दोलखाको हिमपहिरोपछि पर्वतीय उद्धार प्रणालीबारे उठेका प्रश्न

यालुङ रीको हिमपहिरो खसेको स्थान

तस्बिर स्रोत, MINGMA SHERPA

तस्बिरको क्याप्शन, यालुङ रीको हिमपहिरो खसेको स्थान
    • Author, पवनराज पौडेल
    • Role, बीबीसी न्यूज नेपाली

दोलखाको यालुङ रीमा सोमवार हिमपहिरोमा परेका दुई जनाको शव भेटिएको र हराइरहेका पाँच पनि "जीवित भेटिने सम्भावना नदेखिएको" पर्वतारोहण कम्पनीहरूले जनाएका छन्।

मङ्गलवार बिहान उक्त स्थानमा पुगेका 'ड्रिमर्स एस्पेडिशन'का सञ्चालक तथा पर्वतारोही फुर्वा तेन्जिङ शेर्पाले "घटनाको प्रकृति हेर्दा त्यहाँ परेका कोही पनि बाँच्ने आशा गर्न नसकिने" बीबीसीलाई बताए। "तर सतहमा दुईवटा शवमात्रै देख्यौँ," उनले भने।

ज्यान गुमाएका ठानिएकामा पाँच विदेशी र दुई नेपाली छन्। "हराइरहेकाहरू १०/१५ फिटमुनि पुरिएका हुन सक्छन्," मङ्गलवार बिहान फुर्वासँगै घटनास्थल पुगेका 'सेभेन समिट ट्रेक्स'का प्रमुख मिङ्मा शेर्पाले भने, "खोज्नलाई समय लाग्छ।"

उक्त घटनामा घाइते भएका आठ जनालाई उद्धार गरी उपचारका निम्ति काठमाण्डू पठाइएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।

"त्यसमा तीन विदेशी पर्वतारोही छन्। बाँकी गाइड र भरियाहरू हुन्," जिप्रका दोलखाका प्रहरी नायव उपरीक्षक ज्ञानकुमार महतोले भने, "घटनास्थल पुग्न कठिन छ। सुरक्षाकर्मीहरू सोमवार नै त्यसतर्फ लागे पनि अझै पुगिसकेका छैनन्। उद्धारकार्यका निम्ति त्यहाँ भएका पर्वतारोही र स्थानीयवासीसँग समन्वय गरिरहेका छौँ।"

मङ्गलवार अबेरसम्म सबै 'शव'को खोजी गरी काठ्माण्डू पठाउने कोसिसमा आफूहरू रहेको फूर्वाले बीबीसीलाई बताए। "आज मौसम पनि राम्रै छ," उनले भने।

फुर्वाका अनुसार घटनामा पर्नेमा उनको कम्पनीमार्फत् गएका दुई विदेशीसमेत गरी तीन जना छन्। "उनीहरू डोल्मा खाङ हिमाल आरोहण गर्नुअघि पूर्वाभ्यासका क्रममा यालुङ री चढ्दै थिए," उनले भने, "ती पर्वतारोहीहरू यालुङ रीको टुप्पोनजिकै पुगेका बेला हिउँको ठूलो पहिरो खसेको रहेछ।"

पर्यटन विभागका निर्देशक हिमाल गौतमका अनुसार पहिले हिमालको मान्यता दिइएको यालुङ रीलाई ५,८०० मिटरभन्दा कम उचाइको भएका कारण २०७१ सालदेखि 'ट्रेकिङ पीक'को सूचीमा राखिएको छ।

मौसममा आएको फेरबदल

फुर्वा तेन्जिङका अनुसार मौसम असाध्यै राम्रो रहेकाले पर्वतारोहीहरू सोमवार सबेरै यालुङ रीको आधार शिविरबाट उकालो लागेका थिए।

"म यही क्षेत्रमा जन्मेहुर्केको हुँ र यालुङ रीमा यति ठूलो हिउँपहिरो खसेको मैले थाहा पाएसम्म यो पहिलोपटक हो।"

सरकारले हालै कार्तिक १३ गतेदेखि लगातार केही दिन देशका विभिन्न भागमा मौसम बिग्रने चेतावनी जारी गरेको थियो। गत साता मात्रै मनाङ र मुस्ताङसहितका हिमाली क्षेत्रमा कैयौँ पर्यटकहरू अलपत्र परेका विवरणहरू आएका थिए।

"पर्वतारोहण वा पदयात्रामा जाँदा त्यस्ता सूचनाहरूको ख्याल गर्नुपर्छ, तथापि कतिपय अवस्थामा पर्यटकहरूले नै त्यस्ता सूचनाहरूले बेवास्ता गरिदिँदा समस्या पर्ने गरेका छन्," ट्रेकिङ एजेन्सिज असोसिएशन अफ नेपाल (टान)का वरिष्ठ उपाध्यक्ष कर्मा शेर्पाले भने, "गएको सातामात्रै सरकारले विभिन्न स्थानहरूमा यात्रा नगर्न चेतावनी जारी नगरेको भए धेरै दुर्घटना हुन सक्थे तर हिउँपहिरो भन्ने कुरा अलिकति अनपेक्षित नै हुने भयो।"

तर फुर्वाका अनुसार पनि यालुङ री क्षेत्रमा अतिरिक्त मौसमी पूर्वचेतावनी जारी थिएन।

"मौसम सफा थियो। कुनै चेतावनी दिइएको थिएन," उनले भने।

पर्वतीय उद्धारमा प्रश्न

यालुङ रीको हिउँपहिरो खसेको स्थान

तस्बिर स्रोत, MINGMA SHERPA

तस्बिरको क्याप्शन, यालुङ रीको हिउँपहिरो खसेको स्थान

हिमाली क्षेत्रमा दुर्घटना हुँदा उद्धारमा प्राय: समस्या देखिने गरेको टानका शेर्पा बताउँछन्।

