सहरमा बाढी: 'खोलाको प्राकृतिक बाटो मासिँदा मानवबस्तीमा पस्यो'

बाढी प्रभावित सर्वसाधारण

तस्बिर स्रोत, HEMANTA SHRESTHA

मङ्गलवार बिहानदेखि निरन्तर परेको पानीका कारण काठमाण्डू उपत्यकाका विभिन्न क्षेत्र जलमग्न भएका छन्। कतिपय ठाउँमा घरघरमा पानी पसेको र बाढी तथा पहिरोका कारण अन्य क्षति भएको अधिकारीहरूले बताएका छन्।

काठमाण्डू महानगरपालिकाका नगर उपरीक्षक राजुनाथ पाण्डेका अनुसार नगरका कतिपय ठाउँमा जमिन भासिएपछि पर्खालहरू ढलेका छन् भने सामाखुसीस्थित एउटा घर भत्किएको छ।

“पुरानो घर रहेछ। भीषण वर्षाका कारण भत्कियो। त्यहाँ बस्दै आएका दुई जना व्यक्तिको उद्धार गरिएको छ। अहिले नगर प्रहरीले व्यवस्थापन गर्दै छ,” उनले बीबीसीलाई जानकारी दिए।

उनका अनुसार नगरपालिकाको कल सेन्टरमा नगरभित्रका बाढी पीडितहरूले निरन्तर सम्पर्क गरिरहेका छन्।

“बिहान ५ बजेदेखि फोन बजिरहेको छ। हामीले सबैतिर प्रहरी परिचालन गरेर आवश्यक सहयोग गरिरहेका छौँ।”

उनका अनुसार बाढीग्रस्त सामाखुसी, धोबीखोला करिडर, धुम्बाराहीलगायत ठाउँहरूमा पम्पमार्फत् पानी निकास गर्ने, सरसामान सुरक्षित स्थानमा सार्ने र पानी छिरेको ठाउँमा बोरा राख्नेजस्ता काम भइरहेका छन्।

वर्षाका कारण हुने प्राकृतिक प्रकोपको जोखिम न्यूनीकरण गर्न सरकारले नियमित जानकारी प्रवाह गरिरहेको जल तथा मौसम विज्ञान विभागकी सूचना अधिकारी विभूति पोखरेलले बताइन्। उनका अनुसार सामाजिक सञ्जालमार्फत् मौसमी अवस्थाबारे जानकारी, त्यसको विश्लेषण तथा पूर्वानुमानहरूबारे जानकारी दिइएको छ।

त्यस्ता जानकारीले आम मानिसलाई सतर्क रहन मद्दत गर्ने भनिए पनि बाढीका कारण जनजीवन प्रभावित भएका विवरणहरू सार्वजनिक भएका छन्। पानीको प्राकृतिक बहावको बाटो प्रभावित हुँदा हरेक वर्ष यस्ता समस्या दोहोरिएको विज्ञहरूको भनाइ छ।

त्यस्तै काठमाण्डू उपत्यकालगायत अन्य क्षेत्रमा उचित सहरी योजना नहुँदा “घरघरमा पानी पसेको” बताउँछन् योजनाविद् जगदीशचन्द्र पोख्रेल।

उनले बीबीसीसँग भने,”सहर र यहाँका संरचनाहरूको डिजाइन र प्लानिङ नै सही ढङ्गमा भएन। त्यसले पानी पर्दा मात्र समस्या दर्साउँछ र असर चाहिँ दीर्घकालीन पार्छ।“

जलमग्न अवस्थाको सङ्केत के हो?

खोला किनारमा रहेका बस्तीहरू नै डुब्नु वा खोला नभएका ठाउँहरूमा पनि घरको केही तला डुबानमा पर्नुले पानीको निकास रोकेको वा साँघुरो बनाएको सङ्केत गर्ने विज्ञ पोखरेलको भनाइ छ।

त्यस्ता निकासहरूमा मानवीय संरचना निर्माण हुनुले अवस्था विकराल बनाएको उनले बताए।

उनले भने,”पानी बग्न चाहिने प्राकृतिक बाटो नै सानो भयो। अनि मान्छेले त्यही बाटोमाथि बनाएको संरचनामा पानी बगेको देखिन्छ।“

त्यस्तै सहरी क्षेत्रमा बनाइएका कृत्रिम जल निकासीका बिन्दुहरू पर्याप्त नभएको उनको ठहर छ।

“भएका ढल पनि सही ढङ्गमा डिजाइन भएका छैनन्। त्यहीँ ठोस फोहोरहरू भरिएका छन्। त्यस्तो अवस्थामा पानी पुनः सतहबाट बग्छ,” उनले भने।

अस्तव्यस्त संरचना निर्माणका कारण मानव बस्ती मात्र नभई फराकिला सडकहरू पनि अवरुद्ध हुने पोखरेलको भनाइ छ।

“यो समस्या चाहिँ देशव्यापी रूपमा देखिएको छ। कुनै माथिल्लो भेगमा पानी पर्दा तल्लो भेगमा पानी नै नपरे पनि बाढी जान्छ। त्यसले पुर्‍याउने क्षति नियन्त्रण वा व्यवस्थापनका लागि हामी तयार नै हुँदैनौँ,” पोखरेलले बताए।

कस्ता क्षति हुन्छन्?

