डोनल्ड ट्रम्प र कमला ह्यारिसले चुनाव जित्न सक्ने ५-५ कारण

तस्बिर स्रोत, Getty Images
- Author, बेन बेभिङ्ग्टन
- Role, बीबीसी न्यूज, वाशिङ्ग्टन
अमेरिकी राष्ट्रपतिका लागि भइरहेको चुनावी प्रतिस्पर्धामा मतदानको अघिल्लो दिनसम्म पनि राष्ट्रिय स्तर र सबैभन्दा महत्त्वपूर्ण एवं निर्णायक भनिएका राज्यहरूमा कसले जित्छ भन्ने स्पष्ट छैन।
मतदानअघि भएका मत सर्वेक्षणहरूमा पनि राष्ट्रपतिका मुख्य प्रत्यासी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्प र उपराष्ट्रपति कमला ह्यारिसबीच तीव्र प्रतिस्पर्धा हुने देखिएको छ। मत सर्वेक्षणहरूमा त्रुटिको मात्रा (मार्जिन अफ एरर)भित्रै दुई उम्मेदवारले पाउने मतको अन्तर देखिएको छ। त्यसभन्दा दुई वा तीन अङ्क तलमाथि भएको अवस्थामा कुनै एक उम्मेदवारले सहजै जित्ने आकलन गर्न सकिन्थ्यो।
निर्वाचनमा मतदाताको मनलाई सही ठाउँमा सही तरिकाले प्रभावित गर्दै कसले धेरै मतदाताले आफूलाई मत दिने सुनिश्चित गर्न सक्छ र नतिजा आफ्नो पक्षमा पार्न सक्छ भन्ने विषयमा दुवै उम्मेदवारका पक्षमा छुट्टाछुट्टै तर्क रहेका छन्।

तस्बिर स्रोत, EPA-EFE/REX/Shutterstock
१. उनी सत्तामा छैनन्
अमेरिकी मतदाताहरूका लागि चुनावको सबैभन्दा प्रमुख मुद्दा अर्थतन्त्र हो। बेरोजगारी सबैभन्दा बढी रहेको र शेअर बजारमा उछाल आएको समयमा अधिकांश अमेरिकीहरूले प्रत्येक दिन मूल्यवृद्धिको गुनासो गरिरहेका छन्।
कोभिड महामारीपछि सन् १९७०को दशकयताकै सबैभन्दा धेरै मूल्यवृद्धि भएको छ। यसले ट्रम्पलाई "चार वर्षअघि भन्दा अहिले राम्रो भयो त?" भन्ने प्रश्न सोध्ने अवसर दिएको छ।
सन् २०२४ मा विश्वका अन्य देशहरूमा भएका निर्वाचनमा कैयौँ देशका मतदाताहरूले सत्तामा भएको पार्टीलाई चुनाव हराइदिएका छन्। त्यसको एउटा प्रमुख कारण कोभिड महामारीपछिको जीवनयापनको खर्चमा भएको चर्को वृद्धि थियो।
अमेरिकी मतदाताहरू पनि परिवर्तनका भोका देखिएका छन्।
एक चौथाइ अमेरिकीहरूले देशले लिइरहेको दिशाप्रति सन्तुष्टि व्यक्त गरेका छन्। अनि दुई तिहाइ अमेरिकीहरूले चाहिँ देशको अर्थतन्त्र कमजोर देखिरहेका छन्।
ह्यारिसले "कथित" परिवर्तन अनुभूत गराउने उम्मेदवार बन्ने प्रयास गरेकी छन्। तर उपराष्ट्रपतिको रूपमा उनले अलोकप्रिय देखिएका राष्ट्रपति जो बाइडनभन्दा आफूलाई अलग राख्न सफल भइनन्।
२. खराब समाचारले उनलाई केही फरक पार्दैन
