क्यानडाको उत्तरी सहरमा डढेलो लाग्दा हजारौँ मानिस विस्थापित

डढेलो प्रभावित क्षेत्र

तस्बिर स्रोत, Reuters

    • Author, नदिन युसिफ
    • Role, बीबीसी न्यूज, टोरन्टो

क्यानडाको उत्तरी क्षेत्रमा अवस्थित सबैभन्दा ठूलो सहर यलोनाइफको बाहिरी भेगमा फैलिएको डढेलोबाट जोगिन हजारौँ मानिस भागेका छन् जसका कारण त्यहाँको स्थानीय विमानस्थल र सहरबाट बाहिरिने सडकमा भीड लागेको छ।

आपत्कालीन सैन्य उद्धार उडानका लागि पनि सयौँ मानिसहरू लामबद्ध भएका छन्।

स्थानीय अधिकारीहरूले नर्दवेस्ट टेरिटोरिजमा रहेको यलोनाइफका बीस हजारभन्दा बढी मानिसलाई शुक्रवार दिउँसोसम्ममा त्यहाँबाट निस्कन समयसीमा तोकिदिएका छन्।

बिहीवारसम्म डढेलो सहरको १६ किलोमिटर नजिकसम्म फैलिसकेको बताइएको छ।

नर्दवेस्ट टेरिटोरीजले करिब २४० वटा ठाउँमा डढेलो लागेपछि मङ्गलवार राति आपत्कालीन स्थिति घोषणा गरेको छ।

“आगामी दिनहरू झनै चुनौतीपूर्ण बन्नेछन्। शुक्रवार र शनिवार उत्तर पश्चिमदेखि पश्चिम–उत्तर पश्चिम दिशामा दुई दिनसम्म चल्ने हावाहुरीका कारण आगो यलोनाइफतर्फ सल्कनेछ,” क्षेत्रीय अग्नि नियन्त्रण सेवासम्बन्धी निकायले फेसबुकमा विज्ञप्ति जारी गर्दै भनेको छ।

'सहरमा बस्नु आफैँलाई जोखिममा पार्नु सरह'

सहरका पेट्रोल पम्पहरूमा र सहरबाहिरको सडकमा लामा लाइनहरू लागेको विवरणहरू सार्वजनिक भएका छन्।

स्थानीयवासी बिल ब्राडेनले ग्लोबल न्यूजसँगको कुराकानीमा, परिवारका एकजना सदस्यले उनलाई एउटा पेट्रोल पम्पमा एक किलोमिटर परसम्म मानिसहरू लामबद्ध भएको जानकारी दिएपछि आफूले अतिरिक्त पेट्रोल बोकिरहेको बताए।

प्रहरीले सवारीसाधन चालकहरूलाई यलोनाइफबाट करिब ३०० किलोमिटर दक्षिण पश्चिममा रहेको फोर्ट प्रोभिडेन्समा सडकमार्गबाट पुग्दा गाडीको गति सीमित गर्न सुझाव दिएका छन्। किनकि त्यहाँ इन्धन भर्नका लागि गाडीहरूको घुइँचो छ र यातायात प्रभावित बनेको छ।

साथीभाइ वा परिवारसँग नबस्नेहरूका लागि सबैभन्दा नजिकको उद्धार केन्द्र यलोनाइफबाट १,१०० किलोमिटर दक्षिणमा रहेको जानकारी दिइएको छ।

बिहीवार दिउँसो र साँझभरका लागि सैन्य उद्धार उडान तय गरिएको छ। तीमध्ये पाँच वटा उडान छिमेकी राज्य अल्बर्टाका लागि हुनेछ।

सङ्घीय यातायात मन्त्रीले देशकै सबैभन्दा ठूलो वायुसेवा कम्पनी एअर क्यानडाले यलोनाइफबाट उडान शुल्क कम निर्धारण गर्ने बताएको छ। कम्पनीले सहर बाहिर जाने दुई वटा उडान थपेको छ।

नर्दवेस्ट टेरिटोरीजका वातावरण मन्त्री शेन थोम्पसनले बुधवार पत्रकारहरूसँग कुरा गर्दै डढेलोले "थप खराब मोड लिएको" र यसले त्यस क्षेत्रको राजधानी यलोनाइफमा "वास्तविक जोखिम" निम्त्याएको बताए।

