'उनीहरू सामान्य मान्छेका रूपमा गए र विश्व नायकका रूपमा फर्किए'

तस्बिर स्रोत, Getty Images
- Author, स्वामिनाथन नटराजन
- Role, बीबीसी विश्व सेवा
"मैले उनीहरूलाई सच्चा अर्थका अगुवा र अन्वेषकका रूपमा हेर्छु जसले विगतमा कसैले नभेटाएको लक्ष्य भेटे। उनीहरू दुई र तिनका टोलीले गर्दा अहिले हामीले धेरै कुरा गर्न सकेका छौँ," जाम्लिङ तेन्जिङ नोर्गेले भने।
सत्तरी वर्षअघि आजकै दिन अर्थात् २९ मे मा आफ्ना बुवाले गरेको सर्वोच्च शिखर सगरमाथाको पहिलो सफल आरोहणलाई उनले इङ्गित गर्दै थिए।
नेपाल-चीन सीमामा पर्ने सगरमाथा चुचुरोमा उनीसाथ न्यूजिल्यान्डका एडमन्ड हिलरी पुगेका थिए।
यी दुई आरोहीका छोराहरू जाम्लिङ तेन्जिङ नोर्गे र पिटर हिलरी आफ्ना बुवाहरूबाट ती ऐतिहासिक कथा सुन्दै हुर्किए।
दुवैले आफ्ना बुवाहरूको पदचापलाई पछ्याउँदै सगरमाथा चुचुरोमा पुगे।
उक्त ऐतिहासिक आरोहणको वार्षिकोत्सवको अवसरमा उनीहरूले आफ्ना बुवाका विशाल उपलब्धिबारे गर्वसाथ बीबीसीसँग कुरा गरेका छन्।


कीर्तिमानी आरोहण

तस्बिर स्रोत, Jamling Norgay
"उनीहरू सामान्य मानवका रूपमा आरोहणमा गए र र विश्व नायकका रूपमा फर्किए। त्यसले उनीहरूलाई परिवर्तन गरेन। उनीहरू उही साधारण र भद्र मानिसहरू रहे। उनीहरूले आफ्नो बाँकी जीवन हिमालयका मानिसहरूलाई योगदान गरेर खर्चिए," जाम्लिङले गर्वसाथ भने।
"जब कसैले त्यसअघि नगरिएको काम गर्छ त्यसले अरूलाई पनि त्यो काम गर्न सकिन्छ भन्ने सङ्केत गर्छ। ७०औँ वार्षिकोत्सवमा उनीहरूको उपलब्धिको उत्सव मनाऊँ," पिटरले थपे।
सन् १९५३ को आरोहणपछि स्वाभाविक रूपमा त्यसलाई पछ्याउने क्रम चल्यो।
यस वर्षको आरोहण सुरु भएपछिको पहिलो दश दिनमा ५०० भन्दा धेरै मानिस ८,८४९ मिटर अग्लो सगरमाथाको चुचुरोमा पुगे।
प्रविधि, सरसामग्री र सञ्चारमा भएका प्रगतिले त्यस्तो आरोहण सम्भव भएको छ।
तर एडमन्ड हिलरी र तेन्जिङ नोर्गेले त्यस्तो कीर्तिमान अहिले भएजस्तो जीपिएस वा स्याटलाइट फोनहरूबिनै सम्पन्न गरे।
खासमा उनीहरूको सफलताको समाचार लन्डन पुग्न नै तीन दिन लागेको थियो।
उनीहरू त्यसअघिका तीन दशकमा भएका कैयौँ आरोहण प्रयास असफल भएको पृष्ठभूमिमा चुचुरोमा पुगेका हुन्।
तेन्जिङ सन् १९५३ अघिका दुई दशकको अवधिमा ६ वटा आरोहणमा सहभागी भएका थिए।
सन् १९५२ मा उनीहरू चुचुरोको नजिकै समेत पुगेका थिए।
"याक चराउने तन्नेरी हुँदा, मेरो बुवा त्यो खास हिमालमाथि किन कुनै चरा उड्न सक्दैन भनेर अचम्मित हुनुहुन्थ्यो," जाम्लिङ सम्झिन्छन्।
"वहाँ एकजना लामाको भविष्यवाणीबाट निकै हौसिनुभएको थियो जसले सुरुमा उक्त हिमाल चढ्ने बौद्धमार्गी नै हुने बताउनुभएको थियो।"


