मेक्सिकोमा विध्वंस मच्चाएको 'हिलरी' आँधी क्यालिफोर्नियामा बज्रियो

पाम स्प्रिङ्गमा आँधीविरुद्ध तयारी

तस्बिर स्रोत, Reuters

    • Author, ओइफ वाल्श र जर्ज राइट
    • Role, बीबीसी न्यूज

मेक्सिकोमा पर्ने प्रशान्त महासागरको तटमा भीषण हावाहुरी र बाढी निम्त्याएको समुद्री आँधी हिलरी अमेरिकी राज्य क्यालिफोर्नियामा पुगेको छ।

उक्त आँधी ७० किलोमिटर प्रतिघण्टाको रफ्तारमा मेक्सिकोको बाया क्यालिफोर्निया प्रायद्वीपमा बज्रिएको थियो। त्यहाँ नदी तर्न प्रयासरत कारमा सवार एक मानिसले ज्यान गुमाए। उनीसँगै कारमा सवार उनकी श्रीमती र छोराछोरी भने बाँच्न सफल भएको अधिकारीहरूले बताएका छन्।

सान्ता रोसालिया सहरका कैयौँ घरहरू अहिले डुबानमा परेका छन्।

हिलरी नाम दिइएको उक्त आँधी उत्तरतर्फ सर्दै जाँदा कमजोर हुने ठानिएको छ तर यो क्यालिफोर्नियामा ८४ वर्षयताकै पहिलो समुद्री आँधी हो। यसअघि सन् १९३९ मा दक्षिणी क्यालिफोर्नियाको लङ बिचमा यस्तै आँधी आएको थियो।

विज्ञहरूले पछिल्लो समय अमेरिका र विश्वका धेरै क्षेत्रहरूमा असामान्य मौसमी घटनाहरू देखिएको र यो मानव सिर्जित जलवायु परिवर्तनका कारण प्रभावित भएको बताएका छन्।

उक्त आँधी मेक्सिकोको बाया क्यालिफोर्निया प्रायद्वीपको उत्तरी भागमा स्थानीय समयअनुसार आइतवार बिहान ११ बजे बज्रिएको यूएस न्याशनल हरिकेन सेन्टर (एनएचसी) ले जनाएको छ।

हिलरी आँधीले मेक्सिको र अमेरिकामा 'जनधनको क्षति गर्ने' बाढी ल्याउन सक्ने चेतावनी दिइएको छ।

मेक्सिकोमा यसअघि १८ हजार सैनिकलाई उद्धार कार्यमा खट्न तयारी अवस्थामा राखिएको थियो।

हिलो पानीको धार

तस्बिर स्रोत, Reuters

बाया क्यालिफोर्निया सुर राज्यको पूर्वी तटमा रहेको सान्ता रोसालियामा मुख्य सडकबाट हिलो पानीका शक्तिशाली धारहरू खसिरहेको देखिने नाटकीय भिडिओहरू सार्वजनिक भएका छन्।

लङ बीच र पाम स्प्रिङ्ससहित क्यालिफोर्निया भरका बासिन्दाहरूले बाढीको प्रभाव कम गर्न बालुवाको बोराको प्रयोग गरिरहेको देखिन्छ।

लङ बीचका बासिन्दा युजेनी एडलरले रोएटर्ससँग भनेकी छन्, "बाढीका कारण मानिसहरूले केही सम्पत्ति गुमाउँछन्, त्यो एउटा कुरा हो। तर बाढीका कारण मानिसले ज्यान गुमाउनु त्योभन्दा फरक कुरा हो। मलाई मानिसहरू मर्छन् कि भन्ने डर छ।“

लस एन्जलसकी मेयर करेन बासले समुद्री आँधीलाई “अभूतपूर्व मौसमी घटना”को सङ्ज्ञा दिएकी छन्।

“तर डढेलो होस् वा भूकम्प, लस एन्जलससँग हरेक सङ्कटको सामना गर्ने राम्रो अनुभव छ,” उनले भनिन्। "आँधीको सामना गर्न पनि सहर तयार छ।“

चरम मौसमबारे थप सामग्री

अमेरिकाको दक्षिण–पश्चिमी क्षेत्रमा करिब दुई करोड ६० लाख मानिस बाढीको जोखिमको चपेटामा परेका छन्।

शनिवार हिलरीको शक्ति कमजोर भएपछि यसलाई श्रेणी १ को आँधीको रूपमा वर्गीकृत गरिएको थियो तर अधिकारीहरूले यससँग सम्बन्धित जोखिमको चेतावनी जारी राखेका थिए।

एनएचसीका अनुसार यस समुद्री आँधीका कारण सिर्जित हावा यसको केन्द्रबाट ३९० किलोमिटर टाढासम्म फैलिएको थियो।

क्यालिफोर्नियाका गभर्नरको आपत्कालीन सेवा कार्यालयका निर्देशक न्यान्सी वार्डले हिलरी एक दशकभन्दा बढी समययताकै सबैभन्दा खराब आँधी हुनसक्ने बताएकी छन्।

“कुनै गल्ती नगर्नुहोस्,” उनले शनिवार आयोजित पत्रकार सम्मेलनमा भनेकी थिइन्। “यो निकै खतरनाक र ठूलो आँधी हो।“

मेक्सिकोमा उद्धार कार्यका लागि खटेका सेनाहरू

तस्बिर स्रोत, AFP VIA GETTY IMAGES

मेक्सिको, क्यालिफोर्निया र नेभाडाका केही भागमा २५ सेन्टिमिटर सम्म वर्षा को सम्भावना रहेको एनएचसीले जनाएको छ। आइतवार दक्षिणी क्यालिफोर्नियाको मरुभूमिमा वर्षा सुरु भएको थियो।

कोलोराडो रिभर भ्याली, मोजावे डेजर्ट र इम्पेरिअल भ्यालीका केही भागमा (स्थानीय समयअनुसार) आइतवार साँझसम्म टोर्नेडोको जोखिम रहेको बताइएको छ।

आँधीको जोखिम बढेसँगै दक्षिणी क्यालिफोर्नियामा आयोजित मेजर लिग बेसबलका तीन खेलहरूको तालिका पुनः निर्धारित गरिएको छ। त्यस्तै स्पेसएक्सले मध्य क्यालिफोर्निया तटमा रहेको आफ्नो आधारबाट गरिने रकेट प्रक्षेपण कम्तीमा सोमवारसम्मका लागि स्थगित गरेको छ।

आगन्तुकहरूलाई बाढीको जोखिमबाट बचाउनका लागि क्यालिफोर्नियाका केही राष्ट्रिय निकुञ्ज पनि बन्द गरिएका छन्।

चरम मौसमका कारण पछिल्लो केही समययता उत्तरी अमेरिकाभरि विध्वंस मच्चिएको छ।

नासाका अनुसार यस वर्षको जुलाई हालसम्मकै गर्मी महिना कायम भयो। लगत्तै अगस्ट ८ देखि अमेरिकी इतिहासकै सबैभन्दा घातक डढेलो त्यहाँको पर्यटकीय राज्य हवाईमा फैलिएको थियो। डढेलोमा परी कम्तीमा १११ जना मानिसको मृत्यु भएको थियो।

उक्त क्षेत्र हुँदै आँधीबेहरी गएपछि क्षति झनै बढेको थियो।

क्यानडाको ब्रिटिश कोलम्बिया प्रान्तमा सयौँको सङ्ख्यामा डढेलो लागेको छ जसका कारण घरहरू जलेका छन् र दशौँ हजार मानिसहरूलाई अन्यत्र सर्न बाध्य पारिएको छ।