सडकमा गाडीको लाम

तस्बिर स्रोत, Reuters

"सहर तत्काल अति जोखिममा छैन तर यदि तपाईँ यहीँ बस्न चाहनुहुन्छ भने तपाईँले आफैँलाई खतरामा राख्नुहुन्छ,” उनले भने।

त्यस्तै प्रधानमन्त्री जस्टिन ट्रुडोले बिहीवार डढेलोको अवस्थाबारे छलफल गर्न आपत्कालीन बैठक बोलाएका थिए।

यलोनाइफका केही बासिन्दा बुधवार सहरको केही भाग जुनसुकै बेला खाली गर्न सकिने चेतावनी दिइए लगत्तै त्यहाँबाट निस्किन थालिसकेका थिए।

"उडान टिकट बिक्री भएको र त्यसको शुल्क बढ्दै गएको देख्दा एउटा विन्दुमा लाग्यो अब हामीले पनि यो ठाउँ छोड्नुपर्छ," एश्ले म्याकलेलनले सीबीसीसँग भनिन्। उनी आफ्नो सन्तानसहित एडमन्टनको दक्षिणमा गएकी छन्।

अन्य क्षेत्रमा पनि उस्तै आपत्

अर्को ठाउँको आगलागीले हे रिभरका बासिन्दालाई खतरामा पारिरहेको छ।

एकजना पीडितले सीबीसीलाई बताएअनुसार उनी र उनको परिवारले त्यस सहरबाट भाग्ने क्रममा बलिरहेको अङ्गार पार गर्नुपर्‍यो जसले गर्दा उनको कार पग्लन थाल्यो।

हे रिभरका मेयर क्यान्डिस जेम्सनले सहरमा बाँकी रहेका हरेकलाई तत्काल घर छाड्न आग्रह गरेका छन्।

यसै साताको सुरुवातमा तीव्र हावाहुरीका कारण आगो केही घण्टामै ३० किलोमिटर सम्म फैलिएको थियो जसले गर्दा सहरबाहिरका दुई राजमार्ग मात्र बन्द भएका थिए। त्यसपछि सहरबाट करिब १० किलोमिटर टाढा पुगेर यो फैलने क्रम रोकियो।

स्थानीय लिसा मुन्डीले आफ्नो बम्पर पग्लन थालेको, विन्डस्क्रिन फुटेको र कार धुवाँले भरिएको सुनाइन्। उनी आइतवार श्रीमान् र दुई सन्तानसहित त्यहाँबाट निस्कँदै थिइन्।

“केही पनि देखिएको थिएन। हामीले बलिरहेको अङ्गारमाथि गाडी चलाइरहेका थियौँ,“ उनले भनिन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, सालमोन

लगभग ४६,००० मानिसहरू बसोबास गर्ने नर्दन टेरिटोरिजमा सेनाले इतिहासमै सबैभन्दा ठूलो हवाई उद्धारको प्रयासको समन्वय गरिरहेको छ।

फोर्ट स्मिथ, काटल ओडिचे फर्स्ट नेशन, हे रिभर, इन्टरप्राइज र जिन मेरी रिभरका बस्तीहरू पनि खाली गर्न निर्देशन दिइएको छ।

हे रिभरबाट करिब १३० किलोमिटर टाढा, करिब ४० जनाको बसोबास रहेको काकिसा बस्तीमा पनि बिहीवार स्थानान्तरणको निर्देशन दिइएको थियो।

यलोनाइफबाट करिब ८०० किलोमिटर उत्तर पश्चिममा रहेको फोर्ट गुड होपका सामाजिक कार्यकर्ता कोफी येबोआले आफ्नो क्षेत्रमा लागेको डढेलोका कारण आकाशमा धुवाँ देखिएको बताए।

उनले बीबीसीसँग भने, "हामी सबैजना सक्दो धेरै पानी परोस् भनेर प्रार्थना गरिरहेका छौँ।“

क्यानडामा डढेलोको हालसम्मकै सबैभन्दा खराब मौसम चलिरहेको छ। बुधवारसम्म देशभर करिब १,१०० सक्रिय डढेलो छन्।

विज्ञहरूले सामान्यभन्दा बढी तापमान र सुख्खा वसन्तलाई यसको कारक ठानेका छन्।

वैज्ञानिकहरूका अनुसार जलवायु परिवर्तनका कारण बढेको तापमान र सुख्खा मौसमका कारण डढेलो लाग्ने जोखिम बढेको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।