तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
गोलभेँडा: पोहोर भारतबाट आयात, यसपालि नेपालबाट निर्यात
अघिल्लो महिनासम्म प्रतिकिलो ४० रुपैयाँमा गोलभेँडा किन्दै आएकी वीरगन्ज छपकैयाकी मिन्टु सिंह अहिले २५० रुपैयाँमा किन्ने गरेको बताउँछिन्।
“यो महँगीले सबैभन्दा गाह्रो हामी गृहिणीलाई भएको छ। यसरी त कसरी चल्ला हाम्रो भान्सा,” वीरगन्ज बजारमा तरकारी किन्न आएकी उनले भनिन्।
जुनसुकै तरकारीमा गोलभेँडा हालेर पकाउने बानी परेकाले महँगो भए पनि गोलभेँडा किन्नुपर्ने बाध्यता रहेको अर्की उपभोक्ता मनोजा चौधरी बताउँछिन्।
उनी भन्छिन्, “पहिला ३० देखि ४० रुपैयाँसम्ममा किनेको गोलभेँडालाई अहिले २२० देखि २५० रुपैयाँसम्म पर्छ।”
असार महिनाको सुरुमा गोलभेँडा उत्पादन अत्यधिक हुँदा किसानहरूले मूल्य नपाएको भन्दै सडकमै गोलभेँडा फालेर प्रदर्शन गरेका थिए।
त्यसलगत्तै भारतमा माग बढेपछि नेपालबाट गोलभेँडाको निर्यात धेरै भएको भन्सार विभागको तथ्याङ्कले देखाउँछ।
विभागका अनुसार गत आर्थिक वर्षको साउन महिनामा भारतमा शून्य निर्यात भएको गोलभेँडा यो वर्ष भने ८७ लाख रूपैयाँ बराबरको ६७० मेट्रिक टन निर्यात भएको छ।
गत वर्ष साउन महिनामा भारतबाट ३ करोड ९० लाख रुपैयाँ बराबरको ३७ सय मेट्रिक टन गोलभेँडा आयात भएकोमा यो वर्ष ३८ मेट्रिक टन अर्थात् ९ लाख रुपैयाँको गोलभेँडा मात्रै आयात भएको विभागका निर्देशक पुण्यविक्रम खड्काले बताए।
साउन महिनामा भारतमा निर्यात धेरै भएको र कतिपय नाकाबाट तस्करीसमेत भएको कारण नेपाली बजारमा मिन्टु र मनोजाजस्ता उपभोक्ता चर्को मूल्यको मारमा परेका हुन्।
व्यापारीहरू पनि एक महिनाअघिको दाँजोमा गोलभेँडा निकै महँगो भएको बताउँछन्।
वीरगन्जस्थित तरकारी बजारमा भेटिएका व्यापारी अजय तुराहाका अनुसार २२ देखि २५ किलो गोलभेँडा अट्ने एक क्रेटलाई अहिले ३ हजारदेखि ३,२०० रुपैयाँसम्म पर्छ।
“एक महिनाअगाडि हामीले ३० देखि ४० रुपैयाँ किलोमा विक्री गरेको हो। तर अहिले २०० रुपैयाँदेखि माथिमा विक्री गरिरहेका छौँ,” उनले भने।
काठमाण्डूमा गोलभेँडाको मूल्य घट्न थालेको हो?
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठका अनुसार गोलभेँडाको मूल्य दुई/चार दिनयता घट्ने क्रममा छ।
“एक साताअघि प्रतिकिलो १०० रुपैँया थियो अहिले १०० भन्दा कम छ। मूल्य घट्ने ट्रेण्डमा छ,” श्रेष्ठले भने।
“बजारमा गोलभेँडाको माग उत्तिकै छ। तर उत्पादनमा कमी आएको कारण भाउ धेरै घट्न नसकेको हो।”
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गर्ने दैनिक मूल्य सूचीअनुसार गोलभेँडा ठूलो (नेपाली)को न्यूनतम मूल्य १३० रूपैयाँ र अधिकतम १५० रूपैयाँ रहेको छ। त्यस्तै गोलभेँडा सानो (टनेल) को न्यूनतम मूल्य ७५ र अधिकतम मूल्य ९२ रहेको छ।
बजारमा भने प्रतिकिलो १५० रुपैयाँको हाराहारीमा किन्नुपरेको उपभोक्ताहरू बताउँछन्।
नेपालगन्जको फरक दृश्य
करिब एक महिना अघिसम्म नेपालगन्जबाट दैनिक सयौँ क्रेट गोलभेँडा भारत निर्यात हुँदै आएकोमा अहिले निर्यात बन्द भएको बताइएको छ।
भारतमै गोलभेँडाको उत्पादन बढेर मूल्य घट्न थालेपछि नेपालको गोलभेँडा भारत निर्यात हुन छोडेको तरकारी व्यवसायीले बताएका हुन्।
