शेअर बजारलाई उकास्न सक्ने चार कुरा के हुन्?

राष्ट्र ब्याङ्कले शेअर धितो कर्जाको जोखिमभार र ब्याङ्क दर कम गरे लगत्तै आइतवार १११ अङ्कले बढेर सर्किट ब्रेकर लागेको शेअर बजार सोमवार फेरि १५ अङ्कले घट्यो।

मौद्रिक नीतिको पहिलो समीक्षा मार्फत शेअर धितो कर्जाको जोखिमभार १५० बाट घटाएर १२५ बनाउने र ब्याङ्कदर ७.५ प्रतिशतबाट ७ प्रतिशतमा राख्ने राष्ट्र ब्याङ्कको कदमपछि शेअर लगानीकर्ताहरू उत्साहित देखिएका थिए।

तर पनि शेअर बजारमा “अपेक्षाकृत सुधार” नहुनुका पछाडि केही कारक तत्त्वहरू रहेको लगानीकर्ता र जानकारहरूको भनाइ छ।

दुई वर्षपछि सर्किट ब्रेकर लाग्ने गरी ६ प्रतिशतले बढेको शेअर बजारले अब तय गर्ने बाटो नीतिगत निर्णयहरू, अर्थतन्त्रको गतिशीलता लगायतका कुरामा निर्भर रहने जानकारहरू बताउँछन्।

विज्ञ र जानकारहरूका अनुसार शेअर बजार माथि उठाउन सक्ने चार कुराहरू यी हुन सक्छन्।

नीतिगत स्थिरता

लामो समयदेखि २००० को बिन्दु आसपास पुग्न सङ्घर्ष गरिरहेको नेप्से परिसूचक माथि उठाउन नियमनकारी निकायबाट नीतिगत स्थिरताको आवश्यकता रहेको जानकारहरू बताउँछन्।

राष्ट्र ब्याङ्कले अनिच्छुक भएर नीतिमा अस्थायी परिवर्तन गरेका कारण यसले तत्कालै शेअर बजारमा उल्लेख्य सुधार नल्याउने पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीको दाबी छ।

राष्ट्र ब्याङ्कको समीक्षामा लिइएका नयाँ निर्णयले बजारमा पारेको प्रभाव मूल्याङ्कन गरेर अर्धवार्षिक समीक्षामा फेरि उचित कदम चाल्ने भनिएका कारण यसले नीतिगत अस्थिरता कायमै राखेको उनी बताउँछन्।

“नीति नै अस्थायी छ। यसको प्रभाव दीर्घकालीन हुन सक्दैन। अर्को कुरा राष्ट्र ब्याङ्कको निर्देशन ब्याङ्कहरूमा गएर कार्यान्वयनमा आउन समय लाग्ने भएकाले लगानीकर्ताहरूको अपेक्षा पूरा नहुने अवस्था छ,” उनी भन्छन्।

शेअर लगानीकर्ताहरूको संस्था नेपाल पुँजी बजार लगानीकर्ता सङ्घकी अध्यक्ष राधा पोखरेल नीतिगत स्थिरताले मात्रै शेअर बजारलाई सकारात्मक सुधारतर्फ लैजाने बताउँछिन्।

“यहाँ कुनै स्थिर नीति छैन। रातारात नीति परिवर्तन हुन्छन्। अहिले नीतिगत सुधार भयो। अब आउने नीतिमा थप सुधार भए राम्रो हुन्छ। तर यसले बजार बढ्यो भने फेरि भोलीनै बजार नियन्त्रण गर्ने नीति पनि आउनसक्छ,” उनी भन्छिन्।

धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जका प्रमुख रहिसकेका रेवतबहादुर कार्की शेअर बजारको नियमनकारी निकाय धितोपत्र बोर्डले लगानीकर्ताको हित हुने नीति ल्याउन नसकेको बताउँछन्।

