मेलम्ची खानेपानी आयोजना: चैतदेखि अस्थायी ढङ्गले काठमाण्डू उपत्यकामा पानी ल्याउने योजनाबारे थाहा पाउनुपर्ने पाँच कुरा

प्रधानमन्त्रीसहित उच्च सरकारी अधिकारीहरूले आगामी चैत महिनाभित्र काठमाण्डू उपत्यकामा मेलम्चीको पानी वितरणका लागि ल्याइसक्ने बताउँदै आएका छन्।

तर त्यो "अस्थायी प्रबन्ध मात्र हुने" मेलम्ची खानेपानी विकास समितिका अधिकारीहरू बताउँछन्।

एक वर्षअघि परीक्षणका रूपमा उपत्यकामा मेलम्चीको पानी वितरण सुरु गरिएको थियो।

तर गत वर्षायाममा आएको पहिरोका कारण उक्त आयोजनाका सुरुङहरू पुरिएपछि त्यसमा अवरोध उत्पन्न भएको छ।

ती अवरोधलाई हटाएर "हालका लागि पानी ल्याइने र त्यो केही महिनाका लागि मात्र हुने" अधिकारीहरूको भनाइ छ।

अधिकारीहरूका अनुसार मेलम्ची खानेपानी आयोजनाबाट उपत्यकामा अस्थायी रूपमा खानेपानी ल्याइने पछिल्लो योजनाबारे तपाईँले थाहा पाउनुपर्ने पाँच कुरा:

१. हालसम्मको प्रगति कति?

मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तका अनुसार चैतसम्ममा उपत्यकामा पानी ल्याउने कार्यका लागि अहिले निर्माण कम्पनीले काम थालिसकेको छ।

उनले भने, "गेगरान हटाउन थालिएको दुईसाता भयो। सतहमा देखिएको गेगरान हटाइएको छ तर भित्र ठूला ढुङ्गाहरू रहेछन्। ती ढुङ्गालाई फुटाउन विस्फोटक पदार्थ नै प्रयोग गर्नुपर्ने अवस्था छ।"

"विस्फोटक पदार्थ प्रयोग गर्न अनुमतिको पहल गरेका छौँ। त्यसपछि हामी विस्फोटक पदार्थ प्रयोग गरेर ढुङ्गा फुटाउने प्रयास गर्छौँ।"

उनका अनुसार सुरुङबाहिर नै १०/१५ मिटरजति गेगरान भरिएको छ।

तर सुरूङभित्र चाहिँ खासै धेरै गेगरान नपसेको जस्तो देखिएको उनले बताए।

२. चैतमै पानी आउने आधार के?

समितिका कार्यकारी निर्देशक वासुदेव पौड्यालका भनाइमा गत आर्थिक वर्षमै तीन महिना उपत्यकामा मेलम्चीको पानी ल्याइएको थियो।

त्यसले गर्दा यसपालि पनि पानी ल्याउन सुरुङ अगाडि थुप्रिएको गेगरान हटाउने बाहेक अन्य खासै काम गर्नु नपर्ने उनको भनाइ छ।

"अरु कुरा त गत वर्ष जुन प्रक्रियाबाट ल्याइयो त्यसै अनुरुप भइहाल्छ," उनले भने।

पहिले माघभित्रै अस्थायी रूपमा पानी ल्याउने बताइएको थियो।

तर ठेकेदार कम्पनीको म्याद थप्ने र ठेक्काका लागि रकम थप्ने लगायतका नीतिगत निर्णय हुन ढिलो हुँदा त्यसलाई चैतसम्म सारिएको अधिकारीहरूको भनाइ छ।

काम सुरु भएको तीन महिनाभित्र अस्थायी रूपमा पानी उपत्यकामा ल्याइसक्ने योजना अनुसार अहिले काम भइरहेको समितिले जनाएको छ।

"हामीले गर्नुपर्ने काम त धेरै नै छन् तर पहिलो प्राथमिकता चाहिँ पानी सञ्चालन गर्ने हो। त्यसपछि मात्र अरु काम गर्ने भन्ने हो," पौड्यालले भने।

३. अस्थायी रूपमा पानी ल्याउन के गरिन्छ?

पौड्यालले दिएको जानकारी अनुसार गत वर्ष पानी सञ्चालन गरिएको सुरुङको मुख अहिले पुरिएको अवस्थामा छ।

त्यस्तै पानी नियन्त्रण गरिने ९ नम्बर गेट पनि पहिरोले पुरेको छ।

यसैगरी अडिट टनल भनिने परीक्षणका लागि बनाइएको सुरुङको मुख पनि टालिएको छ।

ती तीनवटै स्थानमा रहेको गेगरान हटाउने प्रयास अहिले जारी रहेको उनले बताए।

ती सबै क्षेत्रका अवरोध पूर्ण रूपमा हटाएर स्थायी प्रबन्ध चाहिँ अहिले नगरिने आयोजनाको भनाइ छ।

४. चैतमा ल्याइने पानी कहिलेसम्म आउँछ?

पौड्यालले बीबीसीलाई दिएको जानकारी अनुसार अहिलेको व्यवस्थाले १२ महिना नै पानी ल्याउन सकिन्न।

"त्यस क्षेत्रमा २० मिटर गहिरोसम्म पहिरोले पुरेको अवस्था छ। त्यो सबैलाई नहटाइ हामीले क्षतिको पूर्ण विवरण निकाल्न सकेका छैनौँ," उनले भने।

क्षति र गर्नुपर्ने कामबारे अहिले एसियाली विकास ब्याङ्कले एउटा विज्ञ टोली बनाएर अध्ययन गरिरहेको पौड्यालले जानकारी दिए।

उनले भने, "त्यसको प्रतिवेदन मार्चमा आउने भनिएको छ। उक्त प्रतिवेदन आएपछि मात्र क्षति र गर्नुपर्ने काम यकिन हुन्छ।"

आयोजनाले हाललाई भने मनसुन सुरु हुनुपूर्व सम्मका लागि मात्र पानी ल्याउने योजना बनाएको पौड्यालले स्पष्ट पारे।

उनले भने, "सुरुङलाई सुरक्षित गर्नका लागि मौसम विज्ञान विभागले मनसुन सुरु हुने पूर्वानुमान गर्ने बित्तिकै हामीले पानी ल्याउने क्रमलाई बन्द गर्नुपर्छ।"

५. मनसुनपछि के हुन्छ?

मनसुनपछि गत वर्षामा गएको पहिरोले आयोजनास्थल भन्दामाथि थुपारेको गेगरानको अवस्था के हुन्छ भन्ने हेरिने पौडेलले बताए।

त्यसपछि विश्लेषण गरेर मात्र आगामी वर्षा वा त्यसपछि पानी सञ्चालन गर्ने वा नगर्नेबारे निर्णय लिइने उनको भनाइ छ।

अस्थायी रूपमा आगामी चैतमा १७ करोड लिटर पानी उपत्यकामा आउनेछ।

तर मनसुनपछि वाग्मतीको पानीलाई सुन्दरीजल प्रशोधन केन्द्रमा लगेर उपत्यकाभित्र पठाउनेबारे छलफल अघि बढेको आयोजनाका अधिकारीको भनाइ छ।

"मनुसुनका बेला सुन्दरीजल प्रशोधन केन्द्रमा वाग्मतीको पानी लगेर वर्षाभरिका लागि उपत्यकामा पानी ल्याउने योजना अघि बढाइएको छ," उनले भने।

"त्यसले मागको केही हदसम्म भए पनि सम्बोधन हुन्छ। पूर्ण सम्बोधन त गर्दैन।"