तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
मेलम्चीबाट काठमाण्डूमा बाह्रै महिना पानी प्रवाह गर्न ‘नयाँ बाँध बनाउनु पर्ने’
काठमाण्डू उपत्यकामा पानीको माग सम्बोधन गर्न निकै महत्त्वपूर्ण रहेको भनिएको मेलम्ची खानेपानी आयोजनाको मुख्य बाँध ‘अन्यत्रै सार्नुपर्ने’ एक अध्ययनले देखाएको अधिकारीहरूले बताएका छन्।
गत वर्ष असारमा आएको बाढी अनि पहिरोका कारण प्रभावित भएसँगै मौसमी आयोजनामा परिणत भएको मेलम्चीबाट बाह्रै महिना पानी काठमाण्डूसम्म पुर्याउन नयाँ संरचना आवश्यक भएको एक क्यानडेली कम्पनीले औँल्याएको मेलम्ची खानेपानी आयोजना विकास समितिका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले जानकारी दिएका छन्।
उनका अनुसार गत वर्षको प्राकृतिक विपद् पश्चात् पहिरोको व्यापक प्रभाव ‘हेडवर्कर्स’ भनिने संरचनामा परेकाले त्यो बलियो रहे/नरहेको विषयमा संशय उत्पन्न भएको थियो।
त्यसबारे अध्ययन गर्न एशियाली विकास ब्याङ्कले क्यानडेली कम्पनीलाई गत नोभेम्बरमा परिचालन गरेको थियो।
मेलम्ची खानेपानी आयोजनाको मुख्य ऋण लगानीकर्ताले नै उक्त अध्ययनको खर्च बेहोरेको बताइएको छ।
“गत नोभेम्बरमा क्यानडेली कम्पनीले पठाएको टोलीले झन्डै एक हप्ता समय लगाएर आयोजनाको माथिल्लो भेगमा समेत पुगेर अध्ययन गरेको थियो,” श्रेष्ठले भने।
उनका अनुसार आर्थिक लाभ वा हानिको हिसाब किताब नगरी काम बढाउने हो भने अहिलेको हेडवर्क्स संरचनामार्फत् नै काठमाण्डूमा पानी पठाउन सकिने अवस्था छ।
तर त्यसको लागि झन्डै १२ देखि १३ अर्ब रुपैयाँ लाग्न सक्ने र त्यति गर्दा पनि भविष्यमा ढुक्क हुनसक्ने अवस्था भने नरहने उक्त टोलीले ठहर गरेको श्रेष्ठले बीबीसीलाई जानकारी दिए।
त्यसकारण त्यही ठाउँ प्रयोग गरेर पानी ल्याउन काठमाण्डूमा सकिँदैन भन्ने निष्कर्ष आफूहरूको रहेको उनको भनाइ छ।
“त्यसको विकल्प भनेको ‘इनटेक’ सार्नुपर्छ भन्ने छ। ४०० देखि ५०० मिटर थप सुरुङ बनाएर सर्कसथलि भन्ने ठाउँमा दुवैपट्टि ढुङ्गा भएको स्थान फेला परेको छ। त्यसलाई प्रयोग गर्न सकिन्छ भन्ने हो। ‘इन्टेक’ चाहिँ सार्नै पर्छ भन्ने उनीहरूको (विज्ञहरूको) निष्कर्ष हो,” श्रेष्ठले भने।
लगभग ४०० देखि ५०० मिटर सुरुङ निर्माण गर्न र सानो बाँध निर्माण गर्न ३ देखि ४ अर्ब रुपैयाँ लाग्न सक्ने अनुमान समितिको छ।
उक्त संरचनामा लगानी गर्न एसियाली विकास ब्याङ्क इच्छुक रहेको श्रेष्ठ बताउँछन्।
स्थानीय रूपमा विवाद सृजना नभएर निरन्तर काम हुन पाए दुई वर्षमा नयाँ चरणको निर्माण कार्य सम्पन्न हुनसक्ने बताइएको छ।
अधिकारीहरूका अनुसार काठमाण्डूमा मात्रै मेलम्चीको पानी वितरणका लागि ३० देखि ३५ अर्ब रुपैयाँ लगानी भइसकेको छ।
“सबै संरचना तयार छ। त्यति काम मात्रै गर्न सकियो भने स्थायी रूपमा पानी खुवाउन सकिन्छ,” श्रेष्ठले भने।
तत्कालका लागि विकल्प के छ?
