बाढीका कारण दक्षिणपूर्वी एशियामा सयौँको मृत्यु, कैयौँ बेपत्ता

बाढिको मारमा परेकाको उद्धार गरिँदै

तस्बिर स्रोत, Getty Images

    • Author, जेसिका रन्स्ले

दक्षिणपूर्वी एशियाका विभिन्न स्थानमा भीषण वर्षापछि बाढी र पहिरोका घटनाहरू भएका छन् जसमा सयौँको मृत्यु भएको छ भने कैयौँ हराइरहेका विवरणहरू आएका छन्।

आँधीले मनसुनी वर्षालाई झनै तीव्र बनाइदिँदा कतिपय क्षेत्रमा वर्षौँपछि यो स्तरको बाढी आएको हो। इन्डोनेशिया, मलेशिया र थाईल्यान्डमा लाखौँ मानिसहरू प्रभावित भएका छन्।

इन्डोनेशियाको सुमात्रा टापूमा बुधवारबाट भीषण वर्षा सुरु भएको थियो। "बाढीमा परेर सबै कुरा गयो," सुमात्राको आचेह प्रान्तका एक स्थानीयले समाचारसंस्था रोएटर्ससँग भने, "म मेरा लत्ताकपडा जोगाउन चाहन्थेँ तर मेरो घर नै गयो।"

सयौँ मानिसहरू हराइरहेकाले ज्यान गुमाउनेको सङ्ख्या बढ्न सक्ने ठानिएको छ। हजारौँ मानिसहरू फसिरहेका छन् र उद्धारको प्रतीक्षामा घरका छतहरूमा बसिरहेका छन्।

इन्डोनेशियामा ४४२ भन्दा धेरै र थाईल्यान्डमा १७० जनाले ज्यान गुमाएको पछिल्लो विवरण छ। मलेशियामा पनि दुईजनाको मृत्यु भएको विवरण छ।

इन्डोनेशिया

सडकमा बगेको पानी हेरिरहेका सुमात्राका एक मानिस

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, इन्डोनेशियाको सुमात्रा द्वीपमा बाढीमा परी सयौँ हराइरहेका छन्

'साइक्लोन सेन्यार' नाम दिइएको अनपेक्षित र दुर्लभ ट्रपिकल चक्रवातका कारण इन्डोनेशियामा विनाशकारी भूस्खलन र बाढीका घटना भएका छन् जसमा कैयौँ घर बगेका छन् भने हजारौँ जलमग्न भएका छन्।

बाढीले तहसनहस बनाउँदा सुमात्रा करिब ३०० मानिसहरू हराइरहेका इन्डोनेशियाको विपद्सम्बन्धी निकायले जनाएको छ।

"यसको तीव्रता निकै चर्को थियो। पलभरमै यो सडकहरू पुग्यो र घरहरूमा पस्यो," आचेह प्रान्तकी बासिन्दा अरिनी अमालिआले बीबीसीसँग भनिन्।

त्यसपछि उनी र उनकी हजुरआमा अलिक माथिल्लो भूभागमा रहेको आफन्तको घरतिर कुदे। अर्को दिन सामानहरू लिन फर्किँदा बाढीले पूरै घर निलेको उनले बताइन्। "त्यो बर्बाद भइसकेको थियो।"

त्यस्तै मेरी उस्मानले बाढीले आफ्नो घर डुबाउँदै गर्दा आफूलाई पनि बगाएको र उद्धार नहुँदासम्म कपडाको डोरी समातेर बसेको बताए।

दशौँ हजारको उद्धार भइसक्दा सयौँ अझै उद्धारको प्रतीक्षामा छन्। तर खराब मौसमका कारण उद्धारकार्य पनि प्रभावित भएको इन्डोनेशियाको विपद्सम्बन्धी निकायले जनाएको छ।

थाईल्यान्ड

थाईल्यान्डमा एक महिलालाई सुरक्षित स्थानतर्फ सार्दै गरेका एक युवक

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, थाईल्यान्डमा दशौँ हजार मानिसहरूले शिविरहरूमा शरण लिएका छन्

