राजधानी जोड्ने राजमार्गहरू अवरुद्ध हुँदा यात्रीलाई सास्ती

    • Author, विनिता दाहाल
    • Role, बीबीसी न्यूज नेपाली

सुर्खेतको छिन्चुबाट काठमाण्डू आउँदै गरेकी मनकुमारी खत्री शुक्रवार साँझदेखि शनिवार दिनभरि नै गाडी गुड्न नसक्दा सडकमै अलपत्र परेकी छन्।

तीन दिनअघि सुर्खेतबाट बसमा आएकी उनी शुक्रवार साँझ नारायणगढ-मुग्लिन सडक खण्डमा पहिरोले बाटो अवरुद्ध भएपछि रातभरि खानापानी बिनै सडकमै अलपत्र परेको बताउँछिन्।

"पहिरो खुस्नुभन्दा अलि अगाडि पाँच बजेतिर यहाँ आइपुगेका थियौँ, त्यसपछि रातभरि यहीँ बास भयो," उनले भनिन्।

"पानी छैन, खाना छैन। जङ्गलको बाटो यहाँ नजिक पसलहरू पनि छैन। यहाँबाट एक किलोमिटर टाढा पुगेर चाउचाउ र पानी किनेर खायौँ।"

बुटवलबाट काठमाण्डू आउँदै गरेका ध्रुवले निकै कठिन यात्रा गर्दै त्यहाँसम्म आइपुगे पनि यात्रा फेरि अवरुद्ध भएको बताए।

बुटवलबाट दाउन्नेको दुम्कीवास पुग्नै करिब १४ घन्टा लागेको दुखेसो उनले पोखे।

"त्यहाँबाट यहाँ आएर फेरि रातभरि जाममा परियो। पानी पनि छैन केही छैन। रातभरि यहीँ बसियो। पहिरो कुनबेला खुल्ने हो। जान लागेको काठमाण्डू अब अगाडि जाउँ भने पनि बाटो छैन अब उता जाउँ भने पनि बाटो छैन," उनले भने।

जाममा फसेको ठाउँ नजिक पसल पनि नभएका कारण अलि टाढा रहेको पसलमा पुगेर चिया खाएको उनले बताए।

ध्रुव र मनकुमारीजस्तै हजारौँ यात्रु अहिले नारायणगढ-मुग्लिन सडक खण्डको चितवनस्थित इच्छाकामना गाउँपालिका वडा नम्बर ५ तुइनखोलामा सडक माथिबाट सुख्खा पहिरो खसी बाटो पूर्ण रूपमा अवरोध हुँदा अलपत्र परेका छन्।

बाटोको अवरोध हट्न कति समय लाग्ला?

गाडी आवागमनमा असर परेको क्षेत्रमा पहिरो हटाउन सडक डिभिजन भरतपुरका कर्मचारीहरू उक्त स्थलमा पुगेका छन्।

तर भिरमाथिबाट ढुङ्गा खस्ने क्रम नरोकिएपछि अवरोध हटाउने काममा लामो समयसम्म जुट्न नसकिएको सडक डिभिजन भरतपुरका साइट इन्जिनिअर अर्जुन घिमिरेले बताए।

उनका अनुसार उचाईबाट खस्ने सानै ढुङ्गाले पनि जोखिम निम्त्याउनसक्ने भएका कारण अवरोध हटाउन नसकिएको बताए।

"हामी अहिले यहाँ तुइन खोलामा छौँ। यहाँ माथिबाट ढुङ्गा खस्ने समस्या लामै समयदेखिको हो। जेठ महिनायता मात्रै यो ठाउँमा करिब ४८ घन्टा अवरोध भइसकेको छ," साइट इन्जिनिअर घिमिरेले भने।

"अहिलेको चाहिँ सबैभन्दा लामो अवरोध हो। हिजो (शुक्रवार) साँझ साँढे ६ बजेदेखि सुरु भएको यत्तिको चाहिँ अहिलेसम्म खसेको थिएन। माथिको पूरै डाँडा नै खसेको छ।"

पहिरो खस्ने क्रम जारी नै रहेको र अलिअलि गर्दै पन्छाइरहे पनि पूर्ण रूपमा पहिरो खस्न रोकिएपछि मात्रै सफा गर्नसकिने उनले बताए।

"पूर्ण रूपमा रोकिएपछि सफा गर्न सजिलो हुन्थ्यो। रोकिएको खण्डमा हाम्रो ६ वटा मेसिन परिचालन हुन्छ। त्यसपछि सफा गर्नलाई कम्तीमा पाँच घन्टा लाग्छ," उनले भने।