पन्ध्र मिनेटले चर्चित

तस्बिर स्रोत, Peter Hillary
पिटरका अनुसार उनका बुवालाई सगरमाथा आरोहण गर्ने ९औँ ब्रिटिश आरोहण दलमा समावेश गरिँदा एडमन्डले त्यो आफ्ना लागि इतिहास बनाउने अवसरका रूपमा रहेको बुझेका थिए।
"वहाँ सधै आफू अग्रमोर्चामा रहन रुचाउनुहुन्थ्यो। वहाँ महत्त्वकाङ्क्षी व्यक्ति हुनुहुन्थ्यो," पिटरले बीबीसीको विटनेस हिस्ट्री कार्यक्रममा भने।
"मैले धेरै सम्झिरहने एउटा कुरा भनेको हुस्सुभित्र र बरफका ढिक्का हुँदै साउथ समिटतर्फ जाँदाको वर्णन हो।"
पिटर थप्छन्: "वहाँले भनेअनुसार वहाँ अगाडि हुनुहुन्थ्यो जहाँ पाइला सार्ने क्रममा हिउँ परिरहेको थियो र कमजोर बरफहरू टुक्रिँदै भिरालोबाट तिब्बतर्फ खसेका थिए।"
खराब मौसमी अवस्थाबीच समेत उनीहरू अगाडि बढिरहे।
अन्य हिमाल भएको भए त्यो त्यहीँ थाति राख्दै बुवा अर्को दिन फर्कनुहुन्थ्यो होला भन्ने पिटर ठान्छन्।
तर अन्तरआत्माले त्यसदिन बुवालाई अघि बढिरहन हौस्याएको हुनसक्ने उनी ठन्छन्।
जब उनीहरू चुचुरोमा पुगे उनीहरूसाथ अक्सिजन कम भइसकेको थियो।
झन्डै १५ मिनेट विश्वको उच्च स्थानमा बसेपछि उनीहरू तल झरेका थिए।
त्यो खास तस्बिर

तस्बिर स्रोत, ullstein bild via Getty Images
तेन्जिङले बौद्धधर्म अनुसार ईश्वरका लागि प्रसाद टक्र्याए जसरी केही मिठाई र बिस्कुट हिउँमा पुरे।
एडमन्ड हिलरीले त्यस सेरोफेरोका कैयौँ तस्विर लिए। तेन्जिङले ब्रिटेन, नेपाल, संयुक्त राष्ट्रसङ्घ र भारतको झन्डा बोकेको तस्विर समेत उनले खिचे।
तर चुचुरोमा हिलरीको कुनै तस्बिर छैन।
पिटर सम्झिन्छन्, "बुवाले ठट्टा गर्नुहुन्थ्यो कि वहाँलाई थाहा भएसम्म उनले त्यसअघि क्यामेरा प्रयोग गरेका थिएनन् र सिकाउने सुरु गर्ने त्यो ठाउँ थिएन।"
त्यसको दशकौँपछि पिटर र जाम्लिङले सगरमाथा चढ्दा दुवैले आफ्ना बुवाहरूले पार गरेका अज्ञात भूभाग थाहा पाए।
पिटरले बीबीसीलाई भने: "मैले सबैभन्दा पहिले सन् १९९० मा आरोहण गरेँ। त्यसबेला मैले बुवाबारे मात्र सोचिरहेँ। जब म हिलरी स्टेप पुगेँ मैले मेरो बुवाले देखेको कुरा देखेँ। मैले उही अनुभव गरेको थिएँ। त्यो निकै भावुक क्षण थियो।"
जाम्लिङले सन् १९९६ मा धार्मिक र व्यक्तिगत कारणले 'आरोहण' गरेका थिए।
जाम्लिङ र उनका बुवा दुवै शेर्पा हुन्।
तिब्बत थातथलो भएका शेर्पा जाती पर्वतारोहणमा हुने खास सीप एवं दक्षताका लागि परिचित छन् जो हिमालयसँग आध्यात्मिक सम्बन्ध रहेको ठान्छन्।
"मेरो लागि त्यो खासमा तीर्थाटनजस्तो भयो। मैले मेरो धर्म र परम्परासँग अझ राम्ररी जोडिने र मेरो बुवा कस्तो क्षणबाट त्यहाँ पुग्नुभएको थियो भन्ने बुझ्न चाहेको थिएँ।"
निकै भिडभाड

