काठमाण्डूको वायु गुणस्तर खस्कने क्रम बर्सेनि बढ्दो, अवस्था 'निकै बिग्रने' चिन्ता

काठमाण्डूमा वायु प्रदूषण

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, विज्ञहरूले काठमाण्डूमा हावाको गुणस्तर निरन्तर खस्किएको दाबी गरेका छन्
    • Author, प्रदीप बस्याल
    • Role, बीबीसी न्यूज नेपाली

नेपालमा राजधानी काठमाण्डू र अन्य केही सहरमा देखा परेको खराब वायु गुणस्तरलाई लिएर विज्ञहरूले सन् २०२१ कै जस्तो 'निकै खराब' अवस्था दोहोरिने जोखिम देखिएको बताएका छन्।

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) का एक विज्ञ कम्तीमा अझै एक साता वर्षा हुने सम्भावना नदेखिएको भन्दै त्यस बेलासम्म अवस्थामा सुधार आउन कठिन रहेको बताउँछन्।

"ठूलो हावा चलेर यसलाई उडाएर लैजानेजस्तो अवस्था पनि छैन। दुई दिनजतिमा वायुको लहरले केही सफा गर्ला कि भन्ने छ। तर डढेलो बढिरहँदा र पानी नपर्दा ठूलो परिवर्तन भइहाल्ने देखिँदैन," इसिमोडका वायुप्रदूषणविज्ञ सागर अधिकारीले भने।

नेपालमा रहेका मापन केन्द्रहरू धेरैजसो पीएम २.५ भनिने निकै नै मसिना कण मापन गर्ने गरी राखिएको जनाउँदै विज्ञहरू तिनमा यस बेला विश्व स्वास्थ्य सङ्गठनले तोकेभन्दा ३० गुणासम्म बढ्ता खतरनाक अवस्था पाइने गरेको बताउँछन्।

त्यसमाथि तुवाँलोका रूपमा देखा परेको वायु प्रदूषण समेत पीएम २.५ अर्थात् निकै मसिना कणहरू हुने भन्दै त्यसको गहिरो असर एकैसाथ मानिसहरूको स्वास्थ्य र वातावरणमा पर्ने विज्ञहरूको चेतावनी पाइन्छ।

सम्भाव्य कारण

गत हिउँद चरम सुक्खा बनेपछि विज्ञहरूले सुरुदेखि नै यसपटक डढेलो र प्रदूषण ठूलो समस्या बन्ने चेतावनी दिँदै आएका थिए।

इसिमोडका अधिकारीले वायुगुणस्तर खतरनाक तहमा जाने अवस्था दोहोरिने सम्भावना नकार्न नसकिने बताउँछन्, "नियमित रूपमा यातायात, उद्योगलगायतका स्रोतबाट आउने प्रदूषण छँदै थियो। यस पटक डढेलो पनि थपिएको छ। मौसमले साथ दिइरहेको छैन।"

सन् २००२ देखि नेपालमा डढेलोको विवरण राख्न थालिएकामा चार वर्षअघि सबैभन्दा धेरै डढेलो देखा परेको थियो।

त्यस वर्ष मार्च ३० देखि एप्रिल २ सम्म आपत्कालीन अवस्था महसुस गर्दै विद्यालयहरू समेत बन्द गरिनुका साथै कैयौँ उडानहरू रद्द भएका थिए।

"यस पटक पुनः त्यस्तो अवस्था दोहोरिने सङ्केत देखापर्नुले त्यो कति गम्भीर समस्या हो भन्ने देखाउँछ," वायु गुणस्तर विज्ञ भूपेन्द्र दास भन्छन्। "अवस्था योभन्दा निकै बिग्रन सक्ने भएकाले हामीहरू निकै सचेत भएर त्यसतर्फ काम गर्न आवश्यक छ।"

मङ्गलवारको २४ घण्टे मूल्याङ्कनमा काठमाण्डू उपत्यकाका पाँच वटा मापन केन्द्रबाहेक धनगढी र इलाममा समेत वायु गुणस्तर अस्वस्थताको तहमा पुगेको देखिएको वातावरण विभागको वेबसाइटमा उल्लेख छ।

लगातार खराब हिउँद

दाङको घोराहीनजिकैको जङ्गलमा लागेको आगो

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, सन् २०२१ मा ६,३०० भन्दा धेरै डढेलोका घटना सार्वजनिक भएका थिए

जल तथा मौसम विज्ञान विभागका अधिकारीहरूले पछिल्लो जाडोमा सरदर पर्नुपर्नेमध्ये करिब १० प्रतिशतजति मात्र वर्षा हुन सकेको बताएका छन्।

यसअघिको 'प्रीमनसुन' अवधिमा देशव्यापी रूपमा हजारौँ डढेलोका घटना सार्वजनिक गरिएका थिए, जुन नेपालमा त्यसको विवरण राख्न थालिएयताको दोस्रो ठूलो प्रकोप थियो।

सन् २०२३ सालको हिउँदमा समेत १२.९ मिलिमिटर मात्र पानी पर्न सकेको थियो। त्यस वर्ष सरदर झन्डै ६० मिलिमिटर वर्षा हुनुपर्ने अपेक्षा गरिएको थियो।

सन् २०२२ को हिउँदमा भने सरदरभन्दा धेरै ७२ मिलिमिटर वर्षा भएको थियो।

हालसम्मकै सबैभन्दा ठूलो डढेलोको प्रकोप देखिएको सन् २०२१ मा १५.५ मिलिमिटर मात्र हिउँदे वर्षा भएको थियो। त्यस वर्ष ६,३०० भन्दा धेरै डढेलोका घटना सार्वजनिक भएका थिए।

