सगरमाथा दिवस: यी नेपाली जसले धेरैथोक गुमाएर पनि हासिल गरे सर्वोच्च शिखरको नयाँ उचाइ

तस्बिर स्रोत, DEPARTMENT OF SURVEY, NEPAL
- Author, स्वेच्छा राउत
- Role, बीबीसी न्यूज नेपाली
कसैले शरीरमा लात्ता हानिरहेको महसुस हुँदा उनी अर्धचेत थिए। बिस्तारै आँखा खोलेर वरपर हेर्ने कोसिस गरे। अग्लो कद भएका दुई विदेशीमध्ये एक जनाले अङ्ग्रेजीमा भने: "जिउँदै छ, जिउँदै छ!"
आफ्नो शरीरलाई कसैले मृत ठानेर चलाइरहेको थाहा पाउँदा खिमलाल गौतम झसङ्ग भए।
त्यसपछि देखिएको नीलो आकाश र हिउँले सेताम्मे बनाएको भुईँ एवम् परपरसम्म मानिसहरू नदेखेपछि आफू बेहोस भएको यकिन गरे। कहाँ र कति समयदेखि बेहोस भए भन्ने चाहिँ पत्तो पाएनन्।
गौतम भन्छन्, "आनन्दको निद्राबाट कसैले ब्युँझाइदिएको जस्तो लाग्यो। तर उठेपछि थाहा पाएँ म त्यहाँ बेहोसमै लडिरहेको करिब दुई/तीन घण्टा भइसकेको थियो।"
"साथीहरू त मलाई छोडेर अगाडि लागेछन्। तर झन्डै मरेको थाहा पाउँदा भने अलग तरङ्ग पैदा भयो।"
यो अनुभव २०७६ सालको सुरुवातमा नेपालले पहिलो पटक सगरमाथाको उचाइ मापन गर्न चुचुरो अवलोकन तथा सर्वेक्षण गर्न पठाएको समूहका संयोजक गौतमको हो।
गौतम बोल्दै गर्दा आफूले सुनाइरहेको घटनाक्रम पुष्टि गर्न कहिले ल्यापटपमा रहेको भिडिओ वा तस्बिरहरू देखाउँथे त कहिले त्यसबारे आफूले गरेको लिखित टिपोट।
सगरमाथाको चुचुरोमा पुगी तथ्याङ्क सङ्कलन गरेर फर्किँदा घण्टौँ बेहोस भएको घटनाबारे बीबीसीलाई सुनाइरहँदा उनी केही भावुक थिए।
उनले भने, "त्यस दिन मलाई केही भएको भए धेरै तथ्यहरू नभनिएका कथाजस्तै बन्थे।"
बेहोस हुनुअघि दिउँसोको करिब एक बजेको हुनसक्ने उनको अनुमान छ।
"हावा चलिरहेको थियो। हामी निकै थाकिसकेका थियौँ। शरीर गह्रौँ महसुस भएको थियो र खुट्टा ढिला अघि सरिरहेको थियो," उनले सम्झिए।
उनको समूहसँग खानेपानी सकिएको थियो। आठ हजार दुई सय मिटरको उचाइमा पुग्दा उनी थकाइ मार्न बसेका थिए। त्यसपछि के भयो र सहआरोहीहरू कहाँ पुगे पत्तो पाएनन्।
त्यस अप्ठ्यारो परिस्थितिसँग जुध्ने उनी एक्लो मानिस भने थिएनन्। समूहका अन्य आरोहीले पनि उस्तै अवस्था भोगेको गौतम बताउँछन्।
फेर्ने सासको अभाव

तस्बिर स्रोत, Khimla Gautam's facebook
अक्सिजनको सिलिन्डर रित्तिँदै जानु भनेको फेर्ने सास रित्तिनु सरह थियो।
त्यो अवस्थामा उनको समूहसँग मागेर काम चलाउनुको विकल्प थिएन। आठ हजार छ सय मिटरको उचाइमा अक्सिजन सहजै पाउनु कहाँ सम्भव थियो र?