सन् २०२१ ज्यानुअरी ६ मा अमेरिकी संसद्मा भएको दङ्गा र त्यसपछिका अभूतपूर्व अभियोजन अनि आपराधिक कसुरमा दोषी ठहर भएका नजिरका बावजुद ट्रम्पको समर्थन वर्षभरि नै ४० प्रतिशत वा त्यसभन्दा माथि स्थिर देखियो।
कतिपय डेमोक्र्याट र ट्रम्पको विपक्षमा रहेका यथास्थितीवादीहरूले उनी पदका लागि योग्य नरहेको बताइरहँदा ट्रम्पले आफूलाई राजनीतिक प्रतिशोधको सिकार बनाइएको बताउने गरेका छन् र यो तर्कमा रिपब्लिकनहरू सहमत पनि छन्।
दुवै पक्ष आरोपप्रत्यारोपमा उत्रिरहँदा उनले आफूप्रति निश्चित धारणा नभएका सानो सङ्ख्याका अनिर्णीत मतदाताहरूको मन जित्नुपर्ने देखिन्छ।
३. अवैध आप्रवासनसम्बन्धी उनको चेतावनीले धेरैलाई छुन्छ
देशको अर्थतन्त्रको अवस्था एकातिर भए पनि निर्वाचनहरूको नतिजा मानिसहरूको भावनात्मक मुद्दामा निर्भर रहन्छ।
डेमोक्र्याटहरूले मानिसहरूको मन जित्ने मुद्दा गर्भपतनको विषय बन्ने अपेक्षा गरेका छन् भने रिपब्लिकनहरूले आप्रवासनको मुद्दा बाजीमा राखेका छन्।
बाइडनको प्रशासनकालमा सीमामा मुठभेडका घटना अहिलेसम्मकै धेरै भएको अवस्था र अमेरिकामा आप्रवासीहरूको प्रवेशले सीमाभन्दा टाढाटाढासम्मका राज्यमा प्रभाव पारेका कारण यो मुद्दामा मतदाताहरूले ट्रम्पलाई नै बढी विश्वास गरेको मत सर्वेक्षणहरूले देखाएका छन्।
ट्रम्पले पनि यसअघिका निर्वाचनमा भन्दा यस पटक ल्याटिन अमेरिकी मूलका अमेरिकीहरूसँग मिलेर यो मुद्दा बलियो गरी उठाइरहेका छन्।
४. डिग्री हुनेभन्दा नहुनेहरू अत्यधिक छन्
अरूले बिर्सिएका वा महत्त्व नदिएका मतदाताहरूलाई ट्रम्पले सम्बोधन गरेका कारण कतिपय परम्परागत डेम्रोक्र्याटिक निर्वाचन क्षेत्रहरू रिपब्लिकन बनेका छन्। अमेरिकी उद्योगहरूलाई सामान्यभन्दा धेरै कर लगाउने कुराबाट संरक्षण प्रदान गर्ने कुराले मजदुर सङ्गठनहरू पनि उनको पक्षमा देखिएका छन्।
यदि उनले ग्रामीण र सहरभन्दा बाहिरका क्षेत्रहरूमा आफ्नो प्रचार बढाए भने यसले उच्च शिक्षा हासिल गरेका अमेरिकीहरूबाट उनले गुमाउन सक्ने मतको झिनो अन्तर परिपूर्ति गर्न रिपब्लिकनलाई सहज अवस्था दिलाउन सक्छ।
५. उनलाई अस्थिर संसारको बलियो मानिसका रूपमा हेरिएको छ

तस्बिर स्रोत, Reuters
ट्रम्पका आलोचकहरूले उनीमाथि लाउने एउटा आरोप के छ भने उनले अधिनायकवादी नेताहरूसँग साँठगाँठ गरेर अमेरिकी गठबन्धनमा रहेकाहरूलाई बेवास्ता गर्न सक्छन्।
