लाक्पा शेर्पा: आफ्नै कीर्तिमान तोड्दै दशौँ पटक सगरमाथा आरोहण

लाक्पा शेर्पा यो वर्ष दशौँ पटक सगरमाथा चढ्ने प्रयासमा छिन्

तस्बिर स्रोत, Lhakpa Sherpa

तस्बिरको क्याप्शन, लाक्पा शेर्पा यो वर्ष दशौँ पटक सगरमाथा चढ्ने प्रयासमा छिन्

लाक्पा शेर्पाले ४८ वर्षको उमेरमा दशौँ पटक सगरमाथा आरोहण गरेकी छन्।

उनका भाइले सामाजिक सञ्जालमा शेअर गरे अनुसार र नेपाली पर्यटन अधिकारीहरूले पुष्टि गरे अनुसार उनी दशौँ पटक सगरमाथा आरोहण गर्ने पहिलो महिला हुन्।

एकल आमा रहेकी शेर्पा हिमालय क्षेत्रमा एउटा गुफामा जन्मिएकी हुन्। उनले औपचारिक शिक्षा पाएकी छैनन् र पेट पाल्न भाँडा माझ्ने लगायतका काम गरेकी छन्।

उनले यसअघि सन् २०१८ मा सगरमाथा आरोहण गरेकी थिइन्।

"पहिलो पटक सगरमाथाको टुप्पोमा पुग्दा मलाई आफ्नो सपना पूरा भएको जस्तो लागेको थियो," बिहीवारको आरोहणमा जानुअघि उनले बीबीसीसँग भनेकी थिइन्।

"मैले सोचेँ अब गृहिणी मात्रै बनेर बसेर भएन अनि।"

"मैले शेर्पा संस्कृति परिवर्तन गरेँ अनि शेर्पा महिला र नेपाली महिलाको स्थिति परिवर्तन गरेँ भन्ने सोचेँ। मलाई घर बाहिरको संसार खुब मन पर्‍यो, मैले त्यो भावना सबै महिलालाई बाँड्न चाहेँ।"

लाक्पा सन् २०१६ मा बीबीसीका तर्फबाट विश्वभरका १०० जना प्रभावशाली प्रेरणादायी महिलाका रूपमा बीबीसी १०० विमिन सूचिमा परेकी थिइन्।

आरोहणमा जानु अघि तयारीमा लाक्पा

तस्बिर स्रोत, Lhakpa Sherpa

तस्बिरको क्याप्शन, आरोहणमा जानु अघि तयारीमा लाक्पा

लाक्पा सगरमाथाको चुचुरोमा पुगेको समाचार उनका भाइ मिङ्मा गेलु शेर्पाले सामाजिक सञ्जालमा राखेका थिए।

उनका अनुसार लाक्पा सगरमाथाको चुचुरोमा नेपाली समय अनुसार बिहान ६;१५ मा पुगेकी थिइन्।

पर्यटन अधिकारी भीष्मकुमार भट्टराईले उनी चुचुरोमा पुगेको रोयटर्स समाचार संस्थासँग पुष्टि गरेका थिए।

यसअघि आधारशिविरबाट उनकी १५ वर्षकी कान्छी छोरी शाइनीले आफूले आमाको आरोहण गतिविधि नियालिरहेको र निकै रोमाञ्चित बनेको बताएकी थिइन्।

उनले भनिन् "मेरी आमा मेरा लागि प्रेरणा स्रोत हुन्। उनीसँग केही नहुँदा पनि उनले कति धेरै प्रगति गरिन्।"

भिडिओ क्याप्शन सुरु हुँदैछ, कीर्तिमानी सगरमाथा आरोही लाक्पा शेर्पा

तर लाक्पाको कडा मेहनत अनुरूपको समृद्धि र सम्मान भने अहिलेसम्म पाएकी छैनन्।

"म गुफामा जन्मेकी थिएँ" उनले हाँस्दै भनिन्, "मलाई मेरो जन्मदिन पनि थाहा छैन। मेरो पासपोर्टमा म ४८ वर्ष पुगेँ।"