त्यसअघि ६ देखि ७ महिनामात्रै पानी दिन सक्ने अवस्थालाई चिर्न खोजिरहेको आयोजनाले जनाएको छ।
समितिका अनुसार नयाँ ठाउँमा ‘इन्टेक’ बन्नु अघि अस्थायी रूपमा बर्खामा पनि पानी पठाउनका लागि क्यानडेली कम्पनीले खटाएका विज्ञहरूले एउटा ‘कन्सेप्ट नोट’ दिएका छन्।
तत्कालका लागि हुनसक्ने भनिएको विकल्प भनेको १० देखि १५ करोड रुपैयाँ खर्च गरेर बर्खामा समेत पानी पठाउन सकिने बनाउनु हो।
“तर यो कामचलाऊ मात्रै हुन्छ,” श्रेष्ठले थपे।
त्यस्तै उक्त कार्य लगभग अनुमानमा आधारित रहने जनाइएको छ।
त्यसको अर्थ ‘गत वर्षको जस्तो बाढी आउँदैन र त्यसअघि आएका जत्तिकै मात्रामा बाढी आउँदा खासै फरक पर्दैन’ भन्ने अनुमानमा त्यस्तो कार्य अघि बढाउन सकिने बताइएको छ।
उसो त नयाँ स्थानमा हेडवर्कस निर्माण गर्दा पनि भविष्यमा समस्या नै हुँदैन भनेर भन्ने आधार भने नरहेको समितिले सङ्केत गरेको छ।
“माथिल्लो भागमा रहेका हिमताल फुटेर आए उही अवस्था (गत वर्षको बाढीले पुर्याएको क्षतिकै जस्तो) हुन्छ,” उनले भने।
तर अनुमानका आधारमा गर्नुपर्ने कामको आयोजनाले निर्णय लिन नसक्ने भएकाले सरकारी स्तरमा नीतिगत निर्णय भए मात्रै अघि बढ्न सकिने समितिको भनाइ छ।
मौसमी आयोजनामा परिणत हुनुको कारण के हो
२०७८ असारमा गएको “अकल्पनीय” बाढीका कारण आयोजनाको प्रमुख उपकरणमा ठूलो क्षति पुग्यो।
त्यसको स्थायी समाधान तयार नहुन्जेलसम्म पानी सुख्खा याममा मात्र वितरण गर्ने गरिएको छ।
हाल निर्मित अस्थायी संरचनाहरू पानी नपर्दा मात्र प्रयोग हुने गरी निर्माण गरिएको बताइएको छ।
ती संरचना बर्खा याममा चलाउँदा धमिलो पानी सुरुङमा जान्छ र त्यस्तो फोहोर पानी भित्र गए सफा गर्न समय लाग्छ। त्यस्तै अन्य उपकरणहरूमा पनि असर पर्न सक्ने सम्भावना बढी रहने अधिकारीहरू बताउँछन्।
मेलम्ची खानेपानी आयोजना निर्माण सुरु भएको झन्डै २२ वर्षमा पानी काठमाण्डू आइपुगेको थियो।
विसं २०७७ फागुन २२ गते मेलम्चीको पानी सुन्दरीजल आइपुगेको थियो। र, सोही वर्षको चैतमा मेलम्चीको पानी परीक्षण वितरण स्वरूप उपत्यकावासीको धारामा पुग्यो।
लगत्तै आयोजनाको उद्घाटन भएको तीन महिना पनि नपुग्दै सिन्धुपाल्चोकमा गएको बाढीले योजनाको रफ्तारलाई धिमा बनाइदिएको थियो।
मेलम्ची आयोजनाको महत्त्व
काठमाण्डू उपत्यका खानेपानी लिमिटेड केयूकेएलका अनुसार उपत्यकामा दैनिक ४३ करोड लिटर पानीको माग छ।
तर बर्खायाममा ११ करोडदेखि १२ करोड लिटर र सुक्खायाममा आठ करोडदेखि नौ करोड लिटरसम्म पानी वितरण गर्न सकिने केयूकेएलको भनाइ छ।
यस्तो अवस्थामा मेलम्चीबाट दैनिक प्राप्त हुने १७ करोड लिटर पानीले आफूहरूलाई ठूलै राहत दिने केयूकेएलले बताँउदै आएको छ।
मेलम्चीको आरोह-अवरोह
