तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
नेपाल अर्थतन्त्र: १० वटा अङ्क जसले देशको अर्थतन्त्र बुझाइदिन्छ
- Author, सञ्जय ढकाल
- Role, बीबीसी न्यूज नेपाली
के तपाईँलाई थाहा छ गएको एक वर्षमा नेपाली विद्यार्थीहरूले विदेश पढ्न कीर्तिमान परिमाणमा रकम लगेका छन्?
अनि जति रकम नेपालले पर्यटन आयबाट कमायो झन्डै त्यत्तिकै हाराहारीमा नेपालीहरूले विदेश भ्रमण र घुमफिरमा खर्च गरेका छन्।
व्यापार गर्ने गरेका अधिकांश देशहरूसँग नेपालको घाटा छ।
कसरी धानिएको होला यत्रो असन्तुलन अनि कति होला नेपालको कुल गार्हस्थ उत्पादन अनि कुल ऋण?
२०७९ को साउनदेखि २०८० को असार मसान्तसम्मको अर्थतन्त्रको वार्षिक आँकडा केही दिन अगाडि नेपाल राष्ट्र ब्याङ्कले जारी गरेको थियो।
त्यसबाट १० वटा महत्त्वपूर्ण आँकडालाई यहाँ सन्दर्भसहित प्रस्तुत गरिएको छ।
१) १ खर्ब
नेपाली विद्यार्थीहरूले यो एक वर्षमा विदेश अध्ययनका सिलसिलामा १ खर्ब रुपैयाँ बराबर विदेशी मुद्रा लगेका छन्।
करिब ४ अर्ब रुपैयाँ चाहिँ शिक्षाबाट देशले आर्जन गरेको देखिन्छ।
अघिल्लो वर्ष जम्मा ६७ अर्ब अनि त्योभन्दा अघिल्लो वर्ष जम्मा २५ अर्ब रुपैयाँ मात्र त्यसरी नेपाली विद्यार्थीले विदेश पढ्नका लागि खर्च गरेका थिए।
अर्थात् उनीहरूले गर्ने खर्च अकासिँदो छ।
पढ्नका लागि मात्र होइन घुम्नका लागि पनि नेपालीहरूले मनग्गे खर्च गरेका छन्।
घुमफिर सहित अन्य प्रयोजनका विदेश भ्रमणका लागि नेपालीहरूले ४४ अर्ब रुपैयाँ खर्च गरेका छन्।
जबकी यही अवधिमा पर्यटनबाट देशले कमाएको रकम ६१ अर्ब रुपैयाँ जति छ। यो वर्ष आठ लाख ६२ हजार विदेशी पर्यटक नेपाल घुम्न आएका थिए।
२) १२ खर्ब
यो वर्ष विदेश काम गर्न जाने नेपाली श्रमिकहरूको सङ्ख्या उल्लेखनीय बढेको छ।
करिब पाँच लाख नयाँ कामदार वैदेशिक रोजगारीमा गएका छन् भने थप झन्डै तीन लाख पुन: वैदेशिक रोजगारीमा गएका छन्।
उक्त अवधिमा नेपाली कामदारहरूले १२ खर्ब २० अर्ब रुपैयाँ रेमिट्यान्सको रूपमा देश भित्र्याएका छन्।
यही रकमले देशको समग्र अर्थतन्त्रलाई मुख्य भरथेग गरेको छ।
आर्थिक वर्ष २०७८/७९ मा रेमिट्यान्स आय १० खर्ब जति थियो भने त्योभन्दा अघिल्लो वर्ष चाहिँ ९ खर्ब चानचुन जति थियो।
३) १५.३९ खर्ब
अघिल्लो वर्ष नेपालको विदेशी सञ्चिति घट्न थालेपछि सरकारले आयात तथा कर्जा प्रवाहमा कडिकडाउ गरेको थियो।
यो अवधिमा भने विदेशी मुद्राको सञ्चिति निकै सुधारिएको छ।
२०८० को असार मसान्तमा देशको ढुकुटीमा १५ खर्ब ३९ अर्ब रुपैयाँ बराबरका विदेशी मुद्राको भण्डार छ। जसमध्ये करिब २२ प्रतिशत भारतीय मुद्रामा छ।
यो रकमले करिब १० महिनाको वस्तु तथा आयात धान्न पुग्छ।
२०७९ को असार मसान्तमा यो सञ्चिति करिब १२ खर्ब रुपैयाँ बराबरको रहेको थियो।
४) २२ खर्ब
नेपालको हालसम्मको कुल ऋण रकम २२ खर्ब १८ अर्ब रुपैयाँ नाघेको छ।
त्यो भनेको नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी)को करिब ४१.२ प्रतिशत हुन आउँछ।
कुल ऋणमध्ये १० खर्ब ९३ अर्ब रुपैयाँ वैदेशिक ऋण हो भने ११ खर्ब २५ अर्ब आन्तरिक ऋण हो।
नेपालजस्तो विकासशील देशमा जीडीपीको ४०-४५ प्रतिशतसम्म ऋण हुनुलाई अचाक्ली मानिँदैन।
तर लिएको ऋणले पूँजी निर्माण तथा विकासमा कति योगदान दिइरहेको छ भन्ने चाहिँ महत्त्वपूर्ण मानिन्छ।
५) १४ खर्ब
यो वर्ष नेपालको आयात र निर्यात दुवै घटेको छ।
तर पनि आयात र निर्यातबीचको फरक वा व्यापार घाटा १४ खर्ब ५४ अर्ब रुपैयाँ पुगेको छ।
