तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोभिड खोपको बूस्टर डोज दिन सुरु; तर व्यवस्थापनमा अझै समस्या
सरकारले कोभिड खोपको बूस्टर मात्रा आइतवारदेखि वितरण गर्न थालिने निर्णय गरेको थियो। राजधानीका केही स्थानमा खोपको अतिरिक्त मात्रा दिन थालिएको भएपनि बाहिर अधिकांश ठाउँमा उक्त योजना कार्यान्वयनमा समस्या देखिएको छ।
काठमाण्डू उपत्यकाका खोप केन्द्रहरूमा बूस्टर डोज लगाउन गएको ठाउँमा घण्टौँ लाममा बस्दा पनि खोप लगाउन नपाएको गुनासो सर्वसाधारणले गरेको विवरणहरू आएका छन्।
बूस्टर डोज लगाउने भनेर मिति तोकिए पनि त्यसअनुसार धेरै ठाउँमा खोप लगाएको नपाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वीकार गरेको छ।
"धेरै जिल्लाहरूले खोप केन्द्रहरू र खोप जनशक्ति जुध्ने भएकोले सुरु गर्न नसकिएको भन्ने जानकारी गराएका छन्,” मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले भने।
उनका केही जिल्लाले एकदुई दिनपछि बूस्टर खोप दिन सुरु गर्ने भन्ने जानकारी गराएका छन्।
बूस्टर डोज कसलाई
पहिलो चरणमा बूस्टर खोप अग्रपङ्क्तिमा रहेर काम गर्नेहरूलाई दिने स्वास्थ्य मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार अग्रपङ्क्तिमा रहनेमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स र शववाहन चालक, महिला स्वयंसेविक, विमानस्थलमा खटिने कर्मचारी, सरकारी कार्यालयका कर्मचारी, सामुदायिक सेवा प्रवाह गर्ने सङ्घसंस्थाका कर्मचारी, ब्याङ्किङ क्षेत्रका कर्मचारी, सञ्चारकर्मी, पत्रकार, सार्वजनिक यातायातका चालक तथा सहचालकलाई मानिएको छ।
मन्त्रालयको तथ्याङ्कअनुसार यो समूह झन्डै साढे नौ लाख जना छन्।
"पहिला जुन खोप लगाइएको छ त्यही खोप एक मात्रा दिने भनेर सरकारको निर्णय छ र विज्ञको सुझाव पनि त्यही छ," सहप्रवक्ता अधिकारीले बताए।
पहिला खोप लगाएको कार्डका आधारमा त्यही खोप बूस्टर डोजका बेला दिन समस्या नहुने उनले बताए।
सरकारले सम्बन्धित जिल्लाले स्थानीय तहहरूसँग संयोजन गरेर उपलब्ध स्रोतसाधन, जनशक्ति व्यस्थापन गर्ने गरी बूस्टर डोजको लागि खोप केन्द्र र मिति तोक्न सक्ने भन्दै सबै जिल्लालाई सूचित गरेको छ।
गत वर्ष फागुनमा वितरण थालिएयता पूर्ण मात्रा खोप लगाइसकेको छ महिना पूरा गरेका मानिसलाई अहिले बूस्टर डोज दिन लागिएको हो।
सङ्क्रमण फैलिने चिन्ता
कोभिड-१९ विरुद्धको नियमित खोप लगाउने मानिसको भिड घट्न नसकेका बेला बूस्टर मात्रा लगाउने समेत थपिएपछि खोप केन्द्रहरूबाटै सङ्क्रमण फैलिन सक्ने चिन्ता विज्ञहरूले व्यक्त गरेका छन्।
भाइरसविज्ञ डा. लुना भट्ट शर्मा भन्छिन्, "खोप लगाउन सुरु गरिएको छ, तर सबैभन्दा पहिला त्यसलाई व्यवस्थित गर्नुपर्ने देखिन्छ। किनभने खोप लगाउन जानेको भिडले नभएकालाई पनि सङ्क्रमण हुने डर भयो।"
त्यसबारे ख्याल गरेरै विगतको सिकाइ र अनुभवका आधारमा खोप केन्द्रहरू विस्तार गर्न निर्देशन दिइएको मन्त्रालयले जनाएको छ।
विशेषतः महानगरपालिकाले प्रत्येक वडामा एउटा खोप केन्द्र, उपमहानगरपालिकाले दुईवटा वडालाई मिलाएर एउटा, नगरपालिकाले पाँचवटा र गाउँपालिकाले तीनवटा खोप केन्द्र तोक्न सक्ने र मागअनुसार अतिरिक्त केन्द्र खोल्न सक्ने सहप्रवक्ता अधिकारी बताउँछन्।
विगतमा गाभिएका खोप केन्द्रलाई पुन: टुक्राउनुपर्ने आवश्यकता पनि देखिएको उनले बताए।
विगतमा धेरैजसो जिल्लामा खोप कार्यक्रम सदरमुकामकेन्द्रित थिए र सीमित सङ्ख्यामा थिए।
कोभिडबाहेकका नियमित खोप पनि जारी राख्नुपर्ने भएकाले स्वास्थ्यका मापदण्ड अपनाएर र खोप केन्द्र विस्तार गरेर खोप लगाउनुको विकल्प नरहेको सहप्रवक्ता अधिकारी बताउँछन्।
खोपको उपलब्धता कस्तो छ?
बूस्टर डोजबाहेक सरकारले यसअघि नै खोप लगाउन छुटेका १८ वर्षभन्दा माथिका र १२ वर्षदेखि १७ वर्ष उमेर समूहका बालबालिका तथा किशोरकिशोरीलाई खोप लगाउने काम जारी छ।
त्यति सङ्ख्यामा खोप र त्यसका लागि आवश्यक सामग्री पर्याप्त मात्रामा रहेको मन्त्रालयले जनाएको छ।
त्यसबाहेक आउँदा चरणमा हुने खोप अभियानका लागि आवश्यक सामग्री “केही आजभोलि नै आइपुग्ने र केही आउँदो साताभित्र आउने” सरकारले जनाएको छ।
सहप्रवक्ता अधिकारी भन्छन्, "प्रदेशहरू वा जिल्लाहरूमा सामग्री सकिएर लक्षित वर्गअनुसार सबै प्रगति भयो र थप सामग्री चाहिँदा हामीले केन्द्रीय भण्डारण पनि त्यसैअनुसार व्यवस्थापन गरेर राखेका छौँ।"
के छ सङ्क्रमणको अवस्था
गत सातादेखि कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढ्न थालेपछि खोप अभियानलाई तीव्रता दिन सरकारमाथि दबाव पर्दै आएको छ।
आइतवार अपराह्णसम्मको तथ्याङ्क अनुसार नेपालमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या २५ हजार भन्दा बढी छ भने कुल परीक्षणको झन्डै ३६ प्रतिशतमा कोभिड देखिएको छ।
सरकारले कोरोनाभाइरसको बढ्दो सङ्क्रमणलाई दृष्टिगत गर्दै देशैभरि निषेधाज्ञाको दायरा विस्तार गरेको छ।
अहिलेसम्म कुल जनसङ्ख्याको ४० प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेका छन् भने ५२ प्रतिशतले पहिलो मात्रा खोप लगाएको सरकारको तथ्याङ्कले देखाउँछ।