"हाम्रा सुरक्षा निकायहरूको उद्धार गर्ने क्षमता पूरै कमजोर छ। न पर्याप्त तालिमप्राप्त जनशक्ति छ, न स्रोतसाधन नै छ," उनले भने, "हालै तिलिचो तालमा हामीले पठाएका केही विदेशीहरू फसेका थिए। प्रहरी आउन त आयो तर उनीहरूसँग डोरी र टर्चजस्ता सामग्रीहरू पनि थिएनन्। सुरक्षा उनीहरूले दिने कि उनीहरूलाई दिने?"

सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापा हिमाली क्षेत्रमा गरिने उद्धारकार्यका निम्ति स्रोतसाधनको कमी रहेको स्वीकार्छन्।

"तर हामीले पछिल्लो समयमा मनाङमा पर्वतीय उद्धार तालिम शिक्षालय सञ्चालन गरेर दुई समूहलाई तालिम दिइसकेका छौँ। उनीहरूमध्ये ३५ जनाजतिले चुलु फार वेस्ट हिमाल पनि आरोहण गरिसकेका छन्," उनले भने, "त्यसले गर्दा हालै मनाङमा फसेकाहरूको उद्धार गर्न अलिकति सजिलो पनि भएको थियो।"

तर मौसम नै प्रतिकूल हुने अवस्थामा उद्धारकार्यमा ढिलाइ हुने गरेको थापाले बताए। "यालुङ रीका हकमा प्रहरीको टोली पैदल त्यसतर्फ लागेकाले घटनास्थल पुग्न समय लाग्न सक्छ।"

दोलखा प्रहरीका महतोले घटनास्थल दुई दिनको पैदल दूरीमा रहेको बताए।

अभिलेखको समस्या त्यस्तै

साङ्केतिक तस्बिर

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, साङ्केतिक तस्बिर

सरकारी निकायहरूले मङ्गलवार दिउँसोसम्म पनि यालुङ रीको हिमपहिरोमा ज्यान गुमाएका वा हराइरहेकाहरूको यकिन पहिचान खुलाउन सकेका छैनन्।

व्यवस्थित अभिलेख प्रणाली नहुँदा पर्यटन क्षेत्रमा बारम्बार यस्ता किसिमका समस्याहरू देखा पर्ने गरेको टानका वरिष्ठ उपाध्यक्ष शेर्पा बताउँछन्।

"हामीसँग पर्वतारोही र पदयात्रीहरूको अभिलेख राख्ने एकीकृत प्रणाली छैन। बरु पहिले द्वन्द्वकालमा त्यसको अभ्यास गर्न खोजिएको थियो," उनले भने, "अहिले पालिकापिच्छे आआफ्नै नियमहरू छन्, ती कहिले लागु हुन्छन् र संशोधन हुन्छन् भन्ने ठेगान नै हुँदैन।"

नेपालमा अहिले पर्वतारोहणका निम्ति पर्यटन विभागले, विभिन्न निषेधित क्षेत्रका निम्ति अध्यागमन विभागले र कतिपय हिमाली क्षेत्रको पदयात्रका निम्ति पर्यटन बोर्डले अनुमतिपत्र जारी गर्दै आएका छन्।

यालुङ रीको हिमपहिरोमा पर्नेमध्ये दुई विदेशी र एक नेपालीले डोल्मा खाङ हिमालको पर्वतारोहणका निम्ति अनुमति लिएको पाइएको पर्यटन विभागका गौतमले बताए।

"स्वाभाविक रूपमा अन्तरनिकाय समन्वय जुन किसिमले हुनुपर्थ्यो, त्यो नभएको होला," गौतमले भने, "तर आधार शिविरहरूमा हुने दुर्घटनामा पर्नेहरूमा पर्वतारोहीबाहेकका मानिसहरू पनि हुन सक्छन् र सबै पदयात्रीहरूको अभिलेख हुने कुरा हुँदैन। यद्यपि यो घटनाले हामीलाई सिकाएको छ।"

दोलखाकै लामाबगर र गौरीशङ्कर पनि निषेधित क्षेत्र हुन्, जहाँ जान अध्यागमन विभागको अनुमति चाहिन्छ। सरकारले १५ जिल्लाका विभिन्न क्षेत्रलाई सुरक्षा र सीमा संवेदनशीलताका आधारमा निषेधित क्षेत्र तोकेको छ।

विदेशी पदयात्रीहरू बिनाअनुमति निषेधित क्षेत्रमा समेत पुग्ने गरेका विवरणहरू बेलाबेला आउने गरेका छन्।

अध्यागमन विभागले हालै मात्र विदेशी नागरिकलाई बिनाअनुमति कञ्चनजङ्घा क्षेत्र पुर्‍याएको भन्दै मल्टिएड्भेन्चर प्रालि नामको संस्थालाई ४०,००० रुपैयाँ जरिवाना गराएको थियो।

कञ्चनजङ्घा पनि निषेधित क्षेत्रमा पर्छ।

"उक्त कम्पनीले विदेशीहरूलाई अनुमति प्राप्त भएको मितिअगावै त्यहाँ पुर्‍याएको पाइयो," विभागका प्रवक्ता टीकाराम ढकालले भने, "सम्भवत: अध्यागमनले यस्ता घटनामा कारबाही गरेको यो पहिलो पटक हो।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।