मौद्रिक नीतिपछि नेप्सेमा लगातार वृद्धिका सम्भाव्य कारण र दिगोपनको लेखाजोखा

    • Author, सञ्जय ढकाल
    • Role, बीबीसी न्यूज नेपाली

गत असार २७ गते नेपाल राष्ट्र ब्याङ्कका गभर्नर विश्व पौडेलले मौद्रिक नीति सार्वजनिक गरेको दिन शुक्रवार थियो – शुक्रवार नेपाल स्टक एक्सचेन्ज (नेप्से) बन्द हुन्छ।

असार २६ गते २७३१ बिन्दुमा रहेको नेप्से परिसूचक, मौद्रिक नीति घोषणापश्चात् बजार खुलेको पहिलो दिन असार २९ गते २७६० मा पुगेको थियो।

असार ३० गते चाहिँ ३५ अङ्कले घटेको नेप्से त्यसपछि पछाडि फर्किएको देखिँदैन।

साउन ६ गतेसम्म आइपुग्दा नेप्से परिसूचक २९७३ अङ्कमा पुगिसकेको छ।

अङ्कमात्र होइन त्यहाँ हुने कारोबार रकममा पनि यस दौरान उल्लेख्य वृद्धि भइरहेको देखिन्छ।

सोमवार २० अर्ब रुपैयाँको कारोबार भयो। बितेको एक सातामा कारोबार रकम पनि धेरै जसो १० अर्ब रुपैयाँभन्दा धेरै नै रहेको देखिन्छ।

एक वर्षयता नेप्से २०८१ साउन ३१ गते ३०००.८१ को उच्च बिन्दु अनि असोज १३ गते २४६४ को न्यून बिन्दुमा पुगेको थियो।

के हुन् कारण?

पछिल्लो उछालका पछाडि दुईतीनवटा स्पष्ट कारणहरू रहेको जानकारहरू बताउँछन्।

पहिलो, मौद्रिक नीतिले शेअर बजारसम्बन्धी विषयमा केही 'लचिलो' प्रावधान राखिदिएको उनीहरू बताउँछन्।

"ब्याङ्क तथा वित्तीय संस्थाहरूबाट शेअर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको विद्यमान एकल ग्राहक कर्जा सीमा १५ करोडबाट २५ करोड बनाइने छ," नीतिले उल्लेख गरेको छ।

वास्तवमा शेअरबजारका लगानीकर्ताहरूले यस्तो सिमाना नै हटाउन माग गर्दै आएका थिए तर नीतिले सिमाना नहटाए पनि लचिलो व्यवस्था ल्याएको हो।

"अहिले नेप्सेको परिसूचकमा देखिएको वृद्धिलाई मौद्रिक नीतिमा भएको खास गरी दुईवटा प्रबन्धको परिणाम मान्न सकिन्छ। एक त, त्यसले शेअर धितोमा कर्जाको सिमाना बढाइदियो। अर्को, लघुवित्तहरूले चुक्ता पुँजीको १५ प्रतिशतभन्दा धेरै डिभिडेन्ड बाँड्न नपाइने भन्ने साबिकको व्यवस्थालाई समीक्षा गर्ने भनेर नीतिमा उल्लेख भयो," नेप्सेका कम्पनी सचिव तथा सूचना अधिकारी मुराहरि पराजुलीले शेअर लगानीकर्ताहरू उत्साहित भएका दुईवटा सम्भाव्य कारणबारे बताए।

नत्र अहिले बजार प्रभावित हुनु पर्ने अन्य विषय नरहेको उनले बताए।

लामो समय धेरै बढ्न नसकेको बेला कुनै न कुनै कारणले बजार बढ्न खोजिरहेको र मौद्रिक नीतिमार्फत् त्यस्तो कारण प्रकट भएको हुन सक्ने पनि उनले औँल्याए।

मूल्य बढेका कम्पनीहरूको हकमा तिनको आन्तरिक आर्थिक स्थितिका कारण बढेको नदेखिएकाले पनि यसलाई अर्को 'बबल' (पानीको फोका) सरह नै ठान्नुपर्ने उनले खुलाए।

धितोपत्र बजारको नियामक निकाय धितोपत्र बोर्डका पूर्वअध्यक्ष अनि नेप्सेका पूर्वप्रमुख डा रेवतबहादुर कार्की अहिले शेअर बजारमा आकर्षण बढ्नुका पछाडि ब्याजदर पनि मुख्य कारण रहेको बताउँछन्।

"ब्याजदर र यसको उल्टो सम्बन्ध हुन्छ। ब्याजदर घट्दा मानिसहरू यतातिर लगानी गर्न आकर्षित हुने गर्छन्," उनले भने।

अहिले सामान्य बचत निक्षेपको ब्याजदर तीन प्रतिशतभन्दा तलसम्म ओर्लिएको छ भने मुद्दतीको पनि धेरै छैन। त्यसो हुँदा मानिसहरूले लगानीका अन्य स्रोत खोज्ने जानकारहरू बताउँछन्।

