मस्कले मतदातालाई चुनावअघिसम्म १० लाख डलर दिइराख्न मिल्ने फैसला

इलोन मस्क

तस्बिर स्रोत, Getty Images

    • Author, रेचल लुकर
    • Role, बीबीसी न्यूज, वाशिङ्टन

इलोन मस्कको राजनीतिक समूहले अमेरिकी राष्ट्रपति निर्वाचनमा निर्णायक हुने ठानिएका विभिन्न ‘स्विङ स्टेट’मा १० लाख डलर वितरण गर्न पाउने फैसला एक न्यायाधीशले सुनाएका छन्।

मस्कको अमेरिका 'पीएसी'ले पुरस्कार दिने उक्त अभियान मङ्गलवार सम्पन्न हुने छ। अन्तिम प्रापक छनोट भइसकेको अमेरिकी धनाढ्यका वकिलले सोमवार भएको एउटा सुनुवाइमा बताएका छन्।

सबैलाई छक्क पार्ने गरी ती वकिलले पुरस्कार प्राप्त गर्ने व्यक्तिहरू चिट्ठाको विधिबाट नछानिएको बताए। उनका अनुसार सबै विजेताको नाम सो समूहले नै छानेको हो।

फिलाडेल्फियाका सरकारी वकिल लरेन्स क्र्यास्नरले निर्वाचनमा महत्त्वपूर्ण प्रभाव पार्ने ठानिएका ट्रम्प वा ह्यारिस ‘जोसुकैको पक्षमा पनि जान सक्ने’ राज्यहरूका एक मतदातालाई मतदानको दिनअघिसम्म प्रत्येक दिन १० लाख अमेरिकी डलर दिने बताएका थिए।

मस्क सोमवारको सुनुवाइमा अनुपस्थित थिए।

विजेताहरू कसरी छानिए

डोनल्ड ट्रम्प र इलोन मस्क

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, मस्कले ट्रम्पको पक्षमा खुलेर प्रचार गरिरहेका छन्

समाचारसंस्था एपीका अनुसार पेन्सिल्भेनियाका न्यायाधीश एन्जेलो फोग्लिएटाले उक्त फैसला दिनुको कारण खुलाएका छैनन्। तर सुनुवाइ भएको केही घण्टापछि नै उक्त आदेश आएको हो।

“दश लाख डलर पाउने व्यक्तिहरू संयोगवश छानिँदैनन्,” एपीले सुनुवाइमा मस्कका वकिल क्रिस गबरले भनेको कुरा उद्धृत गरेको छ। “हामीलाई आज र भोलि १० लाख डलर ठ्याक्कै कसले पाउँदै छन् भन्ने थाहा छ।”

उनका अनुसार अमेरिका पीएसीले अन्तिम विजेता छानिसकेको छ र उनी मिशिगनका बासिन्दा भएको अमेरिकी सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

सोमवार अमेरिका पीएसीले एरिजोनाका जोशुआ भन्ने व्यक्तिले उक्त दिनको पुरस्कार पाएको घोषणा गरेको थियो।

मस्कले सञ्चालन गरेको पीएसीले सामाजिक सञ्जाल 'एक्स'मा चुनावको दिनसम्म आफ्नो अभियानमा सहभागी हुने अमेरिकी मतदातामध्येबाट छानिएका एक व्यक्तिलाई प्रत्येक दिन १० लाख डलर पाउन छानिने बताएको थियो।

गत महिना पहिलो पटक उक्त पुरस्कार वितरण गर्दा मस्कले अमेरिकाको संविधानको पहिलो र दोस्रो संशोधनलाई समर्थन गर्दै एउटा निवेदनमा हस्ताक्षर गर्ने मतदातामध्येबाट चिट्ठाको शैलीमा विजेता छानिएको ठानिएको थियो।

“हामीले निवेदनमा हस्ताक्षर गर्ने व्यक्तिलाई चुनावसम्म प्रत्येक दिन १० लाख डलर दिने छौँ,” मस्कले एउटा चुनावी अभियानमा सम्बोधन गर्दै भनेका थिए।

त्यसको केही दिनपछि अमेरिकी न्याय मन्त्रालयले उक्त समूहले चुनावसँग सम्बन्धी कानुन उल्लङ्घन गरेको हुन सक्ने जनाएको थियो। अमेरिकी कानुनले मतदाताको रूपमा नाम दर्ता गराउन रकम दिन रोक लगाएको छ।

क्र्यास्नरको कार्यालयले त्यसलाई रोक्न अदालतमा मुद्दा हालेको थियो।

अमेरिकापिएसीले मस्क समर्थित एक निवेदनमा हस्ताक्षर गर्नेमध्ये छानिएकालाई १० लाख डलर दिने घोषणा विवादित बन्यो

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, मस्कले एक निवेदनमा हस्ताक्षर गर्नेमध्ये छानिएकालाई १० लाख डलर दिने घोषणा विवादित बन्यो

मस्क सातवटा 'स्विङ स्टेट'मा रिपब्लिकन उम्मेदवार डोनल्ड ट्रम्पको पक्षमा प्रचार गरिरहेका गरिरहेका छन्। उनको समूहले पेन्सिल्भेनियामा विशेष ध्यान दिएको छ।

मतसर्वेक्षणहरूले त्यहाँ ट्रम्प र डेमोक्र्याटिक उम्मेदवार कमला ह्यारिसबीच बराबरीको अवस्था रहेको देखाएका छन्।

क्र्यास्नरको कार्यालयका एक वकिलले समाचारसंस्था रोएटर्ससँग कुरा गर्दै गबरले अदालतमा दिएको बयानले "पूर्ण रूपमा दायित्व स्वीकार गरेको" बताए।

सुनुवाइको क्रममा सरकारी वकिलहरूले एउटा भिडिओ पनि देखाएको रोएटर्सले जनाएको छ। त्यसमा स्पेसएक्सका प्रमुख कार्यकारी समेत रहेका मस्कले "हामी विजेताहरूलाई समूहको प्रवक्ताको जिम्मेवारी निर्वाह गर्न मात्र भन्छौँ" भनेको सुनिन्छ।

तर अमेरिका पीएसीका निर्देशक क्रिस यङले विजेताहरूबारे जाँच गरिने र उनीहरूको राजनीतिक मान्यता आफ्नो समूहसँग मेल खानुपर्ने बताएको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन्।

पुरस्कार प्राप्त गर्ने व्यक्तिहरूले ‘नन-डिस्क्लोजर अग्रीमन्ट' अर्थात् गोप्यता कायम राख्ने सहमतिपत्रमा हस्ताक्षर गर्छन्। उनीहरूले पुरस्कारका बारे सार्वजनिक चर्चा गर्न पाउँदैनन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।