तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
चिनियाँ कम्युनिष्ट पार्टीको शतवार्षिकी : 'भारतको बाटोबाट नेपाल भित्रिएको' चिनियाँ विचारधारा
- Author, विष्णु पोखरेल
- Role, बीबीसी न्यूज नेपाली
उत्तरी छिमेकी चीनको सत्ताधारी चिनियाँ कम्युनिस्ट पार्टीले आफ्नो स्थापनाको शतवार्षिकी मनाइरहेका बेला नेपालको कम्युनिस्ट वृत्तमा पनि त्यसबारे चर्चाहरू भइरहेका छन्।
नेपालमा हाल क्रियाशील अधिकांश कम्युनिस्ट पार्टीहरूले "वैचारिक रूपमा नजिक" ठान्ने भएकाले पनि चिनियाँ कम्युनिस्ट पार्टीबारे चासो र चाख राख्ने गरेको पाइन्छ।
नेपाली कम्युनिस्ट आन्दोलनमा चीनको सत्ताधारी दलको "विचारधारा"को प्रभाव "निकै गहिरोसँग परेको देखिने" विश्लेषकहरू बताउँछन्।
शीतयुद्धको समाप्ति र सोभियत सङ्घको विघटनसँगै नेपाली कम्युनिस्टभित्र पहिले रहेको रुसी र चिनियाँ "विचारधारा"को भेद पनि अहिले खासै नरहेको उनीहरूको भनाइ छ।
त्यसैले "अहिले नेपालका सबैजसो कम्युनिस्टहरूले चिनियाँ कम्युनिस्ट पार्टीको विचारधारालाई धेरै हदसम्म अँगालेको देखिने" कैयौँको बुझाइ छ।
यद्यपि कम्युनिस्ट पार्टीकै नेता र राजनीतिशास्त्रीहरू त्यस्तो "विचारधारा कागजमा मात्र सीमित भएको" र "व्यवहारमा" कतै पनि लागु नभएको ठान्छन्।
'एउटा अनौठो अवस्था'
नेपालका धेरै कम्युनिस्टहरूले चिनियाँ कम्युनिस्ट पार्टीको विचारधारालाई आत्मसात् गरेको पाइए पनि उक्त विचारधाराको नेपालसम्मको यात्रा "अनौठो" रहेको राजनीतिशास्त्री प्राध्यापक कृष्ण पोखरेल बताउँछन्।
उनी भन्छन्, "नेपालको कम्युनिस्ट आन्दोलनमा चीनको प्रत्यक्ष प्रभाव देखिँदैन। यो भारत तर्फबाट आएको छ, चाहे त्यो झापा आन्दोलन होस्, चाहे माओवादी होस्।"
"विचार त माओकै हो- तर त्यो पनि कतै न कतै भारतकै माओवादीको सम्पर्क र प्रभावमा परेको जस्तो देखिन्छ। यो एउटा अनौठो अवस्था हो।"
उनी भारतको पश्चिम बङ्गालको नक्सल आन्दोलनको प्रभावमा झापा विद्रोह र भारतका माओवादीको कुनै न कुनैखाले प्रभावमा पछिल्लो माओवादी सशस्त्र द्वन्द्वमा भएको बताउँछन्।
पोखरेलको विचारलाई कम्युनिस्ट पार्टीमा "वैचारिक चिन्तन गर्ने" भनेर चिनिएका नेताहरू समेत समर्थन जनाउँछन्।
माओवादी केन्द्रका नेता राम कार्की भन्छन्, "नेपालमा ज्ञानको परम्परा, ज्ञानको इतिहास र विस्तार एकदमै कमजोर भएर गयो ... नेपालमा ज्ञानद्वारा दीक्षित गर्ने काम पनि भएन। त्यसैले स्वाभाविक रूपमा यहाँ सबैखाले विचारधारा भारतहुँदै आउने गरेका छन्।"
उनी उत्तरतिरको विचारधारा पनि दक्षिण पुगेर आउने अवस्था बनेको बताउँछन्।
त्यसको एउटा कारण उत्तरतर्फ एकदमै अप्ठ्यारा पहाडहरू हुनु पनि रहेको उनको बुझाइ छ।
कार्की कम्युनिस्ट साहित्य पहिले अङ्ग्रेजीमा, त्यसपछि बाङ्ग्लामा र अन्त्यमा हिन्दीमा अनुवाद हुने अनि त्यसैको प्रभाव नेपालीहरूमा पर्ने गरेको बताउँछन्।
पार्टी नेपालको, पोलिटब्यूरो सदस्य भारतीय
नेकपा एमालेका नेता बेदुराम भुसाल पनि खुला सीमा, भाषिक सामिप्य, भूगोल, सांस्कृतिक र परम्परागत सम्बन्धका कारण नेपाल र भारतबीच अन्तर्क्रिया धेरै भएकाले कम्युनिस्ट विचारमा पनि त्यसको प्रभाव परेको बताउँछन्।