"म बाल्यकालमा भाइलाई घण्टौँ बोकेर स्कूल पुर्‍याउन गएको सम्झन्छु। त्यसबेला केटीहरूलाई विद्यालय जान मनाही थियो।"

कृषि उनको गाउँको मुख्य पेसा थियो। त्यहाँ बिजुली थिएन।

"म सगरमाथाको नजिकै हुर्केकी हुँ। मैले घरबाटै सगरमाथा हेर्न सक्थेँ। सगरमाथाले अहिले पनि मलाई प्रोत्साहित र रोमाञ्चित बनाउँछ।"

भिडिओ क्याप्शन सुरु हुँदैछ, आरोही टासिलाक्पा शेर्पा भन्छन्, 'पृथ्वीको अर्को ध्रुव पुगेर कीर्तिमान बनाउन आतुर छौँ'

पहिलो पटक सन् १९५३ मा सगरमाथा आरोहण मानवलाई सफलता मिलेपछि हरेक वर्ष थुप्रै मानिसले सगरमाथा चढ्ने गरेका छन्।

जो सगरमाथा चढ्न जान्छन् उनीहरूले अनिवार्य रूपमा शेर्पा गाइड र भरिया लग्ने गर्छन्। लाक्पाजस्ता केही शेर्पाहरू भने आफै सगरमाथा आरोही बन्ने गर्छन्।

सगरमाथा आरोहणको काम सजिलो भने थिएन। उनका आफ्नै बाबुआमाले पनि उनको आरोहण इच्छा स्वीकारेका थिएनन्।

उनले बीबीसीलाई भनिन्, "मेरी आमा भन्नुहुन्थ्यो मेरो कहिल्यै बिहे हुनेछैन।"

"आमाले हिमाल आरोहणको कामले म पुरुष जस्तो बन्ने र मलाई कसैले बिहे गर्न नचाहने चेतावनी दिनुभएको थियो। गाउँलेहरूले त्यो पुरुषको काम भन्दै हिमाल चढ्न गए मेरो मृत्यु हुने भन्थे।"

आफ्ना छोरीहरूका साथ लाक्पा शेर्पा

तस्बिर स्रोत, Lhakpa Sherpa

तस्बिरको क्याप्शन, आफ्ना छोरीहरूका साथ लाक्पा शेर्पा

सबै कुरा एकातिर पन्छ्याएर उनी सन् २००० मा पहिलो पटक सगरमाथाको चुचुरोमा पुगिन्। सन् २००३ मा उनले तेस्रो पटक चढिन् त्यसपछि पनि रेकर्ड राख्दै गइन्।

सन् २००३ का बेला उनका भाइ र बहिनी र उनी गरेर तीन जना एकसाथ सगरमाथा चढेर गिनिज बुक अफ वर्ल्ड रेकर्ड राखेका थिए। त्यसपछि अन्य रेकर्ड राखिँदै गए।

त्यसपछि उनले अमेरिकामा बस्ने रोमानियामा जन्मेका आरोही जर्ज डिमारेस्कुसँग बिहे गरिन् र उनैसँग पाँच पटकसम्म सगरमाथा आरोहण गरिन्।

बिहे गरेपछि उनी अमेरिका बसाइँ सरिन्। तर उनको सन् २०१५ मा सम्बन्धविच्छेद भयो।

भिडिओ क्याप्शन सुरु हुँदैछ, सगरमाथामा राजु लामाको एकल कन्सर्ट

लाक्पा अहिले कनेक्टीकट राज्यमा उनका दुई छोरीसँग बस्छिन्। त्यस अघिको सम्बन्धबाट उनको एक छोरा पनि छन्।

सुरुका आरोहणमा उनले सगरमाथाको चुचुरोमा नेपाली झन्डा गाड्ने गर्थिन् तर यस पटक उनले अमेरिकी झन्डा गाडिन्।

तर उनको प्रगतिले सञ्चारमाध्यममा खासै ठाउँ पाउन वा प्रायोजक पाउन सकेको छैन। कैयौँ वर्षसम्म उनले गुमनाम र न्यूनतम ज्यालामा काम गरिन्।

