गाउँभरिको टीका-जमरा मिश्रण, मन्दिरमा टीका

    • Author, प्रकाश पन्त
    • Role, सुर्खेत

बाजुराको हिमाली गाउँपालिकामा रहेको कालिका भगवतीको मन्दिरमा विजयादशमीको दिन गाउँलेहरू घरघरबाट एक मुठी जमरा र टीका ल्याएर जुट्छन्।

सबैको जमरा एकै ठाउँमा मिसाएर ज्येष्ठ व्यक्ति, मन्दिरका पुजारी र मान्यजनको हातबाट पालैपालो टीका-जमरा लगाउने क्रम सुरु हुन्छ। वर्षौँदेखि त्यहाँ यस्तै परम्परा चल्दै आएको छ।

कालिका मन्दिरका पुजारी समेत रहेका हिमाली गाउँपालिका अध्यक्ष गोविन्दबहादुर मल्ल भन्छन्: "आफ्नो घरमा टीका लगाएर गाउँलेहरू मन्दिरमा सामूहिक टीका लगाउन आउँछन्।"

सुदूरपश्चिमका सबैजसो शक्ति पीठ र कालिका भगवतीका मन्दिरमा सामूहिक रूपमा जमरा राख्ने र एकै ठाउँमा जम्मा भएर गाउँलेहरूबीच टीका-जमरा लगाउने चलन छ।

"मन्दिरमा आउँदा प्रत्येकले मुठीमा अटेजति जमरा ल्याउँछन्," उनी भन्छन्।

"सबै घरको जमरा एकै ठाउँमा मिसाएर पुजारी र मान्यजनको हातबाट टीका-जमरा लगाइन्छ।"

मन्दिरमा रौनक

यस भेगका मन्दिरमा दशैँको दिनको रौनक हेर्न लायक हुन्छ जहाँ वर्षौँ नभेटेका मानिसहरू शुभकामना आदानप्रदान गर्छन्। 

कुनै बेला झैझगडा भएकाहरूबीच पनि त्यस दिनको माहोलले मेलमिलाप गराउने र खुसी साटासाट गराउने मानिसहरू बताउँछन्।।

कालिका भगवती मन्दिरका पुजारी विष्णुप्रसाद खनाल भन्छन्: "दशैँ टीकाको दिन सबै खालका आग्रह-पूर्वाग्रह त्यागेर मेलमिलाप र एकताको सन्देश दिइन्छ।"

यहाँ घटस्थापनादेखि दशैँको दिनसम्म घरमा चोखो भएर उपासनामा बस्ने परम्परा समेत छ।

विभिन्न ठाउँमा बसाइँ सरेकाहरूसमेत दशैँको बेला आफ्नो पुर्ख्यौली थलोमा आएर उपासना गर्छन्।

सुदूरपश्चिम प्रदेशका सबै ठाउँमा यस्तो चलन रहे पनि कतिपय व्यक्ति भने चाहेर पनि दशैँमा उपासनामा बस्न नसकेको बताउँछन्।

"अरू सबै उपासनामा बस्छन्," अछामका मङ्गल शाह भन्छन्। "यताउति हिँडिरहनुपर्ने भएकोले चाहेर पनि म उपासनामा बस्न सकेको छैन।"

सप्तमीदेखि दशमीसम्म गाउँका पाका, अग्रज र मान्यजनहरूले युवालाई आफ्ना ज्ञान, सीप र अनुभवहरू सुनाउँछन् भने पुस्त्यौली जानकारी लिने र दिने समेत गरिन्छ।

यो समयमा गाउँका सबै मान्छेहरु एकै ठाउँमा भेला भएर वन, बालीनाली नोक्सान गर्नेलाई दण्ड जरिमाना तोक्ने, झैझगडा मिलाउने, वनजङ्गल, पानीका मुहानजस्ता सार्वजनिक स्थलहरू कसरी संरक्षण गर्ने भन्ने बारेमा समेत छलफल गर्ने चलन सुदूरपश्चिममा छ। 

सात्त्विक दशैँ

दशैँलाई अन्यत्र खानपिनको पर्वको रूपमा मनाउने गरिए पनि धेरैतिर सुदूरपश्चिमवासीले भने पुस्तौँदेखि सात्त्विक दशैँ मनाउने गरेका पाइन्छन्।

अन्यत्रजस्तो दशैँमा माछा-मासु खाने, खसी काट्ने चलन सुदूरपश्चिममा छैन।

यो अवधिमा सकभर गाईको दूधबाट बनेका परिकार, घ्यु, गहुँ, चामल, जौ, हरिया सागपातजस्ता सात्त्विक खाने चलन सुदूरपश्चिममा छ ।

नदी र खोलाको चोखो बालुवा, चोखो ठाउँको माटो ल्याएर दशैँको जमरामा राखिन्छ।

सुदूरपश्चिमका विशेषगरी निङ्गलाशैनी भगवती, त्रिपुरा सुन्दरी भगवती, डिलाशैनी भगवती, मेलौली भगवतीजस्ता प्रसिद्ध शक्ति पीठमा दशैँको बेला पूजा गर्नेहरूको घुइँचो लाग्छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्रामट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।