गौतम भन्छन्, "हाम्रा सहयोगी शेर्पाले अक्सिजन जुटाए। त्यसको सहारामा हाम्रा एक साथी केही क्षणमै बेहोसीबाट उठ्नु हाम्रो लागि खुसीको कुरा थियो।"
"तर केही समयपछि म आफै त्यसरी बेहोस अवस्थामा भेटिन्छु भन्ने कल्पना समेत गरेको थिइनँ," गौतमले सम्झिएँ।
गौतमको समूह रहर पूरा गर्न वा कुनै कीर्तिमान कायम राख्न सगरमाथा चढेका थिएनन्।
उनीहरू राज्यले दिएको 'ऐतिहासिक' जिम्मेवारीको भारी बोकेर त्यहाँ पुगेका थिए।
गौतम नापी विभागका प्रमुख नापी अधिकृत हुन्।
एक निजामती कर्मचारीको हैसियतमा पाएको जिम्मेवारी निर्वाह गर्ने हुटहुटीले गौतमलाई सगरमाथाको चुचुरोसम्मै पुर्यायो। उनको समूहले आवश्यक तथ्याङ्क पनि लिएर आयो।
नेपाल र थुप्रै नेपालीका निम्ति गौरवको विषय बनेको सगरमाथाबारे राज्यको आफ्नै जनशक्ति र प्रविधिहरूको प्रयोगबाट तथ्याङ्क प्राप्त हुनुलाई जानकारहरूले पनि ऐतिहासिक उपलब्धिको रूपमा व्याख्या गरेका छन्।
तर आरोहणको तयारीदेखि फर्किँदासम्म बितेका दुई महिनामा गौतमको निजी जीवनमा जेजस्ता घटना घटे, ती भने सुखद रहेनन्।
खुट्टाको औँलादेखि सन्तान गुम्नुको पीडा
काठमाण्डू फर्कँदा उनको दुवै खुट्टाका बुढी औँलाहरू हिँउले खाएको थियो।
चिकित्सकले देब्रे खुट्टाको औँलामा भएको घाउले गर्दा औँला नै नरहने बताउँदा आफ्नो आङ जिरिङ्ग भएको उनी सम्झन्छन्।
"तर जीवनमा गुमाउनु पर्ने कुराहरू धेरै हुन्छन्। गुमेका चिज वा मानिसले गहिरो घाउ दिन्छन्, औँलाको चोटभन्दा पनि पीडादायी...," उनको गह आँसुले भरियो।
केहीबेरको मौनतापछि उनी केही सम्हालिए अनि आरोहण सुरु हनुअघिको परिस्थितिको पोयो फुकाउन थाले।
२०७५ साल फागुनको अन्त्यतिर उनको टोली तालिमको लागि लाङटाङतर्फ लाग्यो। त्यसै समयको आसपास उनकी श्रीमती हेमा दिल्ली जाँदै थिइन्।
लाङटाङमा नेपाल सरकारले वर्षौँदेखि प्रयास थालेको कार्यको तयारी हुँदै थियो। दिल्लीमा खिमलाल र हेमाले वर्षौँदेखि चाहेको खुसीको खोजी।
सन्तान चाहेको सात वर्षपछिसम्म पनि गर्भ नरहनुले आफूहरूलाई दुःखी तुल्याएको उनी बताउँछन्। आठौँ वर्षमा रहेको गर्भ खेर जानुले थप सन्ताप थपेको थियो।
"म सगरमाथा सर्वेक्षण गर्न जाने तय हुँदा हेमा पुनः गर्भवती हुनुले आशा जगाएको थियो। हाम्रो खुसीको सीमा थिएन। हामीले सोचेको पूरा हुँदै थियो।"
"तर म उनीसँग हुन सकिनँ।"
दिल्लीमा चिकित्सकको निगरानीमा रहेकी हेमाले गर्भ सुरक्षित राख्न प्रयत्न गरिरहँदा गौतम विभिन्न शिविरहरूमा उद्देश्य प्राप्तिका निम्ति सङ्घर्ष गरिरहेका थिए।

तस्बिर स्रोत, DEPARTMENT OF SURVEY, NEPAL
सर्वेक्षण सफल तुल्याएर फर्किएपछि पनि उनी उक्त योजनासँग सम्बन्धित कार्यक्रम र यात्राहरूमा व्यस्त रहे।
हिउँले खाएका चोटहरूको दुखाइ त थिए नै। त्यसैबीच उनीहरूको सन्तान जन्मियो, तोकिएको समयभन्दा तीन महिना अगावै।
कम तौल र अस्वस्थताले उनीहरूको छोराको अवस्था चिन्ताजनक थियो। सुधारको आशा र उपचारबीच जन्मिएको पाँच महिनामा शिशुको मृत्यु भयो।