तर कार्कीको भन्दा अलि फरक धारणा राख्दै उनी भन्छन्, "अङ्ग्रेजी-बाङ्ग्ला-हिन्दी हुँदै आउने कम्युनिस्ट साहित्यमा चिनियाँ कम्युनिस्ट साहित्य कम छन्।"
बरु नेपालीले नै अङ्ग्रेजीबाट चिनियाँ कम्युनिस्ट विचारधाराका साहित्यको अनुवाद गरेको उनी सुनाउँछन्।
यद्यपि नेपालमा चिनियाँ होस् वा अन्य स्थानको कम्युनिस्ट विचारधारा भारतीय बाटो हुँदै आएको उनी बताउँछन्।
"भारतीय कम्युनिस्ट पार्टीका एकजना नेता त नेपाल कम्युनिस्ट पार्टी स्थापना हुँदा पोलिटब्युरोमा बसेरै काम गरेका थिए। अयोध्या सिंह भन्ने थिए- जसलाई भाइसाब पनि भनिन्थ्यो," उनले भने।
"पछि रुसी र चिनियाँ विचारधाराको कुरा आयो त्यसपछि दुवैको प्रभाव नेपालमा आयो तर अलि बढी प्रभावचाहिँ चीनको आयो। सायद छिमेकमा भएका कारणले पनि होला।"
को थिए अयोध्या सिंह?
भुसालले उल्लेख गरेका अयोध्या सिंह सन् १९४९ सेप्टेम्बर (विसं २००६) मा भारतको कोलकातामा नेपाल कम्युनिस्ट पार्टी स्थापना हुँदाका संस्थापक नेतामध्येका एक हुन्।
उनलाई भारतीय कम्युनिस्ट पार्टीले नेपालीहरूलाई सहयोग गर्न खटाएको पुराना कम्युनिस्ट नेता डीपी अधिकारीले लेखेका छन्।
पुष्पलाल स्मृति प्रतिष्ठानले प्रकाशित गरेको विष्णु रिजालद्वारा सम्पादित 'फर्केर हेर्दा (पुराना कम्युनिस्टहरूको संस्मरण)' मा अधिकारीले उक्त कुरा लेखेका हुन्।
उनी लेख्छन्, "कलकत्ताका अयोध्या सिंह हामीलाई कम्युनिस्ट शिक्षा प्रशिक्षण गर्न खटिएका थिए। उनी हामीलाई प्रशिक्षणका साथै पार्टीलाई सङ्गठित गर्ने काम पनि गर्थे।"
त्यसबेला कम्युनिस्ट बन्न चाहने अधिकारीसहितका युवाहरूमा रुसी कम्युनिस्ट विचारधाराको प्रभाव धेरै रहेको सङ्केत उनको संस्मरणमा पनि पाइन्छ।
तर चिनियाँ विचारधाराको प्रभाव पनि परेको उनले उल्लेख गरेका छन्।
भारतमा अध्ययनरत उनी गर्मी बिदामा धरान फर्केको बेलाको सम्झना गर्दै लेख्छन्, "... त्यही बेलै एक्कासि मनमोहन (अधिकारी) र शैलेन्द्रकुमार उपाध्याय मेरो घरमा आए।"
"उनीहरू चीनमा कम्युनिस्ट पार्टीको नेतृत्वमा स्थापना हुन आएको जनवादी सरकारको राजनीतिक र आर्थिक संरचनाका कस्तो थियो र नेपालमा कस्तो प्रकारको कम्युनिस्ट व्यवस्थाको सैद्धान्तिक आधारको व्याख्या गरिँदैछ भन्ने कुरा बुझ्ने उद्देश्यका साथ मलाई भेट्न आएका थिए।"
उनले विसं २००६ सालमा नेपाल कम्युनिस्ट पार्टी गठन हुँदा आफू पनि त्यसको केन्द्रीय कमिटीमा रहेको लेखेका छन्।
अधिकारी लेख्छन्, "हामीलाई सहयोग गर्ने भारतीय कम्युनिस्ट पार्टीबाट खटाइएका अयोध्या सिंहको सल्लाहमा सन् १९४९ को सेप्टेम्बर १५ मा कलकत्ताको कुनै गल्लीभित्रको एउटा मजदुरको क्वार्टरमा अयोध्या सिंहसमेत हामी पाँचजना पुष्पलाल (श्रेष्ठ), मनमोहन (अधिकारी), शैलेन्द्र (शैलेन्द्रकुमार उपाध्याय), तुलसीलाल (अमात्य) र मसहितको एउटा केन्द्रीय सङ्गठन कमिटीको गठन गरेका थियौँ।"
चिनियाँ कम्युनिस्ट पार्टीसँग सम्बन्ध