"अर्को कारण चाहिँ मौद्रिक नीतिले अलिकति नियन्त्रणमा खुकुलोपना ल्याएकोले पनि हुन सक्छ।"

कार्कीको संयोजकत्वमा हालै राष्ट्र ब्याङ्कले ब्याङ्किङ क्षेत्र सुधार सुझाव कार्यदल गठन गरेको थियो। सो कार्यदलले गत साता अन्तिम प्रतिवेदन गभर्नरलाई बुझाइसकेको छ।

"पछिल्ला समयहरूमा नियामक निकायहरू अलि बढी नियन्त्रणमुखी भइरहेका थिए। कहिले सिमाना घटाउने, कहिले बढाउने भइरहेको थियो। हामीले पनि मौद्रिक नीतिले खास गरी पुँजीबजारमा हस्तक्षेप गर्नुहुँदैन भनेका छौँ," कार्कीले भने।

नयाँ मौद्रिक नीति सार्वजनिक हुनेबित्तिकै प्रतिक्रिया दिने क्रममा ब्याङ्करहरूले यसबाट घरजग्गा व्यवसाय तथा शेअर कारोबार चलायमान हुन सक्ने अनुमान गरेका थिए।

ब्याङ्कर्स असोसिएशनका अध्यक्ष सन्तोष कोइरालाले उक्त मौद्रिक नीतिले ब्याङ्करहरूले उठाउँदै आएका धेरैजसो मुद्दाहरूको सम्बोधन गरेको र यसको कार्यान्वयनबाट अर्थतन्त्रमा पर्ने प्रभावले कर्जा प्रवाहको स्थिति थप सुध्रने आशा गर्न सकिने बीबीसीलाई बताएका थिए।

वृद्धि दिगो रहला?

शेअरबजारको विगतको प्रवृत्ति हेर्दा ढुक्कसँग यसै होला भनेर भन्न नसकिने जानकारहरूको भनाइ छ।

२०७८ सालको भदौ २ गते नेप्से हालसम्मकै उच्च बिन्दु ३१९८ सम्म पुगेको थियो। तर पछि फेरि एकोहोरो घट्यो।

अहिले पनि कुनै खास कारणले बजार प्रभावित भएको नहुँदा यो वृद्धि दिगो होला भनेर भन्न नसकिने पराजुलीले बताए।

"जुन कम्पनीको आर्थिक स्थिति मजबूत बनेका कारण शेअर मूल्य बढेको छ, तिनको मात्रै दिगो हुन सक्छ। आर्थिक वर्षको प्रथम त्रैमासिक रिपोर्टहरू आएपछि कम्पनीहरूको यथार्थ स्थिति थाहा हुन्छ अनि थप भन्न सकिएला," उनले भने।

"शेअर बजारमा कस्तो पनि देखिन्छ भने जब उछाल आउँछ र मानिलिउँ ६५ प्रतिशत कम्पनीहरू माथि गइरहेका छन् भने बाँकी ३५ प्रतिशत कम्पनीहरू नराम्रै अवस्थामा भए पनि त्यत्तिकै तानिएर माथि जान्छन्। बजार खस्कँदा पनि त्यस्तै हुन्छ, राम्रा कम्पनी पनि सोहोरिएर तल जान सक्छन्," नेप्सेका मुराहरी पराजुलीले बताए।

"मौद्रिक नीतिले प्रत्यक्ष असर नगरेका कम्पनीहरूको पनि शेअर मूल्य बढ्नुमा यही कारण पनि हुन सक्छ।"

कार्कीको विचारमा चाहिँ विस्तारै 'उदार र विवेकशील' नीतिहरू अँगाल्दै गएमा पुँजीबजार विकसित हुँदै जाने छ।

यद्यपि बजारको प्रवृत्ति स्थायी नहुने भएकाले अहिलेको वृद्धिको दिगोपनाबारे अहिले भन्न नसकिने उनले बताए।

के सुझाव छ आम लगानीकर्तालाई?

दुवै जानकारले आम लगानीकर्ताहरूलाई सजग रहन अनि देखासिकीमा नलाग्न सुझाव दिएका छन्।

"नबुझीकन लहैलहैमा लगानी गर्नुहुँदैन। अहिले पनि सतर्क हुनैपर्छ। बजार जहिले तलमाथि भइरहन्छ," कार्कीले बताए।

पराजुलीले आम लगानीकर्ताहरूलाई आफूले शेअर किन्न खोजेको कम्पनीको पृष्ठभूमि जाँच्न सल्लाह दिए।

"समग्र बजारलाई हेरेर मात्र पनि भएन। छिमेकी वा साथीभाइले के गरिरहेका छन् भनेर हेरेर मात्र पनि भएन। आफूले शेअर किन्न लागेको कम्पनीको आर्थिक अवस्था अनि सम्भावना हेरेर मात्र निर्णय गर्नुपर्छ," पराजुलीले भने।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।