आफ्नो पुस्तक 'पन्ध्रौँ चुली'मा गौतमले लेखेका छन्,"म सगरमाथाको शिखरमा नगएको भए हेमालाई त्यति धेरै तनाव हुँदैनथ्यो होला। तनाव नभएको भए अपरिपक्व बच्चा जन्माउनु पर्दैनथ्यो होला।"
इच्छा, सङ्घर्ष र उपलब्धि
यद्यपि हालसम्म सगरमाथाको उचाइसम्बन्धी काम गर्ने विज्ञमध्ये शिखरसम्मै पुग्ने दुई व्यक्तिमध्ये एक हुनुमा उनी गौरवान्वित छन्। उनका सहयात्री रविन कार्की थिए।
यसअघि २०६८ सालमा सगरमाथा चढेका उनी ती निजामती कर्मचारीहरूको समूहमा थिए जसमा उनी, तत्कालीन सचिव लीलामणि पौडेल, तत्कालीन सहसचिवहरू दुर्गाप्रसाद भट्टराई, लक्ष्मण भट्टराईलगायत पन्ध्र जना थिए।
उक्त आरोहणबाट फर्किए लगत्तै एक संस्मरणमा उनले लेखेका थिए: "कुनै दिन नेपालले सगरमाथाको उचाइ मापन गर्ने नेतृत्व लिएको खण्डमा म चुचुरोमै पुगेर काम गर्नु परे पनि पछाडि हट्दिनँ।"
त्यसको आठ वर्षपछि उनले सर्वेक्षण गर्ने समूहको नेतृत्व गर्न पाए। उनीहरूले ल्याएको तथ्याङ्कको अन्य प्राविधिक तथा विज्ञहरूले विश्लेषण तथा शुद्धीकरण गरे।
नेपालले नयाँ उचाइको घोषणा गर्ने अन्तिम तयारी भइरहँदा चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल भ्रमणमा आए।

तस्बिर स्रोत, Khimlal Gautam's facebook
त्यस समय बेइजिङ र काठमाण्डूले नेपालमा सगरमाथा र तिब्बतमा झोमुलङ्मा भनिने यस हिमालको उचाइ संयुक्त रूपमा सार्वजनिक गर्ने सहमति भएको थियो।
उक्त समझदारी अनुरूप सन् २०२० डिसेम्बर ८ मा कोभिड महामारीबीच दुई देशले संयुक्त रूपमा सगरमाथाको नयाँ उचाइ ८,८४८.८६ मिटर भएको घोषणा गरे।
नयाँ उचाइ त्यसअघि नेपालले मानिआएको भन्दा ८६ सेन्टिमिटरले बढी हो। चीनले भने यसअघि सगरमाथाको उचाइ ८,८४४.३३ मिटर रहेको बताउँदै आएको थियो।
नयाँ उचाइको महत्त्व के?
उक्त घोषणापछि बेलायत, भारत, अमेरिका, चीन वा इटालीले विश्वकै सर्वोच्च शिखर सगरमाथाको उचाइ घट्यो वा बढ्यो भन्नेबारे दिने जानकारीमाथि निर्भर हुनु पर्ने दिनको अन्त्य भएको भूगोल तथा सीमाविद् बुद्धिनारायण श्रेष्ठको धारणा छ।
"हाम्रो देशमा सगरमाथा कसैले बढ्यो वा घट्यो भन्दा विश्वास गर्नुपर्थ्यो। त्यसलाई नेपालले आफ्नो स्रोतसाधन, जनशक्ति, प्राविधिक र उपकरणहरूको प्रयोग गरेर नापी गर्नु नेपालको निमित्त गौरवको कुरा हो," श्रेष्ठले भने।
नेपालको सम्पदाको मूल्याङ्कन गर्ने अधिकार नेपाललाई नै रहेको र यस पटक वैज्ञानिक तवरले अवलोकन र सर्वेक्षण गरेपछि प्राप्त परिणाम घोषणा गर्नुलाई उनले "इज्जत"को संज्ञा दिए।
"प्राविधिक, अध्ययनकर्ता तथा नापी विभागका कर्मचारीहरूले निकै सङ्घर्ष गरेर आफ्नो सम्पदाको आफै मूल्याङ्कन गरे।"
कसरी भयो मापन
नापी विभागले पारम्परिक तथा आधुनिक विधि दुवै अपनाएको विज्ञ श्रेष्ठको भनाइ छ।
गौतम र कार्कीले जीएनएसएस भनिने रिसिभर राखेर स्याटलाइटको सहायतामा तथ्याङ्क सङ्कलन गरेका थिए।
आवश्यक जनशक्ति र उपकरणहरूको अभाव, प्रविधिको टुङ्गो नलाग्नु, शिखर आरोहणको तालिम, समय र रकम अभावका कारण नेपालले नै मापन गर्ने काम ढिला भएको उनको ठहर छ।
"तर अब नेपाल यस काममा सक्षम देखिएको छ," उनले भने।
कसरी बन्यो मापन योजना?