थाईल्यान्डको दक्षिणी सङ्ख्ला प्रान्तमा पानीको सतह तीन मिटरसम्म बढेको छ। दशककै सबैभन्दा खराबमध्येको बाढीमा परी त्यहाँ कम्तिमा १७० जनाले ज्यान गुमाएका विवरणहरू आएका छन्।

बाढीबाट प्रभावित भएका १० प्रान्तहरूमा १६० जनाभन्दा धेरैको मृत्यु भएको सरकारले शनिवार जनाएको छ। त्यहाँ ३८ लाख मानिसहरू प्रभावित भएको ठानिएको छ।

हात येइ सहरमा एकैदिन ३३५ एमएम वर्षा भएको छ जुन तीन सय वर्षयताकै उच्च हो। पानी घट्दै जाँदा मृतकको सङ्ख्या तीव्र रूपमा बढेको अधिकारीहरूले बताएका छन्।

समाचार एजेन्सी एएफपीको विवरणका अनुसार उक्त सहरस्थिति एउटा अस्पतालको शवगृह भरिएपछि कर्मचारीहरू शवहरूलाई 'रेफ्रिजेरेटेड' ट्रकहरूमा सार्नु परेको थियो।

"हामी सात दिनसम्म पानीमा फसिराख्यौँ र कुनै पनि निकाय उद्धारका निम्ति आएनन्," हात येइकी बासिन्दा थानिता खिआहोमले बीबीसी थाईसँग भनिन्।

थाई सरकारले राहतका निम्ति सक्दो उपाय अपनाउने प्रतिबद्धता जनाएको छ। त्यसमा आफन्तजन गुमाएका परिवारलाई ६२,००० डलरसम्मको क्षतिपूर्ति उपलब्ध गराउने विषय पनि समावेश छ।

मलेशिया र श्रीलङ्काको स्थिति

छिमेकी मलेशियामा ज्यान गुमाउनेको सङ्ख्या निकै कम भए पनि क्षति उत्तिकै विनाशकारी छ।

बाढीले तहसनहस पार्दा पर्लिस राज्यको उत्तरी हिस्सा जलमग्न भएको छ। त्यहाँ दुई जनाको ज्यान गएको र दशौँ हजार मानिसहरू शरण लिन बाध्य भएका विवरणहरू आएको छन्।

एशियाका अन्य हिस्सामध्ये श्रीलङ्का 'डित्वाह' चक्रवातको नराम्रो चपेटामा परेको छ। अधिकारीहरूका अनुसार १९३ जनाको ज्यान गएको छ र २०० जनाजति हराइरहेका छन्।

हालैका वर्षहरूमा सबैभन्दा खराबमध्येको मौसमी विपद्को सामना गरिरहेको श्रीलङ्कामा सङ्कटकाल घोषणा गरिएको छ।

अधिकारीकारीहरूका अनुसार १५,००० भन्दा धेरै घरहरू भत्किएका छन् र लगभग ७८,००० मानिसहरू अस्थायी शिविरहरूमा शरण लिन बाध्य भएका छन्। उनीहरूले लगभग देशको एक तिहाइ हिस्सा बिजुली र खानेपानीबाट वञ्चित भएको पनि बताएका छन्।

मौसमविद्हरूले फिलिपिन्सको कोटो चक्रवात र मलक्का स्ट्रेटमा उत्पन्न सेन्यार चक्रवातबीचको अन्तरक्रियाका कारण दक्षिणपूर्वी एशियामा चरम मौसमी स्थिति पैदा भएको हुन सक्ने ठानेका छन्।

ती क्षेत्रमा सामान्यत: जुन र सेप्टेम्बर महिनाको बीचमा वर्षेनि मनसुन आउँछ र त्यसले भीषण वर्षा निम्त्याउँछ।

जलवायु परिवर्तनले मनसुनको तीव्रता र अवधिसहित आँधीका प्रवृत्तिहरूलाई पनि बदलिदिएको छ जसले भीषण वर्षा, अचानक आउने बाढी र तुफान पैदा गरेको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।