तस्बिर स्रोत, Getty Images
बर्सेनि सगरमाथाको चुचुरोमा निकै धेरै मानिसहरू पुगिरहँदा समेत जाम्लिङ र पिटर दुवैले आफ्ना बुवाहरूको जस्तो उच्च आमप्रसंशाको नजिक पुगेजस्तो ठान्दैनन्।
गत मङ्गलवार कामिरिता शेर्पा आफ्नै कीर्तिमान भङ्ग गर्दै २८औँ पटक चुचुरोमा पुगे। एक साता बीचमा उनले आफ्नै कीर्तिमान आफैले भङ्ग गरेका हुन्।
तर उनी छिट्टै संन्यास लिनेबारे केही नसोचेको बताउँछन्।
त्यो सम्भवत: पासाङ दावाका कारण पनि हुनसक्छ जो २७ पटक चुचुरो पुगे र अझै आफ्नो यात्रा जारी रहने बताएका छन्।
महिलातर्फ लाक्पा शेर्पाले गतवर्ष १० पटक आरोहण गर्दै उच्च कीर्तिमान कायम गरेकी छन्।
ती कुनै घरघरमा चर्चा हुने नाम होइनन्।

तस्बिर स्रोत, Getty Images
जाम्लिङ थप्छन्: "मेरो बुवाको समयको तुलनामा आरोहण अहिले निकै सहज बनेको छ। प्रविधिले निकै सघाएको छ। आरोहणपछि कतिपयले क्याम्प टुबाटै हेलिकप्टरमा काठमाण्डू फर्कन थालेका छन्। पहिल्यै सबै बाटो तय गरिन्छ, शेर्पाहरूले अक्सिजन र अन्य उपकरण बोकेर पुर्याउँछन्।"
"साहसिक कामको रोमाञ्च नै छैन। यो फोटो खिच्नका लागि गरिने काम भयो। उनीहरू रमाउनका लागि आरोहण गरिरहेका छैनन्।"
पिटर आंशिक रूपमा त्यसमा सहमत छन्। "आधार शिविरदेखि चुचुरोसम्म हामीसँग अनन्त डोरी हुन्छ, हिम दरारहरूमा भर्याङहरू हुन्छन्, क्याम्पहरूमा तातो चिया बोकेका शेर्पाहरू हुन्छन्। ६,३०० देखि ६,५०० मिटरबीचबाट हेलिकप्टरमा उद्धार हुन सम्भव छ।"
"तर पनि हिमाल उही हो। यो चुनौतीपूर्ण अवस्थासहितको ठूलो हिमाल हो।"
वास्तविकताभन्दा प्रस्तुति कमजोर देखाइएको छ।
किनकि पछिल्ला १०० वर्षमा ३०० भन्दा धेरै आरोहीले त्यहाँ ज्यान गुमाएका छन्।
यस याममा मात्र मृत्यकको सङ्ख्या कम्तीमा ११ पुगेको छ।
"हिमालले तपाईँलाई प्रकृतिको सम्मान गर्न सिकाउँछ," जाम्लिङ भन्छन्।
"हामी यस ग्रहमा पाहुना मात्र हौँ।"