तर अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प अरूले आकलन गर्न नसक्ने आफ्नो कदमलाई आफ्नो सबल पक्षको रूपमा लिन्छन्। त्यसलाई पुष्टि गर्ने प्रयासस्वरूप उनले आफ्नो कार्यकालमा कुनै पनि प्रमुख युद्ध नभएको उदाहरण दिएर गर्दै आएका छन्।
कैयौँ अमेरिकीहरू युक्रेन र इजरेलमा अमेरिकाले अर्बौँ डलर दिइरहेकोमा रुष्ट छन्। उनीहरू बाइडन प्रशासनको समयमा अमेरिका कमजोर भएको ठान्छन्।
ट्रम्पले जो रोगनजस्ता पोड्कास्टरहरूको माध्यमबाट सम्बोधन गरेका विशेष गरी अधिकांश पुरुष मतदाताहरू ह्यारिसभन्दा ट्रम्प बलियो उम्मेदवार भएको ठान्छन्।


तस्बिर स्रोत, Reuters / EPA-EFE
१. उनी ट्रम्प होइनन्
ट्रम्पका बलिया पक्षहरूका बावजुद उनको छवि अति धेरै ध्रुवीकृत नेताको छ।
सन् २०२० मा उनले रिपब्लिकन उम्मेदवारको रूपमा सबैभन्दा धेरै मत पाउने रेकर्ड बनाएका थिए। तर उनलाई भन्दा ७० लाख बढी अमेरिकीहरूले बाइडनलाई मत दिएपछि ट्रम्प राष्ट्रपतिमा पराजित भए।
यो पटक ह्यारिसले ट्रम्प फर्कन सक्ने डर देखाएर मत मागिरहेकी छन्। उनले ट्रम्पलाई “फासीवादी” र प्रजातन्त्रका लागि चुनौती भएको आरोप लगाउने गरेकी छन्।
गत जुलाईमा रोएटर्स र इप्सोसले गरेको एक मत सर्वेक्षणमा पाँचमध्ये चार जना अमेरिकीहरूले देशले नियन्त्रणबाहिर चक्कर मारिरहेको लागेको बताएका थिए।
ह्यारिसले मध्यमार्गी रिपब्लिकन र स्वतन्त्र मानिसहरूले आफूलाई स्थायित्व दिने उम्मेदवारको रूपमा हेर्ने आशा गरिरहेकी छन्।
२. उनी बाइडन पनि होइनन्
बाइडनले राष्ट्रपतिको उम्मेदवारबाट पछि हट्ने निर्णय नलिँदासम्म डेमोक्र्याटहरू करिब हारको अवस्थामा पुगिसकेका थिए। ट्रम्पलाई हराउने चाहनामा एक ठाउँ उभिएका उनीहरू ह्यारिसको समर्थनमा जुटिहाले।
उनले त्यसपछि आफ्नो गति बढाउँदै जनाधारलाई उत्साहित बनाउने दूरगामी किसिमका सन्देशहरू दिइरहेकी छन्।
रिपब्लिकनहरूले बाइडनका अलोकप्रिय नीतिसँग जोडेर उनको आलोचना गरिरहेका छन्। ह्यारिसले कतिपय बाइडन मात्रै जोडिएका विषयप्रति आफूलाई जोडेर गरिएका आक्रमणबाट आफूलाई अलग गरेकी छन्।
त्यसमध्ये एउटा बाइडनको उमेरको विषय पनि हो। मत सर्वेक्षणहरूले मतदाताहरूले बाइडनको उमेरको विषयलाई लिएर चिन्ता लिएको देखाएको थियो। तर ह्यारिस उम्मेदवार बनेपछि अहिले पासा पल्टिएको छ। अब ह्वाइट हाउसका लागि प्रतिस्पर्धा गरिरहेका पाका उम्मेदवार ट्रम्प भएका छन्। यदि उनी निर्वाचित भएको अवस्थामा ह्वाइट हाउसका लागि निर्वाचित हुने सबैभन्दा ज्येष्ठ राष्ट्रपति हुनेछन्।
