के भीम रावल भोलि नयाँ पार्टी घोषणा गर्दै छन्, उनको दल 'कम्युनिस्ट' हुन्छ कि 'गैरकम्युनिस्ट'

    • Author, विष्णु पोखरेल
    • Role, बीबीसी न्यूज नेपाली

नेकपा एमालेबाट निष्कासनमा परेका पूर्वउपप्रधान तथा गृहमन्त्री भीम रावलले नयाँ पार्टी गठनका लागि "छलफल थालेको" विवरणमाझ उनले कस्तो गठन गर्लान् भन्ने चासो व्यक्त भइरहेको छ।

कतिपय सञ्चारमाध्यमले उनीनिकट स्रोतहरूलाई उद्धृत गर्दै रावलले "गैरकम्युनिस्ट" प्रकृतिको पार्टी गठन गर्न लागेको जनाइरहेका छन्।

रावलले भने बुधवार एउटा पत्रकार सम्मेलन गरेर त्यसमार्फत् आफ्नो आगामी कदमबारे जानकारी दिने प्रतिक्रिया दिएका छन्।

सोमवार उनीसँग छलफल गरेका नेपाली कांग्रेस बीपी पार्टीका उपसभापतिले "लोकतान्त्रिक प्रकृतिको दल खोल्ने" रावलको मनसाय रहेको बताएका छन्।

नेकपा एमालेबाटै चोइटिएर बनेको र रावललाई आफ्नो दलमा आउन निम्तो दिइरहेको नेकपा एकीकृत समाजवादीका एक नेताले "जीवनभरि कम्युनिस्ट आन्दोलनमा लागेका रावलले गैरकम्युनिस्ट दल" बनाउनेमा आफूलाई विश्वास नलागेको बताए।

उनका भनाइमा अहिले रावलले "परिस्थितिको मूल्याङ्कन मात्र गरिरहेको" देखिएको छ।

रावलको भनाइ के छ?

नयाँ दल खोल्न उनले छलफल अघि बढाएकोबारे मङ्गलवार बीबीसीले रावलसँग सम्पर्क गरेको थियो।

तर उनले अबको आफ्नो राजनीतिक यात्राबारे विस्तृतमा खुलाउन चाहेनन्।

टेलिफोनमा भएको सङ्क्षिप्त कुराकानीका क्रममा उनले भने, "म भोलि (बुधवार) पत्रकार सम्मेलन गर्दै छु। सबै कुरा त्यहाँ राख्छु। त्यसैका लागि म अहिले म व्यस्त छु।"

एमालेबाट निष्कासित भएलगत्तै बीबीसँगको कुराकानीमा गत साता उनले शुभचिन्तक र समर्थकहरूको सुझावका आधारमा अबको राजनीतिक यात्रा तय गर्ने बताएका थिए।

उनले त्यस बेला भनेका थिए, "अरू पार्टीमा जाने मैले सोचेको छैन।"

"देश र जनताको भावना र देशको आवश्यकताबमोजिम, जनताको आकाङ्क्षाअनुसार र मलाई साथ दिने साथीहरू, नागरिक, देशभक्तका सरसल्लाह र सुझाव लिएर जस्तो दिशामा जानुपर्छ, म त्यो दिशामा जान्छु।"

उनले 'हतार, उत्तेजना र आवेगमा' कुनै पनि निर्णय नलिने त्यस बेला बताएका थिए।

'प्रजातान्त्रिक दल खोल्ने सम्भावना'

रावलले सोमवार नेपाली कांग्रेस बीपीका उपसभापति कर्ण मल्ल र सुदूरपश्चिम प्रदेशसभा सदस्य ताराप्रसाद जोशीलाई आफ्नै निवासमा भेटेका थिए।

मल्ल नेपाली कांग्रेस डडेलधुराका पूर्वसभापति हुन्।

त्यस्तै एकीकृत समाजवादीका केन्द्रीय सदस्य रहेका जोशी गत निर्वाचनमा पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएर जितेका व्यक्ति हुन्।

सुदूरपश्चिममा राम्रो प्रभाव रहेको भनिएका दुवै नेता मल्ल र जोशी विगतमा आफ्नो पार्टीको कारबाहीमा परेका थिए।

मल्लले रावलसँगको भेटघाटमा नयाँ पार्टी गठनबारे प्रारम्भिक छलफल भएको बताए।

उनले भने, "आगामी दिनमा अब भविष्यमा कसरी जान सकिन्छ भन्ने प्रारम्भिक एक चरण छलफल भयो र त्यो छलफल सकारात्मक रह्‍यो।"

उनले भूगोलका हिसाबले पनि आफ्नै क्षेत्रको नेता रहेको र उमेरका हिसाबले वरिष्ठ नेता रहेकाले पार्टीबाट निष्कासित भएदेखि नै आफू रावलको सम्पर्कमा रहेको बताए।

त्यस्तै दुवैलाई आफ्नो दलले निष्कासन गरेकाले पनि रावललाई भेट्न गएको मल्लको भनाइ छ।

उनले भने, "तीन वर्षअघि कांग्रेस सभापति शेरबहादुर देउवाले निकालेको म र तीन दिनअघि केपी ‌ओलीले निकालेको उहाँ…. उमेरले दाइस्तरको र एउटै भूगोलको मान्छे भएकाले व्यक्तिगत, सामाजिक, राजनीतिक र भौगोलिक रूपमा पनि भेट्नुपर्ने कर्तव्य भएकाले म गएको हो।"