इसिमोडका अनुसार पछिल्ला कैयौँ वर्षमध्ये निकै सुक्खामध्ये पर्ने गत हिउँदको असर यस पटकको गर्मी यामको सुरुबाटै देखिन थालेको छ।

मङ्गलवार लिइएको नासाको विवरणमा डढेलो लागेको हुनसक्ने देखिएको क्षेत्र

तस्बिर स्रोत, NASA

तस्बिरको क्याप्शन, मङ्गलवार लिइएको नासाको विवरणमा डढेलो लागेको हुन सक्ने देखिएको क्षेत्र

काठमाण्डू उपत्यकाको भूगोलकै कारण आसपासमा भएका डढेलोको असर यहाँ थिग्रिएको विज्ञहरू बताउँछन्।

इसिमोडका सागर अधिकारी थप्छन्: "काठमाण्डूमा हिउँद लागेदेखि नै हावा एकआपसमा मिसिन पाउँदैन। तर थिग्रिएका कारण माथि उड्न पाउँदैन। पानी परेको हुँदैन। त्यसकै कारण प्रदूषणको तह बढ्दै बढ्दै जाने हो। शिवरात्रिका बेला (फागुन १४) पानी परेपछि थप वर्षा हुन सकेन र काठमाण्डू आसपास तथा नजिकै डढेलो लाग्ने क्रम बढ्न थाल्यो।"

मौसमविद्हरू हिउँद् सुक्खा हुँदैमा 'प्रीमनसुन' अवधि पनि त्यस्तै हुने भन्ने नहुने भन्दै वर्षापछि अवस्थामा क्रमिक सुधार आउन सक्ने समेत ठान्छन्।

नेपालमा मार्च र एप्रिल महिनामा डढेलोका धेरै घटना देखा पर्ने गरेका पाइन्छन्।

भूउपग्रहबाट प्राप्त हुने विवरणका आधारमा लामो समय सुक्खापन कायम रहँदा एउटा डढेलो अर्कोसँग मिसिँदै ठूलो हुने र थप फैलने परिस्थिति देखा परेको इसिमोडका विज्ञहरू बताउँछन्।

"यतिखेर देशभर लगभग सबैतिर डढेलो फैलिएको देखिन्छ, ३२४ घटना त प्रहरीकै विवरणले समेत पुष्टि गरेको छ भने नासाले उपलब्ध गराउने विवरणका भरमा सम्भावित डढेलोका घटना देशै भरी फैलिएको अवस्था पाइन्छ," इसिमोडकै वायु गुणस्तर निगरानी गर्ने एक विश्लेषक नारायण थापा भन्छन्। "एक सातादेखि एकै पटक देखा परेका यी घटना उच्च नै हुन्।"

तुलना

कञ्चनपुरको रानीपुरमा गहुँ काटिँदै

तस्बिर स्रोत, RSS

काठमाण्डूको प्रदूषणको हालको अवस्था भारतको दिल्ली र बाङ्ग्लादेशको ढाकाजस्ता सहरभन्दा पनि खराब रहेको केहीको दाबी छ।

तर कतिपय विज्ञहरूले बर्सेनि नेपालमा एप्रिलका बेला मात्र प्राय: त्यस्तो हुने गरेको भन्दै औसत रूपमा ती सहरहरूसँग तुलना गरिहाल्न नमिल्ने बताउँछन्।

सामान्यत: काठमाण्डू उपत्यकामा पानी परेका बेलामा बाहेक वर्षमा हरेक समय प्रदूषणको समस्या देखिने गरेको बताइन्छ।

नेपालका हकमा डढेलोदेखि बालीका कृषि अवशेष दुवै गरेर खुला रूपमा हुने आगलागीले वार्षिक रूपमा गराउने प्रदूषणको आधाजसो हिस्सा एप्रिल महिनामा देखिने वायु गुणस्तर विज्ञ दास बताउँछन्।

"बाँकी ११ महिनामा आधा प्रदूषण र एप्रिलमा आधा प्रदूषण हुने अवस्था रहँदै आएको छ। यस पटक सुक्खा निकै भएकाले मे महिनासम्मै खराब अवस्था लम्बिन सक्छ," भूपेन्द्र दास भन्छन्।

"यसरी ह्वात्तै बढ्नुमा निकै ठूलो हिउँदे खडेरी हुनु मुख्य कारण छ। नासाको विवरणमा चुरे र मध्यपहाडका पूर्वी भाग र मध्यनेपालमा धेरै डढेलो लागेको देखिन्छ।"

गहुँबाली स्याहार्ने समय यही बेला पर्नु र त्यसका अवशेष जलाउनुको विकल्प किसानहरूले नसोचेकाले पनि अवस्था थप विकराल बनिरहेको बताइन्छ।

"वार्षिक रूपमा देशभर ३० लाख मेट्रिक टन कृषि अवशेष जलाइने गरेकामा काठमाण्डू उपत्यकामा मात्र ४४ हजार मेट्रिक टन जलाइन्छ," दास थप्छन्।

"यी कुनै प्राकृतिक प्रकोप होइन। मानवीय गतिविधिसँग जोडिएका कुरा भएकाले त्यो नियन्त्रणबाहिरको काम हो भन्न मिल्दैन। नेपालमा हुने उच्चतम तापक्रमका दृष्टिबाट हेर्दा वन डढेलो समेत प्राकृतिक रूपमै भएका घटना यहाँ निकै कम छन्।"

कृषि अवषेश नजलाएर कम्पोस्ट मलदेखि ऊर्जा उत्पादन र विभिन्न उपभोग्य सामग्री बनाउने सम्भावना हुँदा हुँदै पनि सरकारी नीतिमा त्यो नसमेटिएको दास बताउँछन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।