मेलम्ची योजनाको उतारचढाव जान्न केही महत्त्वपूर्ण तथ्य र अङ्क यहाँ प्रस्तुत गरिएको छ।
आयोजना सुरु भएको करिब २२ वर्षमा पानी काठमाण्डू आइपुगेको हो।
- विसं २०२९: खानेपानी आपूर्तिका लागि सम्भाव्य स्रोतहरूको पहिचान गर्न अध्ययन
- विसं २०४१: मेलम्चीसहित २२ विकल्प पहिचान
- विसं २०४९: याङ्ग्री र लार्के समेत मिसाएर दैनिक कुल ५१ करोड लिटर पानी ल्याउन सकिने मेलम्ची आयोजना आर्थिक र प्राविधिक रूपमा उत्तम विकल्प भएको ठहर
- विसं २०५५: मेलम्ची खानेपानी विकास समिति गठन भई निरन्तर कार्य जारी
- विसं २०६४: नेपाल सरकार र प्रमुख दाता एशियाली विकास ब्याङ्कबीच आयोजना पुनर्संरचना गरी ६ वर्षभित्र सम्पन्न गर्ने सहमति। पुनर्संरचनामार्फत आयोजनालाई दुई भागमा विभाजन - मुख्य पानी पथान्तरण कार्य विकास समितिमार्फत्, अनि वितरण तथा व्यवस्थापन कार्य काठमाण्डू उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)अन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालयमार्फत् हुने निर्णय
- विसं २०७७ फागुन २२: मेलम्चीको पानी सुन्दरीजल आइपुग्यो
- विसं २०७७ चैत १५: मेलम्चीको पानी परीक्षण वितरणस्वरूप उपत्यकावासीको धारामा
- विसं २०७७ चैत २०: राष्ट्रपतिबाट मेलम्ची आयोजनाको उद्घाटन
खर्च र स्रोत
नेपालले कार्यान्वयन गरेको सबभन्दा ठूलो भौतिक पूर्वाधार आयोजनामा मेलम्ची पर्छ। यसको खर्च पनि निकै धेरै रहेको छ।
- कुल आयोजना खर्च: ३१२ मिलियन अमेरिकी डलर वा ३५ अर्ब रुपैयाँभन्दा धेरै
- नेपाल सरकारको लगानी: कुल खर्चको एक तिहाइ
- एशियाली विकास ब्याङ्कको लगानी: कुल खर्चको झन्डै आधा वा ४६ प्रतिशत
- अन्य दातृसंस्था: जाइका, नोर्डिक सहायता कोष र ओपेक
- मुआब्जा खर्च (आर्थिक वर्ष २०७५/७६ सम्म): १ अर्ब १२ करोड रुपैयाँ
- सामाजिक उत्थानमा खर्च: झन्डै ९५ करोड रुपैया
सुरुङको कहानी
नेपालमा यसअघि लामो सुरुङ निर्माणको अनुभव थिएन।
मेलम्ची आयोजनाको मुख्य पूर्वाधार भनेको झन्डै २७ किलोमिटर लामो सुरुङ निर्माण रहेको थियो।
- विसं २०६५: सुरुङ निर्माण गर्न चाइना रेलवे कम्पनीसँग ठेक्का सम्झौता, २०६६ सालको सुरुमा सुन्दरीजलमा पहिलो ब्लास्ट गरी काम सुरु
- विसं २०६९: ६ किलोमिटर निर्माण गरिसकेपछि ठेक्का रद्द
- विसं २०७०: बाँकी सुरुङ निर्माण गर्न इटलीको सीएमसीलाई ठेक्का
- विसं २०७५: २५ किमिभन्दा बढी सुरुङ खनिसकेको अवस्था फेरि विभिन्न विवाद, सीएमसीसँगको ठेक्का रद्द
- विसं २०७६: सुरुङ र हेडवर्क्सका बाँकी काम गर्न सिनोहाइड्रोसँग ठेक्का सम्झौता
- विसं २०७७ असार २१: सुरुङको पहिलो परीक्षण तर ३१ गते दुर्घटना भएपछि स्थगित
- विसं २०७७ फागुन १०: सुरुङमा पानी प्रवाह गरी परीक्षण सुरु