तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
उम्मेदवारी परित्याग गरेपछि ह्वाइटहाउसबाट बाइडनको पहिलो सार्वजनिक सम्बोधन
अमेरिकी राष्ट्रपति जो बाइडनले एउटा टेलिभिजन सम्बोधनमा "नयाँ पुस्तामा जिम्मेवारी हस्तान्तरण गर्ने" समय आएको बताएका छन्।
पुनः राष्ट्रपति पदका लागि प्रतिस्पर्धा नगर्ने आफ्नो निर्णयको व्याख्या गर्ने क्रममा बाइडनले त्यस्तो टिप्पणी गरेका हुन्।
फितलो चुनावी अभियान र शारीरिक तन्दुरुस्तीको विषयमा पार्टीभित्र र बाहिरबाट व्यापक आलोचना भएपछि बाइडनले दोस्रो पटक राष्ट्रपति बन्ने दौडबाट पछि हट्ने निर्णय गरेका थिए।
एकासी वर्षका बाइडनले आफ्नो दल डेमोक्र्याटिक पार्टी र अमेरिकालाई एकताबद्ध गर्नका निम्ति आफूले उम्मेदवारी फिर्ता लिएर उपराष्ट्रपति कमला ह्यारिसलाई समर्थन गरेको बताए।
जुलाई २१ मा राष्ट्रपतिको दौडबाट पछि हटेपछिको उनको घोषणापछि उनले ह्वाइटहाउसबाट पहिलो पटक सार्वजनिक सम्बोधन गरेका हुन्।
यसैबीच एउटा चुनावी र्यालीमा राष्ट्रपतिका रिपब्लिकन उम्मेदवार डोनल्ड ट्रम्पले कमला ह्यारिसलाई "अतिवादी वामपन्थी पागल" भएको आरोप लगाएका छन्।
अहिलेसम्मका मतसर्वेक्षणहरूले ट्रम्प र ह्यारिसबीच कडा प्रतिस्पर्धा हुने सङ्केत गरेका छन्।
बाइडनले के भने?
बुधवार राति बाइडनले ओभल अफिसबाट ११ मिनेट बोलेका थिए। त्यस क्रममा उनीसँगै उनकी पत्नी, छोरा र छोरी तथा ह्वाइटहाउसका केही केही प्रमुख कर्मचारी उपस्थित थिए।
"म यो कार्यालयलाई सम्मान गर्छु," उनले भने, "तर म मेरो देशलाई बढी प्रेम गर्छु।"
आधा शताब्दीभन्दा बढी समयदेखि अमेरिकाका विभिन्न सार्वजनिक पदमा रहेका बाइडनले भने, "अगाडि बढ्ने उत्तम उपायका रूपमा मैले नयाँ पुस्तालाई जिम्मेवारी हस्तान्तरण गर्ने निर्णय गरेको हुँ। यो नै हाम्रो राष्ट्रलाई एकताबद्ध गर्ने उपयुक्त तरिका हो।"
बाइडनले आगामी वर्षको ज्यानुअरीमा आफ्नो कार्यकाल सकिनुअघि नै "अमेरिकी जनताका लागि आफूले गर्नुपर्ने काम" सम्पन्न गर्ने बताए।
उनले ५९ वर्षीया ह्यारिसलाई "अनुभवी, कडा र सक्षम" मित्र भनेका छन्।
बाइडनले आफ्नो कामले दोस्रो कार्यकाल माग गर्ने बताए। उनले भने, "तर हाम्रो प्रजातन्त्र बचाउने बाटोमा केही पनि आउनु हुँदैन र त्यसमा व्यक्तिगत महत्वाकाङ्क्षा पनि पर्छ।"
"अमेरिकाको सबैभन्दा अद्भुत कुरा के हो भने यहाँ राजा वा तानाशाहहरूले शासन गर्दैनन्, जनताले गर्छन्। इतिहास तपाईँको हातमा छ। शक्ति तपाईँको हातमा छ। अमेरिका कस्तो बनाउने तपाईँको हातमा छ।"
ट्रम्पको निरन्तर प्रहार
सम्बोधनका क्रममा बाइडनले ट्रम्पसँगको चुनावी बहसमा आफ्नो फितलो प्रस्तुतिपछि पार्टीभित्रैबाट आएको दबावबारे भने केही भनेनन्।
बाइडनको सम्बोधनभन्दा केही घण्टाअघि ७८ वर्षीय ट्रम्पले नोर्थ क्यारलाइनाको शार्लोटमा आयोजित एउटा चुनावी सभामा आफू नराम्ररी पराजित हुने देखेर बाइडनले उम्मेदवारी परित्याग गरेको दाबी गरे।
उनले बाइडनलाई अमेरिकी इतिहासकै सबैभन्दा हानिकारक राष्ट्रपति भने।
उनले उपराष्ट्रपति तथा डेमोक्र्याटिक पार्टीबाट राष्ट्रपति पदका लागि सम्भावित उम्मेदवार कमला ह्यारिसको पनि आलोचना गरे। ट्रम्पले उनलाई "अतिवादी वामपन्थी पागल" को सङ्ज्ञा दिँदै उनी "बाइडनले गरेको प्रत्येक विध्वंसका लागि अत्युदारवादी उत्प्रेरक" भएको आरोप लगाए।
"साढे तीन वर्षसम्म झुटो बोल्ने कमला ह्यारिस बाइडनका सबै विध्वंसका पछाडि अत्युदारवादी उत्प्रेरक शक्ति भएकी छन्।"
"उनी अतिवादी वामपन्थी पागल हुन्। कथङ्कदाचित् पद पाइन् भने उनले हाम्रो देशलाई ध्वस्त पार्ने छिन्।"
बुधवार नै ह्वाइटहाउसकी प्रेस सेक्रेटरीले बाइडनले उम्मेदवारी परित्याग गर्नुको कारण स्वास्थ्यस्थिति नभएको बताएकी थिइन्
ह्यारिसले के भनिन्?
ह्यारिसले ट्रम्पले गरेका टिप्पणीमाथि तीव्र प्रहार गरिरहेकी छन्।
बुधवार उनले इन्डियानापोलिसमा बोल्दै आफूलाई जिताउन मतदाताहरूलाई आग्रह गरिन्।
"यो अवस्थामा म के विश्वास गर्छु भने हामीले हाम्रो राष्ट्रका लागि दुई फरक दृष्टिकोणमध्ये एक छान्नुपर्ने छ। एउटा भविष्यप्रति केन्द्रित छ, अर्को विगतप्रति केन्द्रित छ। तपाईँहरूको समर्थनमा म हाम्रो राष्ट्रको भविष्यको लागि लडिरहेकी छु।"
यदि ह्यारिसले चुनाव जितिन् भने उनी प्रथम अश्वेत, दक्षिण एशियाली अमेरिकन र महिला राष्ट्रपति हुने छिन्। अमेरिकी अश्वेत मतदाताहरूबाट समर्थन पाए उनलाई सजिलो हुने छ।
यद्यपि 'ब्ल्याक लाइभ्स म्याटर' अधिकार समूहले मङ्गलवार एउटा विज्ञप्ति जारी गर्दै डेमोक्र्याटहरूले "अश्वेत मतदाताहरूलाई भ्रमपूर्ण प्रभावमा पार्न खोजिरहेको" आरोप लगाएको छ।
उसले "प्रजातान्त्रिक सिद्धान्तहरूको स्पष्ट उपेक्षा" गर्दै अर्बपति चन्दादाताहरूको चाहनामा ह्यारिसलाई अघि सारिएको दाबी गरेको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।