“बोर्डले अहिले अस्थिर नीति ल्याइरहेको छ,” कार्की भन्छन्, “ब्याङ्कहरूलाई ब्रोकर लाइसेन्स दिने र ब्रोकर थप्ने बोर्डका निर्णयहरू भने राम्रा छन्।”

उनी बजारमा सुधार हुँदा अर्थतन्त्रलाई पनि पुँजी परिचालन गर्न सहयोग पुग्ने बताउँछन्।

विकासशील देशहरूमा पुँजी बजारलाई सरकारले आवश्यक ध्यान नदिने गरेको उनको बुझाइ छ।

ब्याजदरमा नियन्त्रण

राष्ट्र ब्याङ्कले मौद्रिक नीतिको पहिलो समीक्षामा ब्याङ्कहरूको ब्याज दर घटाउने नीति लिएको छ।

राष्ट्र ब्याङ्कले कुनै वाणिज्य ब्याङ्कहरूलाई दिने कर्जामा लाग्ने ब्याजदर अर्थात् ब्याङ्कदर यसअघि कायम रहेको ७.५ प्रतिशतबाट घटाएर ७ प्रतिशतमा झारिएको छ।

राष्ट्र ब्याङ्कले ब्याङ्कदर घटाउने बित्तिकै अन्य ब्याङ्कहरूले पनि आफ्नो ब्याजदर घटाउन सुरु गरेका विवरण आएका छन्।

ब्याङ्कहरूले ब्याजदर घटाउँदा त्यसको सकारात्मक प्रभाव धितोपत्र बजारमा पर्ने र यस्तो निर्णयबाट साधरणतया शेअरको मूल्य बढ्ने गरेको कार्की बताउँछन्।

“ब्याङ्कको ब्याजदरसँग शेअर बजारको विपरीत सम्बन्ध हुन्छ। ब्याजदर घट्दा शेअर बढ्छ र ब्याजदर बढ्दा शेअरबाट लगानी झिकेर ब्याङ्कहरूमा मुद्दती राख्ने दरहरू बढ्छ,” कार्की भन्छन्।

राष्ट्र ब्याङ्कका पूर्व गभर्नर क्षेत्री पनि ब्याङ्कहरूको ब्याजदर घट्दा निक्षेपकर्ताहरू ब्याङ्कमा राखेको पैसा झिकेर शेअर बजारमा आउनसक्ने भए पनि त्यसले बजार बढाउने निश्चित चाहिँ नहुने बताउँछन्।

“ब्याङ्कले दिने ब्याजको दरभन्दा शेअर बजारबाट अलि धेरै नाफा हुन्छ भन्ने अपेक्षा हुनसक्छ। तर हाम्रो बजारमा ठूलो हिस्सा पनि तिनै ब्याङ्कहरूको छ,” क्षेत्री बताउँछन्।

“अर्को कुरा चाहिँ अहिले सुनको मूल्य बढिरहेका कारण ब्याङ्कको पैसा झिकेर सुनमा लगानी गर्नतर्फ लागे भने त्यसको असर बजारमा पर्दैन,” उनले भने।

पुँजी बजार लगानीकर्ता सङ्घकी अध्यक्ष पोखरेल ब्याजदर र जोखिमदर घटाउने राष्ट्र ब्याङ्कको नीतिले शेअर बजारमा सकारात्मक प्रभाव पार्ने बताउँछिन्।

“ब्याङ्कदर घटाउने राष्ट्र ब्याङ्कको निर्णयसँगै कतिपय ब्याङ्कहरूले ब्याजदर घटाइ पनि सकेका छन्। आजै भोलीको मात्रै हेरेर पनि हुँदैन यसको असर दीर्घकालीन रूपमा बजारमा राम्रै पर्नेवाला छ,” उनी भन्छिन्।

उत्पादनमूलक क्षेत्रका कम्पनीको प्रवेश

राष्ट्र ब्याङ्कका पूर्वगभर्नर क्षेत्री शेअर बजारलाई स्थिर र बलियो बनाउन उत्पादनमूलक क्षेत्रका कम्पनीहरूलाई यसमा भित्र्याउनुपर्ने बताउँछन्।

