स्थिर देखिएको शेअर कारोबारमा यी दुई घटनाले उतारचढाव ल्याउन सक्छन्

    • Author, गनी अन्सारी
    • Role, बीबीसी न्यूज नेपाली

नेपालमा केही समययता स्थिरजसो अवस्थामा शेअर कारोबार भइरहेको लगानीकर्ता तथा नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अधिकारीहरूले बताएका छन्।

उनीहरूका अनुसार पछिल्लो समय शेअर कारोबार मापक नेप्से परिसूचक २,६०० बिन्दुको आसपास हुने गरेको छ।

कारोबारमा केही तलमाथि हुने गरे पनि त्यो खासै उल्लेखनीय नभएको शेअर लगानीकर्ताहरू बताउँछन्।

विगत एक साताकै कारोबार हेर्दा मङ्गलवार सामान्य अर्थात्‌ १.०३ अङ्कले बढेको पाइयो जबकि त्यसअघि पाँच दिनसम्म केही अङ्कले घटेको देखियो।

यद्यपि अहिले ६/७ अर्ब रुपैयाँका हाराहारीमा दैनिक कारोबार हुने गरेको छ। "व्यापारीले कारोबार गरिरहेकै छन्, तर उल्लेख्य रूपमा घट्ने वा बढ्ने भइरहेको छैन," नेपाल स्टक एक्सचेन्जका प्रवक्ता मुराहरि पराजुलीले बीबीसी न्यूज नेपालीसँग भने।

लगानीकर्ताहरू अहिले दैनिक हुने गरेको कारोबार रकमलाई ठूलो मान्न नसकिने बताउँछन्।

"विसं २०८० सालको साउनदेखि २०८१ को साउनसम्म एकदम राम्रो कारोबार भएको थियो। साउनपछि राम्रो हुन सकेन। २०/२२ अर्ब रुपैयाँसम्म कारोबार भएको पृष्ठभूमिमा ५/६ अर्ब रुपैयाँलाई धेरै ठूलो भन्न सकिँदैन," एक लगानीकर्ता नवराज घिमिरेले बीबीसी न्यूज नेपालीसँग भने।

किन घटबढ भएन?

जानकारहरूका अनुसार शेअर कारोबारमा सामान्यतया तीनवटा 'ट्रेन्ड' अर्थात् प्रवृत्ति देखिन्छन् : 'अप ट्रेन्ड', 'डाउन ट्रेन्ड' र 'साइडवेज'।

"अहिले चाहिँ 'साइडवेज' अर्थात्‌ स्थिर अवस्था छ। न तल जान सकेको छ, न त माथि जान सकेको छ," नेपाल स्टक एक्सचेन्जका प्रवक्ता पराजुलीले भने।

लगानीकर्ता घिमिरेका अनुसार शेअर कारोबारमा उतारचढाव ल्याउने कुनै कुरा बजारमा नभएर पनि यो अवस्था देखिएको हो।

"सकारात्मक कुरा भए शेअर कारोबार उकालो लाग्थ्यो भने निरुत्साहित गर्ने कुरा भए ओरालो झर्थ्यो। अहिले ती दुवै कुरा देखिएनन्," उनले भने।

अहिले लगानीकर्ताले ऋण लिएर लगानी गर्नतर्फ खासै रुचि नदेखाएर पनि कारोबार स्थिर देखिएको घिमिरे बताउँछन्।

"ठूला लगानीकर्ताहरूमा अहिले नकिनेर केही महिनापछि किन्दा पनि खासै फरक नपर्ला भन्ने सोच भएर पनि हो," उनले भने।

शेअर कारोबार अहिले स्थिरजसो देखिइरहँदा उतारचढाव हुने समयबारे अनुमान लगाउन सहज नभएको जानकारहरू बताउँछन्।

यद्यपि आउँदा दिनमा दुईवटा घटनाक्रमले शेअर कारोबारमा घटबढ निम्त्याउन सक्ने लगानीहकर्ताहरूले बताएका छन्।

१. गभर्नर नियुक्ति

हप्तौँदेखि गभर्नर पद रिक्त रहे पनि सरकारले अहिलेसम्म कसैलाई नियुक्त गर्न सकेको छैन।

गभर्नर नियुक्तिकै विषयले प्रमुख सत्ताधारी दल नेपाली कांग्रेस र नेकपा एमालेको सम्बन्धमा दरार निम्तिन सक्ने चर्चा पनि अहिले चलिरहेको छ।

यसको असर पछिल्लो समय शेअर बजारमा समेत परेको कतिपय लगानीकर्ताहरू बताउँछन्।

"लामो समयदेखि [गभर्नर] नियुक्त नहुँदा के होला, को होला भन्ने लगानीकर्तामा छ किनभने राष्ट्र ब्याङ्कले पनि शेअर बजारलाई 'मोनिटर' गरिरहेको हुन्छ," बजार उकालो लाग्न नसक्नुको एउटा कारणबारे लगानीकर्ता राधा पोखरेलले बीबीसी न्यूज नेपालीसँग भनिन्।

यसअघि तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको पालामा शेअर लगानीकर्ताहरूमा उत्साह नपाइएको अर्का लगानीकर्ता नवराज घिमिरेको दाबी छ।

"उहाँका नीतिले गर्दा यसअघि लगानीकर्ताहरू हच्किएका थिए। भावी गभर्नरले कस्ता नीति लिन्छन् भन्ने होला। त्यसैले 'पर्ख र हेर'को अवस्थामा लगानीकर्ताहरू हुन सक्छन्," उनले भने।

२. नयाँ बजेट

सरकारले जेठ १५ गते नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने छ। नीति तथा कार्यक्रम घोषणा गरिसकेको सरकार अहिले सरकार बजेटको तयारीमा जुटेको छ।

शेअर कारोबारप्रति बजेटमा लिइने नीतिले आउँदा दिनमा बजारको दिशा निर्धारण गर्न सक्ने जानकारहरू बताउँछन्।

"नयाँ बजेटलाई शेअर लगानीकर्ताहरूले कसरी लिनेछन्, शेअर बजारलाई बजेटले कसरी सम्बोधन गर्ने छ, त्यसले आगामी दिनमा शेअर बजारमा प्रभाव पार्न सक्छ," नेपाल पुँजी बजार लगानीकर्ता सङ्घकी पूर्वअध्यक्ष समेत रहेकी लगानीकर्ता राधा पोखरेलले भनिन्।

तर घिमिरे चाहिँ बजेट आएर पनि शेअर कारोबारमा क्षणिक मात्र वृद्धि हुन सक्ने तर्क गर्छन्।

"बजेट आउनेबित्तिकै केही चढाव देखिन सक्ला। असार मसान्तसम्म ऋण चुक्ता गर्ने दबावमा लगानीकर्ताहरू हुने भएकाले बजेटले पनि खासै असर पार्ला जस्तो मलाई लाग्दैन," उनले अगाडि थपे।

नेपालमा शेअर बजारले कतिपय देशमा जस्तो मुलुकको अर्थतन्त्रलाई प्रतिबिम्बित गर्न नसकेको विज्ञहरूले बताउने गरेका छन्।

कतिपय विकसित देशमा शेअर बजारको अवस्था हेरेर त्यहाँको अर्थतन्त्रको अवस्था सहजै अनुमान गर्न सकिने भए पनि नेपालमा अझै त्यस्तो परिस्थिति बन्न नसकेको उनीहरूको तर्क छ।

उनीहरूका अनुसार नेपालको शेअर बजार पूर्ण रूपमा विकसित तथा परिपक्व भइसकेको अवस्था छैन।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।