भारतमा नेपाली गोलभेँडा निर्यात रोकिए पनि अहिले नेपालमा मूल्य बढेको व्यवसायीले बताएका छन्।
नेपालगन्जको रानी तलाउस्थित तरकारी बजारमा अहिले गोलभेँडाको मूल्य १५० देखि १६० रुपैयाँ प्रतिकिलो विक्री गरिरहेको तरकारी व्यवसायी अतहर कवडियाले बताए।
“नेपालमा जति उत्पादन हुन्छ त्यति नै खपत भइरहेको छ,” अतहरले भने, “अहिले त थोक मूल्यमा खरिद गर्दा प्रतिकिलो गोलभेँडाको मूल्य नेपालमा भन्दा भारतमै २० रुपैयाँ सस्तो छ।”
नेपालमा सस्तो हुँदा भारतमा निर्यात गरेर अहिले गोलभेँडाको मूल्य बढेको उपभोक्ताहरूको बुझाइ छ।
नेपालगन्ज-६ की चम्पा सिंहले तरकारीको मूल्य घटबढ जे भए पनि उपभोक्ता र कृषक मारमा पर्ने गरेको बताइन्।
“उत्पादन बढी हुँदासम्म कृषकबाट सस्तो मूल्यमा किनेर भारत पठाउने, अहिले उत्पादन घट्यो भनेर उपभोक्तालाई ठग्ने काम भइरहेको छ,’’ उनले भनिन्।
“यति महँगो सधैँ किनेर खान सकिन्न। माछा, मासु भएको दिन मात्र गोलभेँडा किन्ने गरेको छु, पहिलेको जस्तो मैले दैनिक किन्न छाडेँ।”
एक महिना अघिसम्म नेपालको पश्चिम पहाडी जिल्लाहरू सल्यान, रोल्पा, सुर्खेत जिल्लामा उत्पादन बढी हुँदा नेपालगन्जमा ५० देखि ६० रुपैयाँ प्रतिकिलो थियो।
जतिबेला भारतमा १५० देखि २०० भारतीय रूपैयाँ प्रतिकिलो मूल्य थियो त्यतिबेला नेपालगन्जको तरकारी बजारबाट दैनिक १५० भारतीय रुपैयाँसम्म पनि तरकारी व्यवसायीले गोलभेँडा लैजाने गरेका थिए।
ठ्याक्कै एक महिनाअगाडि भारतमा गोलभेँडाको मूल्य आकासिएका बेला उत्तर प्रदेशसँग जोडिएका सीमावर्ती क्षेत्रमा गोलभेँडाको तस्करी बढेको थियो।
त्यतिबेला ३,००० केजीभन्दा बढी गोलभेँडा भरिएका दुईवटा पिकअप ट्रक सीमा क्षेत्रबाट नियन्त्रणमा लिइएको थियो।
भारतमा गोलभेँडाको मूल्य बढेपछि त्यहाँका मेक्डोनल्डस्, बर्गरकिङ्गजस्ता ठूला चेन रेष्टुराँहरूले आफूले बेच्ने परिकारहरूमा गोलभेँडाको प्रयोग गर्न छोडेका समाचारहरू आएका छन्।
भारतमा खराब मौसमका कारण गोलभेँडाको उत्पादनमा कमी आएपछि बजारमा गोलभेँडाको अभाव भएको थियो र मूल्य आकासिएको थियो।
मूल्य बढ्दा किसान के भन्छन्?
यसअघि भारतमा गोलभेँडाको मूल्य बढेसँगै नेपालबाट निर्यात हुँदा त्यसको मार नेपाली उपभोक्ताहरूलाई परेकोमा अहिले भने उत्पादन नै कम भएका कारण मूल्य खासै घट्न सकेको छैन।
तर किसानहरूले भने गोलभेँडा महँगोमा बेच्न पाउँदा खुशी व्यक्त गरेका छन्।
गोलभेँडाको उचित मूल्य नपाएको भन्दै बेलाबेला गोलभेँडा सडकमै फालेर विरोध गर्ने किसानहरू अहिले भने बजार मूल्य राम्रो पाउँदा खुशी लागेको बताउँछन्।
पर्सा सेढवाका किसान कन्हैया प्रसादले खेतबाट आफूहरूसँग बिचौलियाले एक किलोको १३० देखि १३५ रुपैयाँमा गोलभेँडा किनेर लैजाने गरेको बताउँछन्। गाउँकै बजारमा भने अहिले पनि १५० देखि १८० रुपैयाँ सम्ममा विक्री गर्ने गरेको उनी बताउँछन्।
नेपालगञ्जमा पनि त्रिभुवनचोकस्थित अकरम तरकारी पसलले सल्यानको कपुरकोटबाट यसअघि ठूलो मात्रामा गोलभेँडा ल्याएर नेपालगञ्जका अन्य तरकारी पसललाई विक्री गर्दै आएको थियो।
अहिले कपुरकोटमै गोलभेँडाको मूल्य बढेपछि दैनिक ३ देखि ४ सयवटा क्रेट मात्र ल्याउने गरेको र त्यो पनि ल्याउनेबित्तिकै विक्री हुने गरेको पसलमा कार्यरत इलियास हलवाईले बताए।