“सूचीकृत कम्पनीहरूमध्ये उत्पादनमूलक कम भएका कारण ब्याङ्क वित्तीय संस्थामा बजार निर्भर छ,” उनी भन्छन्।

धितोपत्र बोर्डका पूर्वअध्यक्ष कार्की उत्पादनमूलक क्षेत्रका कम्पनीहरूलाई पनि पब्लिक कम्पनीको रूपमा स्टक एक्सचेन्जमा सूचीकृत गर्न सरकारले पहल गर्नुपर्ने बताउँछन्।

अहिले ब्याङ्क, फाइनान्स, बीमा क्षेत्रका कम्पनीहरूको बजारमा ठूलो हिस्सा रहे तापनि जलविद्युत् र सिमेन्ट उद्योगहरू पनि धितोपत्र बजारमा छन्।

कार्की उत्पादनमूलक क्षेत्रका अन्य कम्पनीहरूलाई पनि धितोपत्र बजारमा ल्याउन पहल गरिनुपर्ने बताउँछन्।

जानकारहरूले युनिलिभर नेपाल, बोटलर्स नेपाल लगायतका उत्पादनमूलक उद्योगहरूको शेअर मूल्य उच्च रहेको र ती कम्पनीहरूले लगानीकर्तालाई दिने लाभांशको दर पनि उच्च रहेको उदाहरण दिने गरेका छन्।

“दीर्घकालीन रूपमा बजारलाई बढाउनका लागि त उत्पादनशील क्षेत्रका थप कम्पनीहरूलाई बजारमा भित्र्याउने गर्नुपर्छ,” कार्की भन्छन्।

दोस्रो स्टक एक्सचेन्ज

कार्कीको बुझाइमा दोस्रो स्टक एक्सचेन्ज सञ्चालन अनुमतिले शेअर बजारलाई माथि उठाउनसक्छ।

“किनभने त्यसले प्रतिस्पर्धा बढाउँछ, लगानीकर्तालाई लगानीको थप अवसर दिन्छ। सबै सूचीकृत कम्पनीले दुवैतिर कारोबार गर्न पाउँछ,” उनी भन्छन्, “नयाँ स्टक एक्सचेन्ज आयो भने यो बजार अझै बढ्छ र मलाई लाग्छ पहिलाको भन्दा पनि नाघ्छ।”

यद्यपि नेपालमा दोस्रो स्टक एक्सचेन्ज खोल्ने विषय भने विवादित छ।

एकथरीले नयाँ स्टक एक्सचेन्ज आयो भने त्यो निश्चित व्यापारिक घरानाको कब्जामा पर्ने तर्क पनि गर्दै आएका छन्।

कार्की भने नेपाल स्टक एक्सचेन्ज लिमिटेड सरकारी कम्पनी जस्तै भएका कारण बजारलाई चलायमान बनाउन नसकेको दाबी गर्छन्।

उनी भारतमा पनि बम्बई स्टक एक्सचेन्जलाई प्रतिस्पर्धी बनाउन न्यासनल स्टक एक्सचेन्जलाई अनुमति दिएपछि शेअर बजारमा उछाल आएको बताउँछन्।

यससँगै ब्रोकर शुल्क घटाउन धितोपत्र बोर्डले गरेको प्रस्ताव सरकारले कार्यान्वयनमा ल्याउन पहल गरे पनि बजार बढ्नसक्ने उनी बताउँछन्।

गत महिना बोर्डले ब्रोकर कमिसन १० प्रतिशतले घटाउने निर्णय गरेको थियो। उक्त निर्णय अर्थ मन्त्रालयबाट स्वीकृत भएपछि मात्रै कार्यान्वयनमा आउनेछ।

शेअर बजारको अहिलेको प्रवृत्ति कति दिगो?

