सुरक्षा परिषद्‌को आकस्मिक बैठकमा इजरेलको चर्को आलोचना, अमेरिकाद्वारा प्रतिरक्षा

गाजा सिटीमा आक्रमण विस्तार गर्ने योजनालाई लिएर न्यूयोर्कमा संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्‌को आपत्कालीन बैठकमा इजरेलको चर्को आलोचना भएको छ।

इजरेली कदमले जारी द्वन्द्वमा "अर्को भयावह अध्याय खोल्ने" राष्ट्रसङ्घका अधिकारीहरूले चेतावनी दिएका छन्।

प्यालेस्टिनी दूतले इजरेलविरुद्ध कडा प्रतिबन्धहरू लगाउन माग गरे भने ब्रिटेनले थप रक्तपातबारे सचेत गरायो।

तर संयुक्त राज्य अमेरिकाले चाहिँ सुरक्षा रणनीतिबारे निर्णय गर्ने अधिकार इजरेलसँग रहेको भन्दै इजरेलको प्रतिरक्षा गरेको छ।

"आलोचकहरूले हमासको प्रचारबाजीलाई सघाइरहेको" आरोप पनि अमेरिकाले लगाएको छ।

बैठकमा कसले के भने?

यूके, फ्रान्स र अरू कतिपय देशले गाजा सिटीलाई पूर्ण नियन्त्रणमा लिने इजरेली योजनाबाट "अन्तर्राष्ट्रिय तथा मानवीय कानुन उल्लङ्घन हुने" जोखिम रहेको बैठकमा चेतावनी दिएका छन्।

डेनमार्कसँगै ग्रीस र स्लोभेनिआले इजरेललाई त्यस्तो योजनाबाट पछाडि फर्कन आह्वान गरेका छन्।

उक्त योजनाले "बन्धकहरूको मुक्ति सुनिश्चित गर्ने दिशामा केही नहुने बरु उनीहरूको जीवन झन् जोखिममा पर्ने" ती देशहरूले उल्लेख गरे।

सुरक्षा परिषद्‌का अरू सदस्य राष्ट्रहरूले पनि सोही प्रकृतिको चेतावनी दिएका छन्।

गाजाका मानिसहरूलाई सामूहिक रूपमा दण्डित गर्ने कदम स्वीकार्य नभएको चीनले बताएको छ भने रुसले "तर्कहीन उक्साहट" विरुद्ध चेतावनी दिएको छ।

संयुक्त राष्ट्रसङ्घका सहायक महासचिव मिरोस्लाभ जेन्काले बैठकमा भनेः "यदि ती योजनाहरू लागु हुन्छन् भने त्यसले गाजामा अर्को विपद्‌ जन्माउने छ, उक्त क्षेत्रभरि असर पर्ने छ र त्यसले थप जबरजस्ती विस्थापन, हत्या अनि विध्वंस निम्त्याउने छ।"

संयुक्त राष्ट्रसङ्घको मानवीय सहायतासम्बन्धी कार्यालयका रमेश राजासिङ्घमले गाजामा भोकमरी आउन लागेको होइन कि अहिलेको अवस्था "स्पष्ट र विशुद्ध भोकमरी" हो भनी टिप्पणी गरे।

केही दिनअघि संयुक्त राष्ट्रसङ्घको मानव अधिकार निकायका प्रमुखले इन्टरन्याश्नल कोर्ट अफ जस्टिसको निर्णयसँग बाझिने गरी इजरेली योजना आएको बताएका थिए।

प्रतिरक्षामा अमेरिकी तर्क

तर राष्ट्रसङ्घका लागि अमेरिकी राजदूतले इजरेलको प्रतिरक्षा गर्दै बन्धकहरूको रिहाइ एवं युद्ध अन्त्यका लागि अमेरिकाले "निरन्तर" काम गरिरहेको बताइन्।

सुरक्षा परिषद्‌को आपत्कालीन बैठकले चाहिँ अमेरिकी प्रयासहरूलाई अनदेखा गरेको आरोप पनि उनले लगाइन्।

"हमासले बन्धकहरू रिहा गरेमा आजै लडाइँ समाप्त हुने" दाबी गर्दै उनले इजरेलमाथि "नरसंहारको आरोप लगाउन" सदस्य मुलुकहरूले सुरक्षा परिषद्‌को बैठकको फाइदा उठाएको आरोप लगाइन्। त्यो "स्पष्ट रूपमा झूट" भएको दाबीसमेत उनले गरिन्।

यसअघि आइतवार बेन्जमिन नेतन्याहूको कार्यालयले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग इजरेली योजनाबारे कुराकानी गरेको बताएको थियो।

विदेशी पत्रकारसँग नेतन्याहू

यसैबीच, नेतन्याहूले आफ्नो योजनाको प्रतिरक्षा गर्दै त्यसले गाजा सिटीलाई मात्रै निशाना बनाउने नभई पाँच लाख विस्थापितहरू बसिरहेका शिविरहरूसमेत त्यसको दायरामा पर्ने बताएका छन्।

विदेशी पत्रकारहरूबीच गरिएको एउटा दुर्लभ पत्रकार सम्मेलनका क्रममा नेतन्याहूले हमासलाई परास्त गर्ने त्यो मात्र उपाय भएको दाबी गरे। हमासलाई उनले "नवनाजीहरू"को सङ्ज्ञासमेत दिए।

स्वतन्त्र रूपमा रिपोर्टिङ गर्नका लागि इजरेलले युद्धयता अन्तर्राष्ट्रिय पत्रकारहरूलाई गाजामा प्रवेश दिएको छैन।

तर नेतन्याहूले दुई दिनका लागि विदेशी पत्रकारहरूलाई गाजामा लैजान सेनालाई निर्देशन दिइएको बताए।

गाजामा भोकमरी तथा कुपोषणका कारण शनिवारयता थप पाँच जनाको ज्यान गएसँगै हालसम्म उक्त समस्याका कारण २१७ जनाको मृत्यु भएको हमासको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

उसका अनुसार सन् २०२३ को अक्टोबरयता इजरेलले लडाइँ शुरू गरेपश्चात्‌ गाजामा ६१ हजारभन्दा बढी व्यक्तिको ज्यान गइसकेको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।