नेपालको कम्युनिस्ट पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीबीच विसं २००९ सालामा भाइचारा सम्बन्ध स्थापना भएको एमाले नेता भुसाल बताउँछन्।
त्यसबेला नेपाल कम्युनिस्ट पार्टीका नेता गौरीभक्त प्रधान चीन पुगेर तीन वर्ष बसेका थिए।
नेपालमा कम्युनिस्ट पार्टी प्रतिबन्ध रहेकै बखत उनी भूमिगत हिसाबले नेपाली सीमा पार गरेर तिब्बत हुँदै चीनको राजधानी बेइजिङ पुगेर त्यस्तो सम्बन्ध स्थापित गरेको भुसालले बताए।
नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना हुनुभन्दा पहिलेदेखि नै भाइचारा सम्बन्ध भएको चिनियाँ कम्युनिस्ट पार्टीसँग अहिले पनि कम्युनिस्ट पार्टीहरूको सम्बन्ध रहेको छ।
चिनियाँ कम्युनिस्ट पार्टीले कम्युनिस्टबाहेकका अन्य दलसँग पनि पार्टीस्तरमा सम्बन्ध राखेको प्राध्यापक पोखरेल बताउँछन्।
"उसले नेपाली कांग्रेस र उपेन्द्र यादवको मधेसी जनअधिकार फोरम हुँदा पनि पार्टीस्तरमा सम्बन्ध राखेको थियो," उनले भने।
एमाले नेता भुसाल र माओवादी नेता कार्की आफूहरू र चिनियाँ कम्युनिस्ट पार्टीका नेताबीच अन्तर्क्रियाहरू भइरहने बताउँछन्।
यद्यपि नेपालमा पहिलेको जस्तै "वैचारिक बहस" हुन छाडेकाले त्यो क्रम पनि पातलिएको नेता कार्कीको भनाइ छ।
एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा सत्तामै रहँदा चिनियाँ कम्युनिस्ट पार्टीले उक्त पार्टीका नेतालाई प्रशिक्षण दिएको भन्ने खबर आएपछि त्यसबारे सार्वजनिक रूपमै प्रश्न उठेको थियो।
यद्यपि भुसाल भन्छन्, "यहाँ गलत बुझाइ भयो, त्यो प्रशिक्षण होइन अन्तर्क्रिया थियो। त्यस्ता अन्तर्क्रिया भइरहेका हुन्छन्।"
'सम्बन्ध छ, विचारको आत्मसात् छैन'
नेताहरू र राजनीतिशास्त्रीका भनाइमा नेपालका कम्युनिस्टहरूले चिनियाँ कम्युनिस्ट पार्टीसँग सम्बन्ध राखे पनि उसको जस्तै विचार आत्मसात् नगरेको अवस्था देखिन्छ।
नेपालमा लोकतान्त्रिक व्यवस्था भएकाले पनि कतिपय विचार चिनियाँसँग नमिल्ने कतिपयको भनाइ छ।
तर "समाजवाद"का लागि गर्नुपर्ने कैयौँ कुराहरू गर्न सकिने नेताहरू बताउँछन्।
एमालेका भुसाल भन्छन्, "नेपालका कम्युनिस्टहरूले चिनियाँ कम्युनिस्ट पार्टीको विचारलाई आत्मसात् गरेका छैनन्, किनकि हामीले गरिबी निवारणका लागि काम गरेको खै? बेरोजगारका लागि काम गरेको खै
राजनीतिशास्त्री पोखरेलका भनाइमा पनि नेपालमा कम्युनिस्टहरूले चीनको कम्युनिस्ट पार्टीबाट सिक्नुपर्ने धेरै कुरा छन्।
उनी त्यहाँ पनि अन्तर्विरोध हुँदाहुँदै पार्टी फुटमा नगएको र देश हितलाई मुख्य कुरा ठान्ने अवस्था देखिएको तर नेपालमा त्यसको उल्टो भएको बताउँछन्।
माओवादी नेता कार्कीका नजरमा नेपालमा मुखले मात्र कम्युनिस्ट विचारधारा भन्ने तर व्यवहारमा त्यस विपरीत कार्य गर्ने प्रवृत्ति देखिएको छ।
उनी त्यसलाई आम नेपाली प्रवृत्तिसँग जोड्दै भन्छन्, "नेपालमा कुनै पनि कुराको छिटो अनुकरण गर्ने र त्यसलाई छिटै छाडिदिने माहौल छ। सैद्धान्तिक बन्दा पनि असाध्यै सैद्धान्तिक बन्ने र सिद्धान्त छाडिदिँदा पनि लथालिङ्ग छाडिदिने प्रवृत्ति छ।"?"