उनले आफ्नै उत्सुकताले पार्टी गठनबारे रावललाई सोधेको र अहिले नै रावल पार्टी गठन गरिहाल्नेभन्दा पनि पहिले एउटा अभियान लिएर देश दौडाहामा जाने जानकारी पाएको बताए।

उक्त अभियानबारे बुधवार पत्रकार सम्मेलन गरेर रावलले जानकारी दिए र त्यसपछि आगामी कदम चाल्ने रावलले आफूलाई बताएको मल्लको भनाइ छ।

उनले भने, "त्यसपछि अगाडिका दिनमा व्यक्तिगत रूपमा माया गर्ने र विभिन्न व्यक्तिसँग छलफल गरेर अगाडि बढ्ने भन्नुभएको छ।"

भीम रावलको दल कस्तो होला भन्ने भन्ने जिज्ञासामा मल्लले भने, "प्रजातान्त्रिक विचारधाराले नै अघि बढ्छौँ हामी।"

'साथ दिने वचन दिएको छैन'

जोशीले चाहिँ मल्लको आग्रहमा रावललाई आफूले पनि भेटेको बताए।

उनले रावललाई पार्टी घोषणाका निम्ति केही महिना लाग्न सक्ने देखिएको जानकारी दिए।

बुधवार रावलले एमालेबाट गरिएको निष्कासनबारे आफ्नो धारणा राख्नुका साथै नयाँ पार्टी गठनसम्बन्धी अभियानको घोषणा गर्न सक्ने जोशीको भनाइ छ।

रावलले पार्टी गठनका निम्ति सघाउन आग्रह गरेका भए पनि आफूले त्यसको जबाफ नदिएको बताए।

उनले भने, "उहाँले तपाईँहरूसँगै हिड्ने मनस्थिति हो भन्नुभयो तर मैले सहयोग गर्छु भनेको छैन। मैले वचन दिएको छैन।"

समाजवादीमा जाने सम्भावना के छ?

एमालेले निष्कासन गरेपछि गत साता रावलले नेकपा एकीकृत समाजवादीमा आबद्ध हुन आफूलाई प्रस्ताव आएको बताएका थिए।

उनले गत बिहीवार भनेका थिए, "मलाई माधव नेपालजीले धेरै अगाडि भेट्नुभएको थियो। 'लौ, यो पार्टीमा आउनुपर्‍यो' भन्नुभएको थियो। तर मैले मेरा विचारहरू देश र जनताबारेका धारणाहरूबारे तपाईँहरूका धारणा के छन्, ती पहिले प्रस्ट हुनुपर्‍यो भनेँ," उनले भनेका थिए।

आफूलाई "कुनै पदको मोह नभएको" बताउँदै रावलले 'विदेशी हस्तक्षेप', 'अर्थतन्त्र' र 'नागरिकता' लगायतका विषयमा आफूले नेकपा एकीकृत समाजवादीका धारणा माग गरेको त्यस बेला उनले बताएका थिए।

हाल एकीकृत समाजवादीमै रहेका एमालेका पूर्वअध्यक्ष झलनाथ खनाल विसं २०४६ सालको आन्दोलनपछि बनेको अन्तरिम सरकारमा पहिलो पटक कृषि, भूमिसुधार तथा व्यवस्था मन्त्री हुँदा रावल उनको स्वकीय सचिव बनेका थिए।

त्यसको झन्डै २० वर्षपछि विसं २०६६ सालमा बनेको माधवकुमार नेपालको नेतृत्वको सरकारमा रावल गृहमन्त्री बनेका थिए।

एकीकृत समाजवादीका नेताहरूसँगको व्यक्तिगत निकटताका कारण पनि कतिपयले रावल एकीकृत समाजवादीमा जाने ठानेका छन्।

नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष जगन्नाथ खतिवडाले रावलले अहिले "परिस्थितिको मूल्याङ्कन गरिरहेको हुन सक्ने" बताउँछन्।

उनले भने, "यतिखेर त उहाँ आउने त्यति सम्भावना देखिएको छैन। उहाँसँग अहिले व्यक्तिगत कुराकानी मात्र भइरहेको छ, राजनीतिक कुराकानी भएको छैन।"

यद्यपि उनले रावल आफ्नै दलमा आउन सक्ने सङ्केत गरे। खतिवडाले भने, "हाम्रोतर्फबाट उहाँहरूसँग निरन्तर भेटघाट र संवाद भइरहेकै छ।"

खतिवडाले रावलले गैरकम्युनिस्ट पार्टी खोल्ने भन्नेमा आफूलाई विश्वास नलागेको बताए।

उनले भने, "त्यो उहाँको विचारको कुरा हो। जीवनभरि कम्युनिस्ट भएर ७० वर्षको उमेरमा गैरकम्युनिस्ट पार्टी त खोल्नुहोला भन्ने मलाई लाग्दैन।"

उनले कम्युनिस्ट नाम नभएको अर्को दल भने रावलले खोल्न सक्ने बताए।

रावललाई गत साता नेकपा एमालेले सङ्गठित सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेको थियो।

उनीमाथि पार्टीले दिएको जिम्मेवारी पूरा नगरेको र पार्टी हितविपरीतका अभिव्यक्ति दिँदै आएको आरोप लगाइएको थियो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।