मत छुट्ट्याउने क्रम निर्धारण र गणना गर्ने स्थानमा कुन ठाउँसम्म सर्वसाधारण मानिस तथा पर्यवेक्षकहरू जान पाउँछन् भन्ने निर्णय गर्ने भिन्नाभिन्नै नियमहरू छन्।
राष्ट्रपति निर्वाचनको मतपरिणामलाई कसैले चुनौती दियो भने के हुन्छ?
प्रत्येक वैध मत गनेर अन्तिम परिणाममा समावेश गरिसकिएपछि इलेक्टोरल कलेजको प्रकृया सक्रिय बन्न पुग्छ।
हरेक राज्यसँग फरक फरक सङ्ख्यामा इलेक्टोरल कलेज भोट हुन्छ। र यी इलेक्टोरल भोटलाई आफ्नो पक्षमा पार्ने उम्मेदवारले नै राष्ट्रपतीय निर्वाचन जित्छ, यस्मा मतदाताहरूबाट प्राप्त कुल मत मात्र निर्णायक हुँदैन।।
सामान्यतया राज्यहरूले आफ्नो भागका सम्पूर्ण इलेक्टोरल कलेज मत नै आफूकहाँबाट सबैभन्दा धेरै मत ल्याउने उम्मेदवारलाई दिने गर्छन् र यो १७ डिसेम्बरमा हुने बैठकहरूपछि निर्धारण गरिन्छ।
त्यसपछि ज्यानुअरी ६ मा नयाँ अमेरिकी कंग्रेसको बैठक बस्छ र त्यसमा सबै इलेक्टोरल कलेज मतको गणना हुन्छ र नयाँ राष्ट्रपतिको चयन भएको घोषणा गरिन्छ।
सन् २०२० को निर्वाचपछि ट्रम्पले पराजय स्वीकार गर्न मानेका थिएनन्। अमेरिकी संसद्ले बाइडनको विजयलाई प्रमाणीकरण गर्न बैठक गर्न लागेको बेला ट्रम्पले आफ्ना समर्थकहरूलाई यूएस क्यापिटलसम्म जुलुस निकाल्न भनेका थिए।
उनले आफ्ना उपराष्ट्रपति माइक पेन्सलाई निर्वाचन परिणाम बदर गर्न आग्रह गरेका थिए। तर पेन्सले त्यसो गर्न मानेनन्।
यूएस क्यापिटलमा भएको हुलदङ्गा साम्य भइसकेपछि र कङ्ग्रेसको बैठक बस्दा रिपब्लिकन पार्टीका १४७ सांसदले मतदानमार्फत् ट्रम्पको पराजय उल्ट्याउने प्रयास गरेका थिए। तर उनीहरू सफल हुन सकेनन्।
त्यसपछि निर्वाचन प्रणालीमा गरिएको सुधारका कारण सांसदहरूलाई कुनै राज्यबाट प्रमाणीकरण भएर आएको परिणामको विरोध गर्न त्यति सजिलो छैन। निर्वाचक मण्डलबाट प्राप्त मत उपराष्ट्रपतिले एकतर्फी रूपमा अस्वीकार गर्न पाउने छैनन् भन्ने पनि स्पष्ट पारिएको छ।
यद्यपि पर्यवेक्षकहरू केही स्थानीय र राज्यस्तरमा चुनावी नतिजा प्रमाणीकरण प्रकृयामा ढिलाइ गर्ने प्रयास हुनसक्ने सम्भावना देख्छन्।
ट्रम्प र उपराष्ट्रपति पदका उम्मेदवार जेडी भान्ससहितका केही वरिष्ठ रिपब्लिकन नेताहरूले आफूहरू पराजित भएको खण्डमा निर्वाचन परिणाम स्वीकार गर्ने घोषणा गर्न अस्वीकार गरेका छन्।
मत बराबर भयो भने के हुन्छ?
दुई उम्मेदवारको बराबर मत आउन पनि सक्छ। प्रत्येक उम्मेदवारले इलेक्टोरल कलेजबाट २६९ मत पाएमा परिणाम बराबर हुन्छ।
त्यस अवस्थामा कङ्ग्रेसको तल्लो सदन वा हाउस अफ रिप्रिजेन्टेटिभ्सका सदस्यले राष्ट्रपति चुन्न मतदान गर्ने छन्। त्यो प्रकृयालाई 'कन्टिन्जेन्ट इलेक्शन' भनिन्छ।
त्यसैगरी माथिल्लो सदन वा सिनेटका सदस्यले उपराष्ट्रपति चयन गर्न मतदान गर्ने छन्।
तर विगतका झन्डै २०० वर्षमा यसो भएको छैन।
नयाँ राष्ट्रपतिले कहिले पदभार ग्रहण गर्छन्?
ज्यानुअरी २०, २०२५ सोमवार संयुक्त राज्य अमेरिकाको संसद् 'यूएस क्यापिटल' को परिसरमा आयोजना गरिने विशेष समारोहमा नवनिर्वाचित राष्ट्रपतिले शपथग्रहण गर्ने छन्।
यसपालि अमेरिकाको इतिहासमा साठियौँ पटक त्यस्तो समारोह हुने छ।
उक्त समारोहमा नयाँ राष्ट्रपतिले देशको संविधानको रक्षा गर्ने वाचा गरेर राष्ट्रपतिका रूपमा पहिलो भाषण गर्ने छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








