तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
सन्दीप लामिछाने धरौटीमा छुटेपछि सर्वोच्च अदालतले खोज्यो 'आधार'
नाबालिगलाई जबरजस्ती करणी गरेको अभियोग लागेका क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई धरौटीमा रिहा गर्ने पाटन उच्च अदालतको आदेश बदर गर्नुपर्ने मागसहित महान्यायाधिवक्ता कार्यालयले दिएको निवेदनमा सर्वोच्च अदालतले 'कैफियत प्रतिवेदन' मागेको छ।
दुई साताअघि लामिछानेलाई उच्च अदालत पाटनले २० लाख धरौटी लिएर रिहा गरेको थियो।
शुक्रवार न्यायाधीश हरिप्रसाद फुयालको इजलासले उच्च अदालतसँग लामिछानेलाई धरौटीमा छोडेको विषयमा थप सोधखोज गरेको हो।
“तिमीले केका आधारमा छोडेको हो भन्ने कुराको जबाफ मागिएको हो। त्यसलाई कानुनी भाषामा कैफियत प्रतिवेदन भनिन्छ,” महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सहन्यायाधीवक्ता सञ्जीवराज रेग्मीले भने।
यस्तै प्रकृतिका मुद्दामा सर्वोच्च अदालतले यसअघि अभियुक्तलाई थुनामै राख्नुपर्ने आदेश दिने गरेको रेग्मी बताउँछन्।
यदि तीन वर्षभन्दा बढी सजाय हुने मुद्दाका प्रमाणले आरोपित व्यक्ति कसुरदार हो भन्ने देखाउँछ भने त्यस्तो अवस्थामा निजलाई थुनामै राख्नुपर्ने कानुनी प्रावधान छ।
त्यसैले महान्यायाधिवक्ता कार्यालयले धरौटीमा छुटेका लामिछानेलाई पुर्पक्षका लागि थुनामै राख्नुपर्ने माग गरेको रेग्मी बताउँछन्।
“उच्च अदालतले त्रुटि गर्यो। त्यसलाई सच्याई पाऊँ भन्ने माग हो,” उनले थपे।
क्रिकेट सङ्घद्वारा निलम्बन फुकुवा
लामिछानेको मुद्दा अदालतमा विचाराधीन रहेको अवस्थामा नेपाल क्रिकेट सङ्घ (क्यान)ले माघ १८ गते उनीमाथिको निलम्बन फुकुवा गरिसकेको छ।
“अनुशासन उल्लङ्घनको कारबाहीमा परी निलम्बित राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेको निलम्बन फुकुवा गर्ने निर्णय गरियो,” सङ्घद्वारा जारी विज्ञप्तिमा लेखिएको छ।
सङ्घले अर्को सूचना जारी गर्दै लामिछानेलाई राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण टोलीमा समावेश गरिएको घोषणा गर्यो।
उक्त निर्णयको सामाजिक सञ्जालमा आलोचना भएको छ।
निलम्बन फुकुवा गरिएको दुई दिनमै उनलाई राष्ट्रिय टोलीमा समावेश गर्नुलाई केहीले “निन्दनीय र असंवेदनशील कदम”को रूपमा व्याख्या गरेका छन् भने केहीले “बलात्कारजस्तो जघन्य आरोपलाई सामान्यीकरण गरिएको” तर्क राखेका छन्।
तर लामिछानेलाई फसाइएको दाबी गर्दै केहीले उनीप्रति सहानुभूति पनि प्रकट गरेका छन्।
के भन्छ नेपाल क्रिकेट सङ्घ
नेपाल क्रिकेट सङ्घका कार्यवाहक सचिव दुर्गाराज पाठकका अनुसार निलम्बन फुकुवा भएपछि सन्दीप लामिछानेले "खेल्न पाऊँ" भनी निवेदन दिएका थिए।
"अन्तर्राष्ट्रिय क्रिकेटमा पनि यस्तै प्रकृतिका आरोप लागेकालाई आरोप पुष्टि नभएसम्म खेल्न पाउने प्रचलन पनि छ," पाठकले भने।
"क्यानको छनोट समिति र प्रशिक्षकले नै लामिछानेको आवश्यकता महसुस गरेर उनलाई टोलीमा राखिएको हो।"
कसरी हुँदैछ आलोचना
ट्विटरमा प्रकाशित क्यानको विज्ञप्तिमा प्रतिक्रिया व्यक्त गर्दै कलाकार आयुष्मान् प्याकुरेलले लेखेका छन्: “क्यान पूरै मजाक हो।"
उनले "सन्दीपलाई न्याय" भन्दै केही खेलाडीले चलाएको अभियानलाई "असंवेदनशील" को सङ्ज्ञा दिएका छन्।
लेखक आन्विका गिरीले लामिछानेको निलम्बन फुकुवा हुनुले “बलात्कारजस्तो जघन्य अपराधका आरोपित समाजमा निर्धक्क स्वीकार्य हुने र न्यायका लागि लड्ने सर्भाइभर लुकेर बस्नुपर्ने” नजिर स्थापित गर्ने विचार राखेकी छन्।
“यस्तो घिनलाग्दो समाज त कसैलाई चाहिएको होइन होला नि?” उनको प्रश्न छ। उनले लैङ्गिक हिंसाको मुद्दामा संवेदनशील नभएकाले क्यानका पदाधिकारीलाई पदमुक्त गर्नुपर्ने माग राखेकी छन्।
रवि तिमिल्सिनाले ट्विटरमा क्यानको निर्णय पूरै आत्तिएर गरेको जस्तो भएको धारणा राखेका छन्। उनले सन्दीप लामिछानेको पक्षमा भएको निर्णयलाई ”नियम कानुनभन्दा माथि रहेर गरेको निर्णय”को सङ्ज्ञा दिएका छन्।
तिमिल्सिना भन्छन्,”मानौँ कि सन्दीप नभए खेल नै जितिन्न र सन्दीप भएका सबै खेल नेपालले जितेको छ भने जसरी बन्द प्रशिक्षणमा राखिएको छ।"
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफूले क्यानका अध्यक्षलाई फोनमार्फत् यस विषयमा प्रश्न सोधेको बताएका छन्।
उनले लेखेका छन्, "मैले सोधेँ खेलको नियम पालना गर्ने संस्थाले न्यायको नियम पालना गर्नुपर्दैन?”
उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई खेलकुद मन्त्रीको हैसियतमा "मौनता जिम्मेवार जबाफ नहुने" समेत बताएका छन्।
नेपालीको आवाज नामक अर्का ट्विटर प्रयोगकर्ताले लेखेका छन्, "दोषी ठहर नभएका र मानसिक परिस्थितिसँग लडिरहेका भनिएका लामिछाने जो विदेश जान पाउँदैनन्। उनलाई कीर्तिपुरमा खेलाउन कति हतार?”
उनले अभियुक्तलाई फूलमाला र राष्ट्रिय झण्डासहित देशको प्रतिनिधित्व गराउनु लज्जास्पद मात्र नभई नाबालिग तथा हजारौँ हिंसामा परेका माहिलाको भावनामाथि खेलबाड समेत भएको उल्लेख गरेका छन्।
सन्दीप लामिछाने फर्किँदा समर्थकहरू खुसी
फेसबुक र टिकटकजस्ता सञ्जालमा कतिपयले लामिछाने क्रिकेटमा फर्किनुलाई खुसीको क्षण भएको बताएका छन्।
आफूलाई सामाजिक अभियानकर्मी भनेर चिनाउने केहीले उनको पक्षमा भिडिओ अन्तर्वार्ता दिएका छन्। तीमध्ये कतिपय अन्तर्वार्ताका दृश्य टिकटकमा हजारौँ पटक हेरिएका छन्।
यस प्रवृत्तिलाई उनले आरोप लाग्नुअघि कमाएको नामसँग जोडेर समेत विश्लेषण भएको छ।
“सेलिब्रिटी भएपछि त जस्ता अपराध गर्न पनि छुट पाइने रहेछ भन्ने न्यारेटिभ बन्ने डर पो देखियो,” प्रजु पन्तले लेखेकी छन्।
त्यस्तै वसन्त गौतम नामका ट्विटर प्रयोगकर्ताले “बलात्कारी आरोपीको अखडा बनुन्जेल क्यानका खेलहरू बहिष्कार गर्ने” निर्णय सार्वजनिक गरेका छन्।
फेसबुकमा आशिष ओलीले क्यानको विज्ञप्तिमा प्रतिक्रिया जनाउँदै प्रश्न राखेका छन्: बलात्कार अभियोग लागेका व्यक्तिलाई कसरी समर्थन गर्नु? उनलाई टोलीमा ल्याउँदा अन्य खेलाडीको क्षमतामाथि विश्वास नगरे जस्तो भएन र?
उत्कृष्ट खेलाडी भएकै कारण छनौट भए पनि छोटो समयमै हुन लागेका लिग २ का खेलहरूमा तनावका कारण सन्दीपले पहिलेको जस्तै खेल देखाउन सक्ने विषयमा द्विविधा रहने उनी बताउँछन्।
उनले अदालतको अन्तिम फैसला कुर्नु नै विकल्पका रूपमा सुझाएका छन्।
घटना के हो
प्रहरीका अनुसार पीडित भनिएकी किशोरी १७ वर्षकी छन् र उनले आफन्तको सहयोगमा गत भदौ २१ गते काठमाण्डूको गौशाला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन्।
जिल्ला अदालतले लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि गत भदौ २३ गते नेपाल क्रिकेट सङ्घको कार्य सम्पादन समितिले उनलाई राष्ट्रिय क्रिकेट टोलीबाट निलम्बन गरेको थियो।
नेपालमा उजुरी दर्ता हुँदा उनी क्यारिबीअन लीग खेल्न जमैकामा थिए।
आरोपहरू सार्वजनिक भएपछि उक्त लीगलाई बीचमै छाडेर केही समय सम्पर्कविहीन भएका लामिछाने त्यसको केही समयपछि नेपाल फर्केका थिए।
प्रहरीले सन्दीप लामिछाने निर्धारित समयभित्र नेपाल नआएपछि उनी विरुद्ध इन्टरपोलमार्फत् सूचना पनि जारी गरेको थियो।
त्यसपछि सन्दीपले पहिलो पटक फेसबुक स्टेटस लेख्दै आफूलाई फसाइएको र त्यसविरुद्ध कानुनी लडाइँ लड्ने जनाएका थिए।
लामिछाने सन् २०२१ को डिसेम्बरमा नेपालको कप्तानमा नियुक्त भएका थिए।
उनी पहिलो पटक सन् २०१९ मा क्यारिबीअन प्रीमिअर लीग (सीपीएल) को खेलाडी बोलकबोल प्रक्रिया (अक्शन) मा महँगो मूल्यमा सकारिएका थिए।
उनले भारत, क्यारिबीअन, अस्ट्रेलिया, अफगानिस्तान, बाङ्ग्लादेश र पाकिस्तानका लीगमा खेलेका थिए।