"७० मिटरमाथिबाट ढुङ्गा खसिरहेकोले सानो ढुङ्गा खस्दा पनि ठूलो असर पर्छ। अनि यो पहिरोले कभर भएको क्षत्र करिब १६० मिटर लम्बाइ रहेको छ। माथिबाट ढुङ्गा खसिरहेकोले अहिलेलाई सफा गर्न जोखिमयुक्त अवस्था नै छ।"

चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले शुक्रवार राति ८ बजेदेखि उक्त सडकमा आवागमन बन्द गरेर बाटो सफाइको काममा लाग्न जनशक्ति परिचालन गरिएको बताए।

"पहिरो निरन्तर खसिरहेकोले पन्छाउन कति समय लाग्छ भन्न सकिँदैन। त्यसैले यो बाटो प्रयोग गर्नुहुने सबै मानिसहरूलाई वैकल्पिक बाटो प्रयोग गर्नका लागि आग्रह र अनुरोध गरेका छौँ। यही सूचना अन्य जिल्लाका सुरक्षा संयन्त्रमा पनि हामीले पठाएका छौँ।"

यसैबीच सडकमा शुक्रवारदेखि नै अलपत्र परेका सवारीचालक र यात्रुहरूलाई प्रहरीले खाजा पानी पनि वितरण गरेको हाम्रा चितवनस्थित संवाददाता ईश्वर जोशीले बताएका छन्।

मन्त्रालयमा आकस्मिक बैठक

देशैभरिका विभिन्न जिल्लामा सडकहरूमा अवरोध पुगेका कारण तिनलाई हटाउने विषयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आकस्मिक बैठक बसेको थियो।

यसैबीच नारायणगढ-मुग्लिन सडक खण्डको तुइन खोलास्थित पहिरोले अवरोध पुर्‍याएको ठाउँमा अवरोध पन्छाउने काम बिस्तारै सुरु भइसकेको यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले बीबीसीलाई शनिवार दिउँसो बताए।

उनले भने, "१२ बजेबाट पहिरो पन्छाउने काम सुरु भएको छ। त्यो चाहिँ पाँच घन्टाजतिमा सकिन्छ भन्ने त्यहाँबाट रिपोर्टिङ आएको छ।"

भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङको अध्यक्षतामा बसेको उक्त बैठकले दशैँजस्तो चाडपर्वका बेला यातायात सहज बनाउने गरी काम गर्ने विषयमा छलफल गरेको पनि सचिव शर्माले जानकारी दिए।

उक्त बैठकमा मन्त्री घिसिङबाहेक मन्त्रालयका अधिकारीलगायत सडक विभाग, गृह मन्त्रालय, यातायात व्यवसायी महासङ्घका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

यातायात अवरूद्ध भएको विषयमा आफूहरूले छिट्टै सहज ढङ्गबाट सवारी साधन गुडाउने वातावरण बनाइदिन अनुरोध गरेको यातायात व्यवसायी महासंघका सरोज सिटौलाले बताए।

"जहाँजहाँ अप्ठ्यारो पर्छ सहजीकरणका लागि सबै निकायलाई मन्त्रीज्यूले निर्देशन गर्नुभएको छ," सिटौलाले भने।

कहाँकहाँ सडक अवरूद्ध

नेपाल प्रहरीले निकालेको सूचना अनुसार नारायणगढ-मुग्लिन सडक खण्डबाहेक बीपी राजमार्गमा रातिको समयमा मनसुन अवधिभर सडक बन्द रहने छ।

अर्को सूचना नआएसम्मका लागि असोज १ गतेदेखि बीपी राजमार्गमा बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्म भाडाका सवारीसाधनको आवागमनमा रोक लगाइएको हो।

त्यस्तै रसुवा जिल्लामा असार २४ गते आएको बाढीका कारण नेपाल र चीन नाका जोड्ने पुलमा क्षति पुग्दा सवारीसाधनको आवत-जावत बन्द भएको छ।

यीबाहेक कान्ति लोकपथमा पनि साँझ ७ बजेदेखि बिहान ६ बजेसम्म सबै सवारीसाधनको आवतजावतमा रोक लगाइएको प्रहरीको सूचनामा उल्लेख छ।

चितवनबाट ईश्वर जोशीको सहयोगमा

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।