उनले भनिन् "मैले बूढाबूढीको स्याहार गरेँ, घर सफा गरेँ र भाँडा माझेँ।"

लाक्पालाई सगरमाथाकी रानी पनि भन्ने गरिन्छ तर वास्तविकतामा उनले आधारभूत कुराको पैसा तिर्न पनि सङ्घर्ष गर्नुपरेको छ।

"म धेरै पैसा कमाउँदिनँ। मसँग कहिलेकाहीँ लुगा किन्न या कपाल काट्ने पैसा छैन। म त मेरा बच्चाहरूको रेखदेख गरेर अर्कोपल्ट सगरमाथा फर्कनमा केन्द्रित हुने गरेकी छु," उनले भनिन्।

तर उनले आरोहणको आफ्नो रुचि कायमै राखिरहिन्। उनी दुई पटक गाइडका रूपमा चढिन् अरू कति पटक मित्र र परिवारले सहयोग गरे।

पर्वतारोहणमा जति खतरा छ त्यसबाट प्राप्त हुने उपलब्धि त्यति छैन तर त्यसले उनलाई गाउँको सामान्य जीवनबाट बाहिर ल्याउन सहयोग गरेको ठान्छिन्।

उनले अङ्ग्रेजी बोल्न थालेपछि केही परिवर्तन देखिन थाल्यो। उनले अन्तरवार्ता दिन थालिन् र विभिन्न अवसरमा बोल्न थालिन्।

सगरमाथा चढेर शेर्पाको र नेपाली संस्कृति बदलेको लाक्पा ठान्छिन्

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, सगरमाथा चढेर शेर्पाको र नेपाली संस्कृति बदलेको लाक्पा ठान्छिन्

नवौँ आरोहणका लागि उनले प्रायोजक पाइन्। दशौँका लागि उनले क्राउड फन्डिङबाट पैसा जुटाइन्।

आरोहण सुरु गर्नुअघि उनी सधैँ प्रार्थना गर्छिन्। सुरक्षित रहनु उनको सबभन्दा पहिलो प्राथमिकता हो।

सगरमाथामा ३०० जना भन्दा बढी मानिसको आरोहणका क्रममा मृत्यु भएको छ त्यसैले हिउँमा जमेर रहेका शवहरू हेर्दै माथि उक्लनुपर्छ।

उनी भन्छिन्, "हिमालले मौसम तय गर्छ"।

"म खराब मौसममा प्रतीक्षा गर्छु। हामी हिमालसँग लड्न सक्दैनौँ।"

८,००० मिटर पार गरेपछि उनलाई अनौठो महसुस हुन्छ।

"केही खान सकिन्न र सबै कुरा जमेको हुन्छ। राति हिमाल चढ्नुपर्छ कि दिउँसोको उज्यालोमा तल झर्न सकियोस्। यो डरमर्दो छ।"

लाक्पा शेर्पा

तस्बिर स्रोत, Lhakpa Sherpa

आरोहीहरूले चुचुरोमा निकै कम समय बिताउन पाउँछन्। लाक्पाका लागि त्यो जम्मा पाँचदेखि १० मिनेटको समय हो। त्यसबेला उनी तस्बिरहरू खिच्ने र आफूलाई सहयोग दिनेहरूको स्मरण गर्छिन्।

यस पटकको आरोहणपछि अवकाश लिने उनको कुनै योजना छैन। उनी संसारको दोस्रो अग्लो केटू हिमाल चढ्न चाहन्छिन्।

उनी भविष्यमा आफ्ना छोरा र छोरीसँग सगरमाथा आरोहण गर्न चाहन्छिन् ।

"किनभने हिमाल आरोहण मेरो रुचि हो र म त्यही गरिरहन चाहन्छु।"

"मेरो चुनौतीपूर्ण जीवन थियो।"

"हिमालयले मलाई खुसी र आनन्दित बनाएका छन्। म कहिले हार खाने छैन। म जवान महिलाहरू हार नखाउन् भन्ने चाहन्छु।"