तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
नेपाल सेयर: के नेपाललाई दोस्रो स्टक एक्सचेन्ज चाहिन्छ?
झण्डै ३४ खर्ब रुपैयाँ बजार पुँजीकरण मूल्य रहेको नेपाल स्टक एक्सेन्ज (नेप्से)बाहेक देशमा अर्को एउटा स्टक एक्सचेन्ज खोल्ने चर्चा भइरहँदा बजारको आकारलाई लिएर त्यसको औचित्यबारे चर्चा सुरु भएको छ।
झण्डै डेढ दशकअघि नेप्सेको प्रमुख कार्यकारी अधिकृत (सीइओ) रहेका रेवतबहादुर कार्कीले त्यतिबेरै निजीकरण गरेर लैजानुपर्ने कुरा उठाए तापनि अहिलेसम्म कुनै प्रगति नभएको बताउँछन्।
"अहिले पनि तत्काल यो प्राथमिकतामा पर्ने देखिँदैन," कार्की भन्छन्।
"किनकि निजीकरण ऐन २०५८ का अनुसार त्यसका लागि सत्तापक्ष र प्रतिपक्ष दुवैको सहमति आवश्यक पर्छ। त्यसैले छुट्टै एक्सचेन्ज खोल्ने चर्चा चलेको छ।"
कतिपय विज्ञ तथा लगानीकर्ताहरू चाहिँ "थप एक" स्टक एक्सचेन्जले "टेलिकम र वाणिज्य ब्याङ्कहरूमा निजी क्षेत्रको प्रवेशले सुधार आएझैँ" परिवर्तन आउने बताउँछन्।
आवश्यकता
झण्डै १४ लाख लगानीकर्ताहरू जोडिएको नेपालको सेयर बजारलाई थप परिस्कृत र प्रभावकारी बनाउनका लागि त्यसको आवश्यकता हुने सेयर लगानीकर्ताहरू बताउँछन्।
नेप्सेका कार्यवाहक सहायक प्रबन्धक निरञ्जन फुयाल भने अहिलेको बजारको चरित्र समेत फेरिएको ठान्छन्।
उनी भन्छन्, "पहिलेपहिले एक्सचेन्जहरूको सङ्ख्या धेरै हुने गर्थ्यो। अहिले प्रविधिको बजार भएको छ।"
नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल चाहिँ "प्रतिस्पर्धाले नै निष्पक्षता सिर्जना गर्ने" भन्दै त्यसको आवश्यकता रहेको बताउँछिन्।
"अहिले केही उच्च कारोबार भएका दिन प्रणालीले नै काम नगर्ने समस्या दोहोरिरहेको हुन्छ। चाहेर पनि योजना अनुसार लगानीकर्ताले सेयर किनबेच गर्न नसक्ने अवस्था दोहोरिरहेको छ।"
त्यस्तो बेला अर्को एक्सचेन्जले विकल्प दिने उनी बताउँछिन्।
नेप्सेका फुयाल भने अन्यत्र एकभन्दा धेरै स्टक एक्सचेन्जलाई घटाएर एउटै बनाएका वा एकभन्दा धेरै देशका एउटै बनेका उदहारण समेत रहेको बताउँछन्।
तर नेप्सेका पूर्व सीइओ कार्की अर्को एक्सचेन्जले "लगानीकर्तालाई विकल्प दिने र ब्रोकरहरूको दबदबा घटाउने" ठान्छन्।
फरक
लगानीकर्ता र ब्रोकरले दुवैतर्फ लगानी गर्न पाउने त्यस्तो व्यवस्थामा इन्डेक्समा झिनो अङ्कको तलमाथि पर्न सक्ने बताइन्छ।
तर त्यसले लगानीकर्तालाई दुवैतर्फ आफ्नो कारोबार गर्ने विकल्प दिनेछ भने एक्सेन्जहरूलाई प्रणाली सुधार्न दबाव पर्छ।
"हामीकहाँ अन्तर्राष्ट्रिय रूपमा जाँच गरिएका प्रणालीहरूको कमी छ। नयाँ आउँदा उसले रणनीतिक साझेदारहरू ल्याउन सक्छ," नेप्सेका पूर्व सीइओ रेवतबहादुर कार्की भन्छन्।
उनी नयाँ एक्सचेन्ज थप्दा नेपाली पूँजीबजारका धेरै संरचनागत कमजोरीमा सुधार आउने ठान्छन्।
"नत्र अहिलेको अवस्थामा नेप्सेलाई धितोपत्र बोर्डले वास्तविक आभास हुनेगरी नियमन गर्न सकिरहेको छैन।"
सीमित समूहको नियन्त्रण ?
नेपालमा झण्डै डेढ दशककै अन्तरालमा दुईवटाबाट अहिले ५० वटा ब्रोकर सेयर कारोबारमा आइसकेका छन्।
"थप ४६ वटाले कारोबार सञ्जालनका लागि निवेदन दिइसकेका छन्," नेप्सेका निरन्जन फुयाल भन्छन्।
तर कतिपयले केही सीमित ब्रोकेर र व्यावसायीको नियन्त्रणमा बजार रहेकाले पनि त्यसमा निष्पक्ष ढङ्गले कारोबार हुन नसकेको गुनासो गर्छन्।
तर त्यसो मान्न तयार नभएका नेप्सेका फुयालले लाखौँ लगानीकर्ता जोडिएको बजारमा पर्याप्त माग र आपूर्ति रहेको बताउँछन्।
"यतिखेर ब्रोकरहरू मात्र हावी हुने भन्ने अवस्था छैन। बजारमा हल्ला फैलाउने काम त संसारभर हुन्छ।"
लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल समेत बजार अनलाइन प्रणालीमा भएपछि ब्रोकरहरुको कब्जामा नरहेको बताउँछिन्।
"केही ठूला लगानीकर्ताको प्रभाव हुनसक्छ। तर पहिलेजस्तो ब्रोकरको सिन्डिकेट रहेको मान्न सकिँदैन।"