३. उनले महिला अधिकारको वकालत गरेकी छन्
अमेरिकी सर्वोच्च अदालतले 'रो भर्सेस वेड' मुद्दाको फैसला र गर्भपतनको संवैधानिक अधिकारको व्यवस्था उल्ट्याएपछि हुन लागेको यो पहिलो राष्ट्रपतीय निर्वाचन हो।
गर्भपतनको अधिकारबारे चासो राख्ने अधिकांश मतदाताहरूले ह्यारिसलाई समर्थन गर्न सक्छन्। यो हामीले विगतको निर्वाचनमा पनि देखिसकेका छौँ, विशेष गरी सन् २०२२ को मध्यावधि चुनावमा। यो मुद्दाले मतदाताको सहभागिता पनि उल्लेख्य बढाउन सक्छ र परिणाममा पनि प्रभाव पार्न सक्छ।
यस पटक अनिर्णीत देखिएको एरिजोनासहितका १० राज्यमा गर्भपतनलाई कसरी नियमन गर्ने भन्ने विषय पनि मतपत्रमै सोधिएको छ। यसले ह्यारिसलाई मत दिने मानिसहरूको मतदानमा सहभागिता बढाउन सक्छ।
पहिलो महिला राष्ट्रपति बन्ने उनको ऐतिहासिक प्रयासले पनि महिला मतदाताहरूबाट उनलाई बलियो साथ मिल्न सक्छ।
४. उनका मतदाता मतदानमा उपस्थित हुने सम्भावना बढी छ

तस्बिर स्रोत, Reuters
ह्यारिसको समूहले विश्वविद्यालय शिक्षा लिएका र पाका मानिसहरूमाझ उनको प्रचार केन्द्रित गरिरहेको छ। यो समूहका मानिसहरू मतदानमा सहभागी हुने सम्भावना धेरै रहन्छ।
मतदानमा धेरै सहभागी हुने समूहको समर्थन डेमोक्र्याटिकहरूले पाउँदै आएका छन् भने ट्रम्पलाई समर्थन गर्नेहरू मतदानमा कम सहभागी हुने युवा र उच्च शिक्षा हासिल नगरेका समूहका मानिस छन्।
न्यूयोर्क टाइम्स र सिएनाको एक सर्वेक्षणका अनुसार सन् २०२० मा मतदाता सूचीमा नाम भएका तर मतदान गर्न नगएका मानिसहरूमध्ये धेरै ट्रम्पका समर्थक थिए।
सबैभन्दा महत्त्वपूर्ण प्रश्न चाहिँ 'के उनीहरू यो पटक मत दिन जालान्' भन्ने हो।
५. उनले धेरै पैसा उठाएकी र खर्चेकी छन्
अमेरिकी निर्वाचन खर्चिलो भएको विषय कुनै गोप्य रहेन। सन् २०२४ को निर्वाचन अहिलेसम्मकै सबैभन्दा खर्चिलो हुने दिशामा छ।
तर खर्च गर्ने मामिलामा ह्यारिस ट्रम्पभन्दा अगाडि छिन्। उनले गत जुलाईमा उम्मेदवार बनेपछि जुटाएको चुनावी खर्च ट्रम्पले सन् २०२३ को ज्यानुअरीयताको पूरा समयमा जुटाएकोभन्दा धेरै छ।
हालैको फाइनान्शल टाइम्सको एक विश्लेषणअनुसार उनले चुनावी प्रचारमा ट्रम्पको भन्दा करिब दोब्बर खर्च गरेकी छन्।
अहिले राजनीतिक विज्ञापनको बाढी देखिएका 'स्विङ स्टेट'का मतदाता निर्णायक रहने निकै झिनो अन्तरको प्रतिस्पर्धामा यसले पनि ठूलो भूमिका खेल्न सक्छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