पूर्वगभर्नर क्षेत्री समग्र अर्थतन्त्रमा सुधारका सङ्केतहरू अझै देखा नपरेका कारण तत्कालै शेअर बजार उल्लेख्य दरमा उकालो लाग्ने सम्भावना नरहेको बताउँछन्।

“केही निश्चित ठूला लगानीकर्ताहरू छन्। उनीहरू कुन दिशामा जाँदै छन् भन्ने हेरेर आम लगानीकर्ताहरू त्यसैको पछिपछि दौडिने प्रवृत्ति छ,” उनी भन्छन्।

ती नेतृत्व लिएर जानेहरूले केही सङ्केतहरू दिएर त्यसमा झुम्मिएका सानातिना लगानीकर्ताहरूलाई केही अवधिसम्म गुमराहमा राखेर आफूले नाफा कमाउने गरेको उनको भनाइ छ।

क्षेत्रीको भनाइमा शेअर लगानीकर्ता पोखरेल पनि सहमत छिन्।

“ठूला लगानीकर्ताहरूले के गर्छन् त्यसकै पछि साना लगानीकर्ताहरू जाने र बजार एकैचोटी बढ्यो भने हौसिने लगानीकर्ताहरू पनि छन्,” पोखरेल बताउँछिन्।

शेअर बजारमा परिपक्व लगानीकर्ताहरू भए पनि तिनीहरूको सङ्ख्या सीमित भएको उनको भनाइ छ।

राष्ट्र ब्याङ्कको त्रैमासिक समीक्षाले लिएका नीतिगत निर्णयहरूले शेअर बजारमा लगानीकर्ताहरूका लागि केही सहज भने बनाइदिएको क्षेत्री बताउँछन्।

“जोखिमभार घटाएर १५० बाट १२५ बनाइदिएपछि र ब्याजदर घटाइदिएपछि आर्थिक व्यवस्थापनको लागि सहज स्थिति छ। ब्याङ्कहरूले शेअर बजारका लागि पैसा दिन्छन् र त्यो पनि घटेको ब्याजदरमा पाइन्छ भन्ने हिसाबकिताबले पनि मान्छेहरू उत्साहित भएर शेअर बजारमा भाग लिएको जस्तो देखिन्छ,” क्षेत्री भन्छन्।

तर लगानीको वातावरण अन्य क्षेत्रमा नभएका कारण शेअर बजारमा उछाल आउने सम्भावना आफूले नदेखेको क्षेत्री बताउँछन्।

नेपालको अर्थतन्त्र र पुँजी बजार विश्व अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएका कारण बाहिरी अर्थतन्त्रले पनि नेपालको शेअर बजारलाई प्रभावित बनाउने क्षेत्रीको भनाइ छ।

राष्ट्र ब्याङ्कको नीतिगत ‘सुधार’ पछि पनि बजार किन अस्थिर?

शेअर लगानीकर्ता पोखरेल कम्पनीहरूले आफ्नो वित्तीय विवरण अद्यावधिक गरेर नाफाको घोषणा गर्ने पुस मसान्तको समय नजिकिँदै गरेका कारण लगानीकर्ताहरू राष्ट्र ब्याङ्कको समीक्षापछि पनि 'पर्ख र हेर'को अवस्थामा रहेको बताउँछिन्।

“लामो समयसम्म बजार घटिरहेका कारण पुस मसान्तको क्लोजिङसम्म बजार के होला भन्ने लगानीकर्ताहरू धेरै छन्,” उनी भन्छिन्।

पोखरेल राष्ट्र ब्याङ्कको नीतिले तत्कालै बजारमा उछाल नदेखिए पनि यसले सुधार ल्याउने अपेक्षा गर्न सकिने बताउँछिन्।

“बजार थोरै रातो हुँदैमा राम्रो भएन भन्ने हुँदैन। समग्र बजारका लागि नीति राम्रै आएको छ। यद्यपि बजार घटेको लामो समयपछि सर्किट लाग्ने अवस्था आएको छ,” पोखरेल भन्छिन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।