यो अवधिमा नेपालले १६ खर्ब ११ अर्ब रुपैयाँको आयात अनि जम्मा १ खर्ब ५७ अर्बको निर्यात गर्न सक्यो।
नेपालले विश्वका १७० भन्दा धेरै देश तथा क्षेत्रहरूसँग व्यापार गर्छ जसमध्ये केवल ३७ देश तथा क्षेत्रहरूसँग मात्र उसको व्यापार नाफामा चलेको देखिन्छ।
सबभन्दा ठूलो व्यापार साझेदार भारत एक्लैसँग नेपालको व्यापार घाटा करिब ९ खर्ब २१ अर्ब पुगेको छ।
६) २.९० खर्ब
देशले सेवा तथा वस्तु बेचेर भित्र्याएको रकम र तिनको भुक्तानीका निम्ति बाहिरिएको रकमको अन्तर वा शोधनान्तर यो वर्ष बचतमा रहन सक्यो।
करिब २ खर्ब ९० अर्ब रुपैयाँको शोधनान्तर बचत हासिल भएको छ।
अघिल्लो वर्ष २ खर्ब ५५ अर्ब रुपैयाँले शोधनान्तर घाटामा थियो।
तर सरकारको चालु खाता भने यो वर्ष पनि घाटामै देखियो।
७) ५७ खर्ब
२०८० को असार मसान्तसम्म देशभरिका ब्याङ्क तथा वित्तीय संस्थाहरूमा डिपोजिट भएको कुल निक्षेप ५७ खर्ब ७० अर्ब रुपैयाँ पुगेको छ।
त्यस्तै ब्याङ्क तथा वित्तीय संस्थाहरूले प्रवाह गरेको कुल कर्जा रकम चाहिँ ४८ खर्ब रुपैयाँ नाघेको छ।
कर्जाको विस्तार जम्मा करिब साढे तीन प्रतिशतले मात्र बढेको छ। खराब कर्जाको अनुपात पनि ३ प्रतिशत नाघेको छ।
“कर्जा विस्तारमा आएको सुस्तताका कारण यसपालि पूँजी निर्माण, रोजगारीका अवसर अनि राजश्व सङ्कलनमा असर परेको देखियो। तर अर्कोतर्फ कर्जा प्रवाह नियन्त्रित हुँदा आयात कम भयो र विदेशी मुद्रा सञ्चिति अनि शोधनान्तरमा सकारात्मक प्रभाव पर्यो,” राष्ट्र ब्याङ्कका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाले भने।
८) ४.८६ खर्ब
यो वर्ष सरकारको वित्तीय घाटा ४ खर्ब ८६ अर्ब रुपैयाँ पुगेको छ।
सरकारले उक्त अवधिमा ९ खर्ब ५७ अर्ब रुपैयाँ राजश्व सङ्कलन गरेको थियो भने उसको खर्च चाहिँ १४ खर्ब भन्दा धेरै रहेको थियो।
“यो भनेको सरकारको आम्दानीले खर्च धान्न नसक्ने अवस्था हो। आफ्नो स्रोतले मात्र नभइ वैदेशिक अनुदानले समेत नपुगेको स्थिति छ,” थापाले बताए।
९) ७.७४ प्रतिशत
यो वर्षको मुद्रास्फीतिको दर ७.७४ प्रतिशत रह्यो। अर्थात् महँगी निकै बढ्यो।
केन्द्रीय ब्याङ्कले यो दरलाई ७ भन्दा कममा कायम गर्ने लक्ष्य राखेको थियो।
कोभिडको समयमा भएको कर्जा प्रवाह अनि विश्वव्यापी आपूर्ति शृङ्खलामा कोभिड अनि युक्रेन युद्धले पारेको प्रभावले मुद्रास्फीति जताततै बढेको थियो।
नेपालमा खाद्य पदार्थको मूल्यवृद्धि १० प्रतिशतभन्दा धेरै अनि मरमसलाको मूल्यवृद्धि १२ प्रतिशतभन्दा धेरै हुन पुग्यो।
१०) ५३ खर्ब
वस्तु एवं सेवा दुवै जोडेर देशले वर्षभरि गरेको कुल गार्हस्थ उत्पादन वा जीडीपी ५३ खर्ब ८१ अर्ब रुपैयाँ पुगेको छ।
यो भनेको नेपालको अर्थतन्त्रको आकार हो।
“समग्रमा यो वर्ष विदेशी मुद्राको सञ्चिति, शोधनान्तरजस्ता बाह्य क्षेत्रमा उल्लेख्य सुधार भएको छ भने आन्तरिक अर्थतन्त्र अझै चलायमान हुन नसकेको देखिएको छ,” समग्र वार्षिक आँकडाले देखाएको अर्थतन्त्रको तस्बिरबारे राष्ट्र ब्याङ्कको आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठले बीबीसीलाई बताए।
सन् २०२० मा फैलिएको कोभिड महामारीले विश्वभरि पारेको असर र त्यसपछि रुस-युक्रेन युद्धको अवस्थाले थपेको जटिलताका कारण नेपालको अर्थतन्त्रमा लगातार असर परिरहेको छ।
“बाह्य क्षेत्रमा मिलेको सफलतालाई जोगाउँदै आन्तरिक अर्थतन्त्रलाई चलायमान बनाउने चुनौती अब हाम्रा सामु छन्,” श्रेष्ठले भने।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।