सर्भेयर गौतमका अनुसार २०७२ सालमा विनाशकारी भूकम्प भएपछि भूगोलसम्बन्धी उब्जिएका प्रश्न र जिज्ञासा सम्बोधन गर्ने क्रममा सगरमाथाको उचाइ मापन गर्ने योजना बनेको हो।

तस्बिर स्रोत, Department of Survey, Nepal
"भूकम्पका कारण संसारभरका भूगोलसम्बन्धी वैज्ञानिकहरूमाझ सगरमाथाको उचाइ घटेको चर्चा चल्यो। त्यो कुरा सत्य हो या होइन भन्ने पत्ता लगाउन विभागले काठमाण्डूको भुगोलमा आधारित रहेर अनुसन्धान गर्यो," उनले भने।
त्यस अनुसन्धानबाट प्राप्त तथ्याङ्कलाई पुराना तथ्याङ्कसँग तुलना गर्दा राजधानीको उचाइ ९२ सेन्टिमिटर बढेको र दक्षिण पश्चिम भेग १.५ मिटर सरेको देखियो।
"त्यसपछि सगरमाथाको उचाइ सर्वत्र चासोको विषय बन्यो र विभागले आफ्नै बलबुतामा त्यसको नाप लिने तयारी थाल्यो," उनले भने।
त्यतिबेला आफूलाई नेपालीले "सगरमाथाबारे गर्व गर्नेबाहेक अरू काम नै गरेका रहेनछौँ" भन्ने महसुस भएको गौतम बताउँछन्।
अन्य शिखरहरूको खोजी
अन्य आरोहीहरू सबैको यात्रा चुचुरोमा पुगेर सकियो।
तर सर्वेक्षणमा गएकाहरूको भने त्यहाँ पुगेर बल्ल सुरु भयो। अरू झन्डा ठड्याएर फोटो खिचेर फर्कँदै गर्दा उनीहरू कम्प्युटर खोल्न, उपकरण जडान गर्न र तथ्याङ्क लिन थाले।
बिहानको ३ बजे शिखरमा पुगेका उनीहरू दुई घण्टासम्म त्यहाँ रहे।
"हामी त्यहाँ पुग्नु सफलता थिएन। किनकि हाम्रो लक्ष्य आरोहण होइन मापन थियो र त्यसका लागि काठमाण्डू फर्किएर अझै धेरै काम गर्नु थियो," गौतमले भने।
माछापुच्छ्रे चुचुरोबाट २० किलोमिटर दक्षिणमा अवस्थित गाउँ धितालमा जन्मे हुर्केका गौतमलाई हिमालहरूले कहिल्यै रोमाञ्चित तुल्याएन।
"अहिले मलाई परबाट कुनै हिमाल देख्दा अपनत्व महसुस हुन्छ। त्यो मेरो ठाउँ हो जस्तो लाग्छ। नचिनेको हिमालबारे थाहा पाउन मन लाग्छ।"
राज्यले अन्य हिमालहरूको पनि मापन, संरक्षण र प्रचारमा जोड दिनु पर्ने उनको विचार छ।
"हाम्रो प्रकृति र स्रोतका लागि जति गर्नु पर्ने हो त्यति नभएको सत्य हो," उनले भने।
"सरकारले सर्वेक्षण, अनुसन्धान र प्रयोगहरूमा लगानी बढायो भने प्रतिफल दीर्घकालीन हुन्छ। हामीलाई अझै थुप्रै शिखरहरू उक्लने प्रेरणा मिल्छ।"