डुबानमा परेको घर

तस्बिर स्रोत, HEMANTA SHRESTHA

केही घण्टा पानी पर्नासाथ व्यापक बन्ने बाढीका कारण सहरी क्षेत्रहरूमा जनधनको क्षतिबारे विवरणहरू सार्वजनिक हुने गरेका छन्। यसै महिनाको सुरुवातमा सामाखुसी हुँदै बग्ने एक खोलामा पानी बग्दा एक जना १३ वर्षीय बालक बगेका र पछि उनको मृत्यु भएका विवरण सार्वजनिक भएका थिए।

“हरेक वर्ष खोलाले मान्छे बगाएको सुनिन्छ। मानवले ज्यान गुमाउनु जस्तो ठूलो क्षति अरू के होला? तर पनि मानिस जोखिम मोलेरै बसिरहेका छन्,” उनले भने।

“सोमवार राति पनि सरकारी निकायले खोला किनारका मानिसहरूलाई बाढीको जोखिमबारे सतर्क गर्न सन्देश पठायो। तर त्यत्रा मानिस कहाँ जाने? बिहान बल्ल केही मानिस सुरक्षित स्थानतर्फ लागे,” उनले स्थानान्तरणका लागि कमजोर प्रणालीतर्फ इङ्गित गरे।

मानवीय साथै भौतिक हिसाबमा पनि ठूलो जोखिम रहने उनको भनाइ छ।

“व्यक्तिले आफ्नो घर गुमाउँछ, खेतबारी वा जग्गा गुमाउँछ। आर्थिक क्षति हुन्छ,” उनले भने,”राष्ट्रलाई ठूलो आर्थिक क्षति हुन्छ किनकि प्राकृतिक स्रोत तथा अन्य सामुदायिक सम्पत्ति नाश हुन्छ।“

हरेक वर्ष डुबानका कारण हुने विनाश भोग्ने, यस्ता विषयमा विमर्श गर्ने र यस्ता प्रकोपले गर्ने क्षतिबारे बिर्सँदै जानुले समस्या सम्बोधन नगर्ने उनको तर्क छ।

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: बाह्य वेबसाइटका सामग्रीप्रति बीबीसी जिम्मेवार हुने छैन।

X पोस्ट समाप्त

समाधानका उपाय के?

नेपाल सरकारका विभिन्न निकाय तथा संस्थाहरू बीचको समन्वयनमा योजना बनाउनु र त्यसको उचित कार्यान्वयन नै समस्या समाधानको प्राथमिक उपाय भएको विज्ञहरू बताउँछन्।

“स्थानीय सरकार, सहरी विकास मन्त्रालय, गृह मन्त्रालय तथा भूमि व्यवस्थापन मन्त्रालयहरू बीचको सहकार्यमा रणनीतिहरू बन्नु पर्छ। र, कोरिएको खाकाअनुरूप काम हुनुपर्छ,“ योजनाविद् पोखरेलले भने। दीर्घकालीन योजना बनाउन जलवायु परिवर्तनलाई पनि ध्यानमा राखेर संरचना निर्माण र विपद् सम्बन्धी योजनाहरू बनाउनु पर्ने उनको मत छ।

तर प्रशासकीय तहमा मात्र नभई आम मानिसले पनि सहरी बाढीको समस्या समाधान गर्न योगदान पुर्‍याउन सक्ने बताइन्छ।

“सहरी क्षेत्रमा जमिन महँगो भएकाले हामी असाध्यै लोभी भएका छौँ। नदी, नाला र खोलाको पनि आफ्नो जीवन छ भन्ने भुलेर उनीहरूको बाटो मिचेका छौँ। त्यसमाथि घर बनाएर बसेका छौँ। पानी बग्ने ठाउँ नै छैन,” उनले भने।

बाढी प्रभावित सर्वसाधरण

तस्बिर स्रोत, HEMANTA SHRESTHA

त्यसरी मिचेर बनाइएका संरचनाहरू भत्काउनुको विकल्प नभएको उनी बताउँछन्।

“कुनै पनि सहर वा नगर विकास गर्दा जोखिम हेरिएको हुन्छ। निश्चित ठाउँमा संरचना बनाउनु जोखिमपूर्ण हुन्छ भनिएको हुन्छ तर व्यक्ति मात्र होइन सरकारी निकायले पनि त्यही निर्माण गरेको हामीले पाउँछौँ,” उनी भन्छन्।

त्यस्तै यस्ता जोखिमबारे प्राविधिक स्वयं जानकार नहुनु वा माटो परीक्षण नगर्नुले पनि बर्खायाममा सहरका घर भएको धरातल भासिने वा भत्किने गरेको उनको भनाइ छ।

“जिम्मेवारी, दोष र समाधानका उपाय निकायहरू सँगै छन्। अब चाहिँ सहरी बाढीको समस्या सम्बोधनमा ध्यान दिनै पर्ने स्